Post Top Ad

Post Top Ad

Tuesday, May 8, 2018

श्रीनिवासका नाउँमा ! (कृपया पूरै पढ्नुहोला)

लोकततन्त्र देशमा आयो । "महान्" जनयुद्धले साधारण बुर्जुवा संस्कृत शिक्षामाथि रोक लगायो। वसुधैव कुटुम्बकम् को शिक्षा दिने "निरर्थक" संस्कृतपुस्तक पनि जलाइए । कला र गलालाई शास्त्रसित जोडेर जनताकै पैसाले गाउँ गाउँमा पाटी,सत्तल, विद्यालय, क्याम्पस बनाउने नारायण पोख्रेल जस्ता "देशद्रोही" पनि जनयुद्धले निल्यो । उत्पीडित शोषित सर्वहारा वर्गले मुक्ति पाउने दिन आए । लोकतन्त्र आयो । जनताहरू सडकमा उत्रे , दिलोज्यान दिएर लोकतन्त्र ल्याए । देश लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा परिणत भयो । अन्तरिम संविधान घोषणाका बखत संसदमा प्रवेश गर्ने अधिकार नभएका एकजना बुज्रुक प्रवेश गरेर ठूला स्वरमा धर्मनिरपेक्ष शब्दको लागि हारगुहार गरे । धर्मनिरपेक्ष शब्दको अर्थ र व्याख्या गर्दै यो शब्द राखिनुपर्ने कुरा गरे। लौ त नि , भनेर केही जमातले हस् भने । केही जमातले विरोध पनि गरे। त्यो शब्दका बारेमा निर्णय भएन। तत्कालीन सभामुख नेम्वाङले भने यो शब्द पनि मिसाएर उद्घोष गरिदिए। सबैले बरर ताली पिटे । त्यो रात कुन कुन देशका कुन कुन पोपले उत्सवको आयोजना गरे भन्ने कमैले थाहा पाए।
‌धर्मनिरपेक्ष भन्नु धर्मप्रतिको सम्मान नै होला भन्ने बुझ्नमा आयो । बिस्तारै यसले आफ्नो प्रयोजन पुष्ट गर्दै गयो । गाउँमा सुसमाचारका सुसन्देश बाँड्दै परमात्माका दूतहरू आउने क्रम बढ्न थाल्यो । धर्म भन्नु अफिम हो भन्ने शासकहरू यो देखेर प्रसन्न होइबक्सनुभयो। गरिब गाउँमा सिटामोलसितै बाइबल थमाएर "प्रभुको राज्य"का लागि सत्प्रयास सुरु भए । पहाडका गुम्बाहरूमा घण्टी बजाउने मान्छे पाइन छाडे। तत्त्वमसि सुनिने गाउँघरमा जयमसी सुनिन थाल्यो । हरेराम हरेकृष्ण हलेलुयाहमा परिष्कृत हुँदै गए। मन्दिरै मन्दिरको शहर काठमाडौंले संसारको सबैभन्दा धेरै चर्च हुने शहरका रूपमा सिद्धि पायो । तर यी कुराले प्रसिद्धि पाएनन् । पत्रपत्रिकाहरू , लेखकहरूले यी कुरा देखेनन् ।

‌दसैं आर्यहरूको चाड बन्यो , तिहार भारतीयहरू त्यौहार बन्न पुग्यो । बाआमाले पुज्ने देवतालाई पत्थरको उपमा नदिई गजल लेखिनै छाडे। हजुरबुबा-हजुरआमाले पुजेर पढ्ने स्वस्थानीलाई नसरापी नारीवादी नै नभइने भयो । कुशे अौँसीमा कुश लिएर आउने , नागपञ्चमीमा घरघरमा नाग टाँसिदिने र टिका लगाइदिएको पाँच रुपैयाँ खुसी भएर लैजाने बाजे सामन्त हुँदै गए। समाजसेवाका नाउँमा हजारौं संस्था देशमा खुले।कैयौं मिसन हस्पिटल खुले, मिसन स्कुल खुले । आफ्नो मिसनमा प्रभुका दूतहरू सफल हुँदै गए। "सबै धर्म बराबर" भनेर स्कुलमा पढाइएका जनसमुदायले हेरेर बसिरह्यो।

‌संविधान बन्यो । जनताका आवाज समेट्न जनप्रतिनिधि गाउँ गाउँमा पुगे। धर्मनिरपेक्ष शब्द संविधानबाट हटाइनुपर्ने माग सबैभन्दा बढी आयो । केही अपवाद बाहेकका मिडियाले यी कुरा पनि देखेनन्,थाहा पाएनन् । किन ? उनैले जानुन्।

‌बिस्तारै जागरण आयो । यसरी त भएन भनेर केही मान्छे जागे । सन्तहरूको आह्वानमा चितवनको क्याम्पाचौरमा जनसागर उर्लियो । धर्मनिरपेक्षताको विरुद्ध !
धर्मनिरपेक्षताको विरुद्धमा उर्लेको भीड मिडियाले आँखै अगाडि पनि देखेन । सरकारको कानमा पसोस् भनेर अनेक अनेक सम्मेलन , जनसभा भए । पुगेन ।

‌काठमाडौंमा खुला चौरमा देशभरबाट मान्छे जम्मा भए । हजारौंको सङ्ख्यामा मान्छे उपस्थित भएर धर्मनिरपेक्षताको विरोध गरे। देशभरका सन्तहरू उपस्थित भए । मध्यपृष्ठमा अङ्गप्रदर्शन र प्रथम पृष्ठमा बियरका विज्ञापन छाप्ने मिडियाले यो जनसागर देखेन। सरकारले सुनेन ।

‌आन्दोलन सुरु भए । देशभर आन्दोलन भए । सरकारले थाहा पाएन । विराटनगरमा धर्मनिरपेक्षता हुनुहुँदैन भनेर जम्मा भएका बुढीआमाहरू र सन्तमाथि प्रहरीले लाठी चार्ज गर्यो । यी सबै देखेर धर्मका नाउँमा घरपरिवार छाडेको एउटा युवाको पनि रगत तात्यो। आन्दोलनमा सरिक भयो । प्रहरीले घरभित्र छिरेरै लाठी चार्ज गर्यो । निर्घात कुटिएर पचासौं मान्छे घाइते भएपछि फाट्टफुट्ट केही मिडियाले लेखे - प्रहरी-दमनमा युवा सन्त श्रीनिवास घाइते ।

‌आन्दोलन यसै सकियो । त्यो युवाको जोश सकिएन । रत्नपार्क शान्तिवाटिकामा अनशन सुरु गर्यो। रिले अनशनको हप्तौं हुँदा पनि सरकार आएन। बरु सरकारका प्रतिनिधि आए । हातमा लाठी लिएर । २२ वर्षे ज्यानले थुप्रै पिटाइ खाएर रत्नपार्कबाट निकालिनुपर्यो ।

‌काठमाडौं खुला चौरमा चार जना युवा अनशन बसे ।
‌चौध दिनसम्म सरकारले देखेन। मिडियाले त कत्ति देखेन। पन्ध्रौं दिनमा सरकारबाट प्रतिनिधि आएर आश्वासन दिएर पञ्चामृत पिलाएर अनशन तोड्न लगाए ।

‌दिनहरू बित्दै गए। रत्नपार्कमा अनशन बसेको र विराटनगरमा लाठी खाएका युवा श्रीनिवास ठाउँ ठाउँमा कथा प्रवचनका माध्यमबाट धर्मजागरण गराउँदै देशभर हिँडे । देख्नुपर्नेले देखेनन् । सुन्नुपर्नेले सुनेनन् ।
‌धर्म अफिम हो भन्ने सिद्धान्तको बुइ चढेर देशको अभिभावक बनेका राष्ट्रप्रमुखले शपथ लिँदा ईश्वर शब्द हटाइदिए ।
‌जनयुद्धका नाइकेले कम्युनिस्टहरूको धर्म क्रिश्चियन हो भन्न भ्याए ।
‌ईश्वर छैनन् , छन् भने लेनिन हुन् भन्दै देशका अभिभावक कुर्लिए।
‌दसैं तिहार आदि चाडपर्वका बिदा काटिँदै गए।

‌यी सबैको साक्षी श्रीनिवास कथाप्रवचन गर्न जाँदा
‌गोली लागेर घाइते भए । फेसबुकका वालमा यो कुरा भाइरल भए । केही फाट्टफुट्ट मिडियाले देखे। देशका ठूला मिडियाले थाहा पाएनन् । बुद्धिजीवी वर्गहरू यसको विरोधमा दुई शब्द पनि बोलेनन् । लाज पचाएरै मौन बसे।
समाचारमा श्रीनिवासले गोली हान्न आफैंले लगाएको कुरा सार्वजनिक भयो । अनि सुरु भए मौन महाशयहरूका समीक्षा/विश्लेषण/उद्घोष/विज्ञप्ति । गोली लागेर मरणासन्न हुँदा निदाएका मिडिया श्रीनिवासको पक्राउ पछि बल्ल ब्यूँझिए जसरी देखा परे। सानोतिनो समाचार बनाउन लजाउने पत्रिकाहरू मजस्तै साधारण युवा श्रीनिवासलाई उचाइको सगरमाथामा पुर्याएर हिन्दु धर्मको सर्वोच्च गुरुका रूपमा राखेर बेइज्जती गर्न अघि सरे। केही विद्वज्जनले हिन्दु धर्मलाई गाली दिन सुरु गरे । कसैले बाहुन यस्तै हुन् भन्न भ्याए(यद्यपि श्रीनिवास जातिले ब्राह्मण होइनन्) । कसैले साधुसन्तका विषयमा नानाथरी अपशब्द फ्याँके । केही भने यति हुँदा पनि साक्षी बनिरहे। 

प्रिय श्रीनिवास ! 

मेरै उमेरको युवाले देशमा यति धेरै उथलपुथल ल्याएको छ, प्रहरीका लाठी खाएर पनि कत्ति दुखेको छैन भनेर तिमीप्रति जुन गौरवबोध मलाई हुन्थ्यो त्यो आज पनि यथावत् छ । तर जोसमा होस नगुमाउनु थियो । गुमायौ। गोली लागेर मर्ने आँट समेत गर्यौ । यो लरतरो थिएन । तर तिमीले गलत बाटो अपनायौ। शरीर छेडिने गरी गोली नखाएरै पनि क्रान्ति हुन सक्थ्यो । विवेकलाई र धैर्यलाई नगुमाउनु थियो , गुमायौ। यो बाटोमा हिँड्नेहरूलाई तिम्रो यो पाइलाले मुश्किलमा पारेको छ।
तिम्रै मुखबाट यी कुरा सुन्न मन छ। के गोली चलाउन लगाउने तिमी नै थियौ?
‌©मनोज भण्डारीको फेसबुकबाट साभार