जनप्रतिनिधिका आकांक्षीहरु ! ठूला सपना होइन न्युनतम आवस्यकता पूरा गरेर बसाइसराइ रोक

राष्ट्रिय सहमति जुटाएर दोश्रो चरणमा गर्ने भन्दै सरकारले जेठ ३१ गतेका लागि तोकेको ५ नम्बर प्रदेशसहित १, २ र ७ नम्बर प्रदेशको स्थानीय निकायको चुनावको मिति “असार १४” अझै पनि अन्योलमै छ । सरकारले मधेस केन्द्रित दललाई अझै मनाउन नसकिरहेको भएतापनि यस क्षेत्रको चुनावी सरगर्मी भने निकै बढेको छ ।
तस्बिर: रेसुङ्गाबाट हेर्दा तमघास
चुनावले हाम्रो जिल्ला गुल्मी पनि तातेको छ, माहोल रमाइलो बन्दै छ । जनमतलाई आफ्नो पक्षमा पार्न दलहरुका स्थानीय नेताकार्यकर्ताहरुले बलबुताले भ्याएसम्मको प्रयास गरिरहेका छन् । स्थानीय निकायमा आफ्नो पार्टीको उपस्थितिलाई बलियो बनाउन जिल्लाका केन्द्रियस्तरका नेताहरु पनि अहिले लागिपरिरहेका छन् । दलका नेताकार्यकर्ताहरुले जनताको ध्यान खिच्न राष्ट्रिय मुद्दासंग आफूलाई जोड्ने पनि गरेका छन् । कतिपय दलले ‘आफ्नो पार्टीको सरकारको पालोमा संबिधान जारि भएको’ भन्दै आफूलाई भोट गर्न भनेका छन् त कोहि दलले आफूलाई ‘वृद्दभत्ता सुरु गर्ने दल’ भनेका छन् भने कोहि ‘लोडसेडिङ अन्त्यको जस’ आफूलाई दिँदै भोट मागिरहेका छन् ।
राष्ट्रिय राजनीतिमा कुन पार्टीले के गरे, कुन पार्टीको मुद्दा कस्तो भन्नुले स्थानीय निकायमा कमै फरक पार्छ । कम फरक यस अर्थमा पार्छ कि स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिको अधिकार क्षेत्र स्थानीय तह मात्र हो । त्यसैले हरेक मतदाताले दलहरु भन्दा पनि स्थानीय उमेदवारलाई उनीहरुले उठाएका मुद्दा हेरेर अत्यन्त विवेकी भएर आफ्नो मतको प्रयोग गर्नुपर्छ । हाम्रो जस्तो अशिक्षित समाजमा अझैपनि ‘दलहरुका चुनाव चिन्हका गुणका आधारमा’ भोट दिइन्छ अर्थात त्यसरी नै भोट गर्न अशिक्षित दिमागमा मनोवैज्ञानिक प्रभाव पारिन्छ ।
एमालेलाई भोट किन दिने भन्दा ‘सुर्यले उज्यालो दिन्छ त्यसैले’ वा कांग्रेसलाई भोट दिने भनेको ‘रुखले सितल दिने भएर’ …..। सुर्यको उज्यालो र रुखको सितलतासंग उक्त पार्टीले उठाएको उमेद्वारको कुनै सम्बन्ध छ र? तर पनि एक खालको मनोवैज्ञानिक प्रभाव हाम्रा अशिक्षित आमाबुवाको दिमागमा परेको छ । उनीहरु त्यसैका आधारमा मताधिकारको नाममा आफ्नो मतको दुरुपयोग गरिरहेका छन् । प्रत्येक चुनावमा त्यहि मनोविज्ञानका आधारमा नयाँनयाँ अनुहारलाई जिताएका छन् । त्यसैले शिक्षित जमातले पार्टीभन्दा माथि उठेर आफ्नो परिवार र समाजमा राम्रा उमेदवारको पक्षमा जनमत बनाउन मद्दत गरेमा आफ्नो स्थानीय तहको भविष्य उज्यालो हुनेमा दुइमत छैन । त्यस्तै अहिलेको ठूलो र झन्झटिलो मतपत्रमा छाप लगाउने तरिका अर्थात मतदाता शिक्षामा सहयोग गरेमा कम मतपत्र बदर हुनेछन् र सहि उमेदवारको छनोटमा सहयोग पुग्नेछ ।
लामो समयसम्म स्थानीय निकायको निर्वाचन हुन नसक्दा विकासले गति लिन नसकिरहेको अवस्थामा अब निर्वाचित हुने जनप्रतिनिधिबाट जनताको ठूलो अपेक्षा हुनु स्वाभाविक नै हो । स्थानीय उमेदवारले पनि त्यहि अनुरुप आफ्ना घोषणापत्रहरु तयार पनि पारेका छन् । तर कार्यान्वायनका आधार बिनाका सपनामात्रको कुनै अर्थ रहदैन । कतिपय उमेद्वारले आफ्नो क्षेत्राधिकारको ख्याल नगरि आफ्नो अधिकारभन्दा माथिका काम पनि गर्ने भन्दै प्रचारप्रसार गरिरहेका छन् ।
चुनावकै अवसरमा केहि ‘टुरिस्ट नेताहरु’ पार्टीको टिकट बोकेर गाउँ पसेका छन् । ती अवसरबादी नेताहरु जसरी आउँछन त्यसरी नै हराउने गरेको विगतमा पनि देखिएको छ । त्यसैले उमेद्वार छनोटको पहिलो चरण, ‘उमेद्वार स्थानीय तहमा कत्तिको भिजेका छन् अर्थात विगतमा ती उमेद्वारले हाम्रो गाउँसमाजलाई केके योगदान पुर्याएका छन्’ भन्ने जान्नु हो । पहिलेको जस्तो पार्टीको चुनाव चिन्ह मात्र हेरेर भोट दिने अवस्था अहिले छैन, त्यसैले ठुल्ठुला सपना मात्र देखाउनु भन्दा हाम्रो स्थानीय माग र आवस्यकतालाई बुझ्न सकेमा उमेद्वारलाई पनि राम्रो हुनेछ ।
गुल्मी आफैमा त्यति अविकसित जिल्ला पनि होइन । तर दिन प्रतिदिन पहाडबाट तराइ सर्नेको जनलहरले गुल्मीका ग्रामिण बस्तीहरु रित्तिने क्रम जारि छ । त्यसैले पहाडबाट तराइ सर्नेको जनलहर रोक्न स्थानीय निकायका प्रतिनिधिले प्रयास गर्न सक्नुपर्छ । प्रत्येक गाउपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा, स्वरोजगारका बाटाहरु, उच्च शिक्षा र प्राबिधिक शिक्षासहितका क्याम्पसहरु, सडक सुलभतामा वृद्धि, लगभग शुन्य जस्तै रहेको पर्यटनलाई बिशेस जोड दिएर पर्यटन व्यवसायलाई उकास्ने जस्ता केहि न्युनतम आवस्यकताहरु पूरा गर्न सकेमा बसाइसराइको दरलाई कम गर्न सकिन्थ्यो ।
प्रत्येक क्षेत्रमा बिशेसज्ञ सेवा सहितको कम्तिमा एउटा अस्पताल, प्रत्येक गाउँगाउँमा मोटरबाटो पुर्याउने, खनिसकेका सडकहरुको स्तरोन्नति र कालोपत्रे गर्ने प्रक्रिया अघि बढाउने, अन्तीम स्टेसनका रुपमा रहेका गुल्मीका मुख्य सडकहरुलाई अन्य जिल्लाहरुसम्म जोड्ने, जिल्लाको निर्माणाधीन रेसुङ्गा विमानस्थलको निर्माणलाई छिटो सक्ने र विमानस्थल जोड्ने सडकसंजाल बढाउने, प्रत्येक गाउँमा स्वच्छ खानेपानी र सिंचाईको सुबिधा पुराउने, देशकै कफी खेतिको उद्गमस्थल स्थल भएकैले कफी खेतिलाई बिस्तार गर्दै ‘इलामको चियाबारी जस्तै’ गुल्मीमा पनि ‘कफीबारी’ को रुपमा पर्यटनको विस्तार गर्ने, गुल्मीको अर्गानिक कफीको ‘ब्राण्डिङ’ गरि देश विदेशमा हाम्रो कफीको निर्यातलाई बढाउने, कालिगण्डकी र बडीगाड नदीमा जलपर्यटनको रुपमा विकास गर्ने, कालिगण्डकी करिडोरको निर्माण सम्पन्न भएपछी यसले धेरै सम्भावनाका ढोकाहरु खोल्ने हुँदा यसलाई जोड्ने सडकसंजाल बढाउने, नेपालको चारधाम मध्येको एक रुरु क्षेत्रलाई प्रचारप्रसार गरि अझै व्यवस्थित बनाएर पर्यटन गतिविधि बढाउने, रुरु क्षेत्रमा आउने पर्यटकलाई एउटै प्याकेजमा रुद्राबेनी धाम, रेसुङ्गा, विचित्र गुफा, सालिमे दह, दिब्रुङ, गुल्मी दरबारलगायतका ठाउँहरु घुम्न जाने व्यवस्था मिलाउने, अन्य सम्भावित पर्यटकीयस्थलहरुको विकास र प्रचारप्रसार गर्ने ।
रेसुङ्गा, सालिमेदह लगायत क्षेत्रलाई ट्रेकिंङ रुटको रुपमा विकास गर्ने, र भौतिक संरचनाहरु निर्माण गर्ने । गुल्मीका हरेक सानाठूला नदि तथा खोलाहरुबाट लघु जलविद्युत निकालेर जिल्लालाई विद्युतमा आत्मनिर्भर बनाउने । नयाँ बस्दै गरेका बजारलाई व्यवस्थित गरि एकीकृत बस्तीको रुपमा विकास गर्ने लगायत काम गर्न सकेमा जिल्लाको अवस्था माथि पुग्नेछ । सरकारी क्षेत्रमा सबैभन्दा धेरै नाम निकाल्न सफल जिल्लाको उपमा पाएको हाम्रो गुल्मीले सबैभन्दा धेरै स्वरोजगारका अवसर सृजना गर्ने जिल्लाको रुपमा पनि नाम राख्ने बनाउन नयाँ जनप्रतिनिधि सफल हुन सक्नुपर्छ ।

-चक्र भण्डारी ३ असार २०७४, शनिबार गुल्मिन्युज डट कम” मा प्रकाशित
Previous Post
Next Post

Post Author:

Hi, I’m Chakra, from Lumbini (Born place of Lord Buddha) Nepal. I am informal student of Social Science and formal student of Life Science. Feel free to say hello via my these social networks.

0 comments: