Subscribe Us


नमस्ते, मेरो व्यक्तिगत ब्लगमा हार्दिक स्वागत छ । तपाईं यो ब्लगमा मेरा विभिन्न लेखका साथै लोकसेवा सामाग्रीहरु पनि पढ्न सक्नुहुनेछ । कृपया Menu मा गएर आफूले पढ्न खोजेको Category छान्नुहोस् वा Search box मा आफूले चाहेको विषयबस्तुको कुनै Keyword खोज्नुहोस् । मेरो ब्लग सम्म आइदिएर यहाँ भ‍एका सामग्री पढ्नुभएकोमा धन्यवाद ।

लिपि : बहस कम, विवाद धेरै

भाषा र लिपि माथिको बहस अहिले उत्सर्गमा छ । यो बेला हामीसँग रहेका सबै लिपिहरूको खोजबिन जरुरी छ ।

नेपालीमा लिपि शब्दले भाषालाई स्थायी रूप दिन प्रयोग हुने ध्वनिहरूको रेखात्मक चिह्नहरू हुन् । यसलाई अंग्रेजीमा स्क्रिप्ट भनिन्छ । लिपिको विकास भाषाको विकासभन्दा कान्छो हो । संसारमा प्रचलनमा रहेका अधिकांश लिपि चित्र लिपिबाट आरम्भ भएका हुन् ।

भाषा
राष्ट्रिय जनगणना २०६८ (सन् २०११) को तथ्याङ्कमा नेपालमा जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ देखाएको छ । नेपालमा १२५ जातजाति छन् । नेपालमा १२३ भाषा बोलिन्छन् । सबैभन्दा धेरै ४८ प्रतिशतले खस नेपाली भाषा बोल्छन् भने सबैभन्दा कम कुसुन्डा भाषा २८ जनाले बोल्छन् । (कुसुन्डा भाषाका अन्तिम वक्ता मानिएका राजामामाको २०७५ वैशाख ५ गते तनहुँको दमौलीमा निधन भइसकेकाले पितृसत्ताका हिसाबले कुसुन्डा भाषाको अन्त्य भएको मानिएको छ । यद्यपि भाषाशास्त्री प्रा.डा. माधवप्रसाद पोखरेलका अनुसार कुसुन्डा भाषा बोल्न जान्ने स्वजातिका दुई महिला र अनुसन्धाता एक गरी तीन जना छन् ।)

नेपालमा चार परिवारका भाषा बोलिन्छन् । भोट बर्मेली भाषा परिवारका ६४ वटा भाषा छन् । त्यसमा किरात समूह, मगर, तामाङ, गुरुङलगायत छन् । त्यसैगरी भारोपेली भाषा परिवारका ३० वटा छन्, जसमा खस–नेपाली, नेपाली सांकेतिक भाषासमेत पर्छ । आग्नेय भाषा परिवारका ४ वटा सन्थाल, खडिया, मुन्डा र मापाँडे भाषा पर्छन् । द्रविड भाषा परिवारका झाँगड (उराँव) र किसान भाषा रहेका छन् । लोपोन्मुख मानिएको कुसुन्डा भाषा अहिलेसम्म अवर्गीकृत रूपमै रहेको छ । नेपालमा बोलिने विदेशी भाषा अंग्रेजी, चिनियाँ, जोङ्खा, तिब्बतीलगायत २२ वटा छन् । यद्यपि नेपालमा स्वदेश र विदेशका गरी करिब १ सय ४० भन्दा बढी भाषा बोलिन भाषाशास्त्रीहरू बताउँदै आएका छन् ।
लिपि
‘लिपि’ भनेको अक्षर लेख्ने प्रणाली हो । ‘अक्षर’ भनेको व्यञ्जनसहित वा रहित स्वर भएको सिङ्गो ध्वनि वा ध्वनिसमूह हो । नेपालीमा लिपि शब्दले भाषालाई स्थायी रूप दिन प्रयोग हुने ध्वनिहरूको रेखात्मक चिह्नहरू हुन् । यसलाई अंग्रेजीमा स्क्रिप्ट भनिन्छ । लिपिको विकास भाषाको विकासभन्दा कान्छो हो । संसारमा प्रचलनमा रहेका अधिकांश लिपि चित्र लिपिबाट आरम्भ भएका हुन् । त्यसपछि क्रमश: भावात्मक लिपि, आक्षरिक लिपि र वार्णिक लिपि विकसित भएको विज्ञहरूको मत छ । जसले गर्दा लिपिको सहायताले मान्छेले भाषालाई देशकालको सीमाभन्दा बाहिर ल्याउन सकेका हुन् । संसारमा ६ हजार जति भाषा र चार सय जति लिपि रहेका छन् । लिपिको विकास इपू ४००० तिर लिपिको प्रयोग भएको मानिन्छन् ।

नेपालको सन्दर्भमा ब्राह्मी लिपिबाट अघि बढेको पाइन्छ ।

ब्राह्मी लिपिको दुई हाँगा विस्तार भएको थिए– गुप्ता र पूर्वलिच्छवि । त्यसपछि पूर्वलिच्छविबाट उत्तरलिच्छवि हुँदै नेपाललिपि (रञ्जना, भुजिमोलसहित) को विकास भएको मानिएको छ । त्यसैगरी गुप्ताबाट दुई हाँगा देखिए— कुटिला र तिब्बती । कुटिलाबाट देवनागरी, मैथिली विकसित भए । तिब्बती लिपि सातौं शताब्दीमा विकास भएको मानिन्छ । तिब्बतीबाट कैथी, किराती, रोङ लिपिको विकास भएको भन्ने पाइएको छ । किरात लिपि अठारौं शताब्दी र रोङ उन्नाइसौं शताब्दीमा विकास भएको उल्लेख छ ।
प्रचलनमा १४ लिपि
१) देवनागरी लिपि : देवनागरी लिपिमा खस नेपालीलगायत मुलुकमा बोलिने अधिकांश मातृभाषाहरू लेखिन्छन् । ब्राह्मी लिपिबाट यसको विकास भएको मानिन्छ । खासगरी यो लिपिलाई नागरी लिपि मात्र भनिन्थ्यो भने पछि धार्मिक आस्थासमेत जोडेर ‘देवनागरी’ नामकरण गरिएको हो । देवनागरी लेखनको शास्त्रीय मान्यता विशिष्ट
किसिमका भए पनि नेपालमा बोलिने भाषाहरूको विशेषताअनुसार फरक ढंगले प्रयोग गर्ने गरिएको छ । यो लिपिलाई विश्वव्यापी रूपमा प्रचलित छ ।

२) रोङ लिपि : लेप्चा भाषा रोङ लिपिमा लेख्ने गरिन्छ । विशेषगरी नेपालको पूर्वी इलाममा रहेका लाप्चा (लेप्चा) जातिले यो लिपि प्रयोग गर्छन् ।

३) किरात लिपि : यो लिपिलाई सिरिजंगा लिपि पनि भनिन्छ । विशेषगरी किराती लिम्बु जातिले मातृभाषा लिम्बु लेखनमा यो लिपि प्रयोग गर्छन् । त्यसैले लिम्बू लिपि पनि भन्ने गरिन्छ । यद्यपि किराती राई समूहका वाम्बुले, बान्तवा, चाम्लिङ, बाहिङलगायत भाषाहरू किरात लिपिमा लेख्ने गरेका छन् ।

४) सम्भोटा/उछेन लिपि : तिब्बती भाषाहरू यो लिपिमा लेखिन्छ । शेर्पालगायत हिमाली भेगमा बसोबास गर्ने जातिले सम्भोटा (उछेन) लिपिको प्रयोग गर्छन् । त्यसैगरी सम्भोटालाई केही परिमार्जनसहित तामाङ जातिले ‘तामयिग लिपि’ भनेर प्रयोग गरेको पाइन्छ ।

५) रञ्जना लिपि : नेवार (नेवा:) जातिले मातृभाषालाई नेपालभाषा भन्छन् । यो भाषा रञ्जना लिपिलगायत प्रचलित लिपि, भुजिमोल, पाचुमोल, कुम्मोल, गोलमोल, लितुमोल, हिंमोल, क्वेंमोल आदि लिपिमा लेख्ने गरिन्छ । यी लिपिलाई नेवा: लिपिका रूपमा विकास गरिएको छ ।

६) ओलचिकी लिपि : झापा र मोरङ जिल्लामा बोलिने सन्थाली भाषा लेखन यो लिपिको प्रयोग गरेको पाइन्छ ।

७) खेमा लिपि : यो लिपि तमु (गुरुङ) जातिले आफ्नो मातृभाषा लेख्ने गरेका छन् ।

८) मिथिलाक्षर (तिरहुत) : मैथिली भाषा लेखनमा यो लिपि प्रयोग गरेको पाइन्छ । बंगला लिपि र रञ्जना लिपिसँग यसको निकटता रहेको विज्ञले जनाएका छन् ।

९) अक्खा लिपि : मगर जातिले मातृभाषा लेखन गर्दा अक्खा लिपि प्रयोग गर्छन् । मगरभित्र ढुट, काइके र पाङ (खाम) गरी तीनथरी भाषा बोलिन्छन् ।

१०) कैथी लिपि : यो लिपि तराईमा बहुसंख्यकले बोल्ने मैथिली र भोजपुरी भाषा लेखनमा प्रयोग गर्न गरिन्छ । यद्यपि सर्वसुलभताका हिसाबले देवनागरी नै बढी चलनमा रहेको छ ।

११) धम् लिपि : झापाका आदिवासी धिमालले आफ्नो मातृभाषा लेखनमा यो लिपि प्रयोग गर्ने गरेका छन् । गोरखापत्र दैनिकको ‘नयाँ नेपाल’ धिमाल भाषा पृष्ठमा यो लिपि सजाइएको पाइन्छ ।

१२) उर्दू लिपि : बोलीचालीमा उर्दू भाषा र लिपि भन्ने गरिन्छ । खासगरी उर्दू भाषा फारसी लिपिमा लेखिन्छ । नेपालमा रहेका उर्दूभाषी स्रष्टाले यो लिपिको प्रयोग गर्छन् । उर्दू भाषा अन्तर्राष्ट्रिय रूपमै प्रचलनमा रहेकाले यो लिपि व्यापक रहेको मान्न सकिन्छ ।

१३) ब्रेललिपि : दृष्टिविहीन व्यक्तिले हातले छामेर अक्षर पढ्न सक्ने लिपिलाई ब्रेललिपि भन्ने गर्छौं । यो लिपि अन्तर्राष्ट्रिय रूपमै प्रचलनमा रहेको छ । देशअनुसार फरक ढंगले प्रयोग गरिन्छ ।

१४) रोमन लिपि : रोमसभ्यताबाट विकसित लिपि रोमन लिपि हो । यो लिपि मुख्यगरी अंग्रेजी भाषा लेख्ने गरिन्छ । प्रयोगका दृष्टिकोणले संसारका धेरै भाषा लेखन गर्दा रोमन लिपिको प्रयोग गरेको पाइन्छ । नेपालमा देवनागरी लिपिलाई सरकारी कामकाजको भाषा बन्नुअघिसम्म रोमन लिपिको व्यापक प्रयोग गर्ने गरिन्थ्यो ।

यसका अलावा छिमेकी भारतको सिक्किममा भाषिक समुदायलाई प्राथमिकता दिएको हुँदै राईहरू भाषालाई कृपासल्याण लिपि र जेँ:तिचा लिपि किराती कोँइच (सुनुवार) भाषा लेख्ने गरिएको पाइन्छ । नेपालमा पनि त्यसको चर्चा गर्ने गरिएको पाइन्छ ।
मत
नेपालको संविधान (२०७२) ले मुलुकमा बोलिने भाषालाई ‘राष्ट्रभाषा’ को संज्ञा दिएको छ । संविधानत: भाषा आयोग गठन भएको छ । आयोगले सरकारी कामकाजको भाषा निर्धारण गर्नेछ । त्यसैगरी भाषाहरूको मुलुकमा रहेका भाषाहरूको सर्वेक्षण, अध्ययन अनुसन्धान गरी त्यसको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका उपायहरू सुझाउने छ । शिक्षामा मातृभाषाको प्रयोग सिफारिस गर्नेछ । ‘लिपि भाषाकै अभिन्न पक्ष हो, यसको शास्त्रीय पक्ष र वर्तमानमा प्रयोग महत्त्वपूर्ण छ,’ भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थी भन्छन्, ‘मुलुकमा प्रचलनमा रहेका १४ वटा लिपिको प्रयोग र प्रविधिसितको सम्बन्ध हेरिनेछ । संवद्र्धन, प्रवद्र्धनका पक्षमा प्राथमिकता दिइनेछ ।’

भाषाशास्त्री प्रा. चूडामणि बन्धु भाषा र लिपि सम्बन्धित जाति र मुलुकको पहिचान भएको उल्लेख गर्छन् । ‘नेपालका प्रचलित प्रमुख लिपिहरू’ नमक पुस्तकका सम्पादक बन्धु भन्छन्, ‘तर व्यवहारमा जुन भाषा र लिपि बढी प्रचलनमा छ, त्यसमा मान्छेको आकर्षण बढ्ने भएकाले नेपालमा पाइने लिपिहरूलाई निरन्तर प्रयोग तथा व्यवहार गर्न कठिनाइ भइरहेको छ ।’
अर्का भाषाशास्त्री प्रा. योगन्द्रप्रसाद यादव भाषा आयोगले हरेक प्रदेशमा शाखा विस्तार गरेसँगै प्रादेशिक र स्थानीय सरकारले त्यहाँ बोलिने भाषा र प्रयोग गरिने लिपिको संरक्षणमा विशेष जोड दिनुपर्ने बताउँछन् । ‘भाषा, लिपि र संस्कृति एकअर्काका पर्याय हुन्, त्यसैले त्यसको मौलिकता संरक्षण गर्न जरुरी छ,’ यादवको सुझाउँछन् ।

नेपालमा भाषा, लिपि अनि संस्कृतिलाई राजनीतिक रंग दिएर अधिकारको विषय बनाइएको पाइन्छ । यो विषय सत्ता पक्षलाई जहिल्यै टाउको दुखाइको कारण बन्ने गरेको छ । यद्यपि भाषा पुर्खाले आर्जेको सम्पदा हो भने लिपिको प्रयोग प्राज्ञिक अभ्यासको फल हो । यसर्थ यसलाई सांस्कृतिक सम्पदाकै रूपमा स्विकार्नु उचित हुने संस्कृतिविद्हरूको मत पाइन्छ । 
गणेश राई | कान्तिपुर कोशेली

Post a Comment

0 Comments