राष्ट्र सेवकका लागि योगका तीन सुत्र

योग कर्मशुकौशलम् (श्रीमद्भगवतगीता)

कुशलतापूर्वक कर्म गर्नु नै योग हो। स्वस्थ शरीर, खुसी मन, शान्त भाव र आनन्दित आत्मामा स्थित भएको कर्मचारीले कुशलतापूर्वक काम गर्न सक्छ। राष्ट्रसेवक कर्मचारीले सरकारले खटाएको ठाउँमा कामकाज गर्नुपर्दछ। यहाँ नेर दुइटा अवस्थालाई स्वीकार गर्न सक्छ। सबैभन्दा राम्रो आफूले मनपराएको काम गर्नु, आफ्नो क्षमता योग्यता वा रुचिको विषय भएको ठाउँमा काम गर्नु, अर्को आफूले गरिरहेको कामलाई मन पराउनु। मनोचिकित्सकीय अध्ययनले के देखाएको छ भने जो मानिसहरू आफूले काम गरिरहेको ठाउँमा राजी छैनन् भने तिनीहरूमा मुटु सम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ।

अधिकांश कर्मचारीहरू मुटु रोग, उच्च रक्तचाप, मधुमेह र नशा सम्बन्धी रोगका सिकार भईरहेका छन्। यस्तो पनि भइसक्यो की अलि तनाव लिने कामको लत लागेका कर्मचारी, कार्यालय समय भन्दा अघि वा पछि काममा जोतिरहनु राम्रो हो। कर्मचारीले आफ्नो समय जनताको सेवामा समर्पित गर्छु भनेर नै आएको हो। सेवा नै गर्नु छ भने खुसी भएर सेवा किन नगर्ने ? खुसी उत्साहित हुँदै सेवा गरे आफ्नो स्वास्थ्य कायम रहने, सेवाग्राही पनि सन्तुष्ट हुने, कार्यालयको कार्यसम्पादन स्तरसमेत राम्रो हुने गर्दछ। मन खुसी भएको अवस्थामा मानिसले अझ राम्रोसँग कार्यसम्पादन गर्न सक्दछ।

कुनै सेवा दिए बापत मलाई के प्राप्त हुन्छ ? भन्ने मनसाय लिएर गरेको काम पक्षपातपूर्ण हुन्छ। केही प्राप्त हुने देखे त्यसप्रति जाँगर चल्ने र केही प्राप्त नहुने अवस्था देखे कामप्रति जाँगर नचल्ने हुन्छ। कुनै काममा मन, शरीर र चेतना एकाकार भई दत्तचित्त भएर काम गर्नु पनि योग हो। कुनै कर्ममा आफू भित्रको विचार र बाहिरको बोली व्यवहार मिल्नु नै त योग हो। मनुष्यताको उजागर कुशलतापूर्वक असल कर्म गर्नुबाट हुन्छ भन्ने कुरा योगका ऋषिमूनिले बताएका छन्।

योगश्चित्तबृत्तिनिरोध (पातन्जलयोगसुत्र)

योगले चित्तका वृत्तिहरू निरोध गर्दछ। मानिसको बाहिर देखिने भौतिक शरीर हार्डवेयर हो। विचार चलाउने सफ्टवेयर यानेकी अन्तष्करणले (मन, बुद्धि, चित्त र अहङ्कार) गर्दछ। हामीसँग शरीर छ, मन छ, भाव छ, आत्मा छ। यो सबै तत्त्वहरू स्वयंको केन्द्रमा स्थित हुनु योग हो। योग भित्र शरीरको स्वास्थ्य कायम राख्न गरिने योगाभ्यास, मन खुसी र स्थिर राख्न गरिने प्राणायाम र भाव शान्त र आत्माआनन्दको लागि गरिने ध्यानको समग्रतालाई योग भनिन्छ। वास्तवमा केही गर्नु भन्दा पनि केही नगर्नु तर समग्रताप्रति सजग हुनु,सबै थाहा पाउनु, होसमा रहनु, के भईरहेको छ ? त्यसमा होस रहनु नै ध्यान हो। ध्यानको क्षमता बढाउन गरिने प्रयासहरू साधनाका क्रियाहरू हुन्। पातञ्जल योगसुत्रमा ऋषि पतञ्जलि भन्नु हुन्छ- चित्तका वृत्तिहरू निरोध हुनु नै योग हो। बार बार एउटै कुरा मनमा आईरहने प्रवृत्ति हुन्छ। कुनै विषयवस्तु वा घटना पटक-पटक मनमा आईरह्यो भने बेहोशीमा यसले चित्तमा जरा गाड्दछ।

विचारहरूको बाढी आउँछ। भनिन्छ २४ घण्टामा करिब ६० हजार विचारहरू आउँछन्। हामी दिनभरि जे जे कर्म गर्दछौँ, विचार पनि तिनै कुराका आउने गर्दछ। विचार हामीले आर्जन गरेका हौँ। आकर्षित गरेका हुन्छौँ। जीवन भरी जे कुरामा ध्यान दिईयो, समय विताईयो, ऊर्जाको लगानी गरियो, त्यही फर्केर आउने हो। राष्ट्रसेवक कर्मचारीको नाताले आफ्ना दिनचर्या कसरी विताईयो, के कस्ता सङ्गत गरियो, प्राथमिकता के भए ? त्यसै अनुरूपका विचार आउने हुन्। यदि हामी वास्तवमै स्थायी स्वास्थ्य, खुसी, शान्ति र आनन्द चाहन्छौ भने हाम्रा चित्तका वृत्तिहरू निरोध हुनै पर्छ।अब चित्तका वृत्तिहरू निरोध गर्न चित्त अशान्त हुने वा बनाउने कुराहरूको बारेमा थाहा पाउनु जरुरी छ। आफू भित्रको अशान्ति, बेचैनी थाहा पाउन अन्तर मनको यात्रामा जानु पर्दछ।आफै भित्र फर्किने कला ध्यान हो। ध्यानबाट मानिसले आफ्ना अन्तस्करण मन, बुद्धि, चित्त, अहङ्कार र तीनको झुकाव कता तीर छ थाहा पाउँछ, काम नलाग्ने कुराहरू तर्फ बहेको ऊर्जाको क्षयलाई रोक्न वा आफूले चाहेतर्फ लैजान सक्छ।

शरीरले केही परिश्रम गर्नै पर्छ, यस कारण की परिश्रम पछिको विश्राम मात्र आनन्ददायक हुन्छ। शरीरले आवश्यक परिश्रम गरेन भने मन चञ्चल बन्दछ। रक्तसञ्चार र प्राणसंचार शिथिल बन्छ। उचित व्यायाम पुगेको शरीर चङ्गा जस्तै हलुका हुन्छ र शरीरको विकार निष्कासन प्रणाली सक्रिय हुन्छ। शरीर स्वस्थ भए पछि चेतनाले सूक्ष्म तहमा काम गर्न सक्छ नत्र शरीरको ऊर्जा खाना पचाउन र शरीरको मर्मतसंभारमाब्यस्त हुन पुग्छ। मननै हाम्रा सम्पूर्ण क्रियाकलापहरूको चालक हो। मनलाई प्राणायामको अध्यासद्धारा शुद्धीकरण गर्न सकिन्छ। मनको ठिकसँग व्यवस्थापन गर्न सक्नेले कार्यालयको व्यवस्थापन कुशलतापूर्वक गर्न सक्छ।

समत्वम योग उच्यते (श्रीमद्भगवतगीता): 

सुखमा होस या दुःखमा होस्, जस्तोसुकै परिस्थितिमा समता भावमा रहूँ, खुसीको क्षणमा बहुत ज्यादा खुसी नहोऊ, खुसीप्रति आसक्त नबन, दुःखमा पनि ज्यादा दु:खी नहोउ, दुःखप्रति विरक्त नबन, बस आफ्नो नित्य स्वरूपमा अटल अचल रहूँ, बस् मुस्कुराइ रहूँ! श्रीमद्भागवत गीताको यो श्लोकले राष्ट्रसेवक कर्मचारीको जीवनमा आउने उतारचढावमा पनि समभाव बनाएर कसरी आफ्नो आत्मवललाई उच्च बनाईरहने भन्ने सूत्र दिएको छ। कर्मचारी भएको नाताले कहिले सुगम त कहिले दुर्गम, कहिले सुविधाजनक त कहिले असुविधा, कहिले प्रतिकुल त कहिले अनुकूल वातावरणमा काम गर्नु पर्दछ।

पारिवारिक जिम्मेवारी, सामाजिक जिम्मेवारीको साथै राष्ट्रप्रतिको जिम्मेवारीका बीच तालमेल मिलाउन र यसै बीच ब्यक्तिगत स्वास्थ्य र खुसीलाई कायम गर्दै वृत्ति विकासका सिडीहरू उक्लिने क्रममा कर्मचारी प्राय: तनावमा रहने गर्दछ। बाहिरका क्रियाकलापबाट उत्सर्जन भएको अवस्थालाई व्यक्ति स्वयंले होसमा या बेहोशीमा प्रतिक्रिया जनाउँछ, ग्रहण गर्दछ। जसबाट व्यक्तिमा तनाव उत्पन्न हुन्छ। व्यक्तिले आर्जन गरेको तनावलाई स्वयंले विसर्जन गर्नु पर्दछ। आफैले सङ्ग्रह गरेको चाहिने नचाहिने कुराहरुलाई आफैले हटाउनु पर्छ। यसको लागि आजसम्म संग्रहित शरीर र मनका विकारलाई हटाई शुद्धीकरण गर्नु जरुरी छ। यो शुद्धीकरण गर्ने एक मात्र उत्कृष्ट उपाय भनेको योग नै हो। मानौँ मन बादल हो भने चेतना आकाश हो। मनको बादल हटाई चेतनाको आकाशमा पुग्न सके हरेक कुरा क्रिष्टल क्लियर हुन्छन्। जति जति चैतन्यता खुल्दछ, त्यत्ति त्यति सत्यको नजिक पुगिन्छ, सत्यको निकट पुगेर गरिएको निर्णयबाट विना पक्षपात सेवा प्रवाह हुन्छ।

कर्मचारी आफ्नो लक्ष्य उद्देश्यमा स्पष्ट हुन्छ। सेवा प्रवाहमा भाव जोडिन्छ। सरकारी सेवामा समस्याहरू केलाउने क्रममा धेरै कुराको अभाव छ भनेर जोगिने प्रयास गरिन्छ। जे छ त्यसमा भाव जोडिए अभाव भन्ने कुरो हुँदैन। सम चित्तले गरेको निर्णयले सबैको कल्याण हुन्छ भनिएको छ।

अन्त्यमा, करिब तीन करोड नेपालीमा राज्यको तर्फबाट जनतालाई सेवा दिन खटिएका राष्ट्रसेवकको सङ्ख्या करिब ५ लाखको हाराहारीमा छ। निजामती सेवा, सुरक्षा निकाय, संस्थान, बोर्ड, समिति, प्रतिष्ठानका कर्मचारी, शिक्षक र अन्य सरकारी निकायमा कार्यरत र अवकाश प्राप्त राष्ट्रसेवकको सङ्ख्या १० लाख पुग्न सक्छ। कर्मचारीहरू निरन्तर ऊर्जावान् बनिरहन उत्साह जोस जागरको जरुरत पर्दछ।

भित्रैबाट केही त्यस्तो उत्प्रेरक तत्त्व होस् जसले राष्ट्रसेवकको मनोबल उच्च बनाईरहोस्। त्यस्तो दिगो स्रोतको प्राप्ति योग र अध्यात्मबाट हुन सक्दछ। कर्मचारीको क्षमता विकासका लागि भनेर हरेक वर्ष करौडौं रुपैयाँ बजेट विनियोजन हुने गरेको छ। त्यो बजेट खास गरी कर्मचारीलाई कम्प्युटर तालिम, भाषा तालिम, लेखा तालिम, विविध खालका क्षमता विकास गर्ने कार्यक्रममा खर्च गरिन्छ। हाल सम्म जे जति तालिमका नामका पैसा खन्याए पनि के कर्मचारीको समग्रतामा क्षमता विकास भएको छ ? जनताको सरकारी सेवा प्रतिको धारणा कस्तो छ ? राजनीतिक नेतृत्वले कर्मचारीतन्त्रलाई सहयोगी ठानेको छ त ? सेवाग्राही सन्तुष्ट छन् ? सेवाको गुणस्तर राम्रो छ यी प्रश्नहरूको उत्तर सकारात्मक आउने वाला छैनन्। यदि यहाँ साँच्चै परिवर्तन गर्नुपर्ने छ भने हरेक कर्मचारीको जीवनशैली, चरित्र र स्वभाव परिवर्तनको आवश्यकता छ। यसको लागि योग नै परिवर्तनको माध्यम बन्न सक्छ ।

लेखक, योग साधक तथा नेपाल सरकारका उपसचिव  विन्दा आचार्यले प्रशासन डट कम मा लेखेको लेख (साभार)

Chakrapani Bhandari

Hi, I’m Chakra, from Lumbini (Born place of Lord Buddha) Nepal. I am a Section Officer at Nepal Govt. and a student of Microbiology, Social Science and Law. If you have any queries relevant to the topic, drop a comment below. facebook twitter instagram youtube external-link

Post a Comment

Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.

Previous Post Next Post