Advertisement

प्रविधि हस्तान्तरण, विश्वव्यापीकरण र उदारीकरणको वर्तमान विश्वबजारमा औचित्य

प्रश्नः प्रविधि हस्तान्तरणबारे चर्चा गर्दै विश्वव्यापीकरण र उदारीकरणको वर्तमान विश्वबजारमा औचित्य प्रस्ट पार्नुहोस् ।   १०
सबल पूर्वाधार व्यवस्थाका लागि प्रविधि हस्तान्तरण
प्राविधिक ज्ञान, सीप र क्षमतालाई एउटा देशबाट अर्को देशमा, एउटा निकायबाट अर्को निकायमा प्रवाह गर्नुलाई प्रविधि हस्तान्तरण भनिन्छ । यो उत्पादन आविष्कार र नवप्रवर्तनका विधि र प्रक्रियाको व्यावसायीकरण गर्ने तथा एक पक्षमा भएको ज्ञानलाई अर्को पक्षमा हस्तान्तरण गर्ने कार्य हो । यसले विश्वको एक परिवेश सन्दर्भमा भएको नयाँ सिर्जना र नवप्रवर्तनलाई अर्को दुनियाँमा भरपूर उपयोग गर्न सकिने अवस्थाको सिर्जना गर्छ । 
उपयुक्त कानुनी संरचना, प्रविधि हस्तान्तरण नीति, लगानीमैत्री वातावरण, दक्ष जनशक्ति, सबल पूर्वाधार व्यवस्थाजस्ता पूर्वसर्तविना प्रविधि हस्तान्तरण सम्भव हुँदैन । त्यसैले यसका लागि आवश्यक पूर्वसर्त हुनु जरुरी छ । प्रविधि हस्तान्तरणलाई विधिसम्मत बनाउन वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन ०४९ को व्यवस्था रहेको छ ।
प्रविधि हस्तान्तरणको औचित्य
  • नयाँ ज्ञान, सीप, खोज, अन्वेषण र अनुसन्धानलाई बढावा दिन,
  • उत्पादन एवं सेवा क्षेत्रको उत्पादकत्व बढाउन,
  • आधुनिक प्रविधिको बजारीकरण गर्न,
  • मानवीय सीप, क्षमताको बढीभन्दा बढी उपयोग गर्न,
  • गुणस्तरीय र प्रतिस्पर्धात्मक उत्पादन र उत्पादकत्व वृद्धि गर्न,
  • मुलुक सुहाउँदो पूर्वाधार विकास गर्न,
  • विश्व व्यापारलाई थप प्रभावकारी र गतिशील बनाउन,
  • न्यून लागत तथा बढी प्रतिफलयुक्त वस्तु तथा सेवा सहज रूपमा पाउन,
  • ज्ञानमा आधारित समाज, पेसा र व्यवसायको प्रवद्र्धन गर्न,
  • उदारीकरण र विश्वव्यापीकरणका फाइदालाई उपयोग गर्न,
  • लगानीमैत्री वातावरणमार्फत लगानी भित्र्याई उच्चतम प्रतिफल हासिल गर्न,
  • आधुनिक कार्यशैलीको विकास र अनुसरण गर्न,
  • प्रविधिले सिर्जना गरेका अवसरलाई उपयोग गर्न, 
  • स्रोत–साधनको उचित परिचालनद्वारा सबल अर्थतन्त्रको निर्माण गर्न,
  • उत्पादन र आविष्कार, नवप्रवर्तनका विधि र प्रक्रियाको व्यावसायीकरण गर्न,
  • ज्ञानमा आधारित समाजको निर्माण गर्न,
अन्त्यमा
प्रविधि हस्तान्तरणले विश्वको एक परिवेश र सन्दर्भमा भएको आविष्कारलाई विश्वव्यापी रूपमा प्रसारण गर्न मद्दत गर्छ । प्रविधिले सिर्जना गरेका अवसरलाई भरपूर रूपमा विश्वभर पु-याउन मद्दत गर्ने हुँदा २१औँ शताब्दीमा आविष्कारको एक नयाँ प्रयोगका रूपमा यसलाई मान्न सकिन्छ । त्यसैले वर्तमान विश्वमा प्रविधि हस्तान्तरणको माध्यमबाट ज्ञान, सीप र शैलीको उपयोग गरी आर्थिक समृद्धि हासिल गर्नुपर्ने देखिन्छ । 
प्रश्नः अन्तःशुल्क भनेको के हो ? अन्तःशुल्क प्रशासनमा गर्नुपर्ने सुधारका विषय के–के हुन् ? प्रकाश पार्नुहोस् ।     (५)
उत्पादनमा लाग्ने कर अन्तःशुल्क
आन्तरिक उत्पादित तथा आयात गरिएका वस्तु तथा सेवामा लाग्ने अप्रत्यक्ष करलाई अन्तःशुल्क भनिन्छ । यो जनस्वास्थ्य र वातावरणमा असर गर्ने तथा बिलासिताका वस्तु वा उत्पादनमा लाग्ने कर हो । स्वदेशमा अन्तःशुल्क लाग्ने वस्तु विदेशबाट आयात गरेमा त्यस्तो वस्तुको भन्सार बिन्दुमा अन्तःशुल्क लाग्ने गर्छ ।
अन्तःशुल्क विशेषतः वस्तु, तथा सेवा दुवैमा लाग्ने गर्छ । नेपालमा सेवामा अन्तःशुल्क लाग्ने कानुनी व्यवस्था भए पनि व्यवहारमा भने लागू भएको पाइँदैन । आर्थिक अध्यादेश ०७० अनुसार नेपालका ५६ वटा वस्तुमा अन्तःशुल्क लाग्छ । अन्तःशुल्कलाई व्यवस्थित गर्न नेपालमा कानुनी तथा संस्थागत व्यवस्था गरिएको भए पनि सही कार्यान्वयन भने हुन सकेको छैन ।
  • अन्तःशुल्क प्रशासनमा क्षेत्रमा गर्नुपर्ने सुधारका विषय
  • अन्तःशुल्कका दर र क्षेत्रमा स्थिरता ल्याउने,
  • अन्तःशुल्क प्रशासनको सुदृढीकरण गर्ने,
  • आन्तरिक राजस्वको आधार फराकिलो बनाउने,
  • राजस्व चुहावट नियन्त्रण गर्ने,
  • भौतिक नियन्त्रण प्रणालीलाई स्वयं निष्कासन प्रणालीमा रूपान्तरण गर्ने,
  • कर प्रणालीलाई व्यवस्थित गर्ने,
  • अन्तःशुल्कसम्बन्धी नीति तथा कानुनलाई समसामयिक तुल्याउने,
  • अन्तःशुल्कमार्फत स्वदेशी उद्योगको संरक्षण गर्ने,
  • अन्तःशुल्क प्रशासनमा नयाँ जनशक्ति भित्र्याउने,
  • स्वचालित नियन्त्रण प्रणाली लागू गर्ने,
अन्त्यमा
नेपालमा घट्दो राजस्वको खाडललाई पूर्ति गर्न अन्तःशुल्कको प्रयोग अपरिहार्य देखिन्छ । अतः यसको व्यवस्थित परिचालनका साथै यसको दर र क्षेत्रमा स्थिरता ल्याई अन्तःशुल्कको परिधि बढाउनु आजको आवश्यकता हो ।

Post a Comment

0 Comments