फेरिदै “भैलीको शैली”
पछिल्लो समय क्लब, विद्यालय, आमासमुह जस्ता सामाजिक संघसंस्थाले सामुहिक देउसी भैलो खेलेर सामाजिक पैसा संकलन गर्ने परम्परा स्थापित गराएका छन् । घरघरमा गएर देउसी भैलो खेल्ने पुरानो शैलीलाई केहि परिमार्जन गर्दै सत्यवती ७ चिदिपानीको बिसौनी युवा क्लबले एउटा नयाँ शैली भित्र्याएको छ ।

कुनै साँस्कृतिक कार्यक्रमको जस्तो झल्को दिने गरि सत्यवती ६ ढावको सिङ्गो गाउँलाई श्री सर्वेश्वर प्राविको प्राङ्गणमा भेला गराइ सामुहिक देउसीभैलो कार्यक्रम गरेको हो । एउटा घरबाट अर्कोमा साउण्डसिस्टम र अन्य सामाग्री सहित पुग्दा कम्तीमा पनि १५ देखि २० मिनेट खर्च हुने र त्यो अतिरिक्त समयमा अन्य प्रस्तुतिहरु देखाउन सकिने हुँदा आफूहरुले एउटै ठाउँमा देउसीभैलो खेल्ने प्रस्ताव राखेको क्लबका कोषाध्यक्ष बिक्रम हमालको भनाइ थियो ।

ढाव गाउँले देखाएको सद्भाव प्रति आफूहरु अत्यन्तै खुसी भएको क्लबका अर्का सदस्य तथा देउसीभैलो कार्यक्रमका उद्घोषक डोलबहादुर शाहीले बताउनुभयो । बिसौनी युवा क्लबका संस्थापक अध्यक्ष तथा सत्यवती गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष श्री लोक बहादुर बुढाथोकीको अध्यक्षतामा भएको देउसीभैलो कार्यक्रममा कलाकारहरुले लोकशैलीका मारुनी, सोरठी, पन्चेबाजा लगायतका गीतहरुमा आफ्ना मौलिक प्रस्तुति देखाएका थिए।

कार्यक्रममा बिशेष समय लिदै शिक्षक श्री देवकीनन्दन भण्डारीले क्लबले गरेका समाजिक कामहरूको बारेमा प्रकाश पार्दै क्लबलाई ढुक्क भएर सहयोग गर्न गाउँबासीलाई आह्वान गर्नुभएको थियो । यसरी संकलित पैसाले विगतमा पनि विभिन्न उदाहरणीय कामहरू गरेको र यसपालिको पनि सम्पुर्ण पैसा सामाजिक काममा नै खर्च हुने क्लबको प्रतिबद्धता छ ।

२०६३ सालमा स्थापित क्लब जिल्लामा नै एउटा उदाहरणीय क्लबको आफ्नो पहिचान स्थापित गरेको छ । बिसौनी युवा क्लबको सक्रियतामा चिदिपानी गाउँमा विभिन्न समाजिक कामहरू तथा बिकास निर्माणका कामहरू हुँदै आइरहेका छन् ।
२०७४ को तिहारमा सेरोफेरोन्युजमा प्रकाशित चक्र ज्वाला,सत्यवती ६ गुल्मी
अनभिव्यक्त प्रेम (An Unexpressed Love)
… “ऊ लपक्कै मसंग टासिई । मैले पनि उसलाई कसिलो गरि समाएँ। त्यसपछिका मेरा हरेक क्रियालापमा उसले मौन स्वीकृति दिई । मैले पनि त्यो अवसरको भरपुर फाइदा लिदै थिएँ । ऊसँग यसरी भेट पाउनु नै मेरा लागि ठुलो अवसर थियो ।  यस्तो नौलो र एकान्त ठाउँमा यसरी ऊसँग पहिलोपटक थिएँ । म अचम्म मानेर उसका हरेक क्रिया-प्रतिक्रिया नियालिरहेको थिएँ । मैले उसलाई  यस्तो अवस्थामा कहिल्यै कल्पना समेत गरेको थिइनँ । बिस्तारै उसलाई काखमा बसालेँ । उसले पुरै शरीर छोडिदिई, मानौं ऊ पुरै बेहोस छे । मेरा हात उसको कपाल हुँदै बिस्तारै अनुहारसम्म पुग्दै थिए । म सम्हालिनै नसक्ने अवस्थामा पुगिसकेको थिएँ । उसको ओठको नजिक मेरो ओठ पुर्‍याउदा समेत प्रतिकार गर्नुको साटो उसले झन् मलाई साथ दिन खोज्दै थिई । आफ्नो बलले भ्याएसम्म उसले मलाई अठिलो गरि समाई । एक दिन मैले जिस्किएर यस्तै  कुरा गर्दा ‘बिबाह भन्दा पहिला तिमी मलाई सपनामा पनि त्यस्तो अवस्थामा नदेख’ भनेकी थिई । तर उ कसरी पुरै १८० डिग्री परिवर्तन भई????…
मोबाइलमा आलारामको घण्टी बज्दा पो झस्किए, “लौ ६ बजिसकेछ, कलेज जान ढिलो हुने भो ।” अब बल्ल बुझेँ, १८० डिग्री परिवर्तन कसरी भएकी रहिछे । मैले सपना पो देख्दै रैछु । मैले बिगत केही महिनादेखि अनेक रूप र अवस्थामा  उसलाई सपनामा देख्दै आएको थिएँ ।  पहिले त आफ्नो अवस्था देखेर एक्लै हासो उठ्यो । सुत्ने बेला टाउकोमा भएको सिरानीलाई पो अङ्गालेको रहेछु । ओढ्ने सिरक खाटमुनी झरेछ । मुख पुरै तिर्खाले सुकेको थियो । सकिनसकी तन्किएर सिरक झिकेँ । संगैको बोतलको एक बोतल पानी सासै रोकेर खाएँ । ‘कस्तो सपना देखेछु !! बिहानपख देखेको सपना पुग्छ रे’ मैले मनमनै बिचार गरेँ ।
° ° ° ° ° ° ° ° °
त्रिचन्द्र कलेजको एडमिसन सेक्सनबाट एडमिसन सकेर ‘सरस्वती सदन’, ‘ट्युटोरियल बिल्डिङ’ हुँदै ‘माइक्रोबायोलोजी डिपार्टमेन्ट’ तिर जाँदै थिएँ । युनिभर्सिटीको पहिलो दिन, नयाँ ठाउँ, मलाई असहज अनुभुती भएको थियो । कुनै परिचयबिना नै मतर्फ आउदै गरेकी एउटी केटीलाई सोधिहालेँ, “माइक्रोबायोलोजी डिपार्टमेन्ट कता हो?” ऊ पनि एक्लै रहिछे । घर नवलपरासी कावासोती रे, नाम  श्वेता तिवारी, चितवनको अरोमा कलेज देखि +२ गरेकी रे । ‘श्वेता अब मेरि साथी हुने भई, नजिककी केटीसाथी’ कल्पना गरेँ। अहिलेसम्म कुनै केटीसंग यतिसम्म पनि नजिकिएको थिएन । यो नै मेरो लागि पहिलो संयोग या अवसर थियो ।......
° ° ° ° ° ° ° ° °
त्रिचन्द्र कलेजको संस्कार नै त्यस्तै, जोडी भएर बसिएन भने सोसाइटीबाटै एक्लो भइन्छ । “दश जनालाई क्लासदेखि निकालिदिए २० जना निस्कन्छन्” सरहरु यस्तै भन्थे । मलाई साथ दिने श्वेता थिई । कुनै दिन ऊ क्लास आइन भने मलाई साह्रै नरमाइलो र एक्लो अनुभुती हुन्थ्यो । यत्ति छोटो अवधि मै उसले मलाई राम्रो साथ दिएकी थिइ ।
° ° ° ° ° ° ° ° °
सिडीओकी एकमात्र छोरी हो श्वेता । शिक्षित र संस्कारयुक्त परिवार । त्यो भन्दा नि राम्रो पक्ष उसको आफ्नै स्वभाव र व्यबहार । हरेक कुरामा ऊ पूर्ण थिई, हरेक कुरामा अपडेटेट पनि । उसका के चाहिँ कुरा मलाई मन परेन र? सबै आफ्ना लाग्थे, सबै राम्रा । लामो समय सम्मको संगत अनि भित्रैदेखी उसलाई मन पराउन थालेको भएपनि म कहिल्यै उसकोसामु प्रेमको बिषयमा खुल्न सकिनँ । न त उसले नै कुरा खोली । लामो समयसम्म फेसबुकमा कुरा भैसक्दा पनि सिधै भन्नै सकिनँ । घुमाउरो पारामा भनेको कुराको उसले पनि घुमाउरो पाराले बडो चनाखो भएर दुई अर्थ लाग्ने गरि जवाफ फर्काउथी । उसका कुनै कुनै कुराले लाग्थ्यो, उसले मलाई असाध्यै माया गर्छे ।  ....."तर मैले घुमाउरो पारामा भनेका कुरा उ किन नबुझे झै गरिदिन्छे ?” शंकाको बादलले मलाइ कहिल्यै छोडेन ।
“नारायणगढ आइपुगिएछ ।” मैले झ्याल देखि बाहिर बिज्ञापनका होर्डिङ बोर्डमा हेरेर भनेँ । भैरहवा जाने ८७७१ नम्बरको बसको 5B मा बसिरहेको थिएँ । लामो समयपछि दशैतिहार बिदाको अवसरमा घर जाँदै थिएँ । ‘केही घन्टा अघिमात्र परिचय भएको केटाले किन आफ्नो सबै मनका कुरा मलाई सुनाउदै छ ?’ मैले मनमनै बिचार गरेँ । "राज ज्ञवाली", मणिमुकुन्द कलेज बुटवलदेखि +२ गरेको रहेछ । घर, बुटवल कालिकानगर बताउथ्यो ।
“…’श्वेता, मैले तिमीलाई भित्री हृदय देखि नै माया गर्छु । कसरी व्यक्त गरुँ, कसरी देखाउँ मैले मेरो मनको भावनालाई’ उसको सामु भन्ने आँट कहिल्यै आएन । भएको साथीको सम्बन्ध पनि नरहने पो हो कि भन्ने डरले मेरो मनमा डेरा जमाइरहेको थियो । दिन, हप्ता, महिना हुँदै बर्ष बित्यो । हाम्रो सम्बन्धले यतिबेलासम्म हागा बिगा हालेर फल पनि दिइसक्नुपर्ने । प्रगति खासै देखिएन ।…
° ° ° ° ° ° °
एकाबिहानै श्वेताको फोन आयो, ‘कस्तो दिनमा फोन गरिछे, लौ आज त भ्यालेन्टाइन डे हो’ म झस्किएँ । ‘मलाई प्रपोज गर्न फोन गरेकी??’  जिस्काउन मन लागेको थियो, सकिन । रुममा भएको बेला कहिल्यै फोन नगर्न भन्थी । आज आफै गर्दैछे । निकै  गम्भीर भएर उठाएँ । हेल्लो भन्नासाथै उसले आफुले शिक्षा मन्त्रालय मार्फत छात्रा कोटामा बाङ्लादेशको लागी MBBS मा पुर्ण छात्रवृत्ति पाएको कुरा बताई । बङ्लादेशको लागि शिक्षा मन्त्रालयको परीक्षा हामी दुईले संगै दिएका थियौं, केही दिन अघि मात्र । अब जवाफमा म के फर्काऔँ?? उसको खुसीमा बधाई दिउँ कि आफू अब एक्लो भएकोमा दुखी भएको कुरा बताउँ । म अलमल्लमा परेँ । बधाई पनि नदिउँ भने मलाई नजिकको मान्छे मानेर उसले आफ्नो खुसीमा खुसी थपोस् भनेर नै फोन गरेकी छे । खुसी मनाउने अवस्थामा म थिइनँ । उसंग छुट्टिनुपर्ने कुराले मेरो मन भत्भत्ती पोलिरहेको थियो । मलाई थाहा छ, श्वेताले बाङ्लादेश पुग्ने बित्तिकै मलाई भुल्छे । एउटा त उसको व्यस्तता, पढाई, अन्तर्राष्ट्रिय  कल र ईन्टरनेटको पहुँच आदिले उसको र मेरो दुरी अवस्य टाढा बनाइदिनेछ ।  मन निकै गरुँगो बनाएर, “बधाई छ, मलाई भेट कहिले दिन्छौ?” भनेँ।
° ° ° ° ° ° ° °
श्वेताको निमन्त्रणालाई मानेर म उसको कमलपोखरीस्थित कोठा तिर गएँ । उसको कोठामा म पहिलो पटक जाँदै भएकोले मलाई लिन सिटिसेन्टर नजिक श्वेता नै आई । “भोलि बिहान ९ बजेको टिकट छ, ६ बजे अघि नै एयरपोर्ट पुग्नुपर्छ” मलाई भेट्ने बित्तिकै उसले भनी । अहिलेसम्म कलेजमा बाहेक कहिल्यै म श्वेतासंग भेटेको थिइनँ । काम परेको बेला बाहेक फोनकल वा च्याटमा पनि कुरा खासै हुदैनथ्यो ऊसँग । नोट, प्राक्टिकल कापी वा किताब ल्याइदिने, यस्तै हुन्थे ऊसँगका कामहरू । रूममा पुग्ने बित्तिकै सबैलाई नमस्कार गरेँ । उसका दुइटा दाइ, उसकी सानीमा र सानीमाका साना दुइटा छोराछोरी थिए । आफ्ना बाबामम्मी आउन नभ्याएको रे । किन नआएका हुन् मैले चासो राखिन । श्वेता हतारमा जानुपर्ने भएकोले कलेज पढाउने उसको मम्मी र सिडिओ बाबाले आउन भ्याएनन् होला । मलाई श्वेताले सबैको सामु परिचय गराई “ऊ कलेजको सबैभन्दा नजिकको साथी हो, राज।”……..!!  "साथी मात्र?? धन्न सबैभन्दा नजिकको साथी सम्म भनी", मैले मनमनै बिचार गरेँ । जमघटमा त्यस्तो खासै विशेष कार्यक्रम त केही पनि थिएन, बिदाइ समारोह जस्तो मात्रै । “बधाई छ श्वेता, तिमीले ठुलो उपलब्धि हात पारेकी छौ । तिम्रो खुसीमा तिमी भन्दा धेरै ‘हामी’ खुसी छौँ । धेरै प्रगति गर्नु, तिम्रो भविस्यको लागि धेरै धेरै शुभकामना……।”  मनलाई सम्हालेर यतिसम्म भनेँ । ऊसँग लगभग सधैको लागि छुट्टिदैछु भन्ने कुराले यो शुभसमाचार पनि मेरा लागि अशुभ झै लागिरहेको थियो । जमघट सकिसकेपछी मलाई अघि कै ठाउँमा छोड्न श्वेता नै आई । “श्वेता तिमीसंग छुट्टिने कुराले मलाई साह्रै नरमाइलो लाग्दैछ । तिमीसंग बिताएका झन्डै साडे २ बर्ष मैले सधै मिस गरिरहनेछु” आँट गरेर यतिसम्म भनेँ । “तिमीलाई भन्दा धेरै मलाई नै नमिठो अनुभुती भएको छ राज । तिमीलाई सबैभन्दा महत्त्वका साथ मैले यहाँ किन बोलाएँ?? तिमी आफै सोच।”
.....श्वेताको यहि बानीले म उप्रति आकर्षित थिएँ । ऊ सधै जुनसुकै कुरा साङ्केतिक रुपमा भन्थी । थोरै शब्द उच्चारण गर्थी, तर त्यसको अर्थ व्यापक हुन्थ्यो । उसले बोलेका तिनै थोरै शब्दमा म व्यापक अर्थ खोज्दै थिएँ । ‘तिमी मेरो विशेष मान्छे हौं’ उसका यी शब्दहरुबाट सहजै यस्तै अर्थ लगाउन सकिन्थ्यो । 
° ° ° ° ° ° °
” ‘ढाका मेडिकल कलेज’ बङ्लादेशको एकमात्र ‘Bangabandhu Sheikh Mujib Medical University’ अन्तर्गतको सरकारी कलेज हो । मेरो क्लास बिहान ८ बजे देखि बेलुका ६ बजेसम्म हुन्छ । घरमा आएर प्राक्टिकलमा गरेका सबै कुरा पढ्नुपर्छ/लेख्नुपर्छ । भोलिपल्ट गर्ने प्राक्टिकलको बारेमा हेर्नुपर्छ । के के काम दिन्छ भ्याउदै भ्याउदिन । त्रिचन्द्रमा जस्तो रमाइलो छैन यहाँ राज । ‘सन्डे’को बिदा हुन्छ तर तिम्रो ‘जब’ र पढाइले गर्दा तिमी भ्याउदैनौ । राज, अब हाम्रो भेट अनलाइनमा हुन असम्भव जस्तै छ । राज, तिमी म्यासेज गर्नु मैले खोलेको बेला अफलाइन रिप्लाई गर्नेछु…..”
…मलाई पहिले नै अनुमान थियो, उसले त्यहाँ पुग्ने बित्तिकै यहि कुरा गर्छे ।
° ° ° ° ° ° ° °
अहिले पनि ऊसँग अफलाइनमा नै म्यासेज हुन्छ । व्यस्तताका कारण उसलाई अनलाइन भेट्नु भनेको मरुभूमिमा पानी भेटाउनु जस्तै भएको छ । व्यस्तताको बाबजुद पनि उसले  गर्ने हरेक म्यासेजमा मप्रतिको माया दर्सिन्छ । मैले पनि उसलाई उसकै शैलीमा प्रतिउत्तर गर्छु ।
सबै कुरा भैसक्दा, उसले मप्रती अगाध माया देखाउदा पनि अहिलेसम्म “मैले तिमीलाई मनपराउछु” सम्म भनेको छैन । न त उसले नै कहिल्यै सम्बन्धका कुरा गर्छे । त्यहीँ श्वेता हो जसलाई मैले सपनामा मात्र किस खाएको छु, सपना मै माया साटेको छु । न त ऊसँग कहिल्यै मल्टिप्लेक्स पुगेँ, न कुनै सपिङसेन्टर । पढाईको हिसाबले म भन्दा सम्मानित तहमा छे, ऊ पुर्ण छात्रवृत्तिमा बिदेशमा डाक्टर पढ्दैछे, म स्वदेश मै सामान्य ब्याच्लर । तर पनि म प्रतिको मायामा उसले कहिल्यै कमी दिएकी छैन । न त पहिलेभन्दा  परिवर्तन नै भएकी छे । टाढा भए पनि, संगै त्रिचन्द्र क्याम्पसमा हुँदा भन्दा पनि गाढा माया गर्छे उ अहिले । अनलाइनमा समय दिन नसक्नु उसको बाध्यता हो । तर म्यासेज गरेको बेला उसका शब्दमा कति धेरै माया दर्सिन्छ, त्यो भाषामा  व्यक्त गर्नै सकिदैन । पबित्र माया  गर्न दुरीले पनि फरक पार्दोरहेनछ । हामी दुरीले टाढा छौं तर पनि “मन” हाम्रो सँगै जोडिएको  छ ।  मलाई थाहा छ जिन्दगी भनेको “पैसा” होइन, पद/प्रतिष्ठा मात्र पनि होइन । “सुखी जिन्दगी” भनेको त “आत्मसन्तुष्टि” नै हो । सायद उसले पनि त्यो बुझेकी हुनुपर्छ । 
“नामको अघि ‘Dr.’ थपेपछी त मलाई भुल्छ्यौ होला है श्वेता?” भन्दा उसको तर्फबाट जुनसुकै अवस्थामा पनि साथ रहने आशयको सटिक जवाफ दिएकी थिई “त्यो त ममा होइन तिमी मै भर पर्छ राज ।” 
° ° ° ° ° ° ° °
चक्र, तपाईं आफै भन्नुस्, यस्तो कथालाई तपाईं प्रेम कथा भन्नुहुन्छ कि भन्नू हुन्न? हाम्रो सम्बन्ध प्रेमसम्बन्ध हो कि होइन? के प्रेम भनेको ‘आइ लभ यू’ भन्ने, घुम्न जाने, संगै फिल्म हेर्न जाने, किस खाने वा शारीरिक सम्बन्ध राख्ने मात्र हो? प्रेम भनेको भावना होइन र? बुटवल पुगिसकेपछि गाडीबाट ओर्लिने क्रममा उसले भन्यो । 
लौ अब प्रश्न जति म माथी तेर्सिए । मैले उत्तर दिने अवस्थामा थिइनँ । उत्तर पनि ‘२+२ कति हुन्छ’ भने  झै ठ्याक्कै एउटै कहाँ हुन्छ र? यी त तर्क दिने प्रश्नहरु हुन् । तर्क मान्छेपिक्छे फरक हुनसक्छ । संसारका कस्ता कस्ता दार्शनिकहरुले दिएका प्रेमका परिभाषामा त एकरुपता पाइदैन ।  मैले कसरी भनौं यहि नै प्रेम हो भनेर? ‘प्रेम’ भन्ने शब्द नै यस्तो हो, जुन सबै भाषामा प्रयोग भएको छ अनि मान्छेपिच्छे यसको भोगाइ र बुझाइ फरक पाइन्छ । ‘प्रेम’ शब्दको परिभाषा कहिल्यै एउटै हुनै सक्दैन । उसको सम्बन्ध निश्चल छ, सफा छ, उसका कुराका आधारमा म यत्ती भन्न सक्थेँ । लम्बाचौडा कुरा गर्ने फुर्सद नि थिएन । “मैले प्रेम बुझ्दिन, म जस्तोबाट प्रेमको परिभाषा नखोज्नुस राजजी, बाकि फुर्सदमा कुरा गरौंला ” भन्दै ऊबाट उम्किन खोजेँ । किनकि मलाई बुटवल देखि गुल्मीको लागि अर्को चरणको यात्रा तय गर्नु थियो । “मेरो पनि भुकम्पका पराकम्पनले चिरा परेको सम्बन्धको कथा छ । काठमाडौंमा कुनै दिन भेटेर कुरा  गरौंला ।” म त्यहाँबाट छुट्टिएँ ।
 
° ° ° ° ° ° °
यो कथा काल्पनिक भएकोले कथामा प्रस्तुत कलेजहरुका नाम र ठेगाना: बुटवलको मणिमुकुन्द कलेज, चितवनको अरोमा कलेज, काठमाडौंको त्रिचन्द्र कलेज, बङ्गलादेशको बङ्गलादेश मेडिकल कलेज सहिसत्य भएपनि यहाँ प्रस्तुत पात्र काल्पनिक हुन् । कसैको जीवनसंग मेल खाएमा संयोगमात्र हुनेछ ।
तस्बिर: इन्टरनेटबाट । यस कथाको अर्को पाटो केहि समयमा आउनेछ ।
निर्वाचित हुदैमा आफूलाई राजा नठानेको भए हुन्थ्यो
राजाको प्रत्यक्ष शासन कालमा समाचार सम्पादन, सम्पादक डेक्समा होइन आर्मी व्यारेकमा हुन्थ्यो । संविधानत: नेपाल त्यो सर्वसत्तावादी व्यवस्थाबाट लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आइपुगेको छ । अर्थात त्यसकै अभ्यासमा छ । तर सर्वसत्तावादी सोचका अवशेष भने कत्ति पनि समाप्त हुन नसकेको अझैपनि प्रष्टै देखिन्छ । ती सर्वसत्तावादी अवशेषहरुले आफूलाई "महाराजा" ठान्ने गरेको देखिएको छ । त्यसैको एउटा ज्वलन्त उदाहरण बनेका छन्, सरकारका प्रवक्ता तथा सञ्चार  तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा । 

नेपालको संबिधान २०७२ को धारा १७ उपधारा (२) को खण्ड (क) मा विचार र अभिव्यक्ति स्वतन्त्रता हुने कुरा उल्लेख छ । त्यस्तै धारा १९ संचारको हकको उपधारा (१) मा स्पष्ट उल्लेख गरिएको छ, "विद्युतीय प्रकाशन, प्रसारण तथा छापा लगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृश्य सामाग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्व प्रतिबन्ध लगाइने छैन । तर सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पंचायत वा राणाकालीन हुकुमी शैलीमा आफूलाई कडा प्रश्न सोधेकै आधारमा १२ वर्षदेखि नेपाल टेलिभिजनबाट प्रशारण भैराखेको कार्यक्रम "सिधा प्रश्न" बन्द गराएको खबर आएको छ । 

मन्त्रीको सोहि कार्यको भ्रत्सना गर्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण सहित विज्ञप्ति पनि निकालेको छ ।त्यस्तै प्रेस  युनियन लगायत विभिन्न पत्रकारितासम्बद्ध संघसंस्थाले पनि यसको घोर विरोध गरेका छन् । यसले सरकार, नियन्त्रित प्रेसका पक्षमा छ भन्ने देखाउँछ। सामाजिक संजालहरुमा पनि यसको चर्को विरोध भएको छ । सरकार कुन दिशामा अघि बढिरहेको छ भन्ने गम्भीर प्रश्न चिन्ह यसले खडा गरेको छ । 

नेपाललाई पूर्ण लोकतान्त्रिक देश भनिएको छ र नेपाली जनता लोकतन्त्रले प्रदान गर्ने हरेक प्रकारका स्वतन्त्रता चाहन्छन् । त्यहि स्वतन्त्रता मध्येका हुन्, विचार र अभिव्यक्ति स्वतन्त्रता र पूर्ण प्रेस स्वतन्त्र । जुन हाम्रो संबिधानमा स्पष्ट व्यवस्था छ, मात्र कार्यान्वयनमा इच्छाशाक्तिको खाँचो छ । 

प्रेस राज्यको "वाच डग" हो । यसले राज्य र यसका निकायले गर्ने हरेक प्रकारका अनियमित कामको पर्दाफास गर्ने मात्र नभई यसका सकारात्मक कुराको प्रचारप्रसार पनि गर्छ । सञ्चार कै कारण सरकारको लोकप्रियता बढ्छ किनकि सरकारले गरेका हरेक क्रियाकलाप सबैभन्दा छिटो जनताले थाहा पाउने भनेकै सञ्चारमाध्यमबाट हो । त्यति मात्र होइन यसले सरकार र जनतालाई जोड्ने कडीको रुपमा पनि काम गरेको हुन्छ । त्यसैले त सञ्चार क्षेत्रलाई राज्यको चौथो अंग भनिएको हो । सञ्चारमाध्यमको भूमिका प्रतिपक्षी जस्तो भएन भने शासकहरुमा मनपरीतन्त्र हावी हुन्छ । 

विगतदेखि नै सरकारी सञ्चारमाध्यम सरकारको भजन गाउने माध्यमका रुपमा मात्र शासकहरुले प्रयोग गर्दै आए । देश गणतन्त्रमा आइपुग्दापनि त्यो प्रवृत्ति उस्तै देखियो । मन्त्रि बास्कोटा चाहन्थे, आफूलाई अन्तर्वार्तामा बोलाएर उनी र उनको सरकारको भजन गाइयोस् । तर परिस्थिति त्यस्तो रहेन । अन्तर्वार्ताको सुरु देखि अलि अस्वाभाविक मुद्रामा प्रस्तुत भएका मन्त्रि बास्कोटालाई जव संचालक राजु थापाले सम्पत्ति विवरणको प्रसंग निकाले उनले झुट बोल्न पनि भ्याए तर सप्रमाण उनकै हस्ताक्षर भएको सम्पत्ति विवरण देखाएपछी भने उनी त्यसलाई स्वीकार्न वाध्य भए । अन्तर्वार्ता कै क्रममा एउटा प्रश्नमा उनले "यो प्रश्न काङ्ग्रेसले तपाइँलाई लेखेर दिएको" भन्न सम्म भ्याए ।

नेपाल टेलिभिजनमा हुदै आइरहेको राजनीतिक हस्तक्षेपको प्रसंगबारे विभिन्न पत्रकारहरुले आफ्नो अनुभव सामाजिक संजालमा पोखेका छन् । यसै क्रममा नेपाल लाइभ र स्वास्थ्यखबरका बरिष्ट पत्रकार डीबी खड्काले आफ्नो त्यस्तै अनुभव सामाजिक संजालमा यसरी लेखेका छन् "सम्झिल्याउँदा मेराे लाेकतन्त्र धरापमा परेकाे त वर्षाैं भइसकेछ। केही वर्षअघि (तुच्छ भाषामा सिधा प्रश्न हाेइन सभ्य भाषामा सुदुर पश्चिम तिरकाे संस्कृतिबारे ) कार्यक्रम चलाउने समय माग्न एकजना दिदिकाे लहलहैमा मपनि टिभितिर पुगें । जिएमसापले सञ्चार मन्त्रालयतिर पठाउनुभाे । मन्त्रीजी लाेकतन्त्रका हिमायती पर्नुभाे र घर ठेगाना र राजनितिक अास्था साेध्नुभाे । दिदि छुच्ची, राजनितिक हाेइन, कल्चरल कार्यक्रम भनिदिनुभाे । त्यसपछि उहाँले ढाेकातिरकाे बाटाे देखाउनुभाे । म घरै अाएँ । अाज विचार गर्दा मेराे लाेकतन्त्र हरण भएकाे दिन म कसरी चुपचाप घर अाउन सकें भनेर चकित परिरहेकाे छु ।" 

त्यस्तै अर्का लोकप्रिय पत्रकार रबि लामिछाने पनि यसै प्रसङ्गमा आफ्नो अनुभवलाई सामाजिक संजालमा यसरी प्रस्तुत गरेका छन् "प्रश्नको सामना गर्न नसक्नेहरुको दाउपेच बारे छिट्टै मेरा अनुभवकोपनि खुलासा गर्दैछु। कार्यक्रम बन्द मात्र होइन देशबाटै लखेट्ने सम्मको खेलमा सम्लग्नहरुको एक एक हिसाब राखेको छु। बर्गेनिङ गर्ने, मान्छेलाई आत्महत्या गर्न बाध्य पार्ने, अर्काको चरीत्र हत्या गर्ने, अकुत सम्पत्ति कमाएर आधा सन्सार घुम्ने, जिन्दगीभर अर्काको फ्रीमा खाने मान्छे प्रेस काउन्सिलमा भए सम्म त्यस्ताले सिफारिस वा हस्ताक्षर गरेको प्रेस पास बोकेर सिंहदरबार छिर्नु छैन मलाई। मलाई "पख्लास" भन्नू हुने पत्रकार महोदय, म अब धेरै कुर्न सक्दिन।" 

लोकतन्त्रमा हरेक नागरिकले जिम्मेवार निकायमा रहेकाहरुलाई प्रश्न सोध्ने हैसियत राख्छ तर पूर्व पत्रकारको पनि परिचय भएका मन्त्रि बास्कोटाले प्रश्न नै गर्ने कर्म भएका एक जना पत्रकारलाई उनले सञ्चालन गर्दै आएको कार्यक्रम बन्द गर्न आदेश दिनुले मन्त्री वास्कोटा सहित इतिहास कै शक्तिशाली सरकारको नियत पनि उदाङ्गो पारेको छ । ‘केपी ओली नेतृत्वको सरकारले अधिनायकवादी चरित्र देखाउदै त छैन भन्ने डर पनि सिर्जना गरेको छ । यी आशंकालाई चिर्न सार्वजनिक रुपमा उनले चालेको कदमको लागि माफी माग्दै बन्द गराइएको भनिएको उक्त कार्यक्रम पुनः निर्वाध सुचारु हुने वातावरण बनाइदिनुपर्छ । र आगामी दिनमा यसरी हस्तक्षेप नगर्ने प्रतिवद्धता पनि जाहेर गर्नुपर्छ ।

मन्त्रि बास्कोटाले यो पनि बुझ्नु जरुरि छ कि यदि लोकतन्त्रमा जनतालाई सर्बोच्च मानिन्छ भने जनताबाट आउने हरेक प्रकारका असन्तुष्टिहरु र यसका अनेक रुपहरुलाई उनीजस्ता जिम्मेवार निकायमा भएकाहरुले सुन्ने र सामना गर्ने ताकत बनाउनुपर्छ । र त्यसलाई समाधान गर्ने बाटोतिर लाग्नुपर्छ । बेलाबेला जुत्ता पनि खानुपर्छ, यो त कडा प्रश्न मात्र थियो । सामना गर्ने बानी बनाएर मात्र राजनीतिमा आउनुपर्ने देखियो । मन्त्रिज्युलाई सुझाव: निर्वाचित हुदैमा आफूलाई राजा नसम्झिहालेको भए हुन्थ्यो ।

नेपाल टेलिभिजनको सिधा प्रश्न कार्यक्रममा मन्त्रि बास्कोटाको अन्तर्वार्ता




कृष्ण र राधाको एकतर्फी र अपूरो प्रेम
एकतर्फी प्रेम त्यो हो, जसमा एउटाले माया गर्छ तर अर्कोले त्यो प्रेम अस्वीकार गर्छ । मलाई पनि पहिले त्यस्तै लाग्थ्यो । आजभोलि बुझ्दैछु, एकतर्फी प्रेममा अर्कोले पनि माया त गरेकै हुन्छ तर अर्काको मायाको गहिराइ कति छ बुझेको हुँदैन । प्रेम गर्नेले बुझाउन सक्दैन । जब बुझ्छ, समय बितिसकेको हुन्छ । सम्भवत: त्यही कारणले उनीहरूको प्रेम सफल हुँदैन ।
यसलाई एउटा सानो कथाबाट बुझाउने प्रयास गर्दैछु ।
प्रसङ्ग राधा-कृष्णको हो ।
…….जब कृष्ण गाई चराउन जंगलमा जान्थे, उनी एक सुरमा बाँसुरी बजाउँथे । बाँसुरीको प्रगाढ धुन जंगलको घनत्व चिर्दै राधाको घरसम्म पुग्थ्यो । जब उक्त धुन राधाको कानमा पुग्थ्यो, उनी अचेतझैंं बाँसुरीको धुनमा लठ्ठिदै जंगलमा पुग्थिन् । कृष्णको नजिकै पुगेर आँखा चिम्म गरेर धुन सुनिबस्थिन् । धुनसँगै राधाको आँखाबाट आँसु पनि बग्न थाल्थ्यो । यो क्रम कहिलेकाहीँ घन्टौंसम्म चलिरहन्थ्यो ।

एक दिन कृष्णले राधासँग सोधे, ‘राधे, तिमी किन यसरी बेला-कुवेला यहाँ आउँछौ ? तिम्रो घरमा कति काम हुन्छ, सधैं यसरी आउनु राम्रो पनि होइन ।’
‘तिम्रो धुन सुनेपछि म अरू केही गर्नै सक्दिनँ । तानिँदै तिमी नजिक आइपुग्छु ।’ राधाले भनिन्, म तिम्रो धुनमा कसरी बाँधिन्छु, मलाई नै थाहा हुँदैन ।’
‘त्यस्तो के छ र मेरो बाँसुरीको धुनमा ?’
‘काले, तिमी यो प्रेम र यसको विरह कहिल्यै बुझ्न सक्दैनौ ।’ राधाले भनिन्, ‘त्यसका लागि तिमी नै राधा हुनुपर्छ ।’
‘अन्यथा नलेऊ राधे… ।’ कृष्णले हाँस्दै भने, ‘तिम्रो यो अवस्था देखेर मलाई रमाइलो पो लाग्छ । म तिम्रो यो भाषा बुझ्न असमर्थ छु ।’
‘हाँस र रमाइलो पनि मान ।’ राधाले रुँदै भनिन्, ‘कुनै दिन तिमीले पनि मैले जस्तै कसैलाई प्रेम गर्नेछौ अनि मात्र मेरो पीडा महसुस गर्नेछौ ।’
त्यसपछिको कथा त धेरैलाई थाहा छ । यो संवादको केही समयपछि कृष्णले बृन्दाबन छाडे । यसरी छाडे कि फेरी कहिल्यै फर्केर आएनन् । राधाले जीवनभर कृष्णलाई प्रेम गरिन् । कतिसम्म प्रेम गरिन् भने उनी जुन बाटोबाट गोकुल (राजधानी) गएका थिए त्यो बाटोमा उनले टेकेको एउटा पाइलामा उनले सधैं पूजा गरिरहिन् ।
एक दिन जब कृष्णले रुक्मिणीलाई भेटे, एक नजरमा कृष्णलाई प्रेम भयो, तर राधाले जुन प्रेम-प्यास उत्पन्न गराइदिएकी थिइन्, त्यो मेटिएन । जति-जति समय बित्दै गयो, कृष्णले विवाह गर्दै गए । जाम्बवती, सत्यभामा, कालिन्दी, मित्रवृन्दा नाग्नजीति, सत्या, भद्राजस्ता अनेक नारी उनको जीवनमा आए तर उनको प्रेमप्यास तृप्त भएन । कतिसम्म भने उनले १६ हजार १ सय रुपसीसँग प्रेम गरेको प्रसङ्ग कृष्ण कथाहरूमा पाइन्छ । यति गर्दा पनि कृष्णले राधाको जस्तो भावपूर्ण प्रेम कहिल्यै महसुस गर्न पाएनन् । जीवनको अन्तिम क्षणमा धेरै पटरानीमध्ये कसैले कृष्णसँग सोधेकी थिइन्, ‘तपाईं आफ्ना रानीमध्ये कसलाई बढी माया गर्नुहुन्छ ?’ कृष्णले एकक्षण पनि नसोची उत्तर दिए- राधा । जवकी राधाले कहिल्यै कृष्णकी रानी हुने सौभाग्य पाइनन् ।
"राधे, यो पारिलो मौसममा तिम्रो प्रेम कस्तो थियो होला भनेर कल्पना गरिरहेको छु । तिम्रो प्रेमपीडा महसुस गरिरहेको छु ।  . . . . . . ."
जनप्रतिनिधिका आकांक्षीहरु ! ठूला सपना होइन न्युनतम आवस्यकता पूरा गरेर बसाइसराइ रोक
राष्ट्रिय सहमति जुटाएर दोश्रो चरणमा गर्ने भन्दै सरकारले जेठ ३१ गतेका लागि तोकेको ५ नम्बर प्रदेशसहित १, २ र ७ नम्बर प्रदेशको स्थानीय निकायको चुनावको मिति “असार १४” अझै पनि अन्योलमै छ । सरकारले मधेस केन्द्रित दललाई अझै मनाउन नसकिरहेको भएतापनि यस क्षेत्रको चुनावी सरगर्मी भने निकै बढेको छ ।
तस्बिर: रेसुङ्गाबाट हेर्दा तमघास
चुनावले हाम्रो जिल्ला गुल्मी पनि तातेको छ, माहोल रमाइलो बन्दै छ । जनमतलाई आफ्नो पक्षमा पार्न दलहरुका स्थानीय नेताकार्यकर्ताहरुले बलबुताले भ्याएसम्मको प्रयास गरिरहेका छन् । स्थानीय निकायमा आफ्नो पार्टीको उपस्थितिलाई बलियो बनाउन जिल्लाका केन्द्रियस्तरका नेताहरु पनि अहिले लागिपरिरहेका छन् । दलका नेताकार्यकर्ताहरुले जनताको ध्यान खिच्न राष्ट्रिय मुद्दासंग आफूलाई जोड्ने पनि गरेका छन् । कतिपय दलले ‘आफ्नो पार्टीको सरकारको पालोमा संबिधान जारि भएको’ भन्दै आफूलाई भोट गर्न भनेका छन् त कोहि दलले आफूलाई ‘वृद्दभत्ता सुरु गर्ने दल’ भनेका छन् भने कोहि ‘लोडसेडिङ अन्त्यको जस’ आफूलाई दिँदै भोट मागिरहेका छन् ।
राष्ट्रिय राजनीतिमा कुन पार्टीले के गरे, कुन पार्टीको मुद्दा कस्तो भन्नुले स्थानीय निकायमा कमै फरक पार्छ । कम फरक यस अर्थमा पार्छ कि स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिको अधिकार क्षेत्र स्थानीय तह मात्र हो । त्यसैले हरेक मतदाताले दलहरु भन्दा पनि स्थानीय उमेदवारलाई उनीहरुले उठाएका मुद्दा हेरेर अत्यन्त विवेकी भएर आफ्नो मतको प्रयोग गर्नुपर्छ । हाम्रो जस्तो अशिक्षित समाजमा अझैपनि ‘दलहरुका चुनाव चिन्हका गुणका आधारमा’ भोट दिइन्छ अर्थात त्यसरी नै भोट गर्न अशिक्षित दिमागमा मनोवैज्ञानिक प्रभाव पारिन्छ ।
एमालेलाई भोट किन दिने भन्दा ‘सुर्यले उज्यालो दिन्छ त्यसैले’ वा कांग्रेसलाई भोट दिने भनेको ‘रुखले सितल दिने भएर’ …..। सुर्यको उज्यालो र रुखको सितलतासंग उक्त पार्टीले उठाएको उमेद्वारको कुनै सम्बन्ध छ र? तर पनि एक खालको मनोवैज्ञानिक प्रभाव हाम्रा अशिक्षित आमाबुवाको दिमागमा परेको छ । उनीहरु त्यसैका आधारमा मताधिकारको नाममा आफ्नो मतको दुरुपयोग गरिरहेका छन् । प्रत्येक चुनावमा त्यहि मनोविज्ञानका आधारमा नयाँनयाँ अनुहारलाई जिताएका छन् । त्यसैले शिक्षित जमातले पार्टीभन्दा माथि उठेर आफ्नो परिवार र समाजमा राम्रा उमेदवारको पक्षमा जनमत बनाउन मद्दत गरेमा आफ्नो स्थानीय तहको भविष्य उज्यालो हुनेमा दुइमत छैन । त्यस्तै अहिलेको ठूलो र झन्झटिलो मतपत्रमा छाप लगाउने तरिका अर्थात मतदाता शिक्षामा सहयोग गरेमा कम मतपत्र बदर हुनेछन् र सहि उमेदवारको छनोटमा सहयोग पुग्नेछ ।
लामो समयसम्म स्थानीय निकायको निर्वाचन हुन नसक्दा विकासले गति लिन नसकिरहेको अवस्थामा अब निर्वाचित हुने जनप्रतिनिधिबाट जनताको ठूलो अपेक्षा हुनु स्वाभाविक नै हो । स्थानीय उमेदवारले पनि त्यहि अनुरुप आफ्ना घोषणापत्रहरु तयार पनि पारेका छन् । तर कार्यान्वायनका आधार बिनाका सपनामात्रको कुनै अर्थ रहदैन । कतिपय उमेद्वारले आफ्नो क्षेत्राधिकारको ख्याल नगरि आफ्नो अधिकारभन्दा माथिका काम पनि गर्ने भन्दै प्रचारप्रसार गरिरहेका छन् ।
चुनावकै अवसरमा केहि ‘टुरिस्ट नेताहरु’ पार्टीको टिकट बोकेर गाउँ पसेका छन् । ती अवसरबादी नेताहरु जसरी आउँछन त्यसरी नै हराउने गरेको विगतमा पनि देखिएको छ । त्यसैले उमेद्वार छनोटको पहिलो चरण, ‘उमेद्वार स्थानीय तहमा कत्तिको भिजेका छन् अर्थात विगतमा ती उमेद्वारले हाम्रो गाउँसमाजलाई केके योगदान पुर्याएका छन्’ भन्ने जान्नु हो । पहिलेको जस्तो पार्टीको चुनाव चिन्ह मात्र हेरेर भोट दिने अवस्था अहिले छैन, त्यसैले ठुल्ठुला सपना मात्र देखाउनु भन्दा हाम्रो स्थानीय माग र आवस्यकतालाई बुझ्न सकेमा उमेद्वारलाई पनि राम्रो हुनेछ ।
गुल्मी आफैमा त्यति अविकसित जिल्ला पनि होइन । तर दिन प्रतिदिन पहाडबाट तराइ सर्नेको जनलहरले गुल्मीका ग्रामिण बस्तीहरु रित्तिने क्रम जारि छ । त्यसैले पहाडबाट तराइ सर्नेको जनलहर रोक्न स्थानीय निकायका प्रतिनिधिले प्रयास गर्न सक्नुपर्छ । प्रत्येक गाउपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा, स्वरोजगारका बाटाहरु, उच्च शिक्षा र प्राबिधिक शिक्षासहितका क्याम्पसहरु, सडक सुलभतामा वृद्धि, लगभग शुन्य जस्तै रहेको पर्यटनलाई बिशेस जोड दिएर पर्यटन व्यवसायलाई उकास्ने जस्ता केहि न्युनतम आवस्यकताहरु पूरा गर्न सकेमा बसाइसराइको दरलाई कम गर्न सकिन्थ्यो ।
प्रत्येक क्षेत्रमा बिशेसज्ञ सेवा सहितको कम्तिमा एउटा अस्पताल, प्रत्येक गाउँगाउँमा मोटरबाटो पुर्याउने, खनिसकेका सडकहरुको स्तरोन्नति र कालोपत्रे गर्ने प्रक्रिया अघि बढाउने, अन्तीम स्टेसनका रुपमा रहेका गुल्मीका मुख्य सडकहरुलाई अन्य जिल्लाहरुसम्म जोड्ने, जिल्लाको निर्माणाधीन रेसुङ्गा विमानस्थलको निर्माणलाई छिटो सक्ने र विमानस्थल जोड्ने सडकसंजाल बढाउने, प्रत्येक गाउँमा स्वच्छ खानेपानी र सिंचाईको सुबिधा पुराउने, देशकै कफी खेतिको उद्गमस्थल स्थल भएकैले कफी खेतिलाई बिस्तार गर्दै ‘इलामको चियाबारी जस्तै’ गुल्मीमा पनि ‘कफीबारी’ को रुपमा पर्यटनको विस्तार गर्ने, गुल्मीको अर्गानिक कफीको ‘ब्राण्डिङ’ गरि देश विदेशमा हाम्रो कफीको निर्यातलाई बढाउने, कालिगण्डकी र बडीगाड नदीमा जलपर्यटनको रुपमा विकास गर्ने, कालिगण्डकी करिडोरको निर्माण सम्पन्न भएपछी यसले धेरै सम्भावनाका ढोकाहरु खोल्ने हुँदा यसलाई जोड्ने सडकसंजाल बढाउने, नेपालको चारधाम मध्येको एक रुरु क्षेत्रलाई प्रचारप्रसार गरि अझै व्यवस्थित बनाएर पर्यटन गतिविधि बढाउने, रुरु क्षेत्रमा आउने पर्यटकलाई एउटै प्याकेजमा रुद्राबेनी धाम, रेसुङ्गा, विचित्र गुफा, सालिमे दह, दिब्रुङ, गुल्मी दरबारलगायतका ठाउँहरु घुम्न जाने व्यवस्था मिलाउने, अन्य सम्भावित पर्यटकीयस्थलहरुको विकास र प्रचारप्रसार गर्ने ।
रेसुङ्गा, सालिमेदह लगायत क्षेत्रलाई ट्रेकिंङ रुटको रुपमा विकास गर्ने, र भौतिक संरचनाहरु निर्माण गर्ने । गुल्मीका हरेक सानाठूला नदि तथा खोलाहरुबाट लघु जलविद्युत निकालेर जिल्लालाई विद्युतमा आत्मनिर्भर बनाउने । नयाँ बस्दै गरेका बजारलाई व्यवस्थित गरि एकीकृत बस्तीको रुपमा विकास गर्ने लगायत काम गर्न सकेमा जिल्लाको अवस्था माथि पुग्नेछ । सरकारी क्षेत्रमा सबैभन्दा धेरै नाम निकाल्न सफल जिल्लाको उपमा पाएको हाम्रो गुल्मीले सबैभन्दा धेरै स्वरोजगारका अवसर सृजना गर्ने जिल्लाको रुपमा पनि नाम राख्ने बनाउन नयाँ जनप्रतिनिधि सफल हुन सक्नुपर्छ ।

-चक्र भण्डारी ३ असार २०७४, शनिबार गुल्मिन्युज डट कम” मा प्रकाशित
यसकारण प्रदेश पाँचको राजधानी दाङ नै उपयुक्त
 देशमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भर्खरै सकिएर सरकारले प्रदेश प्रमुख तोक्ने तयारीमा रहेको छ । राष्ट्रिय सभा गठन अध्यादेश राष्ट्रपतिकोमा अड्केको अवस्था छ । सरकार पक्ष र प्रतिपक्षीहरु एकापसमा आरोप प्रत्यारोप गरिरहेको प्रसंग एकातिर छ भने भर्खरै सकिएको चुनावमा गठवन्धन बनाएर संगै लडेका माओबादी केन्द्र र एमालेले पार्टी एकीकरण गर्ने कुराले देशका मिडियाहरुमा प्रमुख स्थान पाएका छन् । केन्द्रमा चलिरहेको यो जुहारीसंगै प्रदेशहरुमा पनि प्रदेशकेन्द्र कहाँ तोक्ने भन्ने विषयले प्रमुख स्थान पाएको अवस्था छ । प्रदेश राजधानी तोक्ने अधिकार प्रदेशसभालाई छ । कतिपय जनप्रतिनिधी यस विषयमा खुलेर आफ्नो धारणा वा दावी प्रस्तुत गरेका छन् भने कोहि अहिलेसम्म पनि मौन छन् । नेताहरुले जेजस्तो कुराहरु गरेपनि अधिकांस प्रदेशवासीहरुले आफ्नो निजि धारणा भने बनाइसकेको बुझ्न सकिन्छ । कतिपयले आफ्नो मात्र पायक हेरेर यहाँ भैदिए हुन्थ्यो भन्दै छन् भने कतिपयले समग्र प्रदेशको केन्द्र र सबैलाई पायक पर्ने ठाउँ हुनुपर्ने बिचार राख्दछन । लोकतन्त्रको सबैभन्दा राम्रो पक्ष नै यहीं हो, सबैलाई फरक मत राख्ने छुट छ ।
प्रदेश ५ को नक्सा र जसअन्तर्गत पर्ने जिल्लाहरु
“प्रदेश पाँचको राजधानी दाङ कि बुटवल ?” भन्ने प्रश्नमा अधिकांश गुल्मेलीको जवाफ “बुटवल” आउँछ । यसका दुइटा कारण हुन्, गुल्मी बुटवलसंग सिधा सडकसंजालले जोडिनु र धेरैजसो गुल्मेलीहरुको जग्गा जमिन रुपन्देहीमा हुनु । अब एकैछिन यी दुइटै कुरालाई बिर्सेर यहीं पाँच नम्बरको कुनै कुनाको बासिन्दा बनेर प्रश्न गरौँ “दाङ के कारणले प्रदेश राजधानी बन्न अनुपयुक्त छ?” यो प्रश्नको जवाफ दिनुभन्दा पहिले राजनीतिक वृत्तमा देश कै राजधानी दाङलाई बनाउनुपर्छ भन्ने सम्मको चर्चा/परिचर्चा भएको यथार्थलाई पनि संगसंगै सम्झिऔं । तपाई हामी सबैलाई थाहा छ, दाङ एसिया कै सबैभन्दा ठूलो उपत्यका मानिन्छ । यो भन्दै गर्दा “ठूलोले के अर्थ राख्छ ?” भन्ने प्रश्न आउला । प्रदेश राजधानी बनेसंगै अब छिट्टै त्यहि किसिमका संरचनाहरु बन्नेवाला छन् । संघीयतालाई सजिलो भाषामा सम्झिनुस, परिवारका भाइ-भाइ छुट्टिए, अब प्रत्येक भाइका लागि छुट्टै घर, छुट्टै चुलो बन्नेवाला छ । प्रदेश सरकार र मातहतका कार्यालय र विभागहरु, त्यस्तै प्रदेश संसदका लागि आवश्यक संरचना बन्नको लागि त्यहि “ठूलो” ले ठूलै महत्व राख्छ ।

चर्चा किन दाङ र बुटवलको मात्र ?

कतिपयको प्रश्न छ, किन प्रदेश राजधानीको चर्चा बुटवल र दाङ मात्र भयो? पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, भैरहवा वा कपिलबस्तुको किन बढी चर्चा भएन ? नेपालको अन्यत्र जस्तै पाँच नम्बर प्रदेशको तराई तुलनात्मक रुपमा पहाडभन्दा विकसित छ वा भनौं विकास गर्न सहज छ । तराईका जिल्लालाई सबै पहाडी जिल्लाले सिधा सडक संजालले जोडेको छ तर पहाडी जिल्लाहरु बीच सबैमा एकापसमा सडकले जोडिएको छैन, जोडिएको भएपनि सहज आवतजावत छैन । हुनुपर्ने त यस्तै कम विकास भएका जिल्लालाई प्रदेश केन्द्र तोकेर माथी उठाउनुपर्ने हो तर त्यसका लागि ठूलै बजेट भौतिक निर्माणमा खर्चनुपर्ने हुनसक्छ । तत्कालका लागि त्यो असम्भव जस्तै छ । अब रह्यो भैरहवा र कपिलबस्तुको कुरा, भैरहवा भौगोलिक रुपमा पाँच नम्बर प्रदेशको केन्द्र भागमा पर्दैन । बरु कपिलबस्तु भौगोलिक रुपमा प्रदेश राजधानीको दाबेदार हुनसक्छ तर बलियो केन्द्रिय नेताको कमीको महसुस कपिलवस्तुले गरेको छ । त्यसैले यसको चर्चा अलि कम भएको देखिएको छ । यहाँ बढी चर्चा भएका र धेरै सम्भावना बोकेका “बुटवल र दाङ” को कुरा गरौँ ।
दाङ, रुपन्देही भन्दा कम विकसित छ भन्नेहरुले सम्झनुस, दाङ ती “तीन जिल्ला” भित्र पर्छ, जसका २/२ उपमहानगरपालिकाहरु रहेका छन् । अरु २/२ उपमहानगरपालिका हुने जिल्लाहरुमा २ नम्बर प्रदेशको बारा र १ नम्बर प्रदेशको सुनसरी मात्र हुन् । त्यति मात्र होइन घोराही देशकै सबैभन्दा ठूलो (क्षेत्रफलमा) उपमहानगरपालिका पनि हो । यति हुदाँहुदै पनि दाङको राम्रो पक्ष, यहाँ जनघनत्व कम नै छ । विकास भैसकेको ठाउँलाई भन्दा विकास हुदै गरेको ठाउँलाई नै चयन गर्नु उपयुक्त हुन्छ । पाँच नम्बर प्रदेशका सबैभन्दा कम विकसित जिल्लाहरु रुकुम र रोल्पा हुन्, यिनको विकासको लागि पनि प्रदेशको केन्द्र कहाँ बन्ने भन्ने विषयले महत्व राख्छ । काठमाडौँलाई देशको राजधानी तोकिदा फरकफरक बजेट छुट्टिने छिमेकी जिल्लाहरु ललितपुर र भक्तपुरले पनि विकासमा भरपुर फाईदा लिएजस्तै, दाङलाई प्रदेशको राजधानी तोकिएमा, विकासको हिसावमा दाङ काठमाडौँ जस्तो बन्दै गर्दा निकट भविष्यमा रोल्पाको लिबाङ र रुकुम पुर्वको रुकुमकोट बुटवल जस्तो बन्नेछ ।
संगसंगै अर्को तथ्य पनि जानौं, रुपन्देही देश कै तेश्रो धेरै जनसंख्या भएको जिल्ला हो । सर्वाधिक पटक देश कै उत्कृष्ट नगरको सम्मान पाएको बुटवलमा एकैचोटी थामीनसक्ने जनसंख्याको चाँपले अहिलेको जस्तो सुन्दर बुटवललाई कायम राखिराख्छ भन्नेमा शंका गर्ने ठाउँ रहन्छ ।  बुटवल पहिले नै विकसित छ । यो पश्चिम नेपालको आर्थिक राजधानी हिजो पनि हो र भोली पनि निसन्देह रहिरहनेछ । यसका लागि प्रशाशनिक राजधानी बुटवल नै बनाउनुपर्ने कुनै आवस्यकता नै छैन ।
पाँच नम्बरमा गुल्मी-अर्घाखाँचीमात्र पर्दैनन्, बाके र बर्दिया पनि पर्छन् । त्यतिमात्र होइन बाग्लुङसंग सीमा जोडिएको पूर्वी रुकुम पनि पर्छ भन्ने कुरालाई पनि हामीले नभुलौं । यी ठाउँ नपुगेकाहरुले पनि पाँच नम्बरको नक्सा हेरेर भन्न सक्नुहुन्छ, यीनीहरुलाई बुटवल होइन दाङ नै पायक पर्छ ।
गुल्मी देखि बुटवल पुग्न पाल्पा हुदै जानुपर्छ, अर्थात एउटा जिल्ला पार गर्नु नै पर्छ । ठ्याक्कै त्यस्तै अर्घाखाँचीलाई पार गरेर वा प्युठानलाई पार गरेर दाङ पुग्न सकिन्छ । फरक यत्ति हो, बुटवलसंग पहिलेदेखि सिधा सडक संजाल बनेको छ, दाङसंग सिधा आवतजावत छैन । दाङ राजधानी नै बन्ने भएमा दाङसंग पनि सिधा सडक संजाल बन्नेछ र यस सडकले छुने ठाउँहरुमा अर्को विकासको लहर ल्याउनेछ । तमघासदेखि प्युठान हुदै सुर्खेत जोड्ने सडक पनि अहिले निर्माणाधीन छ ।
बुटवल भौगोलिक हिसावले पनि पाँच नम्बर प्रदेशको ठ्याक्कै केन्द्र भागमा पर्दैन । यसैले सबैलाई पायक पर्ने ठाउँ चर्चामा रहेका “बुटवल र दाङ” मध्ये दाङ नै हो ।

अब कुरा गरौँ विश्वका त्यस्ता शहर जो राजधानी होइनन् तर राजधानी भन्दा विकसित छन् ।

विश्वका यस्ता शहर जो राजधानी भन्दा पनि विकसित छन्

अस्ट्रेलियाको राजधानी क्यानबेरा भएतापनि सिड्नी सबैभन्दा ठूलो, सबैभन्दा विकसित र चर्चित शहर हो । त्यस्तै ब्राजिलको राजधानी ब्रासिलिया हो तर यहाँको सबैभन्दा ठूलो शहर साओ पाउलो हो । क्यानाडाको टोरोन्टो शहर, राजधानी ओटावा भन्दा ठूलो र विकसित छ । छिमेकी देश चीनको राजधानी बेइजिङ भन्दा सांघाई ठूलो शहर हो । त्यस्तै अर्को छिमेकी देश भारतमा राजधानी नयाँ दिल्ली भन्दा मुम्बई ठूलो शहर हो । युएईमा पनि राजधानी आबुधावी भन्दा दुबई ठूलो शहर हो । संयुक्त राज्य अमेरिकाको राजधानी वासिंटन डिसी भन्दा न्यूयोर्क सिटि ठूलो छ । त्यति मात्र होइन श्रीलंका, फिलिपिन्स, दक्षिण अफ्रीका, सुडान, स्वीजरल्याण्ड, तान्जानिया, टर्की, भियतनाम, ताइवान, पाकिस्तान, नाइजेरिया, म्यानमार, न्युजिल्याण्ड, मोरक्को, काजकस्तान, क्यामरुन, बोलिभिया लगायत दर्जनौ देशहरुमा ठूला र विकसित शहरहरु छन् जुन राजधानी होइनन् । त्यसैले राजधानी तोकिदैमा एउटामात्र ठाउँ विकसित हुन्छ भन्ने हुदैन ।
चक्र भण्डारी (सत्यवती ६ गुल्मी) | गुल्मीन्युज डट कम मा प्रकाशित