Advertisement

अपाङ्गता परीक्षण शिविर तथा परिचय पत्र वितरण कार्यक्रम (प्रतिवेदन)

 प्रतापपुर गाउँपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरुको परीक्षण तथा परिचयपत्र वितरणको प्रयोजनार्थ असोज १७, १८ र 19, २०७८ मा आयोजना गरिएको प्रथम अपाङ्गता परीक्षण शिविर तथा परिचयपत्र वितरण कार्यक्रमको कार्यक्रम सम्पन्न प्रतिवेदन


प्रतिवेदन तयार गर्ने

सुस्मिता पौडेल (सामाजिक विकास शाखा)

अपाङ्गता परिचयपत्र वितरण शिविर

प्रतापपुर-9, नवलपरासी (ब.सु.प.)

 

पेश गरिएको कार्यालय

प्रतापपुर गाउँपालिकाको कार्यालय

प्रतापपुर-9, नवलपरासी

असोज 20,2078

 

१.  परिचयः  

शरीरका अङ्गहरू र शारीरिक प्रणालीमा भएको समस्याको कारण भौतिक, सामाजिक, सांस्कृतिक वातावरणका साथै सञ्चार समेतबाट सिर्जना भएको अवरोध समेतले दैनिक क्रियाकलाप सामान्य रूपमा  सञ्चालन गर्न एवं सामाजिक जीवनमा पूर्ण सहभागी  हुन कठिनाइ हुने अवस्थालाई अपाङ्गता भनिन्छ । राज्यद्धारा अपाङ्गता भएका नागरिकहरुको हितको संरक्षण तथा सम्बर्द्धन गर्न, अपाङ्गहरुको स्वास्थ्य, शिक्षा, स्याहार, तालीम र उनीहरुको समानताको हक तथा रोजगारी समेतको कल्याणकारी व्यवस्थाहरु कार्यान्वयन गरी अपाङ्गहरुलाई समाजकै सक्षम सदस्य एवं सक्रीय रुपमा उत्पादनशील नागरिक बनाउन सामाजिक सुरक्षा र संरक्षण, समावेशीकरण, समानुपातिक प्रतिनिधित्व, सकरात्मक विभेद वा आरक्षणको माध्यबाट राज्यको मूलप्रवाहमा समाहित गर्दै तोकिएको सेवा, सुविधा र अवसरको उचित व्यवस्थापन गराउन अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ र नियमावली, २०५१ तथा अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्र वितरण निर्देशिका, २०६५, जारी गरिएको छ । संघीय व्यवस्था अनुरूप स्थानीय सरकारलाई अपाङ्गता परीक्षण, परिचयपत्र वितरण र त्यसको लगत राख्ने जिम्मेवारी तोकिएको छ । सोहि बमोजिम अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न प्रकारका परिचयपत्र वितरण गरिदै आइएको छ ।

अपांगता भएका ब्यक्तिको अधिकार सम्बन्धि ऐन, २०७४ ले अपाङ्गता भएका व्यक्तिभन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रीय सम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता (फङ्सनल इम्पेरिमेन्ट) वा विद्यमान अवरोधको कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति सम्झनु पर्छ भनि परिभाषित गरेको छ ।

अन्य नागरिक सरह अपाङ्गता भएका व्यक्तिहरुलाई मर्यादित जिवनयापन गर्न पाउने हक हुने व्यवस्था अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि, २००६ (Convention on Rights of Persons with Disabilities (CRPD), 2006 ) ले गरेको छ । नेपालले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि २००६लाई सन् २००९ को डिसेम्बर २७ मा अनुमोदन गरी पक्ष राष्ट्र  भई नयाँ संबिधान २०७२ को धारा ४२ मा व्यवस्था भएको सामाजिक न्यायको हक अन्तर्गतको उपधारा ३ मा अपांगता भएका नागरिकलाई विविधताको पहिचान सहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुंचको हक हुनेछ भन्ने व्यवस्था गरिएको छ । साथै संविधानको अनुसुुची ८ मा व्यवस्था भएको स्थानीय तहको अधिकार अन्तर्गतको बुदा नं. १६ मा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरुको व्यवस्थापन गर्ने कार्य समेत स्थानीय तहको अधिकार क्षेत्रभित्र राखेको छ । नयाँ संबिधान अनुरुप बनेको अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्वन्धि ऐन २०७४ ले शारिरीक अवस्थाको आधारमा विना विभेद सम्मानपूर्वक बाँच्नपाउने अधिकार छ भन्ने व्यवस्था गरेको छ ।

राष्ट्रिय जनगणना  २०६८ अनुसार नेपालमा कुल  जनसङ्ख्याको १.९४  प्रतिशत  अपाङ्गता  भएका  व्यक्तीहरू छन्  । संविधानको स्थानीय तहको अधिकार अन्तर्गतको प्रावधान कार्यान्वयन गर्ने क्रममा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्वन्धि ऐन, २०७४ को दफा ४२ मा भएको अपागंता सम्वन्धमा स्थानीय तहमा सञ्चालित कार्यक्रमहरुको अनुगमन तथा मूल्याङकन, सरोकार निकाय तथा संघसंस्थाहरुसंग समन्वय, सहजिकरण आदी लगायत अपागंता परिचयपत्र वितरण गर्ने कार्य समेत गर्नको स्थानीय समन्वय समिति गठन गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्था अनुसार यस प्रतापपुर गाउँपालिकामा समिति गठन गरी अपाङ्गता परिचय पत्र वितरण कार्य समेत गर्दैआएको छ ।

२. उद्देश्यः

क) विभिन्न प्रकारका अपाङ्गता भएका प्रतापपुरबासी नागरिकहरूको पहिचान गर्न, स्थानीय तहदेखि नै त्यस्ता व्यक्तिहरूको लगत राख्नु ।

ख) अपाङ्गतासम्बन्धी प्रचलित राष्ट्रिय, प्रादेशिक तथा प्रतापपुर गाउँपालिकाको नीति तथा कार्ययोजना मुताबिक तीनै तहका सरकारको अद्यावधिक विकास योजनाहरूका आधारमा अपाङ्गता भएका व्यक्तिहरूलाई उपलब्ध गराइनुपर्ने सेवासुविधाहरू व्यवस्थितरूपमा प्रदान गर्नु ।

ग) प्रचलित ऐन, नियमअनुसार अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा, न्याय, अधिकार र समानता प्रदान गरी उपयुक्त अनुकूलता (Reasonable Accommodation) सहित विकास प्रक्रिया र राज्यका संयन्त्रहरूमा समावेशीकरण गराउनु ।

घ) अपाङ्गताको प्रकृति र मात्राको आधारमा अपाङ्गता भएका व्यक्तिहरूले पाउने सेवा, सुविधा र अवसरको प्राथमीकरण गर्नु ।

३.  शिविर संचालनको अवधिः

मिति 2078 असोज 17 गते देखि 19 गतेसम्म (तीन दिन )

 

४.  शिविर संचालन गरिएको स्थानः

प्रतापपुर स्वास्थ्य चौकी, प्रतापपुर-9, बेलाटारी।

५.  शिविरमा सहभागीहरुको नाम थर र पदः 

(क्र.सं. नाम,थर र पद)      

६.  शिविरमा अपनाईएका विधिहरुः

ü परीक्षण विधि

ü प्रश्नावलि विधि

ü मष्तिष्क मन्थन विधि

ü भूमिका निर्वाह विधि।

 

अपाङ्गता परीक्षणका कार्यमा लामो अनुभवप्राप्त चिकित्सकहरुले अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्र वितरण निर्देशिका, २०६५ ले तोकेको मापदण्ड अनुसार , , वर्ग सिफारिस गरेअनुसार अपाङ्गताको लगत तयार पारी परिचयपत्र वितरणको व्यवस्था मिलाइएको थियो ।

(क) पूर्णअशक्त अपाङ्गता :

व्यक्तिको शारीरिक वा मानसिक प्रणालीहरूमा भएको कार्यगत विचलनका कारण अरूको सहारा लिएर पनि दैनिक जीवन सम्पादन गर्न नसक्ने अवस्थाका व्यक्तिहरू, तीव्र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, पूर्णरूपमा श्रवणदृष्टिविहीन व्यक्तिहरू तथा आफैँ हलचल गर्न नसक्ने गरी पूर्णरूपमा अशक्त भई अपाङ्गता भएका व्यक्तिहरूलाई वर्गको अपाङ्गता (रातो रंग) को परिचयपत्र वितरण गरिएको थियो ।

(ख) अतिअशक्त अपाङ्गता :

निरन्तर अरूको सहयोग लिएर मात्र दैनिक जीवन सम्पादन गर्न, आवागमन गर्न, सञ्चार गर्न, लेखपढ गर्न सक्षम हुने व्यक्तिहरू, पोलियो वा अन्य कारणले शरीरको तल्लो भाग पूर्ण सक्रिय नभई वा मेरुदण्डमा चोट वा पक्षाघात भई वा मांशपेसी विचलन भई वा मस्तिष्क पक्षाघात भई कम्मरभन्दा मुनिको भाग क्रियाशील हुन नसकी ह्विलचियरको प्रयोग गर्नुपर्ने अवस्थाका व्यक्तिहरू, दुवै हातको पाखुरामुनिको अङ्ग नभएका वा नचल्ने, कम्मरभन्दा मुनिका अङ्ग नभएका वा नचल्ने व्यक्तिहरू, दुवै खुट्टा पूर्ण क्रियाशील नभई बैसाखीको प्रयोग गर्ने व्यक्तिहरू, पूर्ण दृष्टिविहीन व्यक्तिहरू, बहिरा व्यक्तिहरू, दैनिक जीवन सम्पादन आफैँ गर्न सक्ने तर सिकाइमा समस्या भएका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, निरन्तर अरूको सहयोग लिइरहनुपर्ने बहुअपाङ्गता भएका व्यक्तिहरूलाई, “वर्ग (नीलो रंग)को परिचयपत्र उपलब्ध गराइएको थियो ।

(ग) मध्यम अपाङ्गता :

कृत्रिम अङ्गको प्रयोग वा सहायक सामग्रीको प्रयोगबाट दैनिक जीवन सम्पादन आफैँ गर्नसक्ने, पोलियो भई घुँडामुनिको अङ्गमा मात्र प्रभाव परेको, स्वतन्त्र रूपमा हिँड्डुल गर्नसक्ने शारीरिकरूपमा अपाङ्गता भएका व्यक्तिहरू, हत्केलाभन्दा मुनिका कम्तीमा बूढीऔँला र चोरऔँला नभएका तथा कुर्कुच्चाभन्दा मुनिको भाग नभएका, मेरुदण्डमा समस्या भई ढाड कुप्रिएको, सिकाइमा ढिला भएका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, श्रवणयन्त्रको प्रयोगबाट मात्र सुन्नसक्ने सुस्त श्रवण व्यक्तिहरू, शल्यक्रियाबाट स्वरयन्त्र झिकी घाँटीको नलीबाट मात्र बोल्नसक्ने व्यक्तिहरू, तीव्र भकभके व्यक्तिहरू, तीन फिटमुनिका पुड्का व्यक्तिहरू, चस्मा र श्रवणयन्त्र दुवै प्रयोग गर्ने श्रवणदृष्टिविहीन व्यक्तिहरू, लेन्स वा म्याग्निफायरको प्रयोगबाट मात्र पढ्नसक्ने न्यून दृष्टियुक्त व्यक्तिहरू, समूह को अपाङ्गता (पहेँलो रङ)को परिचयपत्र वितरण गरिएको थियो ।

(घ) सामान्य अपाङ्गता :

शारीरिक अङ्गहरूमा सामान्य विचलन भए तापनि दैनिक जीवन सम्पादनमा कुनै कठिनाइ नहुने, हात वा खुट्टा केही छोटो भएका, ठूलो अक्षर पढ्नसक्ने, न्यून दृष्टियुक्त व्यक्तिहरू, हत्केलामुनिका कम्तीमा बूढीऔँला र चोरीऔँला भएका, खुट्टाको औँलाका भागहरू नभएका, श्रवणयन्त्र लगाई वा नलगाई ठूलो आवाज सुन्ने तर बोली स्पष्ट भएका सुस्त श्रवण व्यक्तिहरू, स्मरणशक्ति ज्यादै कम भई सिकाइमा कठिनाइ हुने बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई वर्ग (सेतो रङ) को परिचयपत्र वितरण गरियो ।

चिकित्सकको सिफारिस बमोजिम डेक्समा सक्रिय कर्मचारीहरुले परिचयपत्र र लगत रजिस्ट्ररमा अभिलेख राखी प्रमुख प्रशासकीय अधिकृतबाट हस्ताक्षर गराई गाउँपालिकाका का.वा. अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र अपाङ्ग हकहित समन्वय समितिका पदाधिकारीहरुको करकमलबाट सम्बन्धित व्यक्ति वा संरक्षकलाई प्रदान गरिएको थियो ।

७.  कार्यक्रम अवधिका क्रियाकलापहरूः

शिविर संचालनको पहिलो दिन मिति 2078 असोज 17 गते आइतबार,

अपाङ्गता परीक्षण शिविर तथा परिचयपत्र वितरण कार्यक्रमको पहिलो दिन उद्‌घाटन समारोहको आयोजना गरियो । यस समारोहको सभापतित्व प्रतापपुर गाउँपालिकाका का.वा अध्यक्ष तथा गाउँपालिकास्तरीय अपाङ्ग हकहित समन्वय समितिका अध्यक्ष श्री अन्जु कुमारी चौधरीज्यूले गर्नुभएको थियो । प्रमुख अतिथिको रुपमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री राम प्रसाद सापकोटा र विशेष अतिथिको रुपमा पृथ्वीचन्द्र (जिल्ला) अस्पताल, परासीका नि. सुपरीटेन्डेन्ट डा. मोहम्मद नुरुल होदा, जगन्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अफिसर डा. चम्पा चौधरी, तथा सामाजिक विकास समिति संयोजक एवम् वडा नं. २ का वडाध्यक्ष श्री ईश्वरी प्रसाद थारु उपस्थित हुनुहुन्थ्यो । त्यस्तै सामाजिक विकास शाखा प्रमुख श्री सुस्मिता पौडेल, प्रतापपुर गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरु तथा शिविरमा खटिएका कर्मचारी, प्रतापपुर स्वास्थ्य चौकीका कर्मचारीहरु र गाउँपालिका भित्रका विभिन्न वडाका अपाङ्गता भएका आमजनसाधारणको उपस्थिति थियो । आगन्तुक अतिथिहरुको स्वागत स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत श्री कुन्दन कुमार सिंहले आफ्नो स्वागत मन्तव्यबाट गर्नुभएको थियो भने उक्त कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख श्री चक्रपाणी भण्डारीले गर्नुभएको थियो । शिविरको औपचारिक उद्‍घाटन सभापतिबाट कार्यक्रमको ब्यानर पढेर गरिएको थियो ।

प्रतापपुर स्वास्थ्य चौकीमा अपाङ्ग हकहित समन्वय समितिका पदाधिकारीहरु तथा शिविरमा खटिएका कर्मचारीहरुको पूर्वनिर्धारित कार्यजिम्मेवारी बमोजिम समन्वयका साथ प्रतिबद्ध भई अत्यन्तै व्यवस्थित तरिकाले शिविरको सुरुवात गरियो । शिविर सञ्चालन हुने समय अगावै शिविरका लागि आवश्यक पूर्वाधारहरुको उचित प्रबन्ध गरी व्यवस्थापन पक्षले शिविर संचालनको चुस्त व्यवस्थापन गरेको थियो । त्यसैगरी कार्यक्रमको प्रत्यक्ष लाभान्वित वर्ग अर्थात् अपाङ्गता भएका ब्यक्तिहरु पनि उत्साहजनक रुपमा धैर्यता र संयमतापूर्वक सहभागिता जनाउनु भएको थियो । प्रभावकारी समन्वय र संचार तथा प्रचारप्रसारको कारण अपाङ्गता भएका ब्यक्तिहरुको उत्साहजनक उपस्थिती रहन गयो। कतिबेला डाक्टरहरु आउनुहुन्छ अनि हामीहरुलाई चेकजाँच गरी वर्ग पहिचान गरिदिनुहुनेछ भन्ने कौतुहलता उहाँहरुको अनुहारमा प्रष्ट बुझ्न सकिन्थ्यो । कोही साथीहरुले उहाँहरुको बसाई व्यवस्थापन गर्दै हुनुहुन्थ्यो त कोही वडाको सिफारीशको आधारमा अपाङ्गता परिचयपत्रको लागि निवेदन भर्ने कार्यमा तल्लिन हुनुहुन्थ्यो, डाक्टरहरुको दिनुभएको व्यस्त समयको कारण शिविर निर्धारित समय भन्दा केहि ढिलो (करिब मध्यान्ह 12 बजे) संचालन भएको थियो ।

करिब अपरान्ह ४ बजे खाजा समय १५ मिनेट मात्र छुट्‍याइएको थियो र पुनःआ-आफ्नो कार्यमा फर्कियौँ। पूर्व निर्धारित कार्यजिम्मेवारी बमोजिम हामीमध्ये कोहि निवेदन लेख्ने कार्यमा खट्यौ भने कोहि डाक्टरको सिफारिस बमोजिम परिचयपत्र र लगत रजिस्ट्ररमा व्यक्तिगत विवरण लेख्ने कार्यमा लाग्यौं भने भने कोहि भीड व्यवस्थापन त कोहि अपाङ्गता परीक्षण कक्षमा सहजिकरण गर्नुभयो । पहिलो दिन शिविर संचालन 12 बजेदेखि 5 बजेसम्म संचालन गरिएको थियो । पहिलो दिन "" वर्ग अर्थात् रातो कार्ड 13 जना, "" वर्ग अर्थात् निलो कार्ड 20 जना, "" वर्ग अर्थात् पहेँलो कार्ड 4 जना र "" वर्ग अर्थात् सेतो कार्ड 2 जना गरी जम्मा 39 जना अपाङ्गता भएका ब्यक्तिहरुको परीक्षण गरि वर्ग छुट्‍याईएको थियो, जसमा महिलाको संख्या 15 र पुरुषको संख्या 24 रहेको थयो।

शिविर संचालनको दोस्रो दिन मिति 2078 असोज 18 गते सोमबार,

दोस्रो दिन मिति 2078 असोज 18 सोमबार, निर्धारित समयमा नै तोकिएको स्थानमा हामी सबै गा.पा.स्तरीय अपाङ्ग हकहित समन्वय समितिका पदाधिकारीहरु तथा कर्मचारीहरु उपस्थित भई व्यवस्थापन गरेका थियौँ । सबैजना आ-आफ्नो जिम्मेवारीको काम पुरा गर्नमा तल्लिन थियौँ । प्रत्यक्ष लाभान्भित वर्ग अर्थात् अपाङ्गता भएका ब्यक्तिहरुको सहभागीता पनि उत्साहजनक नै रहेको थियो । निर्धारित समयमा नै उपस्थित भई वडाका सिफारिस संकलन गर्ने, निवेदन तयार गर्ने लगायतका विविध व्यवस्थापन गरियो । करिब 11 बजे डाक्टरहरुको आगमन भएपछि अपाङ्गता परीक्षण शुरु गरियो । करिब ३ बजेको समयमा खाजा समय 20 मिनेट निर्धारण गरेपश्चात पुनःकार्यमा फर्कियौँ । कार्यक्रमको अनुगमन आन्तरिक पक्षबाट नै भएको थियो, सल्लाह सुझाब सकरात्मक रहेको कारण शिविरमा खटिने हामी सबैको मनोबल उच्च रहेको थियो । दोस्रो दिन शिविर संचालन 11 बजेदेखि 5 बजेसम्म संचालन गरिएको थियो । दोस्रो दिन "" वर्ग अर्थात् रातो कार्ड 4 जना, "" वर्ग अर्थात् निलो कार्ड 14 जना, "" वर्ग अर्थात् पहेँलो कार्ड 6 जना र "" वर्ग अर्थात् सेतो कार्ड 1 जना गरी जम्मा 25 जना अपाङ्गता भएका ब्यक्तिहरुको परीक्षण गरी वर्ग छुट्‍याईएको थियो, जसमा महिलाको संख्या 8 र पुरुषको संख्या 17 रहेको थयो ।

शिविर संचालनको तेस्रो दिन मिति 2078 असोज 1९ गते मंगलबार

तेस्रो दिन मिति 2078 असोज 19 मंगलबार, निर्धारित समयमा नै तोकिएको स्थानमा हामी सबै गा.पा.स्तरीय अपाङ्ग हकहित समन्वय समिति सदस्यहरु तथा कर्मचारीहरु उपस्थित भई व्यवस्थापन गरेका थियौँ, सबैजना आ-आफ्नो जिम्मेवारीको काम पुरा गर्नमा तल्लिन थियौँ । नयाँ व्यक्तिहरुको अपाङ्गता परीक्षण गर्ने तथा अघिल्ला दुई दिनमा परीक्षण गरिसकेका ब्यक्तिहरुको परिचयपत्र वितरण गर्ने भनिएका कारणले भिडभाड निकै थियो । करिब 11 बजे डाक्टरहरुको आगमन भएपछि अपाङ्गता परीक्षण शुरु गरियो।करिब ३ बजेको समयमा अपाङ्गता परीक्षणको लागि प्राप्त भएका सबै निवेदनहरुको कामकारबाही भई परीक्षण गरिसकिएको जानकारी डाक्टरहरुबाट व्यवस्थापन समक्ष प्राप्त भईसके पश्चात् औपचारिक कार्यक्रम मार्फत आमन्त्रित डाक्टरहरुको बिदाई गर्ने र शिविरको औपचारिक समापन गर्ने कार्यक्रम तय गरियो । प्रतापपुर गा.पा.का प्रशासन शाखा प्रमुख श्री चक्रपाणी भण्डारीज्यूले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा प्रतापपुर गा.पा.का प्रमुख प्रशासकीय अधिकृत श्री राम प्रसाद सापकोटाको सभापतित्व, पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीका नि.मेडिकल सुपरिटेण्डेण्ट डा. महोम्मद नुरुल होदाज्यू, र जगन्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अफिसर डा.चम्पा चौधरिज्यूको बिशेष आतिथ्य,अन्य अतिथिहरुमा जिल्ला अपाङ्ग समितिका अध्यक्ष श्री बच्चा राजभरज्यू, प्र.गा.पा.का जनस्वास्थ्य अधिकृत श्री कुन्दन कुमार सिंह, प्र.गा.पा.का सामाजिक विकास शाखा प्रमुख श्री सुस्मिता पौडेल, विभिन्न शाखामा कार्यरत कर्मचारी, गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिहरु तथा उहाँहरूका संरक्षकहरुको आतिथ्यमा कार्यक्रम संचालन गरियो । उक्त कार्यक्रमममा प्र.गा.पा.का जनस्वास्थ्य अधिकृत श्री कुन्दन कुमार सिंहज्यूले कार्यक्रमको समग्र समिक्षा गरी समापन मन्तब्य दिनुभयो, त्यसपश्चात् प्र.गा.पा.का प्र.प्र.अ.श्री राम प्रसाद सापकोटाज्यूले आमन्त्रित डाक्टरहरुलाई मायाँको चिनो प्रदान गरी कार्यक्रमको औपचारिक समापन गर्नुभयो ।

करिब 4 बजे खाजा समय 15 मिनेट निर्धारण गरेपश्चात पुनः परिचयपत्रमा विवरण उल्लेख गर्ने तथा वितरण गर्ने कार्यमा फर्कियौँ । कार्यक्रमको अनुगमनको शिलशिलामा सल्लाह सुझाब सकरात्मक रहेको थियो । तेस्रो दिन शिविर संचालन 11 बजेदेखि 5 बजेसम्म संचालन गरिएको थियो । तेस्रो दिन "" वर्ग अर्थात् रातो कार्ड 5 जना, "" वर्ग अर्थात् निलो कार्ड 12 जना, "" वर्ग अर्थात् पहेँलो कार्ड 3 जना र "" वर्ग अर्थात् सेतो कार्ड 5 जना गरी जम्मा 25 जना अपाङ्गता भएका ब्यक्तिहरुको परीक्षण गरि वर्ग छुट्‍याईएको थियो, जसमा महिलाको संख्या 13 र पुरुषको संख्या 12 रहेको थयो।

समग्रमा 3 दिने अपाङ्गता परीक्षण तथा परिचयपत्र वितरण कार्यक्रम सौहार्दपुर्ण वातावरणमा सम्पन्न गरियो । तीन दिनको शिविरमा प्रत्यक्ष लाभान्वित अर्थात् अपाङ्गता भएका ब्यक्तीहरुको परीक्षण पश्चात् 89 जनाले परिचयपत्र वितरण गर्नुभएको थियो । तीन दिनको शिविर सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन सहयोग पुर्याउन प्रत्यक्ष/अप्रत्यक्ष भूमिका निर्वाह गर्नुहुने सम्पुर्ण सहयोगी हातहरुलाई एकमुष्ट धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

८.  शिविरमा प्रयोग भएका सामाग्रीहरुः

मार्कर, पेन, परिचयपत्र, ग्लु स्टिक, स्ट्याप्लर, अपाङ्गता परिचयपत्र निवेदन,अपाङ्गता परिचयपत्र दर्ता रजिष्टर,कैँची, मेटा कार्ड, मास्किन टेप,मास्क,स्यानिटाईजर,मायाँको चिनो,डायरी, शिविर पुस्तिका।

९.  शिविरका उपलब्धिहरुः

ü  गा.पा.भित्रका विभिन्न अपाङ्गता भएका ब्यक्तिहरुको वर्गिकरण, परिचयपत्र वितरण तथा त्यस्ता व्यक्तिहरूको लगत राख्ने कार्य सम्पन्न गरियो ।

ü  अपाङ्गता भएका व्यक्तिहरूलाई उपलब्ध गराइनुपर्ने सेवा सुविधाहरू व्यवस्थित रूपमा प्रदान गर्ने व्यवस्थाका लागि आधार-तथ्याङ्क तयार गरियो ।

ü  अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा, न्याय, अधिकार र समानता प्रदान गरी उपयुक्त अनुकूलता सहित विकास प्रक्रिया र राज्यका संयन्त्रहरूमा समावेशीकरण गराउन पहल गर्न वर्गिकरण सहितको व्यवस्थित लगत तयार गरियो ।

ü  अपाङ्गताको प्रकृति र मात्राको आधारमा अपाङ्गता भएका व्यक्तिहरूले पाउने सेवा, सुविधा र अवसरको प्राथमीकरण गर्न परिचयपत्र वितरण गरियो ।

ü  विगतका अभ्यासमा शिविर समाप्त भएको केहि दिनमा वडामार्फत परिचयपत्र वितरण गर्ने परम्परालाई तोड्दै शिविर सञ्चालन भएकै समयमा सम्बन्धित व्यक्ति वा संरक्षकलाई परिचयपत्र हातमा उपलब्ध गराउने कार्य सफलताका साथ सम्पन्न गरियो ।

१०.     सल्लाह तथा सुझाबहरुः

अपाङ्गता भएका ब्यक्तीहरुको लागि आफ्नो पहिचान प्राप्त गर्न, राज्यबाट प्रदान गरिने सेवा, सुविधा र अवसरको उचित लाभ लिन, आफ्नो हक अधिकार सुनिश्चितताको लागि आवाज उठाउन, राज्यका संयन्त्रहरुमा आफ्नो अर्थपूर्ण सहभागिता जनाउन, राज्यको मूलप्रवाहमा आउनको लागि अत्यावश्यक पर्ने परिचयपत्र वितरणका लागि अपाङ्गता परीक्षण शिविर वर्षको 1/2 पटक मात्र सञ्चालन गर्ने नभई नियमित त्रैमासिक रुपमा संचालन गर्न सकेमा प्रभावकारी हुने देखिन्छ । यसबाट अपाङ्गता भएका ब्यक्तीहरुको अधिकार प्राप्तिमा सहयोग पुग्ने हुँदा राज्यले स्थानीय सरकारलाई दिएको यो मानवतावादी जिम्मेवारीलाई सबै पक्षले विशेष चासोको रुपमा लिएमा सरकारको सामाजिक जिम्मेवारी धेरै हदसम्म पूरा हुने देखिन्छ ।

११.     निश्कर्षः

जन्मजात वा दुर्घटनामा परेर कुनै पनि व्यक्ति अपाङ्ग बन्न सक्छ । जसका कारण दैनिक जीवनयापनमा समस्या र अवरोध उत्पन्न हुन्छ । त्यस्ता व्यक्तिहरुको पहिचान गरि राज्यद्धारा प्रदान गरिने सेवा सुविधाहरु उपलब्ध गराउन शिविर सञ्चालन गर्नुपर्दछ । उनीहरुलाई परिचयपत्र वितरण गर्न मेडिकल जाँच गर्नुपर्ने हुन्छ । सोको लागि विशेषज्ञ सहितको शिविर सञ्चालन गर्न जरुरी छ । प्रतापपुर गाउँपालिकाले आ.व. ०७८/७९ मा सञ्चालन गरेको पहिलो शिविरमा उत्साहप्रद उपस्थिति भई व्यवस्थित तरिकाले कार्यक्रम सम्पन्न भयो । आगामी दिनहरूमा पनि सबै सरोकारवाला पक्षको साथ, सहकार्य, समन्वय र सञ्चारका माध्यमबाट शिविर नियमित रूपमा सञ्चालन गर्नु आवश्यक छ । संविधान र कानूनहरुले प्रदान गरेका मौलिक र मानव अधिकारको उचित कार्यान्वयनका लागि अपाङ्गता भएका व्यक्तिहरुले प्राप्त गर्ने सेवा, सुविधाको प्राप्तिमा सहजता ल्याउन जनताको सबैभन्दा नजिकको सरकारको विशेष भूमिका रहन्छ । राज्यले प्रदान गरेको यस महान जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्नु हामी सबैको जिम्मेवारी हो ।


Post a Comment

0 Comments