Advertisement

राजनीतिक तटस्थता

प्रश्नः राजनीतिक तटस्थताको औचित्यमाथि प्रकाश पार्दै नेपालमा राजनीतिक तटस्थता कायम गर्ने सन्दर्भमा देखिएका समस्या उल्लेख गर्नुहोस् ।  (२+४+४=१०)

"सेवाको प्रतिबद्धता र पारदर्शिताका लागि राजनीतिक तटस्थता"

तटस्थताले कुनै पनि कुरा र कार्यबाट अलग रहनु भन्ने बुझाउँछ । राजनीतिक  तटस्थता भनेको सार्वजनिक पद धारण गरेका सरकारी कर्मचारीले कुनै पनि राजनीतिक आस्था र विचारको पक्षमा नलागी तोकिएको निश्चित कानुन, विधि र प्रक्रियाका आधारमा कार्यसम्पादन गर्नुलाई जनाउँछ ।

राजनीतिक आग्रह, पूर्वाग्रह वा निर्देशनका आधारमा नभई विधि, पद्धति र पदीय मर्यादाका आधारमा जनतालाई सेवा प्रवाह गर्ने आदर्श मूल्य–मान्यता हो, राजनीतिक तटस्थता । राजनीतिक तटस्थताको अवधारणाको विकास उल्ड्रो विल्सनको राजनीति र प्रशासनबीचको सीमा रेखा, म्याक्स बेबरको कर्मचारीतन्त्रको सिद्धान्त, मन्टेस्क्युको शक्ति पृथकीकरणको सिद्धान्तबाट प्रेरित भएको पाइन्छ । नेपालको सार्वजनिक प्रशासनमा पनि राजनीतिक तटस्थतालाई उच्च मान्यता दिइएकोे छ ।

राजनीतिक तटस्थताको औचित्य

  • राजनीतिक आस्थाबाट प्रशासनलाई अलग राख्न,
  • प्रशासनिक प्रतिबद्धता कायम गर्न,
  • सार्वजनिक सेवालाई निष्पक्ष र गुणस्तरीय बनाउन,
  • राष्ट्रसेवक कर्मचारीलाई राजनीतिक विचार र आस्थाबाट टाढा राख्न,
  • राजनीतिक निर्देशन होइन कानुनी निर्देशनलाई शिरोपर गर्न,
  • जनमुखी र जवाफदेही प्रशासनको प्रादुर्भाव गर्न,
  • गुणस्तरीय कार्यसम्पादन हासिल गर्न,
  • सेवाप्रति नागरिक विश्वास र जनसन्तुष्टि कायम गर्न,
  • सार्वजनिक सेवाको प्रभावकारितामा वृद्धि गर्दै विधिको शासन कायम गर्न,

नेपालमा राजनीतिक तटस्थामा देखिएका समस्या

  • असल राजनीतिक संस्कृतिको स्थापना, विकास र अवलम्बन हुन नसक्नु,
  • दक्ष र सक्षम राजनीतिक नेतृत्वको अभाव रहनु,
  • कर्मचारी स्वयंमा प्रशासनिक निष्ठाको अभाव हुनु,
  • विधिको शासनको कमजोर परिपालना हुनु,
  • ऐन–नियम र कार्यविधिको परिपालनमा माथिल्लो निकाय नै उदासीन रहनु,
  • सरुवा र बढुवा राजनीतिक प्रभावबाट मुक्त हुन नसक्नु,
  • ट्रेड युनियनहरूले दलका भ्रातृ संगठनका रूपमा प्रशासनिक कार्यमा प्रभाव जमाउनु,
  • सार्वजनिक प्रशासनमा हेलो संस्कार कायमै रहनु,
  • सार्वजनिक सेवा प्रवाहमा समेत राजनीतिक भनसुन र सोर्सफोर्सले प्रश्रय पाउनु, 

यसरी नेपालको सार्वजनिक प्रशासनलाई तटस्थ, निष्पक्ष र प्रतिबद्ध बनाउन र सेवामा राजनीतिक तटस्थता कायम गर्न संविधान, ऐन–नियम, कानुन र कार्यविधिमा विभिन्न व्यवस्था गरिएको छ । विधिसम्मत रूपमा कार्यप्रक्रिया अघि बढाउन नसकिएकाले यसप्रति सबैले चासो राख्नु जरुरी छ । त्यसो भएमा मात्र निष्पक्ष प्रशासन र सुशासन कायम हुने देखिन्छ । 

Post a Comment

0 Comments