Advertisement

प्रविधि हस्तान्तरण, विश्वव्यापीकरण र उदारीकरणको वर्तमान विश्वबजारमा औचित्य

प्रश्नः प्रविधि हस्तान्तरणबारे चर्चा गर्दै विश्वव्यापीकरण र उदारीकरणको वर्तमान विश्वबजारमा औचित्य प्रस्ट पार्नुहोस्।   (१०)

सबल पूर्वाधार व्यवस्थाका लागि प्रविधि हस्तान्तरण

प्राविधिक ज्ञान, सीप र क्षमतालाई एउटा देशबाट अर्को देशमा, एउटा निकायबाट अर्को निकायमा प्रवाह गर्नुलाई प्रविधि हस्तान्तरण भनिन्छ । यो उत्पादन आविष्कार र नवप्रवर्तनका विधि र प्रक्रियाको व्यावसायीकरण गर्ने तथा एक पक्षमा भएको ज्ञानलाई अर्को पक्षमा हस्तान्तरण गर्ने कार्य हो । यसले विश्वको एक परिवेश सन्दर्भमा भएको नयाँ सिर्जना र नवप्रवर्तनलाई अर्को दुनियाँमा भरपूर उपयोग गर्न सकिने अवस्थाको सिर्जना गर्छ । 

उपयुक्त कानुनी संरचना, प्रविधि हस्तान्तरण नीति, लगानीमैत्री वातावरण, दक्ष जनशक्ति, सबल पूर्वाधार व्यवस्थाजस्ता पूर्वसर्तविना प्रविधि हस्तान्तरण सम्भव हुँदैन । त्यसैले यसका लागि आवश्यक पूर्वसर्त हुनु जरुरी छ । प्रविधि हस्तान्तरणलाई विधिसम्मत बनाउन वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन ०४९ को व्यवस्था रहेको छ । 

प्रविधि हस्तान्तरणको औचित्य

  • नयाँ ज्ञान, सीप, खोज, अन्वेषण र अनुसन्धानलाई बढावा दिन,
  • उत्पादन एवं सेवा क्षेत्रको उत्पादकत्व बढाउन,
  • आधुनिक प्रविधिको बजारीकरण गर्न,
  • मानवीय सीप, क्षमताको बढीभन्दा बढी उपयोग गर्न,
  • गुणस्तरीय र प्रतिस्पर्धात्मक उत्पादन र उत्पादकत्व वृद्धि गर्न,
  • मुलुक सुहाउँदो पूर्वाधार विकास गर्न,
  • विश्व व्यापारलाई थप प्रभावकारी र गतिशील बनाउन,
  • न्यून लागत तथा बढी प्रतिफलयुक्त वस्तु तथा सेवा सहज रूपमा पाउन,
  • ज्ञानमा आधारित समाज, पेसा र व्यवसायको प्रवद्र्धन गर्न,
  • उदारीकरण र विश्वव्यापीकरणका फाइदालाई उपयोग गर्न,
  • लगानीमैत्री वातावरणमार्फत लगानी भित्र्याई उच्चतम प्रतिफल हासिल गर्न,
  • आधुनिक कार्यशैलीको विकास र अनुसरण गर्न,
  • प्रविधिले सिर्जना गरेका अवसरलाई उपयोग गर्न, 
  • स्रोत–साधनको उचित परिचालनद्वारा सबल अर्थतन्त्रको निर्माण गर्न,
  • उत्पादन र आविष्कार, नवप्रवर्तनका विधि र प्रक्रियाको व्यावसायीकरण गर्न,
  • ज्ञानमा आधारित समाजको निर्माण गर्न,

अन्त्यमा

प्रविधि हस्तान्तरणले विश्वको एक परिवेश र सन्दर्भमा भएको आविष्कारलाई विश्वव्यापी रूपमा प्रसारण गर्न मद्दत गर्छ । प्रविधिले सिर्जना गरेका अवसरलाई भरपूर रूपमा विश्वभर पु-याउन मद्दत गर्ने हुँदा २१औँ शताब्दीमा आविष्कारको एक नयाँ प्रयोगका रूपमा यसलाई मान्न सकिन्छ । त्यसैले वर्तमान विश्वमा प्रविधि हस्तान्तरणको माध्यमबाट ज्ञान, सीप र शैलीको उपयोग गरी आर्थिक समृद्धि हासिल गर्नुपर्ने देखिन्छ । 

प्रश्नः अन्तःशुल्क भनेको के हो? अन्तःशुल्क प्रशासनमा गर्नुपर्ने सुधारका विषय के–के हुन्? प्रकाश पार्नुहोस्। (५)

"उत्पादनमा लाग्ने कर अन्तःशुल्क"

आन्तरिक उत्पादित तथा आयात गरिएका वस्तु तथा सेवामा लाग्ने अप्रत्यक्ष करलाई अन्तःशुल्क भनिन्छ। यो जनस्वास्थ्य र वातावरणमा असर गर्ने तथा बिलासिताका वस्तु वा उत्पादनमा लाग्ने कर हो। स्वदेशमा अन्तःशुल्क लाग्ने वस्तु विदेशबाट आयात गरेमा त्यस्तो वस्तुको भन्सार बिन्दुमा अन्तःशुल्क लाग्ने गर्छ।

अन्तःशुल्क विशेषतः वस्तु, तथा सेवा दुवैमा लाग्ने गर्छ । नेपालमा सेवामा अन्तःशुल्क लाग्ने कानुनी व्यवस्था भए पनि व्यवहारमा भने लागू भएको पाइँदैन । आर्थिक अध्यादेश ०७० अनुसार नेपालका ५६ वटा वस्तुमा अन्तःशुल्क लाग्छ। अन्तःशुल्कलाई व्यवस्थित गर्न नेपालमा कानुनी तथा संस्थागत व्यवस्था गरिएको भए पनि सही कार्यान्वयन भने हुन सकेको छैन।

अन्तःशुल्क प्रशासनमा क्षेत्रमा गर्नुपर्ने सुधारका विषय

  • अन्तःशुल्कका दर र क्षेत्रमा स्थिरता ल्याउने,
  • अन्तःशुल्क प्रशासनको सुदृढीकरण गर्ने,
  • आन्तरिक राजस्वको आधार फराकिलो बनाउने,
  • राजस्व चुहावट नियन्त्रण गर्ने,
  • भौतिक नियन्त्रण प्रणालीलाई स्वयं निष्कासन प्रणालीमा रूपान्तरण गर्ने,
  • कर प्रणालीलाई व्यवस्थित गर्ने,
  • अन्तःशुल्कसम्बन्धी नीति तथा कानुनलाई समसामयिक तुल्याउने,
  • अन्तःशुल्कमार्फत स्वदेशी उद्योगको संरक्षण गर्ने,
  • अन्तःशुल्क प्रशासनमा नयाँ जनशक्ति भित्र्याउने,
  • स्वचालित नियन्त्रण प्रणाली लागू गर्ने।

अन्त्यमा

नेपालमा घट्दो राजस्वको खाडललाई पूर्ति गर्न अन्तःशुल्कको प्रयोग अपरिहार्य देखिन्छ । अतः यसको व्यवस्थित परिचालनका साथै यसको दर र क्षेत्रमा स्थिरता ल्याई अन्तःशुल्कको परिधि बढाउनु आजको आवश्यकता हो ।

Post a Comment

0 Comments