Advertisement

शक्ति पृथकीकरण र कर्मचारी उत्प्रेरणा

प्रश्न. शक्ति पृथकीकरण भनेको के हो उल्लेख गर्दै शक्ति पृथकीकरणको सबल र दुर्वल पक्षबारे उल्लेख गर्नुहोस्?  (2+4+4)

"नागरिक अधिकार रक्षाका लागि शक्ति पृथकीकरण"

शक्ति पृथकीकरण

राज्यको शक्तिलाई कार्यपालिका व्यवस्थापिका र न्यायपालिकाबीच स्पष्ट विभाजन र कार्य स्वतन्त्रतासम्बन्धी सिद्धान्तलाई शक्ति पृथकीकरण भनिन्छ। शक्ति पृथकीकरण एउटै व्यक्त्ति वा निकायमा शक्तिकेन्द्रित गर्नु हुँदैन भन्ने राजनीतिक सिद्धान्त हो। Deliberative judicial र official कार्यहरु राज्यका तीन अंगबाट छुट्टाछुट्टै सम्पादन हुनु पर्दछ भन्ने मान्यता यस सिद्धान्तले राख्छ।

संवैधानिक विधिशास्त्रमा यसलाई महत्त्वपूर्ण स्थान दिइएको छ। यस सिद्धान्तको प्रतिपादक फ्रेन्च दार्शनिक मन्टेस्क्यु हुन्। उनले आफ्नो चर्चित पुस्तक The spirit of law  मा सन् १७४८ मा  यस सिद्धान्तबारे व्याख्या गरेका थिए। नेपालको संविधानले पनि राज्यशक्तिलाई कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा विभाजन गरी शक्ति पृथकीकरणको सिद्धान्तलाई अवलम्बन गरेको छ।

शक्ति पृथकीकरणको सिद्धान्तले निम्न विषयवस्तुलाई समेटेको हुन्छ:

  • राज्य शक्तिलाई यसको प्रकृतिको आधारमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा विभाजन गर्नुपर्छ।
  • राज्यशक्तिको प्रयोग गर्ने प्रत्येक अंग एक अर्काबाट स्वतन्त्र रहनु पर्छ।
  • कुनै एक व्यक्त्ति एकै समयमा एकभन्दा बढी अंगमा बहाल रहनु हुँदैन।

शक्ति पृथकीकरणका सबल पक्षहरु

  • शासकीय व्यवस्थालाई जनमैत्री र पारदर्शी बनाउँछ,
  • राज्यशक्तिको उपयुक्त प्रयोगबाट शासन व्यवस्थामा स्थायित्व कायम गर्छ,
  • शक्ति सन्तुलन र नियन्त्रणको लागि आधार तयार हुन्छ,
  • कार्यमा हुने दोहोरोपना र जटिलता कम गर्दै शासन व्यवस्थालाई सरल र सहज बनाउँछ,
  • निष्पक्ष र स्वतन्त्र न्यापालिकाको व्यवस्था गर्दै प्रजातन्त्रको सुदृढीकरणमा टेवा पुग्छ,
  • सम्पूर्ण नागरिकको मौलिक हकको प्रर्वद्धन हुन्छ,
  • नागरिक हक, हित, स्वतन्त्रता र अधिकारको पक्षपोषण गर्दछ।

शक्ति पृथकीकरण दुर्बल पक्षहरु

  • Absolute शक्ति पृथकीकरण हुन सक्दैन । तसर्थ निरपेक्ष रूपमा लागू गर्न कठिनाइ हुन्छ,
  • संसदीय प्रणालीमा शक्ति पृथकीकरण व्यावहारिक र वैज्ञानिक देखिँदैन,
  • निरपेक्ष शक्ति पृथकीकरण हुँदा राज्यका अंगहरूबीच द्वन्द्वात्मक अवस्थाको सिर्जना हुन्छ,
  • कार्यपालिकाको कार्यमाथि बन्देज लाग्ने हुन्छ,
  • कार्यपालिकाले अध्यादेश जारी गर्न समेत स्वतन्त्र रहँदैन,
  • पृथकीकरणबाट भन्दा शक्तिको नियन्त्रण र सन्तुलनबाट नागरिक अधिकार रक्षा हुन्छ।

अन्त्यमा,

राज्य शक्तिलाई एकीकरण गरी निरङ्कुशतन्त्रको अभ्यास तथा शक्तिको दुरूपयोग हुन नदिन शक्ति पृथकीकरणको सिद्धान्तको प्रतिपादन भएको हो। शक्त्ति पृथकीकरणबाट शासन प्रणालीमा आउन सक्ने असामञ्जस्यता, वैमनस्यता र निरङ्कुशताको अन्त्य गरी शासन व्यवस्थामा पारदर्शिता र जवाफदेहिता कायम गर्न यस सिद्धान्तको महत्त्वपूर्ण भूमिका रहने गर्छ । संवैधानिक व्यवस्थाअनुरूप यसको परिचालन र कार्यान्वयन गरी नागरिक अधिकारको रक्षा गर्नु आजको खाँचो हो ।

प्रश्न. उत्प्रेरणा भनेको के हो?  निजामती सेवामा कर्मचारी कार्यप्रति उत्प्रेरित हुन नसक्नुका कारणहरु उल्लेख गर्दै समाधानका उपायहरुबारे चर्चा गर्नुहोस्? (2+4+4)

 "मनैदेखि उब्जेको सकारात्मक भावना उत्प्रेरणा"

उत्प्रेरणा

  • कर्मचारीको कामप्रतिको इच्छा, जाँगर, तत्परता, उत्सकुता र जागरुकता नै उत्प्रेरणा हो। उत्प्रेरणा मनैदेखि उब्जने भावना  हो।
  • उत्प्रेरणाले कर्मचारीलाई संगठनात्मक कार्य गर्न बल प्रदान गर्दछ। संगठनात्मक उद्देश्य हासिल गर्न कर्मचारीलाई कामप्रति अग्रसर बनाउन उत्प्रेरणाले महत्त्वपूर्ण भूमिका खेल्छ ।
  • उत्प्रेरणा विशेषगरी आवश्यकताको सिद्धान्तसँग सम्बन्धित हुन्छ। मानिसका आवश्यकता र उद्देश्यहरु अनगिन्ती हुन्छन् । ती आवश्यकता र उद्देश्यहरु परिपूर्ति गर्न व्यक्ति कामप्रति उत्प्रेरित हुने गर्छ।

निजामती सेवामा कर्मचारीहरु काम प्रतिउत्प्रेरित हुन नसक्नुका कारणहरु

  • कर्मचारी व्यवस्थापनसम्बन्धी नीति तथा आधारहरू स्पष्ट नहुनु,
  • कर्मचारीको वृत्ति विकासको आधारहरूलाई फराकिलो पार्दै लैजान नसक्नु,
  • सांगठनिक कार्यहरूमा कर्मचारीको बढीभन्दा बढी सहभागिता बढाउन नसक्नु,
  • कार्यप्रक्रियालाई सरलीकरण गर्दै अधिकारको प्रत्यायोजन नगरिनु,
  • कार्यवातावरणलाई office friendly बनाउन नसक्नु,
  • समान पदमा हुने असमनताको स्थितिको अन्त्य हुन नसक्नु,
  • कर्मचारीको क्षमता र रुचिअनुसार पदस्थापन नगरिनु,
  • आदेशमा एकताको सिद्धान्तको व्यावहारिक प्रयोग नहुनु,
  • वैज्ञानिक व्यवस्थापनको सिद्धान्तलाई अवलम्बन नगरिनु,
  • स्थानीय तहमा कार्यरत कर्मचारीको कार्यबोझ कम गरी सेवा सुविधालाई बढाउदै लैजान नसक्नु,
  • कर्मचारीको समायोजन पद्धति वैज्ञानिक हुन नसक्दा कर्मचारीमा नैराश्यता बढ्नु जसको कारण कामप्रति उत्प्रेरित हुन नसक्नु,
  • कर्मचारीको वृतिविकास र सेवाको शर्तहरूमा बारम्बार परिवर्तन भइरहने त्रासको अवस्था सिर्जना हुनु।

कर्मचारीलाई कार्यप्रति उत्प्रेरित गर्न अवलम्बन गर्नुपर्ने उपायहरू

  • कर्मचारी व्यवस्थापनसम्बन्धी नीति तथा आधारहरू स्पष्ट गराउने,
  • कर्मचारीको वृत्तिविकासको आधारहरूलाई फराकिलो पार्दै लैजाने,
  • संगठनिका कार्यहरूमा बढीभन्दा बढी सहभागिता बढाउँदै लैजाने,
  • कार्यप्रक्रियालाई सरलीकरण गर्दै अधिकारको प्रत्यायोजन गर्ने,
  • कार्यवातावरणलाई office friendly बनाउँदै लैजाने,
  • समान पदमा हुने असमनताको स्थितिको अन्त्य गर्ने,
  • कर्मचारीको क्षमता र रुचिअनुसार पदस्थापन गर्ने
  • आदेशमा एकताको सिद्धान्तको व्यावहारिक प्रयोगमा जोड दिने,
  • वैज्ञानिक व्यवस्थापनको सिद्धान्तलाई अवलम्बन गर्ने,
  • स्थानीय तहमा कार्यरत कर्मचारीको कार्यबोझ कम गरी सेवा सुविधालाई बढाउँदै लैजाने,
  • कर्मचारीको समायोजन पद्धति वैज्ञानिक हुन नसक्दा कर्मचारीमा बढेको नैराश्यतालाई उचित व्यवस्थाद्वारा सम्बोधन गर्ने,
  • कर्मचारीको वृत्तिविकास र सेवाको सर्तहरुलाई स्थायित्व दिने।

यसरी,

कर्मचारीमा मनोबल बढाइ सांगठनिक लक्ष्य हासिल गर्न उत्प्रेरणा एक अति आवश्यक तत्त्व हो। निजामती सेवामा पछिल्लो समयमा कर्मचारीको मनोबलमा आएको गिरावटले सेवाको छवि नै खस्किँदै गइरहेको पाउन सकिन्छ। तसर्थ, निजामती सेवालाई एक प्रतिस्पर्धी र सक्षम सेवाको रूपमा स्थापित गर्न कर्मचारीको मनोबल र उत्प्रेरणा सधैं उच्च राख्नु आवश्यक हुन्छ।

Post a Comment

0 Comments