Advertisement

आर्थिक नीतिको परिचय र नेपालले अवलम्बन गरेको आर्थिक नीति, नागरिक शिक्षा

प्रश्नः आर्थिक नीतिमाथि प्रकाश पार्दै नेपालले अवलम्बन गरेको आर्थिक नीतिबारे चर्चा गर्नुहोस् । (१०)

देशको आर्थिक विकासका लागि राज्यले लिने नीति नै आर्थिक नीति हो। मुलुकको अर्थतन्त्रलाई वाञ्छित दिशामा अगाडि बढाउन यस्तो नीति लिइन्छ। यसअन्तर्गत राज्यले अवलम्बन गर्ने वित्तीय नीति, मौद्रिक नीति र विनिमयदर नीतिलगायत समष्टिगत आर्थिक नीति पर्छन्। अर्थतन्त्रमा अपेक्षित क्रियापलापको प्रवर्द्धन गरी अनपेक्षित क्रियाकलापलाई निरुत्साहित गर्न आर्थिक नीतिको अवलम्बन गर्ने गरिन्छ। 

यो उत्पादन र उपभोगसम्बन्धी नीति हो। आर्थिक नीतिलाई देशको संविधान, बजेट, योजना प्रत्येक वर्षको आर्थिक ऐन आदिका आधारमा तर्जुमा गरिएको छ। आर्थिक नीतिलाई पुँजीवादी, समाजवादी र मिश्रित गरी तीन प्रकारमा वर्गीकरण गर्न सकिन्छ। उपलब्ध स्रोत–साधनको अधिकतम परिचालनबाट अर्थतन्त्रलाई दिगो, समावेशी र फराकिलो बनाउँदै दिगो आर्थिक वृद्धि कायम गर्नु यसको उद्देश्य हो।

नेपालको आर्थिक नीति

  • अर्थतन्त्रमा सरकारी, निजी र सहकारी क्षेत्रलाई आर्थिक विकासको तीन प्रमुख पक्षको रूपमा लिइएको,
  • दिगो, समावेशी र फराकिलो आर्थिक वृद्धिमार्फत समाजवादउन्मुख अर्थतन्त्रको परिकल्पना गरिएको,
  • राष्ट्रिय आवश्यकताअनुरूप वैदेशिक सहायताको परिचालन तथा वैदेशिक सहायतालाई बजेटमा आबद्ध गरिएको,
  • कृषि, पर्यटन, वन क्षेत्रको विकास गर्दै राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याइएको,
  • बजार प्रणालीलाई प्रतिस्पर्धी बनाउँदै आपूर्ति व्यवस्थाको अवरोध हटाई आपूर्ति व्यवस्था सुनिश्चित गरिने उल्लेख भएको,
  • आय वृद्धि र उपभोग व्यवस्थापनबाट बचत परिचालन अभिवृद्धिमा जोड दिइएको,
  • अर्थतन्त्रको विकासमा जनसंख्या, विकास र वातावरणबीच तादाम्य कायम गरिएको,
  • वितरणात्मक न्याय कायम गर्दै समग्र अर्थ प्रणालीलाई आर्थिक विकासको मार्ग प्रशस्त गर्ने आधारका रूपमा अगाडि बढाइएको,
  • आर्थिक स्रोत–साधनको न्यायोचित वितरण कायम गरिएको,
  • व्यापार, लगानी, पर्यटन तथा रोजगारी प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय, क्षेत्रीय र द्विपक्षीय सम्बन्धलाई सुदृढ गरिएको,
  • करको दायरामा वृद्धि गरी राजस्वको परिचालनमा वृद्धि गरिएको,
  • आर्थिक विकासमा निजी क्षेत्रको भूमिका अभिवृद्धि गर्दै लगानीको वातावरण सिर्जना गरिएको,
  • समग्र आर्थिक विकासका सम्भावित क्षेत्रलाई समेटी आर्थिक नीतिको तर्जुमा गरिएको।

यसरी आर्थिक नीतिले मुलुकको समृद्धिको जग निर्माण गर्छ। नेपालले राष्ट्रिय अर्थतन्त्रलाई सबल, गतिशील र उन्नतिशस्ल बनाउन वर्तमान आर्थिक नीति अवलम्बन गरेको छ। बजेट, योजना, नीति तथा कार्यक्रमलगायत आर्थिक नीतिहरूको प्रभावकारी कार्यान्वयनबाट सुदृढ अर्थतन्त्रको विकास गरी नेपाललाई अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्नु आजको आवश्यकता हो।

प्रश्नः नागरिक शिक्षा अभिवृद्धिका विषय के–के हुन् ? उल्लेख गर्नुहोस् ।  (५)

‘सबल राष्ट्र निर्माणका लागि असल नागरिक शिक्षा’

कर्मठ, कर्तव्यनिष्ठ, देशभक्त, सुयोग्य र सबल नागरिक निर्माण गर्न नागरिक जागरण, सबलीकरण तथा परिष्करणको अभियान हो नागरिक शिक्षा। नागरिक शिक्षाले राज्यबाट के लिने मात्र नभई के दिने भन्नेबारे पनि कर्तव्यबोध गराउँछ । यसले कर्तव्य परायण नागरिकमार्फत सुसभ्य राष्ट्र निर्माणको अपेक्षा राख्छ।

नागरिक शिक्षा अभिवृद्धिका विषय

  • देशको संविधान, ऐन–नियम, सरकार तथा शासन व्यवस्था
  • देशको सार्वभौमसत्ता , एकता, अखण्डता र राष्ट्रिय सुरक्षाका विषय
  • मानव–अधिकार, मौलिक अधिकार, कर्तव्य र दायित्व
  • असल राजनीतिक संस्कृति तथा राजनीतिक दलसम्बन्धी विषय
  • विकास र विकास व्यवस्थापन शिक्षा
  • सदाचार, शिष्टाचार र नैतिकताको विषय
  • राष्ट्रिय सरोकारका ज्वलन्त विषय
  • नागरिक सहयोग, सहभागिता र सक्रियता
  • वातावरणीय पक्ष तथा दिगो विकास
  • मौलिक हकका विषय
  • सामाजिक न्याय, समानता, सद्भाव र द्वन्द्व व्यवस्थापनका विषय।

अन्त्यमा

नागरिक शिक्षाले नागरिकको चेतनाको स्तरलाई उकासी एक कर्मठ र निष्ठावान् नागरिकको विकासमा सहयोग पु¥याउने हँुदा यसको प्रवद्र्धन आवश्यक रहेको देखिन्छ। 

Post a Comment

0 Comments