Advertisement

१० प्रश्न र उत्तरको पृष्ठपोषण

१. वर्तमान संरचनामा प्रदेश र स्थानीय राजस्व अधिकार परिचालन भनिएको छ। बजारमा उपलब्ध सबै किताबमा एकरूपता पाइँदैन, कसैमा संविधानको धारा नै उल्लेख गरेका छन् त कसैमा टेबल बनाएर। यसलाई कसरी लेख्दा परीक्षामा प्रभावकारी होला?

विषयवस्तुलाई प्रस्तुत गर्ने आ–आफ्ना शैली हुन सक्छन्। प्रदेश र स्थानीय तहको राजस्व अधिकार, संविधानको धारा उल्लेख गरेर बुँदागत रूपमा लेख्दा वा तुलनात्मक रूपमा टेबलमा लेख्दा दुवै सही नै हुन्छ। मुख्य कुरा, जुन शैलीमा लेखे पनि संविधानका व्यवस्थामा आधारित भएर लेख्नु पर्छ। टेबलमा लेख्ने हो भने पृष्ठभूमिमा संविधानका भाग र धारा उद्धृत गर्नुपर्छ। विषयवस्तुलाई भने टेबलभित्र राख्न सकिन्छ वा तेस्रो विकल्पको पृष्ठभूमिमै भाग र धारा उद्धृत गरी व्यवस्थाहरूलाई प्रदेश र स्थानीय तहमा छुट्याइ बुँदागत रूपमा मात्र लेख्न पनि सकिन्छ।

२. नेपालको भौगोलिक वातावरणले जनजीवन र हावा पानीमा पारेको प्रभावको उत्तर एउटै ढाँचाबाट लेख्दा होला वा फरक ढाँचाबाट लेख्दा राम्रो होला?

नेपालको भौगोलिक वातावरण र हावापानी भौगोलिक स्थान अनुसार फरक फरक रहेको र प्रत्येक स्थानको भिन्न वातावरण वा हावापानीको सकारात्मक र नकारात्मक दुवै खाले प्रभाव हुने हुँदा भौगोलिक वातावरण र हावापानीको वर्गीकरण अनुसार प्रत्येकको सकारात्मक र नकारात्मक प्रभाव लेख्नु पर्छ। तर समाय व्यवस्थापनलाई ध्यान दिई सिधै बुँदागत रूपमा र प्रत्येकको सकारात्मक प्रभाव ३्/४ वटा र नकारात्मक प्रभाव ३/४ वटा बुँदामा मात्र लेख्नु पर्छ।

३. द्वन्द्व व्यवस्थापन गर्ने तरिका र प्रक्रिया एउटै हो ? किताबमा समग्रहमा लेखेको भेटिन्छ र कुनैमा छुट्टा –छुट्टै लेखेको हुन्छ । वास्तवमा कुन राम्रो हो ?

द्वन्द्व व्यवस्थापनको तरिका भन्नाले यसका विधी, ढाँचा, उपाय वा रणनीतिलाई बुझिन्छ भने यसको प्रकृया भन्नले द्वन्द्व व्यस्थापनका क्रमवद्ध क्रियाकलाप, विधि वा चरणलाई बुझिन्छ। त्यसैले द्वन्द्व व्यवस्थापनका तरिका र प्रक्रिया फरक फरक कुरा हुन्।

४. कुनै पनि प्रश्नको अवधारणा प्रष्ट पार्नुहोस् भन्ने प्रश्नमा सबै किताबमा एउटै उत्तर भेटिंदैन। कुनैमा परम्परागत, आधुनिक त कुनैमा विकासक्रमका रूपमा लेखेको हुन्छ । उत्तर कसरी लेख्ने यसको ?

अवधारणा भनेको बुझाइ, धारणा, अर्थ वा विचार हो। त्यसैले कुनै पनि विषयको अवधारणा लेख्दा त्यो भनेको के हो भनी सोको अर्थ, परिचय वा परिभाषा, विशेषता, क्षेत्र, मान्यताजस्ता कुराहरू समेटिनु पर्ने हुन्छ। अन्तिममा एक दुई वाक्यमा सो अवधारणाको उत्पत्ति र विकासक्रमसमेत लेख्नु राम्रो हुन्छ।

५. उत्तर लेख्दा शीर्षक राखेर लेख्दा राम्रो भन्छन् । केहीको राख्ने वा केहीको नराख्ने गर्दा अङ्कमा फरक पर्छ कि पर्दैन ?

उत्तर लेख्दा प्रश्नले मागेका विषयवस्तुको अलग अलग शीर्षक दिएर लेख्नाले उत्तरमा सबै पक्ष सन्तुलित रूपमा समेटिने र कुनै पनि कुरा नछुट्ने हुन्छ। त्यसैले सम्भव भएसम्म सबै प्रश्नको उत्तर शीर्षक छुट्याई लेख्नु राम्रो हुन्छ। तर कुनै प्रश्नको शीर्षक छुट्याउन सकिएन भने कुनै उत्तर शीर्षक छुटयाएर र कुनै नछुट्याएर लेख्दा पनि फरक पर्दैन।

६. शीर्षक राख्दा अंगे्रजीबाट लेख्दा केही फरक पर्छ कि पर्दैन ? त्यसैगरी उत्तरको बीचमा पनि अंग्रेजी शब्द लेख्न हुन्छ कि हुँदैन ?

उत्तर लेख्दा माध्यम भाषा नेपाली बनाउनुहुन्छ भने बीच बीचमा आवश्यक भएको अवस्थामा अंग्रेजी शब्दहरू लेख्न सकिन्छ। त्यसैगरी बढी उपयुक्त लागेको अवस्थामा शीर्षक उपशीर्षकहरूसमेत अंग्रेजीमा लेख्न सकिन्छ। यद्यपि, अनावश्यक र भद्दा लाग्ने ढंगले अंग्रेजी शब्दहरूको प्रयोग गर्नाले भने उत्तरलाई अनाकर्षक बनाउँछ।

७. रोगको परिचय दिई यसको मानसिक ,शारीरिक , सामाजिक आयामको चर्चा गर्नु होस् ? आयाम भन्नाले के बुझिन्छ ?

यो प्रश्नमा आयाम भनेर पक्षलाई भनिएको हो। त्यसैले यस प्रश्नमा रोगले व्यक्तिको मानसिक, शारीरिक र सामाजिक पक्षमा कस्तो असर पार्छ लेख्नुहोस भन्न खोजेको हो।

८. सार्वजनिक खरिद ऐनको विशेषताहरू लेख्नु भनेको प्रश्नमा कस्ता कुरा लेख्नुपर्छ ?

कुनै पनि ऐनको विशेषता लेख्दा त्यस ऐनले प्रस्तावनामा उल्लेख गरेका विषयहरू र ऐनका प्रमुख व्यवस्थाहरूकै आधारमा लेख्नुपर्ने हुन्छ। यसभित्र उद्देश्य, सिद्धान्त, मान्यता, विशिष्ट व्यवस्था, क्षेत्र, लक्षित वर्ग वा समुदाय, कार्यान्वयन संयन्त्र, विगतका यस्तै ऐनका तुलनामा वर्तमान ऐनमा भएका नयाँ र महत्त्वपूर्ण व्यवस्था आदि कुराहरूलाई समेट्न सकिन्छ।

९. सामाजिक सुरक्षाका अंगअन्तर्गत के–के पर्दछन् ?

सामाजिक सुराक्षाका अंगमा सामाजिक सहायता, सामाजिक बीमा र श्रमबजार कार्यक्रम गरी तीनवटा विषयहरू पर्दछन। सामाजिक सहायतामा सरकारलेबिना योगदान निश्चित मापदण्ड पूरा गरेका व्यक्तिहरूलाई तोकिएअनुसारको सहायता प्रदान गर्दछ। सामाजिक बीमामा व्यक्तिको योगदानका आधारमा वा सरकारले व्यक्तिको योगदानबिना नै अग्रिम रूपमा कोषको व्यवस्था गरेर परेको अवस्थामा त्यस्तो कोषबाट सुरक्षा उपलब्ध गराउँछ। त्यसैगरी श्रमबजार कार्यक्रम अन्तर्गत सरकारले सामाजिक सुरक्षाको सुनिश्चितताका लागि व्यक्तिलाई श्रम गर्न लगाई नगद हस्तान्तरण गर्ने व्यवस्था मिलाउने गर्दछ।

१०. प्रश्नको शीर्षकमाथि समीक्षा गर्नुहोस् भनेमा कसरी उत्तर लेख्न सकिन्छ?

समीक्षा गर्नुहोस् भन्ने प्रश्नको उत्तर लेख्दा सम्बन्धित विषयका सम्बन्धमा विद्यमान व्यवस्थाको संक्षेपमा चर्चा गरी त्यसबाट प्राप्त उपलब्धि र त्यसमा रहेका कमजोरी वा समस्याहरूलाई बुँदागत रूपमा लेख्नु पर्छ। समीक्षा गर्दा अलग्गै मागेको अवस्थामा बाहेक सुझाव दिइरहनु भने पर्दैन।

Post a Comment

0 Comments