Advertisement

सार्वजनिक सेवा प्रवाहमा निजामती सेवाको भूमिका

प्रश्न. सार्वजनिक सेवा प्रवाहमा निजामती सेवाको भूमिका उल्लेख गर्दै सार्वजनिक सेवा वडापत्रमा गर्नुपर्ने सुधार उल्लेख गर्नुहोस। (१०)

"शासन गरेर सेवा होइन सेवा दिएर शासन गर्न सक्षम बनाउ"

सरकार तथा सरकार अन्तर्गतका सम्पूर्ण संयन्त्रहरूले नागरिकहरूलाई उपलब्ध गराउने नियमित, आकास्मीक र विकासात्मक सेवाको समष्टीगत स्वरूपलाई सार्वजनिक सेवा भनिन्छ। सरकार र नागरिकको विचमा वसेर निजामती सेवाले यस्तो सेवाको वितरण गर्दछ। सार्वजनिक सेवाको बजारीकरण र नागरिक सहायतका लागि राखिने सूचना पाटीलाई सेवा वडापत्र भनिन्छ। निजामती सेवा र सार्वजनिक सेवा वडापत्र दुवै सेवा वितरणका अंग र एक अर्काका परिपूरक हुन। वडापत्र मार्फत सेवाग्राहीले कस्तो सेवा, कति शुल्कमा, कहाँबाट, कति समयमा प्राप्त गर्न सक्दछन भन्ने विवरण समेटिएको हुन्छ। नेपालको संविधान, निजामती सेवा ऐन र सुशासन ऐनले नागरिकको अपेक्षा मुताविकको गुणस्तरीय सेवा वितरणमा जोड दिएका छन्। यद्यपि निरन्तर सुधार र जनताको अपेक्षा सम्बोधन हुन नसकदा सार्वजनिक सेवा वितरणका यी दुवै माध्यमहरू कमजोर हुँदै गएको तितो यथार्थ हाम्रा सामु छ।

सेवा प्रवाहमा निजामती सेवाको भूमिका

  • सरकारी नियम कानून र नीतिको कार्यान्वयन गरेर,
  • नागरिकलाई प्रत्यक्ष सेवाको वितरण गरेर,
  • नागरिक गुनासो सुनुवाई गरेर,
  • सरकार र नागरिकबीच योजकको रूपमा रहेर,
  • नजिकको सरकारको रूपमा उपस्थिति जनाएर,
  • स्थायी सरकारका रूपमा सेवाको निरन्तरता दिएर,
  • नागरिकको विकासका आकांक्षा सम्बोधन गर्न विकास प्रशासकका रूपमा कार्य गरेर,
  • विविधता व्यवस्थापन मार्फत सेवामा समाजको लघुरुप प्रतिबिम्बित गरेर,
  • नागरिकको नजिकको निकायवाट सेवा वितरण गरेर,
  • सेवाको लागत, समय, श्रम घटाएर र गुणस्तर बढाएर,
  • नागरिकमुखी सेवा वितरण गरी नागरिको मन जितेर,
  • सेवाग्राहीको अधिकारको सम्मान गरेर,
  • सरकारविहिनताका अवस्थामा पनि नागरिकलाई आड भरोसा दिएर,
  • नवपर्वतनीय सेवाहरू वितरण गरेर,
  • प्रभावकारी सूचना सम्पे्रषण गरेर,
  • सेवाग्राही सचेतना र जागरण अभिवृद्धि गरेर।

सार्वजनिक सेवा वडापत्रमा गर्नुपर्ने सुधार

सेवा वितरणकारी निकायले नागरिकको सेवाकालागि जारी गरेको घोषणापत्र वा प्रतिज्ञापत्रलाई सार्वजनिक सेवा वडापत्र भनिन्छ। सन् १९९२ मा वेलायतबाट शुरु भएको सार्वजनिक सेवा वडापत्र भनिने नागरिक वडापत्र नेपालमा २०५६ सालबाट लागू भएको हो। यसलाई थप प्रभावकारी बनाउन देहायको सुधार गर्नुपर्दछ।

  • सेवा वडापत्रलाई थप स्पष्ट र वस्तुनिष्ठ गराउने,
  • सबै निकायमा क्षतिपूर्ति सहितको नागरिक वडापत्र लागु गर्ने,
  • क्षतिपूर्ति र दावी प्रकृयालाई सरल बनाउने,
  • क्षतिको भागीदार सम्वन्धीत कर्मचारी हुने व्यवस्था समावेश गर्ने,
  • सेवा वडापत्र कार्यान्वयनको अवस्थावारे वस्तुनिष्ठ मूल्यांकन गराउने,
  • सबैले देख्ने र बुझ्ने गरी स्पष्टसंग राख्ने,
  • आधुनिक विद्युतीय प्रविधि प्रयोग गर्ने,
  • सेवा वडापत्रमा समय समयमा संशोधन र परिवर्तन गर्ने,
  • कार्यान्वयन कार्यविधि वनाउने,
  • नागरिक सहजताका लागि संकेत चिन्हहरूको प्रयोग बढाउने,
  • कार्यवोझ, कर्मचारी संख्या र सेवाको प्रकृति मिलान गर्ने,
  • सेवा वडापत्रवारे व्यापक प्रचार प्रसार गर्ने,
  • सेवा प्रवाहको प्राथमिकता निर्धारण गर्ने,
  • स्थानीय भाषामा समेत राख्ने व्यवस्था मिलाउने,
  • गैर सरकारी संस्था तथा नागरिक समाजका व्यक्ति र संस्थासंग सहकार्य गर्ने,
  • अन्तरनिकाय प्रभावकारी समन्वय गर्ने।

अन्त्यमा,

नागरिकलाई प्रभावकारी सार्वजनिक सेवाको वितरणकालागि निजामती सेवा र त्यसको बजारीकरणका लागि सार्वजनिक सेवा वडापत्र रहेको हुन्छ। राज्यको आधारभूत कर्तव्य नागरिकमुखी सेवा वितरण मार्फत जनको मन जित्नु हो। त्यसकालागि जिवन्त अंग निजामती सेवा र त्यसको मार्गदर्शन गर्ने सेवा वडापत्रलाई प्रभावकारी बनाउनु पर्दछ। सेवाको वरिपरि जनता नभई जनताको वरिपरि सेवा पुर्याउन गतिशिल र संघीयता अनुरूपको निजामती सेवा र वस्तुनिष्ठ सेवा वडापत्र आजको खांचो हो।

Post a Comment

0 Comments