Advertisement

नेपालको संवैधानिक विकासक्रम र वर्तमान संविधानका विशेषताहरू

प्रश्न. नेपालको संबैधानिक बिकासक्रमको छोटो टिप्पणी गर्दै वर्तमान संविधानका विशेषताहरू चर्चा गर्नुहोस। (५+५ =१०)

विषय प्रवेश

राज्य व्यवस्था सञ्चालन गर्न राज्यको मुल कानुनको रुपमा रहने दस्तावेजलाई संविधान भनिन्छ। यो राज्य सञ्चालनको मार्ग निर्देशक दस्तावेज मात्र नभएर तत्कालीन सामाजिक सांस्कृतिक, आर्थिक राजनैतिक कानुनी प्रणालीको दस्तावेज पनि हो। नेपालको बैधानिक कानुन, २००४ बाट २०७२ सालमा घोषणा भएको संविधानसम्म आइपुग्दा नेपालमा धेरै संविधानहरु निर्माण भए। वर्तमान २०७२ मा घोषणा भएको संविधान हालसम्मको सबैभन्दा जनतालाई अधिकार सम्पन्न गराई विकास र समृद्धिको मार्गतर्फ उन्मुख संविधान देखिन्छ।

नेपालको संवैधानिक विकासक्रम

नेपालको संवैधानिक विकासक्रमलाई देहाय अनुसार प्रस्तुत गर्न सकिन्छ :

नेपालको बैधानिक कानुन, २००४:

राणा शासनमा नै निर्माण गरिएको पहिलो संविधान हो। यो लागु भएन। नेपालमा संवैधानिक आवश्यकतालाई महसुस गर्ने योगदानका रुपमा यस संविधानलाई लिन सकिन्छ।

नेपालको अन्तरिम शासन विधान, २००७:

२००७ सालको जनआन्दोलनको परिणामका रुपमा यो संविधान निर्माण भएको थियो। नेपालको संवैधानिक इतिहासमा कार्यान्वयनमा आएको पहिलो संविधान हो। यसले नेपालको संवैधानिक इतिहासमा जग हाल्ने काम गर्यो।

नेपालको अधिराज्यको संविधान, २०१५:

यो संविधान नेपालको संवैधानिक इतिहासमा संविधानवाद र लोकतान्त्रिक मूल्य मान्यतामा निर्माण गरिएको पहिलो संविधान हो। यसले जनताको अधिकारलाई स्थापित गर्दै कानुनी राज्य निर्माणमा योगदान पुर्याएको छ।

नेपालको संविधान, २०१९:

तत्कालीन राजा महेन्द्रले संबैधानिक ‘कु’ र संविधानवाद, लोकतान्त्रिक मुल्य मान्यताको अन्त्य गरी निर्दलीय, निरंकुश शासन व्यवस्थाको स्थापनाका लागि निर्माण गरिएको संविधान हो। नेपालको संवैधानिक इतिहासमा यसलाई कालो संविधानका रुपमा लिइन्छ।

नेपाल अधिराज्यको संविधान २०४७:

२०४६ सालको जनआन्दोलन पश्चात पञ्चायती व्यवस्थाको अन्त्यको परिणामस्वरुप यो संविधान निर्माण भयो। संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको निर्माण गर्नु यो संविधानको विशेषता हो भने कानुनी शासन कायम गर्न यो संविधान कोशेढुगांको रुपमा रहेको छ।

नेपालको अन्तरिम संविधान २०६३:

सशस्त्र द्धन्द्ध र २०६२/२०६३ को जनआन्दोलको परिणामस्वरुप निर्माण भएको यो संविधानले जनताका थप अधिकारलाई स्थापित गर्दै समावेशी लोकतन्त्रको आधार खडा गर्यो। यही संविधानमार्फत नेपालमा गणतन्त्र स्थापना भएको हो।

नेपालको संविधान २०७२:

वर्तमान संविधान संविधान सभाबाट निर्माण गरिएको संविधान हो । संघीयता, समावेशी लोकतन्त्र र संविधानवादका मूल्यमान्यताबाट निर्माण भएको यो संविधान जनताका अधिकारलाई पूर्णता प्रदान गर्ने नेपालको सबैभन्दा उच्चस्तरको संविधान हो।

नेपालको वर्तमान संविधानका विशेषताहरू

नेपालको वर्तमान संविधानका विशेषताहरुलाई देहाय अनुसार प्रस्तुत गर्न सकिन्छ :

  • संविधान सभाबाट निर्माण भएको संविधान
  • सशस्त्र द्वन्द्व र जनआन्दोलनको परिणामस्वरुप केन्द्रीकृत एकात्मक शोषणमूलक राज्य व्यवस्थाको अन्त्य गर्ने उद्घोषसहित निर्माण भएको संविधान
  • लोकतान्त्रिक मूल्यमान्यता र संविधानवादका आधारभूत मान्यतामा रहेर निर्माण भएको संविधान
  • समाजवाद उन्मुख राज्य व्यवस्था निर्माण गर्ने उद्देश्य राखेको संविधान
  • संघीयता, गणतन्त्र, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षतालाई संस्थागत गरेको संविधान
  • नागरिक तथा राजनीतिक अधिकार, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार तथा सामुहिक अधिकारलाई मौलिक हकका रुपमा राखेको संविधान
  • तीन तहको संघीयतालाई अबलम्बन गर्ने कुरा उल्लेख गरेको संविधान
  • तीनै तहको सरकारहरुको एकल अधिकार सुची र साझा अधिकार सुचीलाई संविधानमा नै स्पष्ट गरिएको
  • सुधारिएको संसदीय प्रणालीलाई शासकीय प्रणालीका रुपमा अबलम्बन गरिएको।

निष्कर्ष

संविधान राजनीतिक र कानुनी दस्तावेज मात्रै होइन, यो तत्कालीन राज्य प्रणाली, समाज र संस्कृतिको प्रतिबिम्बन गराउने ऐना पनि हो। २००४ सालमा निर्माण भएको नेपाल सरकारको बैधानिक कानुनबाट सुरु भएको नेपालको संवैधानिक इतिहासमा त्यसपश्चात अरु ६ वटा संविधान निर्माण भइ कार्यान्वयनमा आएका छन्। वर्तमान संविधान संविधानवादको मूल्य मान्यतामा आधारित भइ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्ने विशेषतासहित निर्माण भएको संविधान हो।

Post a Comment

0 Comments