Advertisement

मानव संसाधन व्यवस्थापनः विशेषता र कार्य

प्रश्न. मानव संसाधन व्यवस्थापनको परिचय दिदै यसका विशेषता र कार्यहरू उल्लेख गर्नुहोस्।
मानव संसाधन व्यवस्थापन
  • साझा लक्ष्य प्राप्तिका लागि कार्यरत मानव समूहलाई मानव संसाधन भनिन्छ भने यसको प्रभावकारी उपयोग गर्ने सम्पूर्ण प्रक्रियालाई मानव संसाधन व्यवस्थापन भनिन्छ । संगठनको लक्ष्य हासिल गर्नका लागि मानव संसाधनको प्रभावकारी उपयोग गर्नेसम्बन्धी सम्पूर्ण प्रक्रिया नै मानव संसाधन व्यवस्थापन हो ।
  • यसअन्तर्गत मानव संसाधनको प्राप्ति (Acquisition), विकास (Development) , उपयोग (Utilization) र सम्भार (Maintenance) सम्बन्धी कार्यहरू पर्दछन् । संगठनमा आवश्यक कर्मचारीको भर्नापूर्वदेखि अवकासपश्चातसम्मका नीतिगत, संरचनागत र कार्यक्रमगत व्यवस्थापन नै जनशक्ति व्यवस्थापन वा मानव संसाधन व्यवस्थापन हो ।
  • मानव संसाधन राष्ट्रको सर्वांगीण विकासको दृष्टिले साधन र साध्य दुवै हो । मानव स्रोतको सक्षमताबाट मात्र भौतिक, वित्तीय, प्राविधिक तथा सूचना स्रोतको प्रभावकारी रूपमा परिचालन गर्न सकिने भएकाले यो महत्त्वपूर्ण र आवश्यकीय व्यवस्थापकीय संयन्त्र हो ।
  • व्यवस्थापनको मानव सम्पर्क सिद्धान्त वा व्यवहारवादी मान्यताको विकास भएसँगै पुरातन कर्मचारी प्रशासनको मान्यतामा परिवर्तन आई मानव स्रोत व्यवस्थापनको अवधारणाको विकास भएको मानिन्छ ।

समग्रमा,

  • मानव संसाधन व्यवस्थापन भनेको यस्तो रणनीति, प्रक्रिया तथा क्रियाकलाप हो जो संगठनको आवश्यकतासँग व्यक्तिगत आवश्यकता समन्वय गर्दै संस्थागत उद्देश्यमा पुग्ने गरी तयार पारिएको हुन्छ ।
  • यो यस्तो एक प्रक्रिया हो जहाँ मानव संसाधनको प्राप्ति, विकास र सदुपयोग गर्ने, योजना बनाउने, संकलन गर्ने, संगठित गर्ने, निर्देशन गर्ने र नियन्त्रण गर्ने कार्य तथा अध्ययन हो ।
  • जनशक्ति परिचालनलाई सफल बनाउन व्यवस्थापकीय सीप तथा शैलीको प्रयोग गर्ने कार्यको रूपमा पनि मानव संसाधन व्यवस्थापनलाई लिइन्छ ।
  • यसले प्राप्तिभन्दा अगाडि र अवकाशभन्दा पछाडिको अवस्थालाई समेत समेट्ने भएकाले संगठनमा Pre Recruitment to Post Retirement Management का रूपमा लिइन्छ ।
  • मानव संसाधन व्यवस्थापनलाई सार्वजनिक प्रशासनको व्यवस्थापकीय आयामको रूपमा पनि लिन सकिन्छ।
  • मानवीय ऊर्जा र क्षमताको व्यवस्थापन गर्ने प्रणाली नै मानव संसाधन व्यवस्थापन हो ।

मानव संसाधन व्यवस्थापनका विशेषताहरू

कर्मचारी व्यवस्थापनको विकसित रूप नै मानव संसाधन व्यवस्थापन हो । मुख्यतया यो विषय संगठनमा कार्यरत कर्मचारीहरूसँग सम्बन्धित रहेको छ । मानव संसाधन व्यवस्थापनका प्रमुख उद्देश्यहरूलाई निम्नानुसार उल्लेख गरिएको छ :

  • कार्यरत मानिसको प्रबन्ध ( संगठनका लागि उपयुक्त जनशक्तिको प्राप्ति, विकास, उपयोग र सम्भारसम्बन्धी कार्य गर्दछ ।
  • कर्मचारीसम्बन्धी गतिविधिमा केन्द्रित हुन्छ ।
  • मानव संसाधन व्यवस्थापन सर्वव्याप्त र निरन्तर चलिरहने प्रक्रिया हो ।
  • यसले कर्मचारीका सक्षमता विकासका क्रियाकलापहरू सञ्चालन गर्दछ ।
  • मानव संसाधन व्यवस्थापन प्रणाली तथा वातावरणबाट प्रभावित भएको हुन्छ ।
  • यो एक प्रणाली तथा प्रक्रिया हो ।
  • यो मानव साधनको उच्चतम एवं कुशलतापूर्वक उपयोगसँग सम्बन्धित एक दृष्टिकोण, चिन्तन, प्रविधि एवं व्यवस्थापन दर्शन हो ।
  • सामान्य व्यवस्थापनको विशिष्ट शाखाको रूपमा रहेको हुन्छ ।

यसका अलावा,

  • चौतर्फी शक्ति
  •  कार्यउन्मुख
  •  व्यक्तिउन्मुख
  •  जनताउन्मुख
  •  विकासउन्मुख
  •  एकीकृत पद्धति
  •  व्यापक कार्य
  •  सहायक सेवा
  •  अन्तर विधासम्बन्धी कार्य
  •  निरन्तर कार्य इत्यादि ।

मानव संसाधन व्यवस्थापनका कार्यहरू

संगठनको प्रकृतिअनुसार मानव संसाधन व्यवस्थापनका कार्यहरूमा विविधता आउन सक्छ । साना, ठूला सबै संगठनको हरेक क्षेत्रलाई असर पार्ने मानव संसाधनसँग सम्बन्धित थुप्रै कार्य र जिम्मेवारीहरू मध्ये सञ्चालनसँग सम्बन्धित प्रमुख कार्यहरूलाई निम्नानुसार प्रस्तुत गरिएको छ :

  • मानव संसाधन दर्शनलाई संगठनमा लागू गर्न उपयुक्त बनाई सोको उच्च व्यवस्थापनबाट स्वीकृति साथै निश्चितता प्राप्त गर्ने ।
  • संगठनको उद्देश्य प्राप्तिका लागि आवश्यक जनशक्ति योजना तयार पारी सोको प्रभावकारी कार्यान्वयन गर्ने।
  • प्रत्येक कामका लागि आवश्यक कार्य विश्लेषण गर्ने ।
  • कामको आवश्यकता अनुसार कर्मचारी भर्ना तथा छनोट गर्ने ।
  • मानव संसाधन विकास कार्यक्रमहरू तर्जुमा, विकास, लागू, निर्देशन, मूल्यांकन गर्ने ।
  • आफ्नो वृति विकास योजना तर्जुमा गर्नमा कामदारलाई सघाउने ।
  • संगठनात्मक विकास कार्यक्रम तयार पारी कार्यन्वयन गर्ने ।
  • व्यवस्थापन र कामदारहरू दुवैलाई स्वीकार्य पारिश्रमिक तथा सुविधासम्बन्धी योजना तर्जुमा तथा कार्यान्वयन गर्ने ।
  • अनुसन्धान तथा गुनासो समाधान प्रणाली तयार गर्ने ।
  • हरेक कामदारहरूको स्वास्थ्य र सुरक्षासम्बन्धी योजना तर्जुमा तथा कार्यान्वयन गर्ने ।
  • सुमधुर औद्योगिक सम्बन्ध, संगठनात्मक वातावरण, सामुहिक भावना तथा प्रभावकारी सञ्चार प्रणाली विकसित गर्ने ।
  • तथ्यांक तथा सूचनाहरू संकलन, रेकर्ड तथा उपलब्ध गराउने उपयुक्त व्यवस्था मिलाउने इत्यादि।

यसका अलावा समग्रमा मानव संसाधनको प्राप्ति, विकास, उपयोग र सम्भारका प्रत्येक चरणलाई पनि मानव संसाधन व्यवस्थापनका कार्यका रूपमा लिने गरिन्छ ।

अन्त्यमा,

मानव संसाधन व्यवस्थापनले संगठनको लक्ष्य हासिल गर्नका लागि मानव संसाधनको समुचित प्रबन्ध गर्नेबारे सम्पूर्ण प्रक्रियालाई जनाउँदछ । संगठनको सफलता कर्मचारीको सक्षमतामा भर पर्ने भएकाले व्यवस्थापकले उपयुक्त र प्रभावकारी रूपमा भर्ना, छनोट र सामाजिकीकरणका कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक रहेको देखिन्छ । राम्रो कार्य वातावरण, वृति विकास, आकर्षण सुविधा, तलब, ज्याला सुविधा, मानसम्मानले कर्मचारीको उचित सम्भार गर्न सकिन्छ र मानव संसाधन व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिन्छ ।

Post a Comment

0 Comments