Advertisement

सामाजिक न्याय, यसका उद्धेश्य र सामाजिक न्याय कायम गर्ने उपायहरू

प्रश्न. सामाजिक न्यायको परिचय दिदै यसका उद्धेश्य र सामाजिक न्याय कायम गर्ने उपायहरू लेख्नुहोस्।

सामाजिक न्याय लाभ नपाउनेका लागि लाभ, अवसर नपाउनेका लागि अवसर, संरक्षण विहीनहरूको लागि संरक्षण पाउने कुराहरूको अनुभूति हो । समाजमा विद्यमान रहेको असमानता हटाइ समानता, स्वतन्त्रता, अर्थपूर्ण सहभागिता, अधिकारको प्राप्ति, सामाजिक–सांस्कृतिक न्याय, सम्पत्ति, स्रोत साधन, सुविधा, अवसर र लाभको न्यायोचित वितरणमा समान हिस्सेदारी, अंशियारी एवं साझेदारी प्राप्त गर्ने अवधारणा नै सामाजिक न्याय हो।

उपलब्ध स्रोत, साधन वा लाभ र अवसर सीमित व्यक्तिमा केन्द्रित हुन नदिई बिमुख तथा विपन्न वर्गमा समेत पुग्ने गरी न्यायोचित वितरण गर्ने प्रक्रियालाई सामाजिक न्याय भनिन्छ। समाजमा देखिएका सामाजिक तथा आर्थिक असमानताका कारण त्यस असमानतालाई सम्बोधन गर्न सामाजिक न्यायको अवधारणा विकास भएको हो । आधुनिक अवधारणासहित सामाजिक न्याय शब्द सर्वप्रथम सन् १८४० मा लुइजि टारारेलिले प्रयोगमा ल्याएका थिए।

सामाजिक न्याय त्यस्तो सामाजिक अवस्थासँग सम्वन्धित छ, जहा धनी गरिव, सम्पन्न विपन्न, उच्च निच्च सबै मानिसमा एकै प्रकारको व्यवहार, समानता र लोककल्याणकारिता प्राप्त गर्ने प्रयास गरिन्छ । कुनै व्यक्तिलाई परेको मार्का वा खोसिएका हक, अधिकार, कर्तव्य र दायित्वका विषयमा उपचार पाउनका लागि गरिएको माग सम्वोधन गरि कानुन वमोजिम प्रदान गरिएको न्याय नै सामाजिक न्याय हो ।

मूलतः सामाजिक न्यायलाई निम्न बुँदामा पनि उल्लेख गर्न सकिन्छ :

  • सबैलाई निष्पक्ष र न्यायपुर्ण व्यवहार गरिएको हुन्छ
  • सामाजिक अवसरहरुको समन्यायिक प्राप्ति र बाँडफाँड
  • अवसरको समन्यायिक वितरण
  • अधिकार र अवसर प्राप्ति समान पहुँच
  • यसमा समाजका हरेक वर्ग, जात, धर्म, राजनीति, लिङ्ग आदिका आधारमा कुनै पनि प्रकारको विभेद गरिदैन।
  • समान खालका अवसर, सुविधा, अधिकार तथा कानून सबै वर्ग र तहलाई समान तरिकाले उपलव्ध गराउने कार्य हुन्छ।
  • राज्यको आय तथा स्रोत र साधनको समान तरिकाको वितरण प्रणाली, समाजका विपन्न र पिछडिएका वर्ग तथा समुदायलाई विशेष सम्वद्र्धन र संरक्षण गरिने प्रक्रियाले सामाजिक न्याय प्राप्त गर्न सकिन्छ ।
  • सामाजिक न्यायले विभिन्न जाति जनजातिहरूमा रहेका मूल्य, मान्यता र परम्पराको संरक्षण र सम्वर्द्धनलाई पनि जोड दिन्छ ।
  • सामाजिक न्यायका कारण सामाजिक विविधताको संरक्षण र सम्वर्द्धन हुन सक्छ ।
  • वर्तमान लोककल्याणकारी राज्यका हरेकजसो गतिविधि र क्रियाकलापहरु सामाजिक न्यायको स्थापनामा केन्द्रित हुनुपर्दछ भन्ने मान्यता राखिन्छ इत्यादि।

सामाजिक न्यायका उद्धेश्यहरु

समाजमा विद्यमान रहेका विभिन्न किसिमका असमानता र अन्यायहरुको अन्त्य गर्ने प्रमुख उद्धेश्य सामाजिक न्यायको रहेको छ । सबै वर्ग, क्षेत्र, लिङ्ग र समुदायलाई राज्यको मूलप्रवाहीकरणमा समाहित गर्नुका साथसाथै लाभको न्यायोचित वितरण गरिनु पनि यसको प्रमुख उद्धेश्य हो । सामाजिक न्यायका उद्धेश्यहरुलाई निम्नानुसार पनि उल्लेख गर्न सकिन्छ :

  • समानताको सिद्धान्तलाई मूर्तरुप दिने
  • समतामूलक र न्यायपूर्ण समाजको स्थापना गर्ने
  • स्रोत, साधन र अधिकारको न्यायपूर्ण र समानुपातिक वितरण गर्ने
  • लोककल्याणकारी राज्यको अवधारणालाई टेवा पुर्‍याउने
  • मानव अधिकारको प्रवद्धन गर्ने
  • शासकीय अभ्यास र विकास गतिविधीमा जनसहभागिता अभिवृद्धि गर्ने
  • सामाजिक सद्भाव कायम राख्ने
  • जनताको जीवनस्तर उकास्ने
  • समाजमा पछि परेका वा पारिएका वर्गलाई मूल धारमा ल्याउन सहयोग पु-याउने
  • सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने
  • विषमता, असमानता, भेदभाव र वर्गीय विभेदको अन्त्य गर्ने
  • राष्ट्र निर्माणको अभियानमा सबै क्षेत्र, वर्ग, समुदायका नागरिकलाई मूलप्रवाहीकरण गर्ने।
सामाजिक न्यायका उपायहरू

सामाजिक न्यायको माध्यमबाट राज्यको हरेक तहमा सबैको समान र अर्थपूर्ण सहभागिता गराई समावेशी समाज र राज्य निर्माण गर्न सकिन्छ । प्रजातन्त्र विना सामाजिक न्याय सम्भव हुँदैन । सबै व्यक्तिहरूको भावनाको कदर गर्न नसक्ने राज्य सरकारले सामाजिक न्यायको प्रत्याभूति दिन सक्दैन । लोकतन्त्रमा आधारित शासन व्यवस्थाको माध्यमबाट सामाजिक न्याय सुनिश्चित गर्न सकिन्छ । सामाजिक न्याय प्रत्याभूत गर्ने विभिन्न उपायहरू छन्। जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :

  • समावेशीकरणको सिद्धान्तलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न संवैधानिक तथा कानूनी प्रबन्ध गरेर
  • सकारात्मक विभेदको माध्यमबाट
  • सशक्तिकरणको माध्यमबाट
  • विशेष संरक्षणको माध्यमबाट
  • विविधता व्यवस्थापनको माध्यमबाट
  • कोटा र आरक्षणको माध्यमबाट
  • जनचेतनामूलक कार्यक्रमहरूको माध्यमबाट
  • सुशासनको माध्यमबाट
  • समानता कायम राखेर
  • अविभेदको माध्यमबाट
  • कानूनको शासन स्थापना गरेर
  • सूचनामा पहूँचको सुनिश्चितता प्रदान गरेर
  • हरेक कृयाकलापमा सहभागिता सुनिश्चित गरेर
  • लैङ्गिक विभेद हटाएर
  • निजी क्षेत्र, नागरिक समाज र गैरसरकारी क्षेत्रवीच समन्वय र सहकार्यको माध्यमबाट
  • अरुको कदर र सम्मान गर्ने बानीको विकास गरेर।

अन्त्यमा,
समाजमा विद्यमान रहेका विभिन्न वर्ग, क्षेत्र, जाति, लिङ्ग, समुदायहरुलाई समता र समानताका आधारमा राज्यको मूल प्रवाहीकरणमा समावेश गरी, सबै स्थानमा सबै श्रोत र साधनहरुको न्यायोचित वितरण गरी त्यसको लाभ सबैलाई समान हुने किसिमले वितरण गर्ने प्रक्रिया वा प्रणाली नै सामाजिक न्याय हो। तसर्थ विभिन्न समयमा विविध कारणले पिछडिएको वर्ग समुदायका साथसाथै सबैलाई समान अवसर र सहभागिता गराउन प्रभावकारी रुपमा संवैधानिक र कानूनी व्यवस्थाहरु गर्दै सो को कार्यन्वयन पक्षमा राज्यको ध्यान जानु जरुरी देखिन्छ।

Post a Comment

0 Comments