Advertisement

आर्थिक नीति र व्यवस्थापन परीक्षण

प्रश्न. आर्थिक नीति भनेको के हो? अर्थतन्त्रमा यसको महत्व उल्लेख गर्दै आर्थिक नीति निर्धारणका आधारहरु बारे प्रष्ट पार्नुहोस्। (2+4+4)

    अर्थतन्त्र सञ्चालनको मागदर्शक सिद्धान्त : आर्थिक नीति

अर्थतन्त्रका सन्दर्भमा सरकारले अख्तियार गर्ने नीति नै आर्थिक नीति हो। मुलुकले आत्मसात गरेको अर्थव्यवस्था अनुरुप आर्थिक उद्देश्यहरु हासिल गर्न समग्र आर्थिक क्षेत्र र क्रियाकलापहरु कसरी सञ्चालन गर्ने भन्ने विषयलाई यसले समेट्छ।
आर्थिक नीतिकै आधारमा मुलुकले वित्तीय नीति र मौद्रिक नीति तयार पार्ने हुँदा यसले मुलुकको अर्थतन्त्रलाई वाञ्छित दिशानिर्देश गर्दछ। सरकारको आर्थिक उद्देश्य र अर्थतन्त्रको अभीष्टलाई हासिल गराउने दिशामा आर्थिक नीति परिलक्षित हुनुपर्छ।

आर्थिक नीतिको महत्व

  • अर्थतन्त्रलाई समुचित दिशानिर्देश गर्न
  • तिब्रतर आर्थिक विकासको लक्ष्य निर्धारण गर्न
  • उपलब्ध आर्थिक साधनको उच्चतम उपयोग गर्न
  • दीगो, समावेशी, तीव्र र फराकिलो आर्थिक वृद्धि र आर्थिक विकास गर्न
  • राष्ट्रिय अर्थतन्त्रलाई स्वतन्त्र आत्मनिर्भर र उन्नतिशील गराउन
  • मौद्रिक तथा वित्तीय सन्तुलन कायम गर्न
  • अर्थतन्त्रमा सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागिता प्रबर्द्धन गराउन
  • राष्ट्रिय विकासको आधार तय गर्न
  • आर्थिक स्रोतको न्यायोचित वितरण गर्न
  • आर्थिक असमनता र शोषणलाई न्यूनीकरण गर्न
  • समाजवाद उन्मुख, स्वाधिन र समृद्ध अर्थतन्त्रको विकास गर्न
  • समग्रमा राष्ट्रिय विकासका लक्ष्य प्रतिबद्धता र आकाङ्क्षालाई पुरा गर्न।

नेपालमा आर्थिक नीति निर्धारणका आधारहरु
(क) राष्ट्रिय आधारहरु

  • नेपालको संविधान
  • मुलुकले अवलम्बन गरेको शासन व्यवस्था
  • राष्ट्रिय हितका आधारभूत विषयहरु
  • मुलुकको भुराजनीतिक स्थिति
  • मुलुकको अर्थतन्त्र र अर्थ व्यवस्था
  • राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरु
  • मुलुकको विकासको अवस्था
  • आवधिक योजना र वार्षिक नीति कार्यक्रमले लिएका प्राथमिकताहरू।

(ख) अन्तर्राष्ट्रिय आधारहरु

  • अन्तर्राष्ट्रिय सन्धि सम्झौता र दायित्वहरू
  • अन्तर्राष्ट्रिय विकासका प्रतिबद्धताहरू
  • वैदेशिक सहायता सम्बन्धी नीति
  • आर्थिक कुटनीति
  • अन्तर्राष्ट्रिय विकासका साझेदार संस्थाहरू र तिनीहरूसँगको सम्बन्ध।

अन्त्यमा,
आर्थिक नीति सम्रग मुलुकको अर्थतन्त्रको विकासको आधारभुत र बहुआयामिक नीति हो। अर्थतन्त्रलाई सही दिशाबोध गरी आर्थिक वृद्धि र विकास हासिल गराउन आर्थिक नीतिको भूमिका महत्वपूर्ण हुन्छ। तसर्थ आर्थिक नीति निर्धारणका आधारहरु तय गर्दा समग्र राष्ट्रको हित, नागरिकको खुशी र मुलुकको समृद्धि पहिल्याउनु जरुरी देखिन्छ।

प्रश्न. व्यवस्थापन परीक्षण भनेको के हो? यसका उद्देश्यहरु उल्लेख गर्दै नेपालमा व्यवस्थापन परीक्षणका सन्दर्भमा देखिएका समस्याहरु र समस्या समाधानका उपायहरु उल्लेख गर्नुहोस्? (2+2+3+3)

Controlling Factor of Management

व्यवस्थापन परीक्षण

  • व्यवस्थापनका त्रुटीहरु पहिल्याउनु, सच्याउनु र आवश्यक सुधार गर्नु नै व्यवस्थापन परीक्षण हो। व्यवस्थापन परीक्षणलाई व्यवस्थापकीय कार्यहरुलाई प्रभावकारी तुल्याउने व्यवस्थापकीय औजारको रुपमा लिइन्छ ।
  • व्यवस्थापकीय कार्यहरु गर्दा प्रचलित कानून बमोजिम भए नभएको अनुगमन गरी सोको अनुपालन गर्न गराउन व्यवस्थापन परीक्षणको महत्व रहन्छ ।
  • व्यवस्थापन परीक्षणको अवधारणा सन् १९६२ मा अमेरिकन इन्स्टिच्युट अफ म्यानेजमेन्टका Jackson Martindell ले गरेका हुन् ।
  • नेपालमा निजामती सेवा ऐन २०४९ र नियमावली २०५० बमोजिम व्यवस्थापन परीक्षणका कार्यलाई अघि बढाइएको छ । जसअनुसार नेपालको व्यवस्थापन परीक्षण गर्ने निकायको रुपमा सामान्य प्रशासन मन्त्रालय रहेको छ ।

व्यवस्थापन परीक्षणका उद्देश्यहरु

  • व्यवस्थापनमा हुन सक्ने त्रुटि र अनियमिततालाई अन्त्य गरी जवाफदेहिता कायम गर्ने,
  • सरकारको विभिन्न निकायहरुको व्यवस्थापन सम्बन्धी कार्यमा एकरुपता कायम गर्ने,
  • सङ्गठनको सबल एवं दुर्बल पक्षहरुको पहिचान गरी सबल पक्षहरुको प्रवद्धन र दुर्बल पक्षहरु हटाउन सुझाव एवं सिफारिस गर्ने,
  • सङ्गठनको समग्र व्यवस्थापकीय पक्षको जाँच गर्ने,
  • सरकारी निकायमा भए गरेका कामकारबाही प्रचलित बमोजिम भए नभएको एकीन गर्ने,
  • विधिको शासन कायम गरी सुशासन अभिवृद्धि गर्ने।

नेपालमा व्यवस्थापन परीक्षणमा देखिएका समस्याहरु

  • स्वतन्त्र निकायबाट नभइ सामान्य प्रशासन मन्त्रालयबाट हुने गरेकोले यथार्थ नहुने सम्भावना रहेको,
  • व्यवस्थापन परीक्षणलाई नियमित र अनिवार्य गराउन नसकिएको,
  • प्रशासकीय कार्यविधि पालना भए नभएको मात्र हेर्ने गरेको,
  • व्यवस्थापन परीक्षणका लागि दक्ष मानव स्रोतको अभाव रहेको,
  • व्यवस्थापन परीक्षणलाई प्राथमिकताको रुपमा राख्ने नगरिएको,
  • आकस्मिक व्यवस्थापन परीक्षण गराउन नसकिएको,
  • व्यवस्थापन परीक्षण गर्दा सम्बन्धित सङ्गठनबाट असहयोग हुने गरेको,
  • व्यवस्थापन परीक्षणका लागि आवश्यक स्रोत र साधनको अभाव रहेको,
  • व्यवस्थापन परीक्षणबाट दिइएका प्रतिवेदन कार्यान्वयनको पाटो कमजोर देखिएको,
  • सुधारका सुझाव र निर्देशन पालनाको अनुगमन हुन नसकेको,
  • समग्रमा व्यवस्थापन परीक्षणलाई व्यवहारिक बनाउन नसकिएको।

व्यवस्थापन परीक्षण समस्या समाधानका उपायहरु

  • स्वतन्त्र निकायबाट व्यवस्थापन परीक्षण गर्ने परिपाटीको विकास गर्ने,
  • व्यवस्थापन परीक्षणलाई नियमित र अनिवार्य गराउन CPA ( Central Personnel Agency) लाई स्रक्रिय बनाउने,
  • व्यवस्थापन परीक्षण समग्र विषयहरुको परीक्षण गर्ने पद्धितिको विकास गर्ने,
  • व्यवस्थापन परीक्षणका लागि दक्ष मानव स्रोतको विकास गर्न तालिम र क्षमता विकासका कार्यक्रम संचालन गर्ने,
  • व्यवस्थापन परीक्षणलाई प्राथमिकतामा राख्ने,
  • आकस्मिक व्यवस्थापन परीक्षण गराउन विशेष ध्यान दिने,
  • व्यवस्थापन परीक्षणमा सम्बन्धित सङ्गठनबाट सहयोग गर्ने संस्कृतिको विकास गर्ने,
  • व्यवस्थापन परीक्षणका लागि आवश्यक स्रोत र साधनको प्रबन्ध गर्ने,
  • व्यवस्थापन परीक्षणबाट दिइएका प्रतिवेदन कार्यान्वयनमा तदारुकता देखाउने,
  • सुधारका सुझाव र निर्देशन पालनाको अनुगमन गर्ने संयन्त्रको विकास गर्ने,
  • समग्रमा व्यवस्थापन परीक्षणलाई व्यवहारिक बनाउने।

अन्त्यमा,
व्यवस्थापन परीक्षण सार्वजनिक व्यवस्थापनलाई नतिजामुखी बनाउने नवीन अवधारणा हो। व्यवस्थापन परीक्षणबाट संगठनमा हुन सक्ने अव्यवस्था र त्रुटिहरुको निराकरण गरी सार्वजनिक जवाफदेहिता कायम गर्न सकिन्छ। तसर्थ व्यवस्थापन परीक्षणलाई व्यवहारिक बनाउनु सरोकारवाला सबैको जिम्मेवारी हो।

Post a Comment

0 Comments