Advertisement

वैदेशिक सहायता

प्रश्न: वैदेशिक सहायता भनेको के हो? वैदेशिक सहायताको सकारात्मक पक्ष उल्लेख गर्दै वैदेशिक सहायताको प्रभावको छोटकरीमा चर्चा गर्नुहोस्। (२+४+४ = १०)

वैदेशिक सहायता

साधनको सीमितता सर्वमान्य तथ्य हो भने आवश्यकताको असीमितता पनि अर्को यथार्थ हो । यी दुई तथ्यबीचमा उत्पन्न हुने लगानी बचत ज्ञान सीप र व्यवस्थापनजन्य कमी वा ग्याप पूर्ति गर्न नेपाललगायत अल्पविकसित र विकासोन्मुख मुलुकहरूमा विकसित मुलुक वा दातृ निकायबाट प्रवाह हुने स्रोत, साधन, ज्ञान, सीप र व्यवस्थापकीय औजारहरू वैदेशिक सहायता हुन्। अर्थतन्त्र र समाजमा रहने ग्याप र आवश्यकता पूर्ति गर्न वैदेशिक सहायता महत्वपूर्ण मानिन्छ । नेपालले वैदेशिक सहायताको ६० वर्षे अनुभव बटुलिसकेको सन्दर्भमा यसको उपादेयता र प्रभावकारिता एक महत्वपूर्ण विकास मुद्दा बनेको छ। 

वैदेशिक सहायताको सकारात्मक पक्ष

वैदेशिक सहायताग्राही मुलुकको आवश्यकता र बाध्यता भएजस्तै दाता मुलुकको पनि अन्तरनिहीत चासो वा मोटिभबाट निर्देशित रहेको हुन्छ । विदेशी सहयोगलाई आर्थिक वृद्धि तथा उत्पादकत्व सिर्जना गर्ने क्षेत्रमा परिचालन गर्दा अर्थतन्त्रको स्वचालित उत्पादनशीलता बढ्न गई पुँजी निर्माणको क्रम सुरु हुन्छ । यसले अतिरिक्त उपयोगिता सिर्जना गर्नुका साथै रोजगारीका अवसर वृद्धि गरी उपभोग एवं बचतजस्ता क्षेत्रमा सामथ्र्य र तत्परता बढाई लगानी, थप पुँजी निर्माणजस्ता आर्थिक उपलब्धि अर्थतन्त्रमा भित्रिने र अर्थतन्त्रमा मल्टिप्लाएर असर देखिने मान्यता रहेको पाइन्छ । नेपालको समेत सन्दर्भमा वैदेशिक सहायताले अर्थतन्त्र र समग्र विकासमा निम्नबमोजिमको सकारात्मक प्रभाव पारेको पाइन्छ। 

  •     विकासका निम्ति थप वित्तीय साधन परिचालन,
  •     प्राथमिकताप्राप्त क्षेत्रमा साधन प्रवाहित गरी आर्थिक वृद्धिदर सुधार, 
  •     वैदेशिक लगानी आकर्षण गर्न अनुकूल वातावरण निर्माण,
  •     उपलब्ध साधनको उपयोगमा क्षमता वृद्धि,
  •     प्रविधि हस्तान्तरणमा सहयोग,
  •     समष्टीगत आर्थिक नीति सुधारमा सहयोग,
  •     संरचनागत सुधारका लागि मार्गनिर्देशन,
  •     अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता प्रवर्द्धन,
  •     विकास नीति र मोडलहरूको प्राप्ति,
  •     जनशक्ति क्षमता विकास,
  •     प्राकृतिक स्रोत–साधनको उपयोग,
  •     पूर्वाधार विकास,
  •     सामाजिक न्याय र समानता स्थापना गर्नमा योगदान,
  •     शासकीय सुधारका लागि विज्ञता र परामर्श,
  •     अन्तर्राष्ट्रिय पहिचान, बहुपक्षीय सहयोग र साझेदारीमा अभिवृद्धि ।

वैदेशिक सहायताको प्रभाव

  • कूटनीतिक वा राजनीतिक विकासमूलक मानवीय र व्यापारिक अभीष्टबाट निर्देशित हुने भए तापनि वैदेशिक सहायताको अवधारणा विकास सहायता प्रदान गरी गरिबी न्यूनीकरणमा योगदान गर्ने भनी विकसित भएको पाइन्छ । मास्टर प्लानदेखि सहायता प्रभावकारिता र पारदर्शिताको अवधारणासम्म आइपुग्दा संसारका सहायताग्राही देशहरूमा यसको प्रभाव मिश्रित रहेको छ । 
  • वैदेशिक सहायताको उच्चतम उपयोग गर्ने कतिपय मुलुकहरू दक्षिण कोरियालगायतका पूर्वी एसियाली मुलुक र अफ्रिकाका केही देशहरूमा वैदेशिक सहायताको सकारात्मक र अपेक्षित प्रभाव परेको पाइन्छ । तर, दक्षिण एसियाली र बहुसंख्यक अफ्रिकी मुलुकहरूमा वैदेशिक सहायताको प्रभावकारिता एक जटिल मुद्दाका रूपमा रहेको छ । दिगो र आत्मनिर्भर अर्थतन्त्रको विकास हुन नसक्नु, मुलुकको आवश्यकता र प्राथमिकतामा सहायता परिचालन हुन नसक्नु, विकास क्षमता अभिवृद्धि हुन नसक्नुजस्ता नकारात्मक असरहरू परेको आममान्यता रहिआएको छ । नेपालको वर्तमान अवस्थामा वैदेशिक सहायता बाध्यताका रूपमा रहिरहेको छ । करिब एकचौथाइ राष्ट्रिय बजेटको हिस्सा ओगट्ने वैदेशिक सहायताको प्रभावकारितामा मुलुकको आर्थिक, सामाजिक विकासको नतिजा निहित रहनु स्वाभाविक नै हो ।
  • सकारात्मक पक्षहरूका बाबजुद नेपालको आर्थिक, सामाजिक विकासका सूचकमा उल्लेख्य सुधार भएको भने पाइँदैन । वैदेशिक सहायताको ठूलो हिस्सा अझै पनि गैरबजेटरी रहनु र पेरिस सिद्धान्तका मान्यताहरू आत्मसात् गर्न नसकिनु समस्याका रूपमा रहेको छ । प्राविधिक सहयोग र खरिद क्रेडिट दाता मुलुकमा नै फर्किने अवस्था विद्यमान नै छ । ४० भन्दा बढी दातृ निकाय र ठूलो संख्यामा रहेका सहायताका क्षेत्रहरूका कारण सहायता विशिष्टीकरण र नतिजामुखी हुन सकेको छैन । 
  • शासकीय क्षमताको विकास गरी संस्थागत सक्षमता अभिवृद्धि हुन नसक्दा विकास सहायताको उपयोग र विकासको सम्भावनाको भरपूर उपयोग गर्न सकिएको छैन । राजनीतिक तहमा बुझाइमा एकरूपता, स्पष्ट, दिगो र आमराष्ट्रिय सहमतिको विकास मोडल अभ्यास गर्न नसक्दा विकास सहायता दाताको चासो सिद्ध गर्ने एक किसिमको नवउदार आर्थिक उपनिवेशको दुष्चक्रमा पर्न सक्ने देखिन्छ । यसो हुन नदिन विकास सहायताको सकारात्मक पक्षको अधिकतम अभ्यास र उपयोग गरी विकासको नतिजा हासिल गर्नुपर्छ ।

Post a Comment

0 Comments