Advertisement

मानव संसाधन व्यवस्थापन

प्रश्न. मानव संसाधन व्यवस्थापनको अर्थ र अवधारणा स्पष्ट पार्दै नेपालको सार्वजनिक प्रशासनमा यसको अवलम्बनले पार्न सक्ने सकारात्मक प्रभावको चर्चा गर्नुहोस्। 

मानव संसाधन व्यवस्थापनको अर्थ र अवधारणा

  • व्यवस्थापनको मानव सम्पर्क सिद्धान्त वा व्यवहारवादी मान्यताको विकास भएसँगै पुरानो कर्मचारी प्रशासनको मान्यतामा परिवर्तन आई मानव स्रोत व्यवस्थापनको अवधारणाको विकास भएको हो। यस अवधारणामा कर्मचारीलाई वस्तु वा साधनको रूपमा नहेरी मानवीय भावना, संवेदना, उत्प्रेरणालगायत विषयमा विशेष जोड दिइन्छ। यस अवधारणालाई जनशक्ति व्यवस्थापन वा मानव संसाधन व्यवस्थापनसमेत भनिन्छ।
  • मानव संसाधन व्यवस्थापन वा मानव स्रोत व्यवस्थापन भनेको संगठनको लक्ष्य र उद्देश्य प्राप्तिका लागि मानवीय क्षमताको उच्चतम उपयोग गर्ने कार्य हो। संगठनमा आवश्यक कर्मचारीको भर्नापूर्वदेखि अवकासपश्चात सम्मका नीतिगत, संरचानगत र कार्यक्रमगत व्यवस्थापन नै जनशक्ति व्यवस्थापन हो।
  • मानव संसाधन राष्ट्रको सर्वांगीण विकासको दृष्टिले साधन र साध्य दुवै हो। मानव स्रोतको सक्षमताबाट मात्र भौतिक, वित्तीय, प्राविधिक तथा सूचना स्रोतको प्रभावकारी रूपमा परिचालन गर्न सकिने भएकाले यो महत्वपूर्ण र आवश्यकीय व्यवस्थापकीय संयन्त्र हो । जनशक्ति परिचालनलाई सफल बनाउन व्यवस्थापकीय सीप तथा शैलीको प्रयोग गर्ने कार्य पनि हो यो।
  • सार्वजनिक संगठनमा मानव स्रोत व्यवस्थापन भन्नाले संगठनमा जनशक्तिको प्राप्ति, विकास, उपयोग र सम्भार गरी संगठन र कर्मचारी दुवैको आवश्यकता एवं उद्देश्य पूरा गर्नु हो। मानव स्रोत व्यवस्थापनले प्राप्तिभन्दा अगाडि र अवकाशभन्दा पछाडिको अवस्थालाई समेत समेट्ने भएकाले संगठनमा Pre Recruitment to Post Retirement Management का रूपमा यसलाई लिइन्छ।
  • मानव स्रोत व्यवस्थापनमा संगठन र यसमा कार्यरत जनशक्तिको उत्पादकत्व वृद्धिका लागि संगठनमा मानव तत्वलाई महत्व दिइन्छ। अर्थात् कुनै पनि संगठनको वास्तविक शक्ति भनेको त्यहाँ कार्यरत जनशक्ति हो भन्ने मान्यता रहेको छ। संगठनको मुटुका रूपमा जनशक्तिलाई स्वीकार गरिएको छ।
  • मानव स्रोत व्यवस्थापनको अवधारणाले संगठन र कर्मचारी दुवै पक्षलाई उत्तिकै महत्व दिएको हुन्छ। कर्मचारीलाई मानव पुँजीका रूपमा ग्रहण गर्ने र उनीहरूको क्षमताको विकास, उपयोग एवं संरक्षणले मात्र संगठन र व्यक्ति दुवैको आवश्यकता पूरा हुन सक्छ भन्ने मान्यता यस अवधारणाले राख्छ । वास्तवमा मानवलाई खुसी बनाएर काममा लगाउने र तिनको संगठनको लक्ष्य प्राप्तिमा भरपूर उपयोग गर्ने कला नै जनशक्ति व्यवस्थापन हो।
  • संगठनलाई आवश्यक पर्ने जनशक्तिको पहिचान, माग, भर्ना, छनोट, नियुक्ति, पदस्थापना, विकास, उपयोग, संहार तथा अवकाशसम्बन्धी समग्र कार्यको उपयुक्त रूपमा सञ्चालन गर्ने वा मिलाउने कार्यप्रणाली नै जनशक्ति व्यवस्थापन हो।
  • कर्मचारीमा प्रचुर क्षमता एवं सम्भावना रहेका हुन्छन्, यसलाई पहिचान र विकास गरी संगठन र व्यक्ति दुवैको हितमा उपयोग गर्नु नै मानव स्रोत व्यवस्थापनको उद्देश्य हो।
  • डेकेन्जो र रविन्सका अनुसार मानव संसाधनको प्राप्ति, विकास, उत्प्रेरणा र सम्भार (Maintenance) प्रक्रिया नै मानव संसाधन व्यवस्थापन हो।
  • मानव संसाधन व्यवस्थापन निरन्तर चलिरहने प्रक्रिया हो । यो सबै तहका व्यवस्थापकले गर्नुपर्ने नियमित कार्य हो। यसले संगठनको उद्देश्य प्राप्त गर्न सघाउँछ। यो एउटा व्यवस्थित दीर्घकालीन रणनीतिक योजना हो।
  • वेन्डेल फ्रेन्चका अनुसार मानिसको व्यवस्थापनसम्बन्धी दर्शन, नीति, कार्यविधि एवं अभ्याससम्बन्धी कार्यको समष्टिगत स्वरूप मानव संसाधन व्यवस्थापन हो।

नेपालको सार्वजनिक प्रशासनमा मानव संसाधन व्यवस्थापनको अवलम्बनले पार्ने सकारात्मक प्रभाव:

नेपालका तीनै तहका सरकारी तहका तर्फबाट देश र जनताका लागि वस्तु, सेवा एवं शासकीय मूल्यको प्रवाह गर्ने स्थायी, अविछिन्न उत्तराधिकार प्राप्त, वैधानिक एवं सार्वजनिक संयन्त्रलाई सार्वजनिक प्रशासन भनिन्छ। नेपालको सार्वजनिक प्रशासनमा कर्मचारी प्रशासनको परम्परागत मान्यताको स्थानमा मानव स्रोत व्यवस्थापनका नवीन एवं आधुनिक मान्यता र शैलीको अवलम्बन गर्दा पर्न सक्ने केही प्रमुख सकारात्मक प्रभाव तल दिइएको छ :

  • सबैभन्दा दक्ष, योग्य, प्रतिस्पर्धी र जागरुक जनशक्तिको प्राप्ति हुन्छ।
  • उपयुक्त कार्य वातावरण निर्माण गर्छ।
  • कर्मचारीको ज्ञान सीप र क्षमता प्रस्फुटन गराउँछ।
  • लक्ष्य, उद्देश्य प्राप्तिलाई मितव्ययी बनाउँछ।
  • उत्प्रेरित र उत्साहित जनशक्तिको विकास हुन्छ।
  • सम्भावित जोखिमको पूर्वआँकलन गर्छ।
  • संगठन र कर्मचारी दुवैको उद्देश्य पूरा गर्छ।
  • कार्य गुणस्तर अभिवृद्धि गर्छ।
  • सामाजिक एवं पर्यावरणीय अन्तरसम्बन्ध कायम गर्छ।
  • संगठनको प्रतिष्ठा बढाउँछ।
  • व्यावसायिक विकासको अवसर दिन्छ।
  • समूह भावना र समूह कार्यको विकास गर्छ।
  • उचित श्रमसम्बन्ध कायम गर्छ।
  • सांगठनिक द्वन्द्व न्यूनीकरण गर्छ।
  • योग्यता, क्षमताको कदर हुनुका साथै अल्छीपना, अनैतिक कार्य निरुत्साहन हुन्छ।
  • राजनीतिक र प्रशासनिक आरोप–प्रत्यारोपलाई न्यूनीकरण गर्छ।
  • संगठनलाई विस्तार गरी दिगो बनाउँछ, आदि।

निष्कर्ष

कुनै पनि प्रणालीको अवलम्बन गर्दा मात्रै सबै समस्या समाधान भई चाहेको कुरा प्राप्त हुन्छ भन्ने हुँदैन। तथापि असल बाटो हिँडेपछि गलत ठाउँमा पुगिँदैन। यसर्थ मानव स्रोत व्यवस्थापनको मान्यता अवलम्बन गरेपछि जनशक्तिको सम्मान, उचित भुक्तानी, उत्प्रेरणालगायत कार्यबाट संगठनको उत्पादन र उत्पादकत्व दुवै अभिवृद्धि भई सरकारी लक्ष्य, उद्देश्य प्राप्ति सरल, मितव्ययी र प्रभावकारी बन्न जानेमा कुनै सन्देह छैन।

Post a Comment

0 Comments