Advertisement

स्थानीय आर्थिक कार्यप्रणाली, कार्यालयमा व्यवस्थापन सूचना प्रणाली

प्रश्नः  स्थानीय आर्थिक कार्यप्रणालीबारे उल्लेख गर्नुहोस्? (५)

"सरकार सञ्चालनको आधार:  आर्थिक कार्यप्रणाली"

सरकारले सञ्चालन गर्ने हरेक आर्थिक गतिविधिसँग सम्बन्धित क्रियाकलापलाई नै आर्थिक कार्यप्रणाली भनिन्छ । स्थानीय आर्थिक कार्यप्रणालीले स्थानीय सरकारको आर्थिक गतिविधि र त्यससँग सम्बन्धित सम्पूर्ण क्रियाकलापलाई जनाउँछ । नेपालको संविधानको भाग १९ धारा २२८ देखि २३० सम्म स्थानीय आर्थिक कार्यप्रणालीबारे उल्लेख गरिएको छ ।

स्थानीय आर्थिक कार्यप्रणाली

  • धारा २२८ मा कानुनबमोजिमबाहेक स्थानीय तहमा कुनै कर लगाउन, उठाउन र ऋण लिन नपाइने व्यवस्था रहेको छ । तर, स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रको विषयमा राष्ट्रिय आर्थिक नीति, वस्तु तथा सेवाको ओसारपसार, पुँजी तथा श्रमबजार, छिमेकी प्रदेश वा स्थानीय प्रदेशलाई प्रतिकूल असर नपर्ने गरी कर लगाउन सकिने व्यवस्था रहेको छ ।
  • धारा २२९ मा स्थानीय सञ्चित कोषको व्यवस्था रहेको छ । जसमा प्रत्येक स्थानीय तहलाई प्राप्त हुने सबै प्रकारको राजस्व, नेपाल सरकार वा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा गाउँपालिका र नगरपालिकाले लिएको ऋण रकम र अन्य स्रोतबाट प्राप्त हुने रकम जम्मा गरिने उल्लेख छ । उक्त रकम स्थानीय कानुनबमोजिम खर्च गर्न सकिने व्यवस्था रहेको छ ।
  • धारा २३० मा गाउँपालिका र नगरपालिकाको राजस्व र व्ययको अनुमान रहेको छ । जसअनुसार प्रत्येक गाउँपालिका र नगरपालिकाकाले प्रत्येक आर्थिक वर्षको राजस्व र व्ययको अनुमान स्थानीय कानुनबमोजिम गाउँसभा र नगरसभामा प्रस्तुत गर्नुपर्ने र त्यसरी राजस्व र व्ययको अनुमान पेस गर्दा घाटा बजेट निर्माण गर्नुपर्ने भएमा संघीय कानुन र प्रदेश कानुनबमोजिम घाटा पूर्ति गर्ने स्रोतसमेतको प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।

यसरी, स्थानीय सरकार सञ्चालनका लागि आवश्यक पर्ने आर्थिक स्रोत तथा साधनको संकलन गरी सञ्चित कोषमा रकम जम्मा गर्ने, संकलित रकमको विनियोजन गर्ने, विनियोजित रकमलाई स्वीकृत गर्ने, बजेटबमोजिमको रकम खर्च गरी सोको लेखांकन तथा प्रतिवेदन गर्ने, कार्यका लागि आर्थिक कार्यप्रणाली आवश्यक पर्छ । त्यसका लागि स्थानीय सरकार सञ्चालन ऐन ०७४ ले पनि यसलाई थप व्यवस्थित बनाएको छ ।

प्रश्नः  कार्यालयमा व्यवस्थापन सूचना प्रणालीको महत्व लेख्नुहोस्? (५)

"व्यवस्थापकलाई निर्णय गर्न सहयोग गर्ने प्रणाली"

कार्यालयका हरेक क्रियाकलाप निर्णयको आधारमा हुन्छन् भने निर्णयका हरेक क्रियापलाप सूचनामा आधारित हुन्छन् । व्यवस्थापनका लागि निर्णय गर्दा आवश्यक पर्ने सूचना तथा तथ्यांक एकै ठाउँबाट उपलब्ध गराउने पद्धति नै व्यवस्थापन सूचना प्रणाली हो । यसबाट कार्यालयको काम सहज, सरल र वैज्ञानिक तवरले सञ्चालन हुन्छ ।

कार्यालय व्यवस्थापनमा सूचना प्रणालीको महत्व 

  •      कार्यालयका कामकाजलाई वैज्ञानिक र सरल ढंगले सञ्चालन गर्न,
  •      योजना र नीति–निर्माणमा भरपर्दो, यथार्थपरक र विश्वसनीय तथ्यांक प्रदान गर्न,
  •      कार्यालयको कार्यबोझ घटाई कार्यमा शीघ्रता ल्याउन,
  •      स्रोत र साधनको अत्युत्तम परिचालन गर्न,
  •      थोरै लागतमा अधिकतम उपलब्धि हासिल गरी कार्यालयको लक्ष्य हासिल गर्न,
  •      कर्मचारीलाई कामप्रति जिम्मेवार बनाउन,
  •      कार्यालयका क्रियाकलाप र कर्मचारीबीच नेटवर्क बनाउन,
  •      कार्यालयको ख्याति वृद्धि गर्दै कार्यालयको कामप्रति जनविश्वास बढाउन,
  •      राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भएका असल अभ्यासहरूको अनुसरण गर्न,
  •      कार्यालयका क्रियाकलापलाई सहभागितामूलक बनाई अपनत्वबोध गर्न,
  •      जवाफदेही एवं पारदर्शी ढंगले कार्यसम्पादन गर्न,
  •      समग्रमा, विधिको शासन र सुशासनलाई  संस्थागत गर्न । 

निष्कर्ष

कार्यालयको निर्णय प्रक्रियालाई सहयोग गर्ने किसिमका सूचना तथा तथ्यांकको पहिचान, संकलन, प्रशोधन एवं सम्प्रेषणले कार्यालयमा सही र यथार्थ सूचनाको आधारमा काम गर्ने वातावरण बन्छ । यसबाट न्यूनतम लागतमा अधिकतम उपलब्धि हासिल भई कार्यालयप्रति सार्वजनिक विश्वास कायम हुनुका साथै सुशासनको प्रवद्र्धनमा सहयोग पुग्छ ।

Post a Comment

0 Comments