Advertisement

नेपाल समाचारपत्र विषयगत, ४ मंसिर २०८०

१. शरणार्थी र विस्थापितबीच के फरक रहेको छ? शरणार्थीसम्बन्धी महासन्धि १९५१ ले शरणार्थीलाई प्रदान गरेका अधिकारहरू स्पष्ट पार्दै शरणार्थीसम्बन्धी सिद्धान्त र शरणार्थी व्यवस्थापनका उपायहरूको चर्चा गर्नुहोस्। 

पृष्ठभूमि

सामान्यतया गृहयुद्ध, सशस्त्र संघर्ष, जाति, घृणा, राजनीतिक आस्था आदि कारणले आफ्नो नागरिकताको राष्ट्रबाट बलपूर्वक निष्कासनको अवस्थामा परी राज्यको सिमाना पार गरेर गाँस, बास र सुरक्षाका लागि अर्को मुलुकमा शरण लिन बाध्य व्यक्तिलाई शरणार्थी भनिन्छ।

शरणार्थीको हैसियतसम्बन्धी १९५१ को महासन्धिमा भएको व्यवस्थाअनुसार कुनै जात, धर्म, सामाजिक समूहको सदस्य भएको वा राजनीतिक आस्थाका कारणले गर्दा सुरक्षा र स्वतन्त्रता हनन् हुने वा कारबाहीमा परिने डरले देश छाड्न बाध्य भएको, स्वदेश फर्कने वातावरण नभएको वा कारबाहीको अवस्थामा भएको व्यक्ति वा व्यक्तिहरुको समूहलाई शरणार्थी मानिएको छ।

शरणार्थी र विस्थापितबीचको फरक

शरणार्थीविस्थापित
एक राष्ट्रबाट अर्को राष्ट्रमा शरण लिन जाने मानिस वा मानिसको समूहलाई शरणार्थी भनिन्छ।आन्तरिक द्वन्द्व वा विपद्का कारण जोखिम र विस्थापन परेका मानिसको समूहलाई विस्थापित भनिन्छ।
शरणार्थी मामिला मूलतः राजनीतिक, धार्मिक र साम्प्रदायिक कारणसँग सम्बन्धित हुन्छ।विस्थापन राजनीतिक धार्मिक तथा प्राकृतिक कारणहरुसँग सम्बन्धित हुन्छ।
शरणार्थी अन्तर्राष्ट्रिय स्तरको बहस, मुद्दा र समस्याको विषय हो।विस्थापित राष्ट्रिय स्तरको समस्या हो।
शरणार्थी समस्या समाधान गर्न जटिल हुन्छ।विस्थापितको समस्या समाधान गर्न तुलनात्मक रूपमा सहज हुन्छ।
भुटानी, तिब्बती, रोहिंग्या लगायत नेपालमा रहेका शरणार्थीका उदाहरण हुन्।सशस्त्र द्वन्द्व तथा भूकम्प, बाढी पहिरोबाट भएको विस्थापन विस्थापितका उदाहरण हुन्।
स्वेच्छिक प्रत्यागमन, आतिथ्य मुलुकमा विलय र तेस्रो मुलुकमा पुनर्वास समाधानका शरणार्थी समस्या समाधानका उपाय हुन्।राष्ट्रिय कार्ययोजना र नीति एवं आवश्यकता अनुरूप विस्थापितको समस्या समाधान गर्न सकिन्छ।

शरणार्थी अधिकारहरु

  • गैर-रिफ्युलेमेन्टको अधिकार
  • केही कड़ा परिभाषित सर्तहरूमा बाहेक निष्कासन नगर्ने अधिकार
  • संविदाकारी राज्यको इलाकामा अनियमित प्रवेश गरेमा
  • दण्डित नहुने अधिकार
  • गैर-भेदभावको अधिकार
  • सभ्य कामको अधिकार
  • बौद्धिक सम्पत्ति सहित आवास, जग्गा र सम्पत्तिको अधिकार
  • शिक्षाको अधिकार
  • धर्मको स्वतन्त्रताको अधिकार
  • न्यायमा पहुँचको अधिकार
  • क्षेत्रभित्र आवागमनको स्वतन्त्रताको अधिकार
  • नागरिक, परिचय र यात्रा कागजात जारी गर्ने अधिकार
  • सामाजिक सुरक्षाको अधिकार।

शरणार्थीसम्बन्धी सिद्धान्त

  • शरणको सिद्धान्त
  • संरक्षणको सिद्धान्त
  • अविभेदको सिद्धान्त
  • समाधानको सिद्धान्त
  • वैधानिकताको सिद्धान्त
  • अन्तर्राष्ट्रिय सहयोगको सिद्धान्त
  • फिर्ता नपठाउने सिद्धान्त
  • शरणार्थी व्यवस्थापनका उपायहरु
  • स्वेच्छिक प्रत्यागमन
  • आतिथ्य मुलुकमा विलयन
  • तेस्रो राष्ट्रमा पुनर्वास।

निष्कर्ष

संयुक्त राष्ट्रसंघले शरणार्थीसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि सन् १९५१ र यसको ऐच्छिक आलेख १९६९ मा जारी गरेको छ। जसमा शरणार्थी अधिकार, राज्यको दायित्व तथा अन्तर्राष्ट्रिय समुदायको भूमिका उल्लेख छन्। नेपाल अझै यसको पक्षराष्ट्र नबनेकाले पक्ष राष्ट्र बन्न आवश्यक रहेको छ।

२. आतंकवादका प्रकार र विशेषताहरू के-के हुन्? आतंकवाद नियन्त्रणका लागि भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासहरु उल्लेख गर्दै आतंकवादी क्रियाकलापहरू वृद्धि हुनुका कारणहरू स्पष्ट पार्नुहोस्।

आतंकवाद = हिंसा+डर+विचारधारा+संकीर्ण उद्देश्य 

पृष्ठभूमि

निहित वा राजनीतिक स्वार्थका लागि मानिसलाई त्रसित पार्ने, बसमा लिने, नियन्त्रित गर्ने लगायतका हिंसात्मक क्रियाकलाप सञ्चालन गर्नु नै आतंकवाद हो। संयुक्त राष्ट्रसंघका अनुसार, राजनीतिक उद्देश्यका लागि सामान्य नागरिक समूह वा कोही व्यक्तिलाई आतंकित पार्ने र न्याय संगत हुन नसक्ने अपराधिक कार्य नै आतंकवाद हो।

कुनै व्यक्ति वा समुदायलाई डर, धाक, धम्की वा त्रासमा पारी वा हिंसात्मक घटना घटना घटाई सर्वसाधारणलाई पीडित बनाउने कार्य आतंकवाद हो। आतंकवादले हिंसा भडकाउने तथा शान्ति सुव्यवस्थामा खलल पुग्याउने कार्य गर्दछ।

आतंकवादका विशेषताहरु

  • आतंक सिर्जना गरी राजनीतिक वा गैरराजनीतिक उद्देश्य पूरा गरिने,
  • हिंसात्मक गतिविधि गरिने,
  • सर्वसाधारणहरु प्रभावित हुने,
  • सुरक्षा चुनौती खडा हुने,
  • प्रचारात्मक शैली अवलम्बन गरिने,
  • भूमिगत ढंगले काम हुने,
  • राजनीतिक नेतृत्व, उच्च पदस्थ व्यक्ति वा व्यवसायिक संस्थालाई लक्षित गरिने।

आतंकवादका प्रकारहरु

  • राजनीतिक आतंकवाद
  • आर्थिक आतंकवाद
  • सामाजिक अराजकता
  • धार्मिक आतंकवाद
  • जातीय आतंकवाद
  • राज्य आतंक
  • सैनिक आतंक
  • अन्तर्राष्ट्रिय आतंकवाद
  • घरेलु आतंकवाद
  • भाषिक आतंकवाद
  • राइटविङ/ लेफ्टविङ आतंकवाद

आतंकवाद नियन्त्रणका लागि भएका प्रयासहरु

(क) राष्ट्रिय प्रयासहरु

नीतिगत तथा कानुनी व्यवस्था

  • संगठित अपराध नियन्त्रण ऐन, २०७०,
  • पारस्परिक कानुनी सहायता ऐन, २०७०
  • सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४
  • सुपुर्दगी ऐन, २०७० लगायतका कानुनी व्यवस्थाहरु

संस्थागत व्यवस्था

  • राष्ट्रिय सुरक्षा परिष
  • गृह मन्त्रालय
  • रक्षा मन्त्रालय
  • नेपाली सेना
  • नेपाल प्रहरी, सशस्त्र प्रहरी, बल राष्ट्रिय अनुसन्धान विभाग
  • अदालतहरु
  • महान्यायाधिवक्ताको कार्यालय
  • स्थानीय प्रशासन
  • वित्तीय सूचना इकाइ (राष्ट्र बैंक)

(ख) अन्तर्राष्ट्रिय प्रयासहरु

आतंकवादी क्रियाकलाप वृद्धि हुनुका कारणहरु

  • अस्वस्थ राजनीतिक प्रतिस्पर्धा
  • राजनीतिक दलहरुको बेवास्ता
  • धार्मिक असहिष्णुता
  • जातीय द्वन्द्व
  • उद्देश्यमूलक प्रतिसोध
  • आतंककारीले आन्तरिक र बाहृय सहयोग पाउनु
  • प्रहरी प्रशासनको सक्रियतामा कमी
  • निरीह राज्य संयन्त्र
  • क्षेत्रीयवादको उदय
  • गरिबी र विपन्नता
  • बेरोजगारी र अर्धबेरोजगारी
  • अनावश्यक दबाब
  • अन्याय, अत्याचार असमानता
  • स्रोत र साधनमा एकाधिकार
  • उच्चतम प्रविधिको प्रयोग
  • देशको आवश्यकता र जनताको चाहना अनुरूप
  • अनुसार विकास नहुनु धनी र गरिबको खाडल बढ्दै जानु।

निष्कर्ष

आतंकवाद विश्वका लागि प्रमुख चुनौतीको विषयका रूपमा रहेको छ। विश्वव्यापी सहकार्यको माध्यमबाट मात्र आतंकवाद नियन्त्रणमा सफलता प्राप्त गर्न सकिन्छ।

३. राष्ट्रिय सुरक्षासम्बन्धी विद्यमान संवैधानिक व्यवस्था स्पष्ट पार्नुहोस्।

पृष्ठभूमी

कुनै पनि राज्यका नागरिकमा डर, त्रास, अभाव र गरिबीबाट उन्मुक्तिको अनुभूति र प्रत्याभूति नै सुरक्षा हो। राष्ट्रिय सुरक्षा राज्यलाई जीवन्त राख्ने माध्यम हो, यसभित्र आर्थिक शक्ति, राजनीतिक शक्ति, शैन्य शक्ति सहित मानव सुरक्षाका अनेकौं मान्यता अन्तर्निहित रहन्छन्। संयुक्त राष्ट्रसंघले राष्ट्रिय सुरक्षालाई राष्ट्रिय प्रतिरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धको सामूहिक शब्दका रूपमा परिभाषित गरेको छ।

संवैधानिक व्यवस्था

  • नेपाली नागरिकताको व्यवस्था
  • राष्ट्रिय हितका विषयहरु उल्लेख
  • राष्ट्रिय एकता तथा राष्ट्रिय सुरक्षासम्बन्धी नीति:- सुरक्षा निकायलाई सुदृढ, व्यवसायिक, समावेशी बनाउने लगायतका व्यवस्था
  • राष्ट्रिय सुरक्षा परिषद्को व्यवस्था,
  • असंलग्नता, पञ्चशीलको सिद्धान्त, विश्व शान्तिको मान्यता, अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको आधारमा परराष्ट्र सम्बन्ध निर्देशित हुने व्यवस्था,
  • संघको अधिकार सूचीमा रक्षा र सेना, युद्ध प्रतिरक्षा, हात-हतियार र सुरक्षा निकायलाई समावेश गरिएको, प्रदेशको अधिकारअन्तर्गत प्रदेश प्रहरी प्रशासन शान्ति सुरक्षा तथा स्थानीय तहको अधिकार सूचीअन्तर्गत नगर प्रहरी समावेश गरिएको,
  • संघ र प्रदेशको अधिकार सूचीमा निवारक नजरबन्द, कारागार र हिरासत व्यवस्थापन समावेश भएको,
  • संकटकालीन अवस्थाको घोषणासम्बन्धी व्यवस्था रहेको,
  • नेपाली सेनाको गठन र परिचालनसम्बन्धी प्रावधान समावेश भएको,
  • नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग जस्ता सुरक्षा निकायहरुको व्यवस्था रहेको,
  • सुरक्षा र समारिक तथा नेपाल राज्यको सिमानासम्बन्धी सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन संघीय संसदको दुई तिहाइबाट हुनुपर्ने व्यवस्था रहेको,
  • राष्ट्रिय सुरक्षामा खलल पार्ने कार्य भएमा प्रदेश र मन्त्रिपरिषद्लाई सचेत गराउन विघटन गर्न वा निलम्बन गर्न सकिने व्यवस्था रहेको।

निष्कर्ष

पछिल्लो समयमा राष्ट्रिय सुरक्षालाई मानव केन्द्रित धारणाका रूपमा लिन थालिएको छ। राष्ट्रिय एकताको संरक्षण, सीमा संरक्षण, राष्ट्रिय स्वतन्त्रता र राष्ट्रको सार्वभौम संरक्षण गर्नका लागि राष्ट्रिय सुरक्षा व्यवस्थापन बुद्धिमत्ता हिसाबले रणनीतिक सोचसहित गर्नुपर्दछ।

४. अपराध अनुसन्धान प्रक्रिया उल्लेख गर्दै अपराध अनुसन्धानमा सरकारी वकिलको भूमिकाको चर्चा गर्नुहोस्।

पृष्ठभूमि

अपराध, यसको प्रकृति, त्यसमा संलग्न व्यक्तिहरु पत्ता लगाउन तथा सबुद प्रमाण संकलन गर्न जिम्मेवार व्यक्ति वा अधिकारीबाट गरिने चरणबद्ध कार्य अपराध अनुसन्धान हो।

नेपालले अभियोजनात्मक फौजदारी न्याय प्रणाली अंगालेको छ, अभियोजनात्मक न्याय प्रणालीमा अनुसन्धानकर्ता, अभियोजनकर्ता र पुर्पक्षकर्ताहरु अलगअलग रहन्छन्। 

अपराध अनुसन्धान प्रक्रिया

  • कसूर भएको, भइरहेको वा हुन लागेको अवस्थामा लिखित, मौखिक वा विद्युतीय माध्यमबाट सम्बन्धित निकायमा उजुरी सूचना वा जाहेरी दिनुपर्ने,
  • जाहेरी दरखास्त वा सूचना दर्ता गर्न इन्कार गरेमा अनुसूचीको १ को हकमा माथिल्लो तहको प्रहरी कार्यालय वा जिल्ला सरकारी वकिल कार्यालयमा र अनुसूची २ को हकमा प्रहरी जिल्ला अधिकारी वा प्रजिअले दर्ता नगरेको भएमा गृह मन्त्रालयमा उजुरी दिने,
  • प्रमाण लोप हुन नदिने,
  • शंकास्पद व्यक्ति उम्कन नदिने, 
  • घटनास्थल सुरक्षा गर्ने, 
  • मुचुल्का बनाउने, 
  • शंकित व्यक्ति पक्राउ गर्ने, 
  • अनुसन्धान शुरू गरी सबुद प्रमाण संकलन गर्ने, 
  • अनुसन्धान शुरू गरेको ३ दिनभित्र सरकारी वकिलसमक्ष प्रारम्भिक अनुसन्धान प्रतिवेदन पठाउने, 
  • विशेष अनुसन्धान टोली गठन गर्न सकिने, 
  • भ्रमपूर्ण, काल्पनिक र झुट्टा मुद्दा तामेलीमा राख्न सकिने, 
  • अदालतबाट पक्राउ पुर्जी लिएर वा जरुरी पक्राउ पुर्जी जारी गरेर पक्राउ गर्ने, 
  • पक्राउको कारणसहितको सूचना दिनुपर्ने, 
  • अनुसन्धानका लागि एकैपटक वा पटकपटक गरेर २५ दिनसम्म हिरासतमा राख्न सकिने, 
  • तोकिएका कसूरहरुको हकमा थप १५ दिन हिरासतमा राख्न सकिने,
  • घाउ जाँच, लास जाँच तथा मुचुल्का खडा गर्नुपर्ने व्यक्तिको रगत, वीर्य, रौं लगायतका भौतिक परीक्षण गर्ने,
  • विशेषज्ञको राय लिन सकिने,
  • अनुसन्धान डायरी खडा गर्ने
  • सरकारी वकिल र माथिल्लो अधिकारीको राय सल्लाह निर्देशन लिनुपर्ने,
  • रायसहितको अनुसन्धान प्रतिवेदन पेस गर्ने।
अपराध अनुसन्धानमा सरकारी वकिलको भूमिका

  • अनुसूची १ बमोजिमका कसूरमा सूचना र जाहेरी दर्ता नभएमा उजुरी सुन्ने,
  • प्रारम्भिक प्रतिवेदन प्राप्त भएपछि आवश्यक निर्देशन दिने,
  • शंकित व्यक्तिलाई हिरासतमा राख्दा म्याद थपसम्बन्धी कार्यमा सहजीकरण गर्ने,
  • शंकित व्यक्तिको बयान गराउने,
  • भ्रमपूर्ण, झुठा र काल्पनिक सूचनालाई तामेलीमा राख्ने,
  • अनुसन्धान अधिकृतलाई राय सल्लाह दिने,
  • अनुसन्धान अधिकारीले तयार पारेको प्रहरी डायरी आवश्यकता अनुसार झिकाई हेर्ने,
  • पीडित व्यक्ति वा साक्षीको परिचय गोप्य राख्ने,
  • हिरासतमा रहेको व्यक्तिलाई हिरासतमा राख्न उपयुक्त नदेखिएमा धरौटी, जमानी, हाजिरी जमानी वा तारेखमा छाड्न अनुसन्धान अधिकृतलाई निर्देशन दिने,
  • अभियुक्तले अदालतमा प्रतिकूल बयान गरेमा पुनः अनुसन्धानको माग गर्ने।

निष्कर्ष

अपराध अनुसन्धान गर्दा मुद्दाको मौलिकताको सिद्धान्त, स्वच्छता र निष्पक्षताको सिद्धान्त, मानवअधिकारको सिद्धान्त तथा कानुनको उचित परिपालनाको सिद्धान्तहरुको परिपालना गराउन सरकारी वकिलले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्दछ।

५. नेपालको संविधानमा सामाजिक र सांस्कृतिक रूपान्तरणसम्बन्धी नीतिअन्तर्गत के व्यवस्था गरिएको छ? सांस्कृतिक रूपान्तरणका सिद्धान्त र विशेषताहरू उल्लेख गर्दै सांस्कृतिक रुपान्तरणका आयाम तथा निर्धारक तत्वहरू स्पष्ट पार्नुहोस्।

'मान्छेको रचना संस्कृतिले गरेको होइन तर संस्कारको रचना मान्छेले गरेको हो'

पृष्ठभूमी

संस्कृति भनेको ज्ञान, कला, विज्ञान, विश्वास, नैतिकता, कानुन एवं समाजको एक सदस्य भएको हैसियतले आर्जन गरेको क्षमता एवं आनीवानीको जटिल समग्रता हो। सांस्कृतिक मूल्य-मान्यता, आदर्श, संस्कार, परम्परा, कला, चालचलन, विचार तथा दृष्टिकोणमा आउने परिवर्तन नै सांस्कृतिक रूपान्तरण हो।

सामाजिक सांस्कृतिक रुपान्तरणसम्बन्धी नीति

  • स्वस्थ र सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाजको निर्माण गर्ने,
  • ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र विकासका लागि अध्ययन, अनुसन्धान, उत्खनन तथा प्रचार प्रसार गर्ने,
  • सामाजिक, सांस्कृतिक तथा सेवामूलक कार्यमा स्थानीय समुदायको सिर्जनशीलताको प्रवर्द्धन र परिचालन गरी स्थानीय जनसहभागिता अभिवृद्धि गर्दै सामुदायिक विकास गर्ने,
  • राष्ट्रिय सम्पदाका रूपमा रहेका कला, साहित्य र संगीतको विकासमा जोड दिने,
  • समाजमा विद्यमान धर्म, प्रथा, परम्परा, रीति तथा संस्कारका नाममा हुने सबै प्रकारका विभेद, असमानता, शोषण र अन्यायको अन्त्य गर्ने,
  • देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवं सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला, चलचित्र र सम्पदाको संरक्षण र विकास गर्न बहुभाषिक नीति अवलम्बन गर्ने।

सांस्कृतिक रुपान्तरणका सिद्धान्तहरु

  • आर्थिक सिद्धान्तः आर्थिक स्तरमा भएको परिवर्तन
  • प्रविधिको सिद्धान्तः प्रविधिको क्षेत्रमा भएको सुधार
  • द्वन्द्ववादी सिद्धान्तः वाद, प्रतिवाद तथा संवादमार्फत हुने परिवर्तन
  • उद्विकासवादी सिद्धान्तः क्रमिक उत्थानमार्फत हुने परिवर्तन
  • विकासवादी सिद्धान्तः सामाजिक तथा आर्थिक क्षेत्रमा हुने विकास
  • क्रान्तिकारी सिद्धान्तः क्रान्तिमार्फत हुने सामाजिक तथा सांस्कृतिक रूपान्तरण
  • आलोचनात्मक सिद्धान्तः सामाजिक दृष्टिकोणको आलोचनामार्फत हुने रूपान्तरण

सांस्कृतिक रुपान्तरणका आयाम

(क) असल संस्कृतिको संरक्षण

  • मानवीय सभ्यताका रूपमा स्थापित असल सांस्कृतिक अभ्यासहरुको संरक्षण गर्ने
  • सांस्कृतिक धरोहरहरुको संरक्षण गर्ने
  • असल संस्कृतिको अभ्यास गर्ने।

(ख) सांस्कृतिक स्वतन्त्रता

  • संस्कृतिहरुको स्वतन्त्र अभ्यास
  • भिन्न सांस्कृतिक समूहबीच सहिष्णुता
  • सांस्कृतिक द्वन्द्वको वातावरण नहुनु

(ग) सांस्कृतिक बहुलता

  • विविध संस्कृतिको उपस्थिति
  • सांस्कृतिक सद्भाव, सहिष्णुता र सहअस्तित्व
  • सांस्कृतिक एकता र सहकार्य
  • सबै संस्कृतिको सम्मान तथा पहिचान
  • असल संस्कृतिको अनुकरण, अनुशरण र आदान-प्रदान।

(घ) समय सापेक्ष संस्कृतिको सुधार

  • गलत परम्पराको पहिचान तथा अन्त्य
  • सांस्कृतिक स्वच्छताको विकास
  • असल संस्कृतिको अवलम्बन
  • सांस्कृतिक सचेतनामा वृद्धि
  • भड्किलोपन र खर्चिलोपनको अन्त्य।

सांस्कृतिक रूपान्तरणका विशेषताहरु

  • विश्वका सबै समाज परिवर्तनशील हुन्छन्, यो विश्वव्यापी प्रक्रिया हो।
  • समाजमा सहयोग, समायोजन, संघर्ष जस्ता विविध प्रक्रियाबाट रूपान्तरणका विभिन्न स्वरूपहरू प्रकट हुन्छन्।
  • रूपान्तरण एकरेखीय/ बहुरेखीय, समस्यामूलक/ कल्याणकारी, अल्पकालीन/ दीर्घकालीन, चक्रीय/ उद्विकासीय एवं क्रान्तिकारी हुनसक्छ।
  • रूपान्तरणको जनसांख्यीक, औद्योगिक, आर्थिक, राजनीतिक, वातावरणीय जस्ता विविध कारण हुन सक्छन्।
  • यो पूर्वानुमान गर्न सकिए तापनि निश्चित भविष्यवाणी गर्न नसकिने हुन्छ।
  • अनेक आकस्मिक कारकहरूबाट रूपान्तरणको स्थिति पैदा हुन सक्छ।
  • यो प्रक्रिया तबसम्म चलिरहन्छ जबसम्म पूरा समाज राम्रो वा नराम्रो प्रभावबाट परिचित हुँदैन।
  • यो निरन्तर भइरहने प्रक्रिया हो।
  • समाज गतिशील छ र समयसँगै परिवर्तन अवश्यम्भावी छ।
  • सामाजिक रूपान्तरणको गति एकनाश हुँदैन। असमान एवं सापेक्षिक हुन्छ।
  • प्रत्येक समाजमा योजनाबद्ध रूपमा सामाजिक रूपान्तरणलाई नियन्त्रण गरी वाञ्छित लक्ष्यको दिशामा क्रियाशील गर्न सकिन्छ ।
  • संस्कृति पुस्ता-पुस्तान्तरमा हस्तान्तरण हुन्छ।

सांस्कृतिक रूपान्तरणका निर्धारक तत्वहरु

  • उद्धविकास प्रगति/विकास
  • विचार एवं सिद्धान्तको प्रयोग
  • सामाजिक आन्दोलन एवं सामाजिक द्वन्द्व
  • शिक्षाको विकास
  • सूचना प्रविधिको विकास
  • राजनीतिक जागरण
  • सांस्कृतिक प्रभाव
  •  सचेतना
  • कानुनी व्यवस्था
  • क्रान्ति
  • बसाइँसराइ
  • वातावरण
  • विश्वव्यापीकरण
  • औद्योगीकरण
  • आधुनिकीकरण
  • सहभागिता एवं सहकार्य।

निष्कर्ष

नवीनतम सोच, संस्कार र संरचनाको विकास मार्फत पुराना सामाजिक भेदभाव क्रमशः हट्दै गएका छन्। सामाजिक-सांस्कृतिक मूल्य मान्यता, रीतिरिवाज, चालचलन, रहनसहन प्रगतिशील हुँदै गएको अवस्था रहेको छ।

Post a Comment

0 Comments