Advertisement

गण्डकी प्रदेशको परिचय र विशेषता

 १. भौगोलिक परिचय

नेपालको शासनव्यवस्था सुदृढीकरणका लागि संविधान सभाबाट नेपालको संविधान जारी भयो। यसै संविधान बमोजिम नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य कायम हुन पुग्यो। नेपालको संविधान बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरियो। यी मध्ये साविकका धौलागिरी अञ्‍चलका ४ जिल्ला, गण्डकी अञ्‍चलका ६ जिल्ला र लुम्बिनी अञ्‍चलको नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्वको भू-भाग समेटी कुल ११ जिल्लाको गण्डकी प्रदेश कायम भयो। भौगोलिक रुपमा यस प्रदेशले हिमाल, पहाड र तराई गरी तिनै धरातलीय स्वरुपलाई समेटेको छ। त्यस्तै हावापानीको दृष्‍टिकोणले हेर्दा पनि यस प्रदेशमा नेपालमा पाइने सबै प्रकारको (उष्ण मनसुनी देखि टुन्ड्रा) हावापानी विद्यमान रहेको छ।

क) अवस्थिति

भौगोलिक अवस्थितिलाई हेर्दा यो प्रदेश २७°२०'उत्तरी अक्षांश देखि २९°२०'उत्तरी अक्षांश र ८२° ५२' पूर्वी देशान्तर देखि ८५° १२'पूर्वी देशान्तरका बीच रहेको छ। यस प्रदेशको सबैभन्दा अग्लो भू-भागको रुपमा धौलागिरी हिमाल (८१६७ मीटर) र होचो भू-भागको रुपमा नवलपुरको त्रिवेणी सुस्ता रहेको छ।

ख) क्षेत्रफल

नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. मध्ये गण्डकी प्रदेशले २१,७३३ वर्ग कि.मि. अर्थात् १४.६६% क्षेत्रफल ओगटेको छ। यसमा प्रदेशको कुल क्षेत्रफलमा हिमाली भू-भाग ५,८१९ वर्ग कि.मि. (२६.८%), पहाडी भू-भाग १४,६०४ वर्ग कि.मि. (६७.२%) र तराई भू-भाग १,३१० वर्ग कि.मि. (६%) पर्दछ। यस प्रदेशमा पहाडी भु-भाग बढी रहेको छ। यो प्रदेश नेपाल राज्यको करीब मध्य भागमा पर्दछ। नेपालकै सबैभन्दा ठूलो महानगरपालिकाको रुपमा रहेको पोखरा महानगरपालिका समेत यस प्रदेशमा रहेको छ।

ग) सिमाना

यस प्रदेशको सिमाना पूर्वमा बागमती प्रदेशका रसुवा, धादिङ्ग र चितवन जिल्ला, पश्‍चिममा लुम्बिनी प्रदेशका पूर्वी रुकुम, रोल्पा, प्यूठान, गुल्मी, पाल्पा र नवलपरासी (सुस्ता बर्दघाट पश्‍चिम) र कर्णाली प्रदेशको डोल्पा जिल्ला पर्दछन्। त्यस्तै उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा लुम्बिनी प्रदेशको पाल्पा जिल्ला र भारतको विहार राज्य रहेका छन्।

२. राजनैतिक प्रशासनिक विभाजन

नेपालको संविधान अनुसार नेपालको शासकीय स्वरुप संघीय संरचनामा नेपाललाई ७५३ स्थानीय तह, ७ प्रदेश र संघीय सरकारको रुपमा विभाजन गरिएको छ। यो विभाजन मध्ये यस गण्डकी प्रदेश अन्तर्गत धौलागिरी अञ्‍चलका ४ जिल्ला म्याग्दी, मुस्ताङ्ग, पर्वत र बागलुङ्ग, गण्डकी अञ्‍चलका गोरखा, लमजुङ्ग, मनाङ्ग, स्याङ्गजा, कास्की र तनहुँ एवं लुम्बिनी अञ्‍चलको नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्वको भू-भाग नवलपुर गरी जम्मा ११ जिल्ला रहेका छन्। गण्डकी प्रदेशमा १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका गरी जम्मा ८५ स्थानीय तह रहेका छन्। त्यस्तै यस प्रदेशबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १८ निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्य निर्वाचनका लागि ३६ निर्वाचन क्षेत्र रहेका छन्। प्रदेश सभामा समानुपातिक सहित कूल ६० सदस्य रहन सक्ने संवैधानिक प्रावधान छ।

३. जनसंख्या र जनघनत्व

जनगणना २०७८ अनुसार गण्डकी प्रदेशको जनसंख्या २४,७९,७४५ (कुल जनसंख्याको ८.४९ प्रतिशत), जनघनत्व १२० जना प्रति वर्ग किलोमिटर (जनसंख्या र जनघनत्वमा कर्णाली पछिको दोश्रो कम जनघनत्व भएको प्रदेश)।

Post a Comment

0 Comments