Post Top Ad

Post Top Ad

Tuesday, May 8, 2018

May 08, 2018

श्रीनिवासका नाउँमा ! (कृपया पूरै पढ्नुहोला)

लोकततन्त्र देशमा आयो । "महान्" जनयुद्धले साधारण बुर्जुवा संस्कृत शिक्षामाथि रोक लगायो। वसुधैव कुटुम्बकम् को शिक्षा दिने "निरर्थक" संस्कृतपुस्तक पनि जलाइए । कला र गलालाई शास्त्रसित जोडेर जनताकै पैसाले गाउँ गाउँमा पाटी,सत्तल, विद्यालय, क्याम्पस बनाउने नारायण पोख्रेल जस्ता "देशद्रोही" पनि जनयुद्धले निल्यो । उत्पीडित शोषित सर्वहारा वर्गले मुक्ति पाउने दिन आए । लोकतन्त्र आयो । जनताहरू सडकमा उत्रे , दिलोज्यान दिएर लोकतन्त्र ल्याए । देश लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा परिणत भयो । अन्तरिम संविधान घोषणाका बखत संसदमा प्रवेश गर्ने अधिकार नभएका एकजना बुज्रुक प्रवेश गरेर ठूला स्वरमा धर्मनिरपेक्ष शब्दको लागि हारगुहार गरे । धर्मनिरपेक्ष शब्दको अर्थ र व्याख्या गर्दै यो शब्द राखिनुपर्ने कुरा गरे। लौ त नि , भनेर केही जमातले हस् भने । केही जमातले विरोध पनि गरे। त्यो शब्दका बारेमा निर्णय भएन। तत्कालीन सभामुख नेम्वाङले भने यो शब्द पनि मिसाएर उद्घोष गरिदिए। सबैले बरर ताली पिटे । त्यो रात कुन कुन देशका कुन कुन पोपले उत्सवको आयोजना गरे भन्ने कमैले थाहा पाए।
‌धर्मनिरपेक्ष भन्नु धर्मप्रतिको सम्मान नै होला भन्ने बुझ्नमा आयो । बिस्तारै यसले आफ्नो प्रयोजन पुष्ट गर्दै गयो । गाउँमा सुसमाचारका सुसन्देश बाँड्दै परमात्माका दूतहरू आउने क्रम बढ्न थाल्यो । धर्म भन्नु अफिम हो भन्ने शासकहरू यो देखेर प्रसन्न होइबक्सनुभयो। गरिब गाउँमा सिटामोलसितै बाइबल थमाएर "प्रभुको राज्य"का लागि सत्प्रयास सुरु भए । पहाडका गुम्बाहरूमा घण्टी बजाउने मान्छे पाइन छाडे। तत्त्वमसि सुनिने गाउँघरमा जयमसी सुनिन थाल्यो । हरेराम हरेकृष्ण हलेलुयाहमा परिष्कृत हुँदै गए। मन्दिरै मन्दिरको शहर काठमाडौंले संसारको सबैभन्दा धेरै चर्च हुने शहरका रूपमा सिद्धि पायो । तर यी कुराले प्रसिद्धि पाएनन् । पत्रपत्रिकाहरू , लेखकहरूले यी कुरा देखेनन् ।

‌दसैं आर्यहरूको चाड बन्यो , तिहार भारतीयहरू त्यौहार बन्न पुग्यो । बाआमाले पुज्ने देवतालाई पत्थरको उपमा नदिई गजल लेखिनै छाडे। हजुरबुबा-हजुरआमाले पुजेर पढ्ने स्वस्थानीलाई नसरापी नारीवादी नै नभइने भयो । कुशे अौँसीमा कुश लिएर आउने , नागपञ्चमीमा घरघरमा नाग टाँसिदिने र टिका लगाइदिएको पाँच रुपैयाँ खुसी भएर लैजाने बाजे सामन्त हुँदै गए। समाजसेवाका नाउँमा हजारौं संस्था देशमा खुले।कैयौं मिसन हस्पिटल खुले, मिसन स्कुल खुले । आफ्नो मिसनमा प्रभुका दूतहरू सफल हुँदै गए। "सबै धर्म बराबर" भनेर स्कुलमा पढाइएका जनसमुदायले हेरेर बसिरह्यो।

‌संविधान बन्यो । जनताका आवाज समेट्न जनप्रतिनिधि गाउँ गाउँमा पुगे। धर्मनिरपेक्ष शब्द संविधानबाट हटाइनुपर्ने माग सबैभन्दा बढी आयो । केही अपवाद बाहेकका मिडियाले यी कुरा पनि देखेनन्,थाहा पाएनन् । किन ? उनैले जानुन्।

‌बिस्तारै जागरण आयो । यसरी त भएन भनेर केही मान्छे जागे । सन्तहरूको आह्वानमा चितवनको क्याम्पाचौरमा जनसागर उर्लियो । धर्मनिरपेक्षताको विरुद्ध !
धर्मनिरपेक्षताको विरुद्धमा उर्लेको भीड मिडियाले आँखै अगाडि पनि देखेन । सरकारको कानमा पसोस् भनेर अनेक अनेक सम्मेलन , जनसभा भए । पुगेन ।

‌काठमाडौंमा खुला चौरमा देशभरबाट मान्छे जम्मा भए । हजारौंको सङ्ख्यामा मान्छे उपस्थित भएर धर्मनिरपेक्षताको विरोध गरे। देशभरका सन्तहरू उपस्थित भए । मध्यपृष्ठमा अङ्गप्रदर्शन र प्रथम पृष्ठमा बियरका विज्ञापन छाप्ने मिडियाले यो जनसागर देखेन। सरकारले सुनेन ।

‌आन्दोलन सुरु भए । देशभर आन्दोलन भए । सरकारले थाहा पाएन । विराटनगरमा धर्मनिरपेक्षता हुनुहुँदैन भनेर जम्मा भएका बुढीआमाहरू र सन्तमाथि प्रहरीले लाठी चार्ज गर्यो । यी सबै देखेर धर्मका नाउँमा घरपरिवार छाडेको एउटा युवाको पनि रगत तात्यो। आन्दोलनमा सरिक भयो । प्रहरीले घरभित्र छिरेरै लाठी चार्ज गर्यो । निर्घात कुटिएर पचासौं मान्छे घाइते भएपछि फाट्टफुट्ट केही मिडियाले लेखे - प्रहरी-दमनमा युवा सन्त श्रीनिवास घाइते ।

‌आन्दोलन यसै सकियो । त्यो युवाको जोश सकिएन । रत्नपार्क शान्तिवाटिकामा अनशन सुरु गर्यो। रिले अनशनको हप्तौं हुँदा पनि सरकार आएन। बरु सरकारका प्रतिनिधि आए । हातमा लाठी लिएर । २२ वर्षे ज्यानले थुप्रै पिटाइ खाएर रत्नपार्कबाट निकालिनुपर्यो ।

‌काठमाडौं खुला चौरमा चार जना युवा अनशन बसे ।
‌चौध दिनसम्म सरकारले देखेन। मिडियाले त कत्ति देखेन। पन्ध्रौं दिनमा सरकारबाट प्रतिनिधि आएर आश्वासन दिएर पञ्चामृत पिलाएर अनशन तोड्न लगाए ।

‌दिनहरू बित्दै गए। रत्नपार्कमा अनशन बसेको र विराटनगरमा लाठी खाएका युवा श्रीनिवास ठाउँ ठाउँमा कथा प्रवचनका माध्यमबाट धर्मजागरण गराउँदै देशभर हिँडे । देख्नुपर्नेले देखेनन् । सुन्नुपर्नेले सुनेनन् ।
‌धर्म अफिम हो भन्ने सिद्धान्तको बुइ चढेर देशको अभिभावक बनेका राष्ट्रप्रमुखले शपथ लिँदा ईश्वर शब्द हटाइदिए ।
‌जनयुद्धका नाइकेले कम्युनिस्टहरूको धर्म क्रिश्चियन हो भन्न भ्याए ।
‌ईश्वर छैनन् , छन् भने लेनिन हुन् भन्दै देशका अभिभावक कुर्लिए।
‌दसैं तिहार आदि चाडपर्वका बिदा काटिँदै गए।

‌यी सबैको साक्षी श्रीनिवास कथाप्रवचन गर्न जाँदा
‌गोली लागेर घाइते भए । फेसबुकका वालमा यो कुरा भाइरल भए । केही फाट्टफुट्ट मिडियाले देखे। देशका ठूला मिडियाले थाहा पाएनन् । बुद्धिजीवी वर्गहरू यसको विरोधमा दुई शब्द पनि बोलेनन् । लाज पचाएरै मौन बसे।
समाचारमा श्रीनिवासले गोली हान्न आफैंले लगाएको कुरा सार्वजनिक भयो । अनि सुरु भए मौन महाशयहरूका समीक्षा/विश्लेषण/उद्घोष/विज्ञप्ति । गोली लागेर मरणासन्न हुँदा निदाएका मिडिया श्रीनिवासको पक्राउ पछि बल्ल ब्यूँझिए जसरी देखा परे। सानोतिनो समाचार बनाउन लजाउने पत्रिकाहरू मजस्तै साधारण युवा श्रीनिवासलाई उचाइको सगरमाथामा पुर्याएर हिन्दु धर्मको सर्वोच्च गुरुका रूपमा राखेर बेइज्जती गर्न अघि सरे। केही विद्वज्जनले हिन्दु धर्मलाई गाली दिन सुरु गरे । कसैले बाहुन यस्तै हुन् भन्न भ्याए(यद्यपि श्रीनिवास जातिले ब्राह्मण होइनन्) । कसैले साधुसन्तका विषयमा नानाथरी अपशब्द फ्याँके । केही भने यति हुँदा पनि साक्षी बनिरहे। 

प्रिय श्रीनिवास ! 

मेरै उमेरको युवाले देशमा यति धेरै उथलपुथल ल्याएको छ, प्रहरीका लाठी खाएर पनि कत्ति दुखेको छैन भनेर तिमीप्रति जुन गौरवबोध मलाई हुन्थ्यो त्यो आज पनि यथावत् छ । तर जोसमा होस नगुमाउनु थियो । गुमायौ। गोली लागेर मर्ने आँट समेत गर्यौ । यो लरतरो थिएन । तर तिमीले गलत बाटो अपनायौ। शरीर छेडिने गरी गोली नखाएरै पनि क्रान्ति हुन सक्थ्यो । विवेकलाई र धैर्यलाई नगुमाउनु थियो , गुमायौ। यो बाटोमा हिँड्नेहरूलाई तिम्रो यो पाइलाले मुश्किलमा पारेको छ।
तिम्रै मुखबाट यी कुरा सुन्न मन छ। के गोली चलाउन लगाउने तिमी नै थियौ?
‌©मनोज भण्डारीको फेसबुकबाट साभार

Saturday, May 5, 2018

May 05, 2018

डा. उपेन्द्र देवकोटालाई पत्रः विज्ञानभन्दा परको ज्ञानमा समर्पित गर्नुहोस्

श्रद्धेय डाक्टरसाहेब,
असीम श्रद्धा !
अचानक तपाईं उपचारको लागि बेलायत गएको खबरले हामी मर्माहत भएका थियौं । त्यो समयमा अनेक हल्ला चले । जस्तो, तपाईंलाई पित्तनलीको क्यान्सर भएको, पित्तथैलीको क्यान्सर भएको, प्यान्क्रियाजको क्यान्सर भएको, यहाँ उपचार सम्भब नभएकोले बेलायत गएको आदि… ।
त्यसको केहि समयपछि पारिवारिक स्रोतलाई उधृत गर्दै उहाँलाई क्यान्सर नभएको, सामान्य जाँचपछि आराम गरेको जस्ता खण्डन पढ्न पाइयो । चिकित्सा बिज्ञानको विद्यार्थीको नाताले मलाई त्यतिबेला लागेको थियो– तपाईंलाई पक्कै पनि नेपालमा उपचार सम्भब नभएको रोग लागेको छ र त्यो रोग प्राणघातक क्यान्सर नै हो । मैले बुझ्छु, हामी चिकित्सकलाई बिरामी छु भन्ने अधिकार छैन, हैसियत छैन । बिरामी छु भन्नेबितिकै हाम्रो पेशा, पेशागत संस्था, हामीले हेरिरहेका बिरामी, मेडिया तथा आम जनतामा हाम्रो हैसियत (?) उजागर हुन्छ ।

यति लामो समय बेलायतमा बस्दा मलाई लागेको थियो, तपाईं सर्जरी र केमो आदिको चक्रब्युहमा हुनहुन्छ र त्यो कर्कटलाई जितेर त्यो मिठो मुस्कान छर्दै विमानस्थलमा देश र जनतालाई अभिबादन गर्दै आउनुहुनेछ । तर, विधिको बिडम्बना, तपाईं अन्तिम सत्य बोल्न बाध्य हुनुभयो, हामी निरिह भएर सुन्न विवश भयौं ।
यो संसारमा लाखौं यस्ता रोगहरु छन् जसलाई चिकित्सा बिज्ञानले अहिलेसम्म पत्ता लगाएको छैन, लाखौं उपचारका स्रोत छन् जसलाई चिकित्सा विज्ञानले अहिलेसम्म पत्ता लगाउन सकेको छैन
डा. उपेन्द्र देवकोटा नेपालको मात्र नभएर एसियाकै, अझ भन्ने हो भने विश्वकै अमूल्य गहना हो, न्युरो सर्जरीमा कोशेढुंगा हो । उ डाक्टरमात्र हैन, समाजको गहिरो अन्वेषक पनि हो, राजनीतिको गहिराइमा डुबेको ह्वेल माछा पनि हो । उ स्पष्ट बक्ता हो, आफ्नो मर्जीको मालिक हो, स्वाभिमान र गर्वको शिखर पनि हो ।
शायद घमण्डी पनि हो । आजीवन राजनीति गर्नेहरु नपुगेको टाकुरामा पुगेको खेलाडी पनि हो । नेसनल ट्रमा सेन्टर, चिकित्सा बिज्ञान प्रतिष्ठानलगायत उपलब्धिको जननी पनि हो । उ ह्वेल माछो हो, त्यसैले कहिल्यै पनि कुवामा अटाएन, पोखरीमा अटाएन, नदीमा अटाएन अनि समुद्रमा पनि अटाएन । उ हामी सबैको अनुकरण एवम् इर्श्याको पात्र पनि हो ।
हामी सबै मृत्युको गन्तब्य बोकेर जन्मिएका हुन्छौं । हरेक पलपलमा मृत्युलाई जित्दै, नाघ्दै, अस्वीकार गर्दै, अटेर गर्दै.. हामीहरु उसैको गन्तब्यतिर दौडिरहेका हुन्छौं । जन्मेपछि मान्छेमात्र हैन हरेक प्राणी, बस्तु तथा सृष्टिको अन्त्य हुन्छ ।
जीवन निमेषमा चलेको हुन्छ भने मृत्यु असिमित आयु र अनन्त दायरामा बाँचेको हुन्छ । हाम्रो त के कुरा भयो र ? भगवान राम, कृष्ण, अल्लाह, येशु लगायत देवता समेत मृतुन्जयी बनेनन् ।
मृत्यु अनपेक्षित, चामत्कारिक एवम् सर्वाधिक पीडादायी हुन्छ । दुर्घटनामा परेर, हृदयाघात भएर, मस्तिष्कघात भएर वा अन्य प्राणघातक रोगबाट मृत्यु हुनपनि सक्थ्यो । त्यो भएको भए तपाईंलाई आफूले मृत्युवरण गर्दै गरेको वा गरेको थाहासमेत हुने थिएन ।
अहिले कमसेकम आफ्नो आयु थाहा छ, उपचार गर्न नपाएको गुनासो छैन, ब्यवहार मिलाउन नपाएको पारिवारिक पीडा छैन… । ठूलो कुरा त चमत्कारको आशा छ । यो संसारमा लाखौं यस्ता रोगहरु छन् जसलाई चिकित्सा बिज्ञानले अहिलेसम्म पत्ता लगाएको छैन, लाखौं उपचारका स्रोत छन् जसलाई चिकित्सा विज्ञानले अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।
आशा अझै बाँकी छ ! सम्भावनाको दियो निभेको छैन ।
श्रद्धेय डाक्टरसाहेब । आफूलाई म मर्दैछु भन्ने कहियै नसोंच्नुहोला । आफूले सम्पूर्ण जीवन छोंटो समयमै भोगेकोमा गर्व गर्नुहोला । तपाईं यस्तो उचाइमा पुगेको व्यक्ति हो जसको लागि ओर्लनुको विकल्प थिएन । तर तपाईंलाई विकल्पको स्वर्ण अवसर प्राप्त भयो । अनिच्छापूर्वक बिश्रामको बाध्यतामा पर्नु जस्तो ठूलो उपलब्धि केहि हुँदैन ।
यहाँ स्वयम् गहन अध्येता पनि हो तसर्थ मैले स्टेफेन हकिंगदेखि जगदीश घिमिरेको उदाहरण दिनु आवश्यक छैन । दुईवर्षे आयुको ग्रेस थपेर घर फर्किएका जगदीश घिमिरेले अन्तर्मनको यात्रा नलेखेको भए एक वर्ष पनि उनको लागि टाढाको कुरा हुन्थ्यो, आत्मबल र गन्तब्यको क्रेजले उनी ८ वर्ष सक्रिय जीवन बाँचे । त्यति मात्र हैन, जमराको रस तथा खुर्पानीको बिउ खाएर क्यान्सर जितेका धेरै व्यक्तिहरु हाम्रो समाजमा छन् । स्वमुत्रपानले समेत क्यान्सरलाई ढालेका मुक्केबाज पूर्वमन्त्री गणेश शाह लगायत व्यक्तिहरु हाम्रो समाजमा अझै सक्रिय छन् ।
तसर्थ एक रति पनि हार नखानुहोला । आफूले गरेको संघर्ष, देखेको संसार, भोगेका पल एवम् त्यो अदभुत क्षमताको रहस्यलाई जस्ताको तस्तै लेखेर हाम्रो अनि भविष्यको पुस्तामा तपाईं बाँचिरहनुहुनेछ । गन्तब्यको सीमा भएको लेखाइभन्दा ठूलो थेरापी अरु केहि हुँदैन ।
कुनै पनि कुरा विकल्पविहिन हुँदैन भने विकल्पको प्रयोग किन नगर्ने ? के थाहा ? पित्तथैलीको क्यान्सरलाई भालुको पित्तले पो निर्मुल गर्छ कि ?
तपाईं अस्पतालमा बसेर ‘कठै’को पात्र बन्नुहुँदैन । आफ्ना र अरुका आँशुको द्रष्टा तथा भोक्ता बन्नु हुँदैन । यो कार्यले आत्मबलको घोडालाई लगाम लगाउँछ । तपाईं आफ्नो जन्मस्थान जानुहोस्, एकपटक रारा ताल पुग्नुहोस्, सगरमाथाको बेसक्याम्प पुग्नुहोस् अनि यो स्वर्गको कुनै टुक्रामा बसेर आत्मकथा लेख्नुहोस् ।
आधुनिक बिज्ञानले दिएको एक्सपायर डेटलाई खारेज गरेर यस्ता साधकको भर पर्नुहोस् जसले संजीवनीबुटी, हिमाली जल, प्राणी उत्पादन आदिको प्रयोग गरेर कहिल्यै नमर्ने महर्षी बनाउन सकुन् । त्यो सम्भब छ । कुनै पनि कुरा विकल्पविहिन हुँदैन भने विकल्पको प्रयोग किन नगर्ने ? के थाहा ? पित्तथैलीको क्यान्सरलाई भालुको पित्तले पो निर्मुल गर्छ कि ?
प्रकृतिलाई बचाइरहेको हिमाली जडिबुटीले तपाईंलाई नबचाउनुको कुनै कारण छैन । तन्त्र, मन्त्र अनि देवालय दर्शनमा विश्वास गर्नुहोस् । योग र ध्यानले आफ्नो समाधि तय गर्ने ऋषि जन्मेको यो पवित्र भूमिमा उपचारको कुनै कमि छैन, कमि छ त हाम्रो विश्वासको । तसर्थ प्रयत्नले छोड्नुअघि हामीले प्रयत्नलाई छोड्नु हुँदैन ।
अहिले तपाईं साँच्चै सर्वहारा हुनुभएकोछ । जित्नलाई संसार छ, हार्नलाई केहि छैन । तपाईंको साथमा हामी करोडौं जनता छौं । हामीहरु तपाईंको दीर्घजीवनको लागि मुटुभित्र दीप बालेर प्रार्थना गरिरहेका छौं । डा. देवकोटा ! उठ्नुहोस्, हिँड्नुहोस् अनि बिज्ञानभन्दा पर रहेको ज्ञानमा आफूलाई समर्पित गर्नुहोस् ।
तपाईंलाई आफ्नो आयुको २० बर्ष दिन तयार प्रशंशक
रवीन्द्र समीर
लेखक र जनस्वास्थ्य बिज्ञ
(यो बिचार रवीन्द्र समीरको फेसबुकबाट लिइएको हो । सं.)

Tuesday, April 10, 2018

April 10, 2018

भेट्रान भौतिकशास्त्री

संसारमै कठिन विषय मानिएको छ, भौतिकशास्त्रलाई । त्यसैले नयाँ विद्यार्थी कक्षाकोठाबाट भाग्छन्, भागिरहन्छन् । तर, नेपालकै पहिलो भौतिक खगोलविद् उदयराज खनाल, ६१, लाई अमेरिका गएपछि मात्र थाहा भयो, भौतिकशास्त्र गाह्रो विषय हो । तब न अग्ला भौतिकशास्त्री !

अमेरिकीहरूलाई गणित पनि गाह्रो । भौतिकशास्त्र पनि गाह्रो । भौतिकशास्त्र पढ्न आएको नेपाली विद्यार्थीलाई सोधेछन्, ‘तिम्रो दिमागमा के छ ?’ त्यसको एक मात्र रहस्य थियो, पिता सरदार यदुनाथ खनालले गणित र विज्ञानमा बसालिदिएको जग ।
(This article is taken from Nepal for self motivation)
अमेरिकामा भौतिकशास्त्रको माग कति छ भने त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भौतिकशास्त्र विभागका १ सय २० विद्यार्थीमध्ये आधाजसो अमेरिकै पुग्छन् । भौतिकशास्त्र भनेकै अमेरिकी भिसा भन्ने मान्यता बसिसकेको छ त्रिविमा ।
“भौतिकशास्त्र पढ्ने सरदर ३०/४० विद्यार्थी पीएचडी गर्न अमेरिका जान्छन्, तिनले यहाँ सजिलै प्लस टू पढाउन पनि पाउँदैनन्,” यी अवकाशप्राप्त प्राध्यापकको अनुभव छ, “जुन शक्ति अमेरिकामा मालामाल छ, त्यही नेपालमा फालाफाल ।” 
अक्षर नचिन्दै भौतिकशास्त्रसँग साइनो गाँसेका रहेछन् उदयले । घरमा एक दिन पिताले बल्ब ल्याएर जोडेछन् । स्वीच थिचेपछि त्यो मधुरो बल्यो । कति मधुरो भने लेखपढका लागि सधैँ टुकी नै बाल्नुपथ्र्यो । आखिर स्वीच थिच्नेबित्तिकै कसरी बिजुलीबत्ती बल्छ ? उदयले पितालाई सोधे, ‘बिजुलीबत्तीका बारेमा केमा पढाउँछन् बुबा ?’ 
‘फिजिक्समा ।’
त्यस बेलादेखि ‘क्लिक’ भएको हो, भौतिकशास्त्र । भौतिक विज्ञानतर्फ आकर्षित हुनु र सफल हुनुको श्रेय पितालाई नै दिन्छन् उदय । खासमा पिताश्रीकै छत्रछायामा भौतिकशास्त्री बनेका हुन् । उनले थाहा पाउँदा नै त्रिचन्द्र कलेजमा अंग्रेजीका प्रोफेसर थिए यदुनाथ । जगजाहेर छ, उनका पिता १९९१ को एसएलसी बोर्ड फस्ट हुन् । 
मुलुकको शिक्षा, साहित्य र कूटनीतिमा एकछत्र योगदान गरेका यदुनाथले छोराछोरीलाई आफ्नै रुचिको क्षेत्रमा स्वतन्त्र छाडिदिए । “विद्यार्थी जीवनमा म बुबाजस्तो मिहिनेती अवश्य थिइनँ,” उदय तुलना गर्छन्, “मन परेका विषयमा राम्रो गरेँ, मन नपरेका विषयमा ध्यानै दिइनँ ।” 
काठमाडौँ, पकनाजोलमा दुई दिदीपछि जन्मेका उदयलाई अनपढ आमा कमलाले साँवाअक्षर चिनाइन् । कमलालाई भने उनका पिताले अक्षर चिनाएका रहेछन् । सेन्ट जेभियर्स स्कुल, जावलाखेलमा २ कक्षा पढेर भारतको नयाँदिल्ली गए उदय, राजदूत पितासँगै ।  
त्यहाँ कक्षा फड्किएर एकैचोटि ४ मा भर्ना भए । त्यतिबेला दिल्ली जान पाएको भन्दा पनि टोले साथी छुटेको दु:ख लागिरह्यो उनलाई । त्यहाँको सेन्ट कोलम्बिया स्कुलमा पाँच वर्ष बिताए । फर्किएर सेन्ट जेभियर्स कलेजबाट ओ लेबल गरे । 
लगत्तै पिता अमेरिकाका लागि राजदूत भए । फेरि प्रतिष्ठित शैक्षिक संस्थामै पढ्ने सुयोग मिल्यो उनलाई । फ्लोरिडा एटलान्टिक विश्वविद्यालयमा बीएस्सी र भारतको दिल्ली विश्वविद्यालयमा एमएस्सी, एमफिल र पीएचडी उपाधि लिए । अमेरिकामा अवसर थियो, भारतमा भाउ थियो । त्यहाँ बस्ने अनुमति पिताले पनि दिएनन्, उनले पनि रहर गरेनन् ।
पिता राजदूतको कार्यकाल सकी फिर्ता भएपछि चार वर्ष एक्लै अमेरिका बसे उदय । त्यहाँ उनले लामो कपाल पालेका थिए । अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनकहाँ जाने कार्यक्रममा पिताले अह्राए, ‘कपाल काट्, सुट लगा ।’ उनले पितालाई उल्टै सर्त तेस्र्याए, ‘कि सुट लगाउँछु कि कपाल काट्छु ।’ पिताले छुट दिएछन्, कपाल नकाट्ने तर सुट लगाउने सर्तमा । निक्सन कति अलोकप्रिय भने त्यसपछि कतिपय साथीले उदयसँग हातै मिलाएनन् ।  
ब्ल्याक होलका विषयमा पीएचडी गरेका उदयको अनुसन्धान लेख छापियो, विश्वकै नामी जर्नल इन्टरनेसनल जर्नल अफ मोडर्न फिजिक्समा । सन् १९८९ को त्यो लेख महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनको सामान्य सापेक्षतावादको सिद्धान्तलाई नै चुनौती साबित भयो ।
प्रकाशको गतिभन्दा छिटो केही हुन सक्दैन भन्ने आइन्स्टाइनको सय वर्ष पुरानो प्रक्षेपण थियो भने उदयको सैद्धान्तिक पुष्टिसहितको नतिजा– सुचालक माध्यम भयो भने विद्युतीय तरंगहरू प्रकाशभन्दा छिटो जान सक्छन् । भौतिक विज्ञानको क्षेत्रमै हलचल ल्याउन सफल त्यो सैद्धान्तिक अनुसन्धानविरुद्ध तत्कालीन नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (रोनास्ट, हाल: नास्ट)का पदाधिकारीले प्रेस वक्तव्य नै निकाले, होहल्लाका पछि नलाग भनेर ।  
दुर्भाग्य के भने त्यो सिद्धान्तलाई स्रोतसाधनको अभावमा अहिलेसम्म प्रयोगबाट प्रमाणित गर्न सकिएको छैन । यद्यपि, अन्य वैज्ञानिक अनुसन्धानले पनि त्यस्तै नतिजा देखाएका छन् । “यस्ता अनुसन्धानका लागि ठूलठूला प्रयोगशाला चाहिन्छन्, त्यो हाम्रा लागि अझै कल्पनाबाहिर छ,” उदय भन्छन्, “त्यसैले एक नेपालीको अनुसन्धानलाई कतिपयले महत्त्व दिएनन्, सजिलै स्वीकार्न पनि चाहेनन् ।”
पिताजस्तै सरल, अल्पभाषी तर हक्की छन् उदय । सन् १९८९ मा भौतिक विज्ञानमा पुर्‍याएको योगदानबापत युवा वैज्ञानिक पुरस्कार पाएपछि उनले सरकारी टेलिभिजनमै अन्तर्वार्ता दिए, विज्ञानका लागि अरू संस्था थप्नेभन्दा पनि त्रिभुवन विश्वविद्यालयलाई नै स्रोतसाधनसम्पन्न बनाउनुपर्ने आशयमा । त्यसपछि तत्कालीन रोनास्टका पदाधिकारीले त्यसविरुद्ध खेद प्रस्ताव ल्याए । त्यो सम्झेर उनले पछि नास्टको प्राज्ञ बन्ने प्रस्ताव नै अस्वीकार गरिदिए । उनलाई के थाहा थियो भने त्यहाँ गएँ भने अहिले गरिरहेको जति काम पनि गर्न सकिँदैन ।
“हामीकहाँ विभाग, एकाइहरू टुक्र्याएर, धेरै साइनबोर्ड झुन्ड्याएर विज्ञानमा के के न काम गर्न खोजेजस्तो देखाउने चलन छ,” उदयको अनुभव बोल्छ, “मैले भन्दा मान्छेहरू रिसाउने गर्छन्, फेरि पनि रिसाउलान् । अन्य सबै क्षेत्रमा जस्तै नेपालको विज्ञानले पनि सक्षम नेतृत्व पाउन सकेको छैन ।”
विज्ञान प्रविधि क्षेत्रमा क्रियाशील वैज्ञानिक (वर्किङ साइन्टिस्ट)कै नेतृत्व चाहेका छन् उनले । उनको बुझाइमा हात मैलो होला भनेर डराउने मानिस वैज्ञानिक हुन सक्दैन । उसको तनमन प्रयोगशालाभित्रै जरुरी हुन्छ । टेबल कुरेर, फाइलमा घोरिएर अरूलाई काम गराउन सकिँदैन । “मैले सातै प्रदेशमा नास्टको शाखा खोल्ने सुनेको छु । त्यही टुक्र्याउने सोचले साधनस्रोत पातलिन्छ, जागिर दिने र तलब खुवाउने काम मात्र हुन्छ,” उनको विमति छ, “हाम्रा नेताहरू खान पुगेको छैन, फिजिक्सलाई कहाँबाट पैसा ल्याउने बाहेक केही भन्दैनन् ।”
छिमेकी मुलुक चीनले भर्खरै विश्वकै ठूलो रेडियो टेलिस्कोप सञ्चालनमा ल्याएको छ । युरोपको सहयोगमा भारतमा खोलिएका प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाएका छन् । यस्तो स्थितिमा उदय घरीघरी सन् १९७९ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार विजेता अब्दुस सलामलाई सम्झन्छन् । किन सम्झन्छन् भने सलाम भौतिकशास्त्रलाई ‘साइन्स अफ वेल्थ’ भन्छन् । भौतिकविज्ञानसित नजोडिई धनी भइँदैन भन्छन् । 
ती महान् वैज्ञानिकले नेपाल आएर सूचना प्रविधिले मात्र विकास हुन्छ, धनी हुन्छ भन्ने सपना देखाइदिएका थिए सन् १९८९ मै । र, सूचना विज्ञान, पदार्थ विज्ञान जैविक प्रविधि (बायो टेक्नोलोजी) को अनुसन्धानका लागि नेपालमै हाई टेक्नोलोजी सेन्टर खोलिदिने प्रस्ताव पनि राखेका थिए । जतिबेला न बैङ्लोर आइटी सिटी या ‘सिलिकन भ्याली अफ इन्डिया’ बनेको थियो, न त हैदरावाद नै ‘साइबरावाद’ भएको थियो । 
नेपालको गरिबीबाट दु:खी भएका ती पाकिस्तानी भौतिकशास्त्रीले राजा वीरेन्द्रतिर औँला देखाउँदै पटकपटक भनेका रहेछन्, यति नगरी देशको विकास हुँदैन । राजाले त्यसमा रुचि पनि देखाए । शिक्षामन्त्री परशुनारायण चौधरीलाई सलामसित भेट्न पनि पठाए । शिक्षा मन्त्रालयले त्यसको प्रतिवेदन बुझाउने जिम्मा रोनास्टलाई दियो । तर, विदेशीको हालीमुहाली हुन्छ भनेर रोनास्टका ‘ठूला’ वैज्ञानिकहरू त्यसमा सकारात्मक हुन सकेनन् ।  
“सरकारले त्यतिबेला जग्गामात्र छुट्याइदिए पुग्थ्यो, अरू व्यवस्था उनैले गरिदिन्थे,” उदय थकथक मान्छन्, “बनेपामा दशकौँपछि सूचना प्रविधि पार्क त बन्यो तर बन्यो भूतबंगला । कम्तीमा अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र बनेको भए लाहुर लखेटिएका सबै नभए पनि थुप्रै भौतिकशास्त्री फर्कने वातावरण बन्थ्यो ।” 
केही समयपछि तिनै सलाम निर्देशक रहेको इटालीस्थित इन्टरनेसनल सेन्टर फर थ्यौरिटिकल फिजिक्स गएका थिए उदय । त्यहाँ सलामले पहिलो प्रश्न गरेछन्, ‘नेपालमा हामीले गर्न खोजेको काम के भइरहेको छ ?’ समिति मात्र बनेको बताइदिए उनले । सलामले मलिन मुद्रामा भनेछन्, ‘ल, अब छोडिदिनोस् । त्यो काम हुँदैन, नगर्ने नै भए ।’ 
जुन मुलुकले विज्ञान र प्रविधिको उपयोग गर्न सक्यो, उही सक्षम, समृद्ध र शक्तिशाली भएको छ विश्वमा । “वेदको पहिलो मन्त्र नै अग्निपूजासम्बन्धी छ,” उदय भन्छन्, “आगोलाई नियन्त्रण गर । चाहिएका बेला बाल, ऊर्जा निकाल ।”   
एमएस्सीपछि १० महिना सिद्धनाथ क्याम्पस, महेन्द्रनगरमा पढाएका उदय सन् १९८२ मा पीएचडी सकेर त्रिविको केन्द्रीय भौतिकशास्त्र विभाग प्रवेश गरे । त्यो ३४ वर्षे अध्यापन यात्राले गत भदौमा औपचारिक विश्राम लिएको छ । 
उदयको पालामा नागरिकतामा जन्ममिति लेख्ने चलन थिएन । नागरिकतामा वर्ष मात्र लेखिएका कारण उनलाई विश्वविद्यालयले उमेरै नपुगी अवकाश दियो । अनुसन्धानमा कति एकसुरे भए भने अवकाशको मिति पनि हेक्का गरेनन् । कतै केही गुनासो पनि गरेनन् ।  
कहिल्यै कसैको बन्धनमा रहेनन् । समयलाई आफ्नै अनुकूल चलाए । बाबुजस्तो कूटनीति, प्रशासनतिर रहरै गरेनन् । बरू विश्वविद्यालयको रुटिन झेलेर अध्ययन, अनुसन्धान अघि बढाए । डेढ दर्जन अनुसन्धान लेख विभिन्न जर्नलमा छपाए । “हिसाबको ठाउँ खाली राखेर रिसर्च पेपर टाइप गर्थें । प्रिन्ट गरेपछि हातले लेखेर हुलाकबाट पठाउँथेँ,” ती दिन सम्झन्छन्, “महिनौँपछि रिसर्च पेपर पाएको खबर आउँथ्यो, अझ महिनौँपछि छापिएको खबर ।”
नयाँ पुस्ताको विज्ञानमोह उनलाई थाहा छ । तिनका वैज्ञानिक जिज्ञासा टेलिभिजन कार्यक्रम ‘आजको विज्ञान’मा शान्त गरिदिन्छन् । “देशभित्र सहुलियतमा पढेर निस्कनेहरूको कर्तव्य आफैँले रोजगारी सिर्जना गर्नु हो,” युवालाई उनको आह्वान छ, “परजीवी बन्नु होइन उद्योगी र उद्यमशील हुनु हो ।”
अधिकांश समय प्रयोगशालामै बित्छ उनको । विज्ञानलाई विकासको एक मात्र बाटो मान्ने यी भौतिकशास्त्री मुलुकमा अविज्ञान छताछुल्ल भएको देख्छन् । “विज्ञान भनेको ट्रायल एन्ड इररकै प्रक्रिया हो,” 
उनको धारणा छ, “गल्तीबाट सिक्नु विज्ञान हो, त्यस्तै गल्ती बारम्बार गर्नु अविज्ञान ।” निश्चय पनि उदयका आइडल या मानक आइन्सटाइन नै हुन् । सामान्य सापेक्षतावाद उनकै सिद्धान्त हो । क्वान्टम सिद्धान्तमा पनि उनकै योगदान छ । उनी अब यी दुवै सिद्धान्तलाई एउटै बनाउने चुनौती देख्छन् । 
भौतिकशास्त्र आफैँमा दर्शनशास्त्र हो । त्यसैले दर्शनमा उनको रुचि छ । पिताले विज्ञान र साहित्यमा समानान्तर चासो हालिदिएजस्तो लाग्छ उनलाई । “राजा महेन्द्रको गीत संग्रह उसैका लागि रानी रत्नका लागि हो भन्ने धेरैको धारणा थियो,” लेखनशैलीका धनी उदय स्मरण गर्छन्, “तर, बुबाले राजदूतै रहेका बेला लेखिदिनुभयो, ‘ फर हिम अलोन ।’ राजाका लागि केको रानी ? आफूबाहेक कोही पनि छैन ।” 
पीएचडीपछि अर्थात् २८ आसपास घरजमको फुर्सद निकाले उदयले । त्यो पनि विश्वकै टप जर्नल फिजिकल रिभ्युले रिसर्च पेपर तुरुन्तै छापिने स्वीकृति पठाएको खुसीयालीमा । मैतीदेवीकी सरिता अर्याल उनकी धर्मपत्नी हुन् । छोरा अंशुल अमेरिकामा बायोमेडिकल र छोरी श्रेया जर्मनीमा न्युरो साइन्समा पीएचडी गर्दैछन् । उनीहरूको पनि पीएचडीपछि नै घरजम हुने छाँटकाँट छ ।  
त्रिविको अवकाशपछि रातो बंगला स्कुलमा क्लास लिने यी भौतिकशास्त्री निजी कार छाडेर प्राय: सिटी बसमा उभिएका, कोचिएका या टेम्पोमै झुन्डिएका भेटिन्छन् । पैदल हिँड्न अझ आनन्द लाग्छ उनलाई । युरोपेली, अमेरिकी प्राध्यापकहरू पनि यसै गरी हिँडेको देखेका छन् उनले । कसैले चिन्ला भनेर मास्कसास्क लगाउने टन्टा गर्दैनन् पनि । पिताकै सरल र अति सामान्य जीवनशैली पछ्याइरहेका छन् ।
बानेश्वर हाइटस्थित घरमा पिताको कूटनीतिक यात्रा झल्काउने केही सामग्री जतनले राखेका छन् । बैठक कोठामा भारत, चीन र अमेरिकाका राजदूत सम्हालेका पिताको पोर्टे्रट पनि छ । नैनीताल भ्रमणका बेला कोरिएको त्यसको पुछारमा तत्कालीन युवराज वीरेन्द्रको हस्ताक्षर छ । आफूलाई फोटोजेनिक मान्दैनन् उदय । कहिलेकाहीँ तस्बिर खिच्ने मौका पर्दा श्रीमतीको कति उज्यालो तस्बिर आउँछ, उनको कि झोक्राएजस्तो कि त रिसाएजस्तो । 
सबैभन्दा ठूलो कुरा अमेरिका पढेर नेपालमा विज्ञान गर्न आए उदय । “अमेरिकामै बसेको भए मेरा अध्ययन–अनुसन्धानको प्रचारप्रसार दसौँ गुना बढी हुन्थ्यो होला,” उनको आत्मसमीक्षा छ, “तर, मैले इच्छा हुने हो भने जहाँ बसेर पनि विज्ञानसम्बन्धी काम गर्न सकिन्छ भन्ने देखाएँ सायद ।” 
प्रकाशित: मंसिर ६, २०७३ (राजकुमार बानियाँ)

Friday, April 6, 2018

April 06, 2018

कृष्ण र राधाको एकतर्फी र अपूरो प्रेम

एकतर्फी प्रेम त्यो हो, जसमा एउटाले माया गर्छ तर अर्कोले त्यो प्रेम अस्वीकार गर्छ । मलाई पनि पहिले त्यस्तै लाग्थ्यो । आजभोलि बुझ्दैछु, एकतर्फी प्रेममा अर्कोले पनि माया त गरेकै हुन्छ तर अर्काको मायाको गहिराइ कति छ बुझेको हुँदैन । प्रेम गर्नेले बुझाउन सक्दैन । जब बुझ्छ, समय बितिसकेको हुन्छ । सम्भवत: त्यही कारणले उनीहरूको प्रेम सफल हुँदैन ।
यसलाई एउटा सानो कथाबाट बुझाउने प्रयास गर्दैछु ।
प्रसङ्ग राधा-कृष्णको हो ।
…….जब कृष्ण गाई चराउन जंगलमा जान्थे, उनी एक सुरमा बाँसुरी बजाउँथे । बाँसुरीको प्रगाढ धुन जंगलको घनत्व चिर्दै राधाको घरसम्म पुग्थ्यो । जब उक्त धुन राधाको कानमा पुग्थ्यो, उनी अचेतझैंं बाँसुरीको धुनमा लठ्ठिदै जंगलमा पुग्थिन् । कृष्णको नजिकै पुगेर आँखा चिम्म गरेर धुन सुनिबस्थिन् । धुनसँगै राधाको आँखाबाट आँसु पनि बग्न थाल्थ्यो । यो क्रम कहिलेकाहीँ घन्टौंसम्म चलिरहन्थ्यो ।

एक दिन कृष्णले राधासँग सोधे, ‘राधे, तिमी किन यसरी बेला-कुवेला यहाँ आउँछौ ? तिम्रो घरमा कति काम हुन्छ, सधैं यसरी आउनु राम्रो पनि होइन ।’
‘तिम्रो धुन सुनेपछि म अरू केही गर्नै सक्दिनँ । तानिँदै तिमी नजिक आइपुग्छु ।’ राधाले भनिन्, म तिम्रो धुनमा कसरी बाँधिन्छु, मलाई नै थाहा हुँदैन ।’
‘त्यस्तो के छ र मेरो बाँसुरीको धुनमा ?’
‘काले, तिमी यो प्रेम र यसको विरह कहिल्यै बुझ्न सक्दैनौ ।’ राधाले भनिन्, ‘त्यसका लागि तिमी नै राधा हुनुपर्छ ।’
‘अन्यथा नलेऊ राधे… ।’ कृष्णले हाँस्दै भने, ‘तिम्रो यो अवस्था देखेर मलाई रमाइलो पो लाग्छ । म तिम्रो यो भाषा बुझ्न असमर्थ छु ।’
‘हाँस र रमाइलो पनि मान ।’ राधाले रुँदै भनिन्, ‘कुनै दिन तिमीले पनि मैले जस्तै कसैलाई प्रेम गर्नेछौ अनि मात्र मेरो पीडा महसुस गर्नेछौ ।’
त्यसपछिको कथा त धेरैलाई थाहा छ । यो संवादको केही समयपछि कृष्णले बृन्दाबन छाडे । यसरी छाडे कि फेरी कहिल्यै फर्केर आएनन् । राधाले जीवनभर कृष्णलाई प्रेम गरिन् । कतिसम्म प्रेम गरिन् भने उनी जुन बाटोबाट गोकुल (राजधानी) गएका थिए त्यो बाटोमा उनले टेकेको एउटा पाइलामा उनले सधैं पूजा गरिरहिन् ।
एक दिन जब कृष्णले रुक्मिणीलाई भेटे, एक नजरमा कृष्णलाई प्रेम भयो, तर राधाले जुन प्रेम-प्यास उत्पन्न गराइदिएकी थिइन्, त्यो मेटिएन । जति-जति समय बित्दै गयो, कृष्णले विवाह गर्दै गए । जाम्बवती, सत्यभामा, कालिन्दी, मित्रवृन्दा नाग्नजीति, सत्या, भद्राजस्ता अनेक नारी उनको जीवनमा आए तर उनको प्रेमप्यास तृप्त भएन । कतिसम्म भने उनले १६ हजार १ सय रुपसीसँग प्रेम गरेको प्रसङ्ग कृष्ण कथाहरूमा पाइन्छ । यति गर्दा पनि कृष्णले राधाको जस्तो भावपूर्ण प्रेम कहिल्यै महसुस गर्न पाएनन् । जीवनको अन्तिम क्षणमा धेरै पटरानीमध्ये कसैले कृष्णसँग सोधेकी थिइन्, ‘तपाईं आफ्ना रानीमध्ये कसलाई बढी माया गर्नुहुन्छ ?’ कृष्णले एकक्षण पनि नसोची उत्तर दिए- राधा । जवकी राधाले कहिल्यै कृष्णकी रानी हुने सौभाग्य पाइनन् ।
"राधे, यो पारिलो मौसममा तिम्रो प्रेम कस्तो थियो होला भनेर कल्पना गरिरहेको छु । तिम्रो प्रेमपीडा महसुस गरिरहेको छु ।  . . . . . . ."

Wednesday, April 4, 2018

April 04, 2018

जनप्रतिनिधिका आकांक्षीहरु ! ठूला सपना होइन न्युनतम आवस्यकता पूरा गरेर बसाइसराइ रोक

-चक्र भण्डारी ३ असार २०७४, शनिबार गुल्मिन्युज डट कम” मा प्रकाशित

राष्ट्रिय सहमति जुटाएर दोश्रो चरणमा गर्ने भन्दै सरकारले जेठ ३१ गतेका लागि तोकेको ५ नम्बर प्रदेशसहित १, २ र ७ नम्बर प्रदेशको स्थानीय निकायको चुनावको मिति “असार १४” अझै पनि अन्योलमै छ । सरकारले मधेस केन्द्रित दललाई अझै मनाउन नसकिरहेको भएतापनि यस क्षेत्रको चुनावी सरगर्मी भने निकै बढेको छ ।
तस्बिर: रेसुङ्गाबाट हेर्दा तमघास
चुनावले हाम्रो जिल्ला गुल्मी पनि तातेको छ, माहोल रमाइलो बन्दै छ । जनमतलाई आफ्नो पक्षमा पार्न दलहरुका स्थानीय नेताकार्यकर्ताहरुले बलबुताले भ्याएसम्मको प्रयास गरिरहेका छन् । स्थानीय निकायमा आफ्नो पार्टीको उपस्थितिलाई बलियो बनाउन जिल्लाका केन्द्रियस्तरका नेताहरु पनि अहिले लागिपरिरहेका छन् । दलका नेताकार्यकर्ताहरुले जनताको ध्यान खिच्न राष्ट्रिय मुद्दासंग आफूलाई जोड्ने पनि गरेका छन् । कतिपय दलले ‘आफ्नो पार्टीको सरकारको पालोमा संबिधान जारि भएको’ भन्दै आफूलाई भोट गर्न भनेका छन् त कोहि दलले आफूलाई ‘वृद्दभत्ता सुरु गर्ने दल’ भनेका छन् भने कोहि ‘लोडसेडिङ अन्त्यको जस’ आफूलाई दिँदै भोट मागिरहेका छन् ।
राष्ट्रिय राजनीतिमा कुन पार्टीले के गरे, कुन पार्टीको मुद्दा कस्तो भन्नुले स्थानीय निकायमा कमै फरक पार्छ । कम फरक यस अर्थमा पार्छ कि स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिको अधिकार क्षेत्र स्थानीय तह मात्र हो । त्यसैले हरेक मतदाताले दलहरु भन्दा पनि स्थानीय उमेदवारलाई उनीहरुले उठाएका मुद्दा हेरेर अत्यन्त विवेकी भएर आफ्नो मतको प्रयोग गर्नुपर्छ । हाम्रो जस्तो अशिक्षित समाजमा अझैपनि ‘दलहरुका चुनाव चिन्हका गुणका आधारमा’ भोट दिइन्छ अर्थात त्यसरी नै भोट गर्न अशिक्षित दिमागमा मनोवैज्ञानिक प्रभाव पारिन्छ ।
एमालेलाई भोट किन दिने भन्दा ‘सुर्यले उज्यालो दिन्छ त्यसैले’ वा कांग्रेसलाई भोट दिने भनेको ‘रुखले सितल दिने भएर’ …..। सुर्यको उज्यालो र रुखको सितलतासंग उक्त पार्टीले उठाएको उमेद्वारको कुनै सम्बन्ध छ र? तर पनि एक खालको मनोवैज्ञानिक प्रभाव हाम्रा अशिक्षित आमाबुवाको दिमागमा परेको छ । उनीहरु त्यसैका आधारमा मताधिकारको नाममा आफ्नो मतको दुरुपयोग गरिरहेका छन् । प्रत्येक चुनावमा त्यहि मनोविज्ञानका आधारमा नयाँनयाँ अनुहारलाई जिताएका छन् । त्यसैले शिक्षित जमातले पार्टीभन्दा माथि उठेर आफ्नो परिवार र समाजमा राम्रा उमेदवारको पक्षमा जनमत बनाउन मद्दत गरेमा आफ्नो स्थानीय तहको भविष्य उज्यालो हुनेमा दुइमत छैन । त्यस्तै अहिलेको ठूलो र झन्झटिलो मतपत्रमा छाप लगाउने तरिका अर्थात मतदाता शिक्षामा सहयोग गरेमा कम मतपत्र बदर हुनेछन् र सहि उमेदवारको छनोटमा सहयोग पुग्नेछ ।
लामो समयसम्म स्थानीय निकायको निर्वाचन हुन नसक्दा विकासले गति लिन नसकिरहेको अवस्थामा अब निर्वाचित हुने जनप्रतिनिधिबाट जनताको ठूलो अपेक्षा हुनु स्वाभाविक नै हो । स्थानीय उमेदवारले पनि त्यहि अनुरुप आफ्ना घोषणापत्रहरु तयार पनि पारेका छन् । तर कार्यान्वायनका आधार बिनाका सपनामात्रको कुनै अर्थ रहदैन । कतिपय उमेद्वारले आफ्नो क्षेत्राधिकारको ख्याल नगरि आफ्नो अधिकारभन्दा माथिका काम पनि गर्ने भन्दै प्रचारप्रसार गरिरहेका छन् ।
चुनावकै अवसरमा केहि ‘टुरिस्ट नेताहरु’ पार्टीको टिकट बोकेर गाउँ पसेका छन् । ती अवसरबादी नेताहरु जसरी आउँछन त्यसरी नै हराउने गरेको विगतमा पनि देखिएको छ । त्यसैले उमेद्वार छनोटको पहिलो चरण, ‘उमेद्वार स्थानीय तहमा कत्तिको भिजेका छन् अर्थात विगतमा ती उमेद्वारले हाम्रो गाउँसमाजलाई केके योगदान पुर्याएका छन्’ भन्ने जान्नु हो । पहिलेको जस्तो पार्टीको चुनाव चिन्ह मात्र हेरेर भोट दिने अवस्था अहिले छैन, त्यसैले ठुल्ठुला सपना मात्र देखाउनु भन्दा हाम्रो स्थानीय माग र आवस्यकतालाई बुझ्न सकेमा उमेद्वारलाई पनि राम्रो हुनेछ ।
गुल्मी आफैमा त्यति अविकसित जिल्ला पनि होइन । तर दिन प्रतिदिन पहाडबाट तराइ सर्नेको जनलहरले गुल्मीका ग्रामिण बस्तीहरु रित्तिने क्रम जारि छ । त्यसैले पहाडबाट तराइ सर्नेको जनलहर रोक्न स्थानीय निकायका प्रतिनिधिले प्रयास गर्न सक्नुपर्छ । प्रत्येक गाउपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा, स्वरोजगारका बाटाहरु, उच्च शिक्षा र प्राबिधिक शिक्षासहितका क्याम्पसहरु, सडक सुलभतामा वृद्धि, लगभग शुन्य जस्तै रहेको पर्यटनलाई बिशेस जोड दिएर पर्यटन व्यवसायलाई उकास्ने जस्ता केहि न्युनतम आवस्यकताहरु पूरा गर्न सकेमा बसाइसराइको दरलाई कम गर्न सकिन्थ्यो ।
प्रत्येक क्षेत्रमा बिशेसज्ञ सेवा सहितको कम्तिमा एउटा अस्पताल, प्रत्येक गाउँगाउँमा मोटरबाटो पुर्याउने, खनिसकेका सडकहरुको स्तरोन्नति र कालोपत्रे गर्ने प्रक्रिया अघि बढाउने, अन्तीम स्टेसनका रुपमा रहेका गुल्मीका मुख्य सडकहरुलाई अन्य जिल्लाहरुसम्म जोड्ने, जिल्लाको निर्माणाधीन रेसुङ्गा विमानस्थलको निर्माणलाई छिटो सक्ने र विमानस्थल जोड्ने सडकसंजाल बढाउने, प्रत्येक गाउँमा स्वच्छ खानेपानी र सिंचाईको सुबिधा पुराउने, देशकै कफी खेतिको उद्गमस्थल स्थल भएकैले कफी खेतिलाई बिस्तार गर्दै ‘इलामको चियाबारी जस्तै’ गुल्मीमा पनि ‘कफीबारी’ को रुपमा पर्यटनको विस्तार गर्ने, गुल्मीको अर्गानिक कफीको ‘ब्राण्डिङ’ गरि देश विदेशमा हाम्रो कफीको निर्यातलाई बढाउने, कालिगण्डकी र बडीगाड नदीमा जलपर्यटनको रुपमा विकास गर्ने, कालिगण्डकी करिडोरको निर्माण सम्पन्न भएपछी यसले धेरै सम्भावनाका ढोकाहरु खोल्ने हुँदा यसलाई जोड्ने सडकसंजाल बढाउने, नेपालको चारधाम मध्येको एक रुरु क्षेत्रलाई प्रचारप्रसार गरि अझै व्यवस्थित बनाएर पर्यटन गतिविधि बढाउने, रुरु क्षेत्रमा आउने पर्यटकलाई एउटै प्याकेजमा रुद्राबेनी धाम, रेसुङ्गा, विचित्र गुफा, सालिमे दह, दिब्रुङ, गुल्मी दरबारलगायतका ठाउँहरु घुम्न जाने व्यवस्था मिलाउने, अन्य सम्भावित पर्यटकीयस्थलहरुको विकास र प्रचारप्रसार गर्ने ।
रेसुङ्गा, सालिमेदह लगायत क्षेत्रलाई ट्रेकिंङ रुटको रुपमा विकास गर्ने, र भौतिक संरचनाहरु निर्माण गर्ने । गुल्मीका हरेक सानाठूला नदि तथा खोलाहरुबाट लघु जलविद्युत निकालेर जिल्लालाई विद्युतमा आत्मनिर्भर बनाउने । नयाँ बस्दै गरेका बजारलाई व्यवस्थित गरि एकीकृत बस्तीको रुपमा विकास गर्ने लगायत काम गर्न सकेमा जिल्लाको अवस्था माथि पुग्नेछ । सरकारी क्षेत्रमा सबैभन्दा धेरै नाम निकाल्न सफल जिल्लाको उपमा पाएको हाम्रो गुल्मीले सबैभन्दा धेरै स्वरोजगारका अवसर सृजना गर्ने जिल्लाको रुपमा पनि नाम राख्ने बनाउन नयाँ जनप्रतिनिधि सफल हुन सक्नुपर्छ ।
सत्यवती गाउँपालिका, गुल्मी । 
April 04, 2018

यसकारण प्रदेश पाँचको राजधानी दाङ नै उपयुक्त

चक्र भण्डारी (सत्यवती ६ गुल्मी) | गुल्मीन्युज डट कम मा प्रकाशित
देशमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भर्खरै सकिएर सरकारले प्रदेश प्रमुख तोक्ने तयारीमा रहेको छ । राष्ट्रिय सभा गठन अध्यादेश राष्ट्रपतिकोमा अड्केको अवस्था छ । सरकार पक्ष र प्रतिपक्षीहरु एकापसमा आरोप प्रत्यारोप गरिरहेको प्रसंग एकातिर छ भने भर्खरै सकिएको चुनावमा गठवन्धन बनाएर संगै लडेका माओबादी केन्द्र र एमालेले पार्टी एकीकरण गर्ने कुराले देशका मिडियाहरुमा प्रमुख स्थान पाएका छन् । केन्द्रमा चलिरहेको यो जुहारीसंगै प्रदेशहरुमा पनि प्रदेशकेन्द्र कहाँ तोक्ने भन्ने विषयले प्रमुख स्थान पाएको अवस्था छ । प्रदेश राजधानी तोक्ने अधिकार प्रदेशसभालाई छ । कतिपय जनप्रतिनिधी यस विषयमा खुलेर आफ्नो धारणा वा दावी प्रस्तुत गरेका छन् भने कोहि अहिलेसम्म पनि मौन छन् । नेताहरुले जेजस्तो कुराहरु गरेपनि अधिकांस प्रदेशवासीहरुले आफ्नो निजि धारणा भने बनाइसकेको बुझ्न सकिन्छ । कतिपयले आफ्नो मात्र पायक हेरेर यहाँ भैदिए हुन्थ्यो भन्दै छन् भने कतिपयले समग्र प्रदेशको केन्द्र र सबैलाई पायक पर्ने ठाउँ हुनुपर्ने बिचार राख्दछन । लोकतन्त्रको सबैभन्दा राम्रो पक्ष नै यहीं हो, सबैलाई फरक मत राख्ने छुट छ ।
प्रदेश ५ को नक्सा र जसअन्तर्गत पर्ने जिल्लाहरु
“प्रदेश पाँचको राजधानी दाङ कि बुटवल ?” भन्ने प्रश्नमा अधिकांश गुल्मेलीको जवाफ “बुटवल” आउँछ । यसका दुइटा कारण हुन्, गुल्मी बुटवलसंग सिधा सडकसंजालले जोडिनु र धेरैजसो गुल्मेलीहरुको जग्गा जमिन रुपन्देहीमा हुनु । अब एकैछिन यी दुइटै कुरालाई बिर्सेर यहीं पाँच नम्बरको कुनै कुनाको बासिन्दा बनेर प्रश्न गरौँ “दाङ के कारणले प्रदेश राजधानी बन्न अनुपयुक्त छ?” यो प्रश्नको जवाफ दिनुभन्दा पहिले राजनीतिक वृत्तमा देश कै राजधानी दाङलाई बनाउनुपर्छ भन्ने सम्मको चर्चा/परिचर्चा भएको यथार्थलाई पनि संगसंगै सम्झिऔं । तपाई हामी सबैलाई थाहा छ, दाङ एसिया कै सबैभन्दा ठूलो उपत्यका मानिन्छ । यो भन्दै गर्दा “ठूलोले के अर्थ राख्छ ?” भन्ने प्रश्न आउला । प्रदेश राजधानी बनेसंगै अब छिट्टै त्यहि किसिमका संरचनाहरु बन्नेवाला छन् । संघीयतालाई सजिलो भाषामा सम्झिनुस, परिवारका भाइ-भाइ छुट्टिए, अब प्रत्येक भाइका लागि छुट्टै घर, छुट्टै चुलो बन्नेवाला छ । प्रदेश सरकार र मातहतका कार्यालय र विभागहरु, त्यस्तै प्रदेश संसदका लागि आवश्यक संरचना बन्नको लागि त्यहि “ठूलो” ले ठूलै महत्व राख्छ ।

चर्चा किन दाङ र बुटवलको मात्र ?

कतिपयको प्रश्न छ, किन प्रदेश राजधानीको चर्चा बुटवल र दाङ मात्र भयो? पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, भैरहवा वा कपिलबस्तुको किन बढी चर्चा भएन ? पाँच नम्बर प्रदेशको तराई तुलनात्मक रुपमा पहाडभन्दा विकसित छ । तराईका जिल्लालाई सबै पहाडी जिल्लाले सिधा सडक संजालले जोडेको छ तर पहाडी जिल्लाहरु बीच सबैमा एकापसमा सडकले जोडिएको छैन वा भनौं जोडिएको भएपनि सहज आवतजावत छैन । हुनुपर्ने त यस्तै कम विकास भएका जिल्लालाई प्रदेश केन्द्र तोकेर माथी उठाउनुपर्ने हो तर त्यसका लागि ठूलै बजेट भौतिक निर्माणमा खर्चनुपर्ने हुनसक्छ । तत्कालका लागि त्यो असम्भव जस्तै छ । अब रह्यो भैरहवा र कपिलबस्तुको कुरा, भैरहवा भौगोलिक रुपमा पाँच नम्बर प्रदेशको केन्द्र भागमा पर्दैन । बरु कपिलबस्तु भौगोलिक रुपमा प्रदेश राजधानीको दाबेदार हुनसक्छ तर यसको चर्चा अलि कम भएकोले बढी चर्चा भएका “बुटवल र दाङ” को कुरा गरौँ ।
दाङ, रुपन्देही भन्दा कम विकसित छ भन्नेहरुले सम्झनुस, दाङ ती “तीन जिल्ला” भित्र पर्छ, जसका २/२ उपमहानगरपालिकाहरु रहेका छन् । अरु २/२ उपमहानगरपालिका हुने जिल्लाहरुमा २ नम्बर प्रदेशको बारा र १ नम्बर प्रदेशको सुनसरी मात्र हुन् । त्यति मात्र होइन घोराही देशकै सबैभन्दा ठूलो उपमहानगरपालिका पनि हो । यति हुदाँहुदै पनि दाङको राम्रो पक्ष, यहाँ जनघनत्व कम नै छ । विकास भैसकेको ठाउँलाई भन्दा विकास हुदै गरेको ठाउँलाई नै चयन गर्नु उपयुक्त हुन्छ । पाँच नम्बर प्रदेशका सबैभन्दा कम विकसित जिल्लाहरु रुकुम र रोल्पा हुन्, यिनको विकासको लागि पनि प्रदेशको केन्द्र कहाँ बन्ने भन्ने विषयले महत्व राख्छ । काठमाडौँलाई देशको राजधानी तोकिदा फरकफरक बजेट छुट्टिने छिमेकी जिल्लाहरु ललितपुर र भक्तपुरले पनि विकासमा भरपुर फाईदा लिएजस्तै, दाङलाई प्रदेशको राजधानी तोकिएमा, विकासको हिसावमा दाङ काठमाडौँ जस्तो बन्दै गर्दा निकट भविष्यमा रोल्पाको लिबाङ र रुकुम पुर्वको रुकुमकोट बुटवल जस्तो बन्नेछ ।
संगसंगै अर्को तथ्य पनि जानौं, रुपन्देही देश कै तेश्रो धेरै जनसंख्या भएको जिल्ला हो । सर्वाधिक पटक देश कै उत्कृष्ट नगरको सम्मान पाएको बुटवलमा एकैचोटी थामीनसक्ने जनसंख्याको चाँपले अहिलेको जस्तो सुन्दर बुटवललाई कायम राखिराख्छ भन्नेमा शंका गर्ने ठाउँ रहन्छ ।  बुटवल पहिले नै विकसित छ । यो पश्चिम नेपालको आर्थिक राजधानी हिजो पनि हो र भोली पनि निसन्देह रहिरहनेछ । यसका लागि प्रशाशनिक राजधानी बुटवल नै बनाउनुपर्ने कुनै आवस्यकता नै छैन ।
पाँच नम्बरमा गुल्मी-अर्घाखाँचीमात्र पर्दैनन्, बाके र बर्दिया पनि पर्छन् । त्यतिमात्र होइन बाग्लुङसंग सीमा जोडिएको पूर्वी रुकुम पनि पर्छ भन्ने कुरालाई पनि हामीले नभुलौं । यी ठाउँ नपुगेकाहरुले पनि पाँच नम्बरको नक्सा हेरेर भन्न सक्नुहुन्छ, यीनीहरुलाई बुटवल होइन दाङ नै पायक पर्छ ।
गुल्मी देखि बुटवल पुग्न पाल्पा हुदै जानुपर्छ, अर्थात एउटा जिल्ला पार गर्नु नै पर्छ । ठ्याक्कै त्यस्तै अर्घाखाँचीलाई पार गरेर वा प्युठानलाई पार गरेर दाङ पुग्न सकिन्छ । फरक यत्ति हो, बुटवलसंग पहिलेदेखि सिधा सडक संजाल बनेको छ, दाङसंग सिधा आवतजावत छैन । दाङ राजधानी नै बन्ने भएमा दाङसंग पनि सिधा सडक संजाल बन्नेछ र यस सडकले छुने ठाउँहरुमा अर्को विकासको लहर ल्याउनेछ । तमघासदेखि प्युठान हुदै सुर्खेत जोड्ने सडक पनि अहिले निर्माणाधीन छ ।
बुटवल भौगोलिक हिसावले पनि पाँच नम्बर प्रदेशको ठ्याक्कै केन्द्र भागमा पर्दैन । यसैले सबैलाई पायक पर्ने ठाउँ चर्चामा रहेका “बुटवल र दाङ” मध्ये दाङ नै हो ।

अब कुरा गरौँ विश्वका यस्ता शहर जो राजधानी होइनन् तर राजधानी भन्दा पनि विकसित छन्

अस्ट्रेलियाको राजधानी क्यानबेरा भएतापनि सिड्नी सबैभन्दा ठूलो, सबैभन्दा विकसित र चर्चित शहर हो । त्यस्तै ब्राजिलको राजधानी ब्रासिलिया हो तर यहाँको सबैभन्दा ठूलो शहर साओ पाउलो हो । क्यानाडाको टोरोन्टो शहर, राजधानी ओटावा भन्दा ठूलो र विकसित छ । छिमेकी देश चीनको राजधानी बेइजिङ भन्दा सांघाई ठूलो शहर हो । त्यस्तै अर्को छिमेकी देश भारतमा राजधानी नयाँ दिल्ली भन्दा मुम्बई ठूलो शहर हो । युएईमा पनि राजधानी आबुधावी भन्दा दुबई ठूलो शहर हो । संयुक्त राज्य अमेरिकाको राजधानी वासिंटन डिसी भन्दा न्यूयोर्क सिटि ठूलो छ । त्यति मात्र होइन श्रीलंका, फिलिपिन्स, दक्षिण अफ्रीका, सुडान, स्वीजरल्याण्ड, तान्जानिया, टर्की, भियतनाम, ताइवान, पाकिस्तान, नाइजेरिया, म्यानमार, न्युजिल्याण्ड, मोरक्को, काजकस्तान, क्यामरुन, बोलिभिया लगायत दर्जनौ देशहरुमा ठूला र विकसित शहरहरु छन् जुन राजधानी होइनन् । त्यसैले राजधानी तोकिदैमा एउटामात्र ठाउँ विकसित हुन्छ भन्ने हुदैन ।
April 04, 2018

यसैले म ‘शुक्ष्म जीवविज्ञान’ पढ्दैछु

कल्पना गर्नुहोस्, अहिलेको अवस्था कस्तो हुन्थ्यो होला, यदि विज्ञानले ‘एन्टिबायोटिक्स’ पत्ता नलगाएको भए ? लुइज पाश्चरले ‘पाश्चराइजेसन प्रक्रिया’ विकास नगरेको भए ? अथवा ‘शुक्ष्म दर्शक यन्त्र’ अहिलेसम्म नबनेको भए ? ………
अमृत साइन्स कलेज शुक्ष्मजीवविज्ञान ल्यावमा म | तस्बिर: भुवन लिम्बु

शुक्ष्म जीवविज्ञान अर्थात ‘माइक्रोबायोलोजी’ यति फराकिलो विषय हो, जो औषधी देखि फोहोर व्यवस्थापन (Bioremediation) सम्म हरेक क्षेत्रमा फैलिएको छ । यसले नछोएको क्षेत्र सायदै होला । विज्ञानमा यो नवआगन्तुक विषय भएतापनि यसको प्रयोग जानी या नजानी मानव सभ्यताको विकाससंगै गरिएको पाइन्छ । प्राचीन काल देखि नै अभ्यास गरिदै आइएको दहि बनाउने वा रक्सी पार्ने प्रक्रिया पनि ‘शुक्ष्म जीवविज्ञान’ नै हो । दुधबाट दहि बन्दै गर्दा वा अन्नबाट रक्सि बन्दै गर्दा हुने रासायनिक प्रक्रियामा सुक्ष्म जीवको भूमिका नै प्रमुख हुन्छ ।अहिलेको युग विज्ञान तथा प्रविधीको युग हो । विज्ञान तथा प्रविधी क्षेत्रमा माइक्रोबायोलोजीको प्रवेश यस क्षेत्रका लागि कोसेढुङ्गा साबित भएको छ ।

सामान्यतया ‘माइक्रोब’ वा ‘ब्याक्टेरिया’ भन्ने बित्तिकै धेरै मानिसको सोचाइमा ‘रोग लगाउने कारक’ भन्ने आउछ तर ‘ब्याक्टेरिया’ सधै हाम्रो ‘शत्रु’ मात्र होइनन्, यी त हाम्रा ‘असल साथि’ पनि हुन् । माइक्रोबायोलोजी विज्ञानको एउटा पाटो हो जसले नाङ्गो आँखाले देख्न नसकिने, माइक्रोमिटर (१ मिटरलाई १ लाख भाग लगाउदाको १ भाग) वा सो भन्दा सानो आकारमा हुने शुक्ष्म जीवहरुको अध्ययन गर्दछ । ती शुक्ष्मजीव (ब्याक्टेरिया, भाइरस, प्रोटोजोवा, यिस्ट, मोल्ड, एल्गी आदी), जसले रोग लगाउने, खाने कुराहरु सडाउने जस्ता हानिकारक अवस्थाहरु मात्र देखाउदैनन् विभिन्न क्षेत्रमा हामीलाई फाइदा पनि पुर्याउछन् । तिनै शुक्ष्मजीवविज्ञानमा विशेषज्ञता हासिल गरेका वैज्ञानिकलाई नै शुक्ष्म जीवविज्ञ (Microbiologist) भनिन्छ । आजको दिनमा ‘बायोटेक्नोलोजी’ सबैभन्दा तिब्र विकास भैरहेको उद्योगमा पर्दछ ।  रक्सि तथा पेय पदार्थ उद्योग, दुग्ध उद्योग, पाउरोटी तथा बेकरी उद्योग जस्ता खाद्य उद्योगहरुमा अहिले माइक्रोबायोलोजीको ब्यापक उपयोग भएको छ । महत्वपूर्ण औषधीहरु जस्तै ‘एन्टिबायोटिक्स’ मात्र होइन ‘इन्जाइम’, ‘हर्मोन’, ‘भिटामिन’, ‘भ्याक्सिन’ पनि शुक्ष्म जीव कै मद्दतले उत्पादन सम्भव भएको छ ।
तपाइँ हामी प्रत्येक क्षणमा शुक्ष्म जीवसंग जोडिएका छौं । हामीले लिने हावा, खाना वा पानीमा केहि संख्या देखि करोडौको संख्यामा शुक्ष्म जीवहरु हुन सक्छन । तिनीहरु सबै हानिकारक नै हुन्छन् भन्न सकिदैन । हाम्रो शरीरमा खासगरी बाहिरी छाला वा पाचन प्रणालीका विभिन्न अङ्गहरुमा “करिव २ केजी” शुक्ष्म जीवहरु बिना हानी बसेका हुन्छन् जसलाई ‘नर्मल फ्लोरा (Normal flora)’ भनिन्छ । तिनीहरु मध्ये कतिपयले हाम्रो शरीरलाई अत्यावश्यक रसायनहरू (इन्जाइम, भिटामिन आदि) उत्पादन गरेर हाम्रो शरीरभित्र हुने जैविक तथा रासायनिक प्रक्रियामा महत्वपूर्ण योगदान पुर्याएका हुन्छन् ।  त्यतिमात्र होइन तिनीहरुले हाम्रो शरीरमा प्रवेश गर्न सक्ने हानीकारक किटाणुलाई केहि हद सम्म मारिदिन्छन् । तर तिनीहरु पनि अवसरवादी बनिदिन सक्छन्, कमजोर प्रतिरक्षा प्रणाली भएको फाइदा उठाउदै कतिपय अवस्थामा रोग निम्त्याउन पनि सक्छन् ।
स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको महत्वपूर्ण र प्रमुख भूमिका रहदै आएको छ । केहि वंशाणुगत रोगहरु बाहेक धेरैजसो रोगहरु शुक्ष्म जीव कै कारणले लाग्ने भएकोले त्यसको पहिचान मात्र होइन त्यसलाई हाम्रो शरीरबाट निर्मुल पार्न आवस्यक औषधी पनि माइक्रोबायोलोजीले उपलब्ध गराएको छ । विभन्न तरिका (Mechanism) मा शुक्ष्म जीवका बिरुद्ध काम गर्ने धेरै किसिमका औषधीहरु अहिलेसम्म पत्ता लागेका छन् र यो क्रम सधै जारि रहिरहन्छ । एउटा औषधी बन्दा, सुत्रिकरण (formulation) देखि बजार सम्म आउन धेरै प्रक्रियाहरु पार गर्नुपर्ने हुन्छ । हजारौंका संख्यामा परिक्षणका लागि आएका मध्ये सबै प्रक्रिया पार गरेर करिव १०, १२ वर्षमा १, २ को संख्यामा मात्र कुनै निश्चित रोगका नयाँ औषधी बजार सम्म आउँछन । त्यति मात्र होइन अहिले हामीले उपभोग गरिरहेका शुक्ष्म जीवका विरुद्द काम गर्ने औषधीहरु (antimicrobials) केहि समयावधी पछी तिनै शुक्ष्म जीवका विरुद्द काम गर्न नसक्ने बनिदिन्छन, अर्थात त्यसका विरुद्द शुक्ष्म जीवले प्रतिरोध गर्न सक्ने क्षमता (resistance) विकास गरिसकेका हुन्छन् ।  त्यसैले धेरै औषधी मध्येबाट छाटिएर करिव १०, १२ वर्षको अवधीमा नयाँ औषधी बन्ने र केहि समयपछी प्रत्येक औषधीको विकल्प खोज्नुपर्ने भएकोले यो क्षेत्रमा अनुसन्धान गर्ने जनशक्तिको सधै खाचो हुने गर्दछ । मधुमेह रोग अर्थात चिनी रोग (diabetes) का विरामीलाई दिईने इन्सुलिन पनि शुक्ष्म जीवकै मद्दतले उत्पादन (synthesis) गरिएको हो । बिषालु सर्पले टोकेमा दिईने औषधी (Anti-snake venom)  पनि शुक्ष्म जीवविज्ञानको एउटा प्रक्रिया (Immune response to veno­m) मा आधारित भएर उत्पादन गरिएको हो ।
बिरामी भएर हामी अस्पतालमा जाने बित्तिकै सबैभन्दा पहिला रोग लगाउने जीवाणु जाँच (Microbial examination) गरिन्छ । एउटा शुक्ष्म जीवविज्ञ (Microbiologist) ले उक्त जीवाणु पत्ता लगाउने मात्र होइन विरामीको शरीरमा भएको शुक्ष्म जीवका बिरुद्धमा कुन औषधीले काम गर्छ भन्ने परिक्षण (Antibiotics susceptibility test) पनि गर्नुपर्ने हुन्छ । यीनै परिक्षणको नतिजाको आधारमा डाक्टरले रिपोर्टमा सहि गर्ने र आवश्यक औषधी सिफारिस गर्ने गर्छ । त्यसैले स्वास्थ्य क्षेत्रतिर एउटा भनाइ चर्चित छ, “Doctors know nothing but do everything… physiologists know something and do something but microbiologists know everything but do nothing.”   अर्थात डाक्टरलाई केहि पनि थाहा हुदैन तर सबै काम गर्छ, फिजियोलोजिस्टलाई केहिमात्र थाहा हुन्छ त्यसैले केहिमात्र गर्छ; तर शुक्ष्म जीवविज्ञलाई सबै थाहा हुन्छ, केहि गर्दैन, अर्थात अस्पतालमा सबैभन्दा महत्वपूर्ण र प्रमुख भूमिका शुक्ष्म जीवविज्ञ कै हुने भएपनि, ऊ पर्दा पछाडिको पात्रको रुपमा मात्र देखिन्छ ।
खाद्य, दुग्ध, रक्सि तथा पेय पदार्थ उद्योगहरुमा धेरै पहिले देखि नै शुक्ष्म जीवलाई उपयोग गरिएको छ । दहि बनाउने क्रममा घरायसी उत्पादनमा हामीले जोर्डन (Inoculum) को रुपमा पुरानो दहि अलिकति मिसाएर नयाँ बनाएको अभ्यास त गरिरहेकै छौँ । यस प्रकृयामा पनि खासमा हामी शुक्ष्म जीवलाई नै मिसाएका हुन्छौँ, जसले दहि बन्ने प्रक्रियालाई सहज र छिटो बनाइदिन्छ । तर औद्योगिक वा व्यवसायिक उत्पादनमा शुक्ष्म जीवका विभिन्न प्रजातिहरु नै शुद्ध रुपमा प्रयोग गरिदै आइएको छ । रक्सीको घरयासी उत्पादनमा हामीले राख्ने मर्चामा पनि रक्सी बन्न चाहिने शुक्ष्म जीव (Saccharomyces cerevisiae, Aspergillus niger, A. oryzae, Mucor spp.) रहेका हुन्छन् । भने रक्सीको औद्योगिक उत्पादनमा यीनै शुक्ष्म जीवलाई छुट्टै (in the form of primary inoculums) शुद्ध रुपमा (in Pure Culture) मिसाइन्छ । पाउरोटी तथा वेकरी उद्योगमा पनि शुक्ष्म जीवको प्रयोग हुदै आएको छ । पछिल्लो पटक निकै चर्चामा रहेको तथा निरन्तर परिक्षण कै क्रममा रहेको, बिरुवा वा जनावरको बंशाणुगत गुण नै परिवर्तन गरेर तयार पारिएका खाद्यान्न (GM foods or Genetically Modified foods) ले विश्व खाद्यान्न अभाव तथा भोकमरीका बिरुद्दमा निकै महत्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावना देखिन्छ । त्यस्तै खान मिल्ने एक कोषीय शुक्ष्मजीव (SPC, Single Cell Proteins)  पनि एउटा महत्वपूर्ण प्रोटिन स्रोत (Protein supplements) को रुपमा विकास भएको छ ।
शुक्ष्म जीवले कृषी क्षेत्रमा पनि महत्वपूर्ण फाइदा पुर्याएको छ । कोशेबालीको जरा (root nodule of legumes) मा पाइने शुक्ष्मजीवले वायुमण्डलको नाइट्रोजनलाई विरुवाले लिनसक्ने अवस्था (Ammonia or  Nitrate) मा पुर्याइदिन्छ, जसबाट हामीले हाम्रो शरीरलाई आवश्यक प्रोटिन (or amino acids), विरुवाबाट प्राप्त गर्दछौँ । शुक्ष्मजीवलाई मिसाएर एक प्रकारको मल (Bio-fertilizers) तयार पारिन्छ, जसले कुनै नकारात्मक असरबिना नै बिरुवालाई आवश्यक सम्पूर्ण तत्वहरु (Primary nutrients) उपलब्ध गराउछ । त्यतिमात्र होइन शुक्ष्म जीवलाई प्रयोग गरेर अर्गानिक तरिकाले  लाइकिरा मार्ने औषधी (Bio-pesticides) तयार पारिन्छ, जसले माटोमा भएका फाइदाजनक जीवाणुलाई बचाइराख्छ, साथै यो सजिलै सड्ने (biodegradable) भएकोले वातावरण तथा मानव स्वास्थ्यलाई समेत कुनै किसिमको असर गर्दैन ।
शुक्ष्मजीवलाई प्रदूषण नियन्त्रण (Pollution control) र जैवोपचारण (Bioremediation) मा पनि प्रयोग गरिएको हुन्छ । जसले हानिकारक फोहोर (hazardous pollutants) लाई हटाउन वा त्यसको असर कम (Neutralize) गर्न महत्वपूर्ण योगदान पुर्याएको हुन्छ । कुनै दुर्घटनाले समुद्रहरुमा तेल वा पेट्रोलियम पोखिदा समुद्रमा रहेका माछा तथा अन्य जीवहरु अक्सिजनको अभावले ठुलो सङ्ख्यामा मर्न सक्छन, त्यसले पारिस्थितिक प्रणाली (ecosystem) मा निकै ठुलो असर पार्छ । यसबाट बचाउनका निमित्त पनि शुक्ष्मजीवलाई नै प्रयोग गरिन्छ ।
शुक्ष्म जीवविज्ञानको आनुवंशिकी (Genetics), जीव रसायन (Biochemistry), पारिस्थितिक प्रणाली (Ecosystem), प्रतिरक्षा विज्ञान (Immunology), जैविक प्रविधि (Biotechnology), पारमाणविक जीवविज्ञान (Molecular Biology) लगायत क्षेत्रमा सिधा सम्बन्ध रहेको छ ।
यी र यस्तै हरेक क्षेत्रमा शुक्ष्म जीवविज्ञानको महत्वपूर्ण योगदान रहदै आएको छ ।  हाम्रो देशले पनि यस्तो अनुसन्धानमुखी शिक्षा (research based study) लाई प्राथमिकतामा राखेर पठनपाठन गराउनुपर्छ र उत्पादित जनशक्तिलाई कुनै खास काम गर्ने ठाउँ (platform) दिन सक्नुपर्छ । हरेक विकसित र अल्पविकसित देशहरुले अनुसन्धानका निमित्त आफ्नो पुरा बजेटको धेरै हिस्सा खर्च गरिरहेको अवस्थामा नेपालमा केहि वर्ष अघिमात्र विज्ञान तथा प्रविधी मन्त्रालय बनाइएको छ, त्यो पनि राजनीतिक नेताको रोजाइमा उक्त मन्त्रालय खासै पर्दैन ।अर्थात हाम्रो देशमा विज्ञान तथा प्रबिधीको महत्वलाई त्यत्ति बुझ्ने प्रयास नै गरिएको  छैन, यो सबैका निमित्त दुखदायी कुरा हो । विज्ञान तथा प्रविधीबिना देशको विकास असम्भव छ भन्ने कुरा सर्वविदितै हुँदा पनि यसलाई अझैसम्म प्राथमिकता नदिनु बिडम्बनापूर्ण छ । देशमा शिक्षित जनशक्ति, आफुले काम गर्ने ठाउ नै नपाएर बाहिर पलायन भएका छन् । किनकी यहाँ नीतिगत रुपमै काम गर्न सहज वातावरण छैन, राजनीतिक अस्थिरताले सहयोगी सरकारी नीति बन्न सकेका छैनन् । यसरी बौद्धिक शक्ति बाहिर पलायन हुनु देशको निम्ति धेरै ठुलो घाटा हो । हामी अहिलेसम्म पनि अरुले बनाएका औषधी खादैछौं, अरुले नै बनाएका इलोक्ट्रोनिक्स समान बोकिरहेका छौं । हाम्रो किन्ने हैसियत बढेको होला, तर हामी सृजनात्मक काममा जहाँको त्यहि छौं, तात्विक परिवर्तन आएको छैन । के हामीमा क्षमता नै नभएको हो त ? पक्कै पनि होइन । बाहिर पलायन भएका हाम्रै बौद्धिक शक्तिले विभिन्न विधामा विश्वमा हंगामा मच्चाइरहेका छन् । नयाँ नयाँ कृतिमानी राखेका छन्, के त्यो यहाँ सम्भव थिएन होला त ? यतातिर सम्बन्धित सबैको ध्यान जानु जरुरि छ ।
-चक्रपाणि भण्डारी, अमृत साइन्स कलेज, त्रिभुवन विश्वविद्यालय नेपाल
(गुल्मी सत्यवती ६ परमानन्दनगरमा अवस्थित रुद्रावती स्कुलले प्रकाशन गर्न लागेको “रञ्‍जित रुद्रावती” नामक स्मारिकाको निमित्त तयार पारेको लेख ।)