Advertisement

मतदान अधिकृत र अन्य कर्मचारी सम्बन्धी व्यवस्था

मतदान अधिकृत र अन्य कर्मचारी सम्बन्धी व्यवस्था

मतदान अधिकृतको नियुक्ति: (१) मुख्य निर्वाचन अधिकृतले आयोगले बनाएको जनशक्ति व्यवस्थापन निर्देशिका बमोजिम मतदान अधिकृत नियुक्त गर्नु पर्नेछ ।

(२) गाउँपालिकाको मतदान केन्द्रमा सामान्यतयाः अधिकृत आठा, साता वा छैठौ तह वा राजपत्राङ्कित तृतीय श्रेणी वा सो सरहको कर्मचारी र नगरपालिकाको मतदान केन्द्रमा सामान्यतयाः अधिकृत दशौं, नवौं, आठौं वा सातौं तह वा राजपत्राङ्कित द्वितीय वा तृतीय श्रेणी वा सो सरहको कर्मचारीलाई मतदान अधिकृत नियुक्त गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम नियुक्ति गर्दा सम्बन्धित तह वा श्रेणीको कर्मचारीको सङ्ख्या नपुग भएको अवस्थामा सोभन्दा एक तह वा श्रेणी मुनिको कर्मचारीलाई मतदान अधिकृत नियुिक्त गर्न सकिनेछ ।

(४) मतदान प्रभावित पार्न सक्ने गरी कसैले कुनै खास कर्मचारीको माग गरेमा त्यस्तो कर्मचारी सो मतदान केन्द्रमा पठाउनु हुँदैन ।

मतदान अधिकृतको काम, कर्तव्य र अधिकार: (१) ऐन, नियमावली र यस निर्देशिकामा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त मतदान अधिकृतको काम, कर्तव्य र अधिकार देहाय बमोजिम  हुनेछ:-

(क) निर्वाचन अधिकृतको प्रत्यक्ष नियन्त्रण, निर्देशन तथा सुपरीवेक्षणमा रही आफूलाई तोकिएको मतदान केन्द्रमा मतदान गराउने सम्बन्धी सम्पूर्ण काम स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयमुक्त रुपमा सम्पन्न गराउने,

(ख) आयोगले व्यवस्था गरे वा गराएको तालिम लगायतका कार्यक्रममा सहभागी हुने

(ग) आफू खटिएको मतदान केन्द्रमा खटाइएका कर्मचारीलाई कामको बाँडफाँड गरी काममा लगाउने,

(घ) आफू खटिएको मतदान केन्द्रमा पुग्ने कार्यक्रम निर्धारण गरी त्यस्तो मतदान केन्द्रमा खटिएका कर्मचारीलाई जानकारी गराउने,

(ङ) निर्वाचन अधिकृतले उपलब्ध गराएको मतपत्र रुजु एवं जाँच गरी बुझ्ने,

(च) निर्वाचन अधिकृतबाट अख्तियारी पाए बमोजिम आफूलाई प्राप्त जिम्मेवारी पूरा गर्ने,

(छ) सुरक्षा कर्मचारीसँग सम्पर्क र समन्वय गर्ने,

(ज) निर्वाचन आचार संहिता सम्बन्धमा देहायबमोजिम गर्ने:-

(१) निर्वाचन आचारसंहिता पालना गर्नु पर्ने कर्तव्य भएका राजनीतिक दल तथा उम्मेदवार वा निजका प्रतिनिधिहरूलाई निर्वाचन आचारसंहिता पालना गर्न लगाउने,

(२) आवश्यकता अनुसार स्थानीय प्रशासन एवम ् सुरक्षा निकाय समेतको सहयोग लिई आचार संहिता उल्लङघ् न हुन नदिने,

(३) कसैले निर्वाचन आचार संहिता उल्लङ्घन गरेको देखिए वा बुझिएमा त्यस्तो कार्यमा तुरुन्त रोक लगाउने,

 

(४) निर्वाचन आचार संहिता उल्लङघ् न भएको जानकारी निर्वाचन अधिकृतको कार्यालयमा तुरुन्त दिने ।

(झ) निर्वाचन पर्यवेक्षणको सम्बन्धमा देहाय बमोजिम गर्ने:-

(१) निर्वाचनको लागि आयोगबाट पर्यवेक्षण गर्न अनुमति प्राप्त गरेका पर्यवेक्षक मतदान केन्द्रमा निर्वाचन पर्यवेक्षण गर्न आएमा आवश्यक सहयोग गर्ने, गराउने,

(२) पर्यवेक्षकलाई निर्वाचनको पर्यवेक्षण गर्न दिँदा मतदान भइरहेको समयमा मतपत्र, मतदाता नामावली, स्वस्तिक छाप, छापदानी तथा मतपेटिका जस्ता मतदान सामग्री छुन वा मतदान कक्षमा प्रवेश गरी मतदाताले मतसङ्केत गरिरहेको अवस्थामा हेर्न नदिने,

  तर मतदाताले आफ्नो मत जाहेर गरिसकेपछि मतपेटिकामा मतपत्र खसाल्दाको दृश्य भने पर्यवेक्षकलाई टाढाबाट हेर्न दिन सकिनेछ ।

(ञ) निर्वाचन अधिकृतले समय–समयमा दिएका निर्देशनको पालना गर्ने,

(ट) निर्वाचन अधिकृतबाट भएको अधिकार प्रत्यायोजन समेतको अधीनमा रही निर्वाचन सम्बन्धी प्रचलित कानून र यस निर्देशिका बमोजिम मतदान अधिकृतले गर्नुपर्ने भनी तोकिएका सम्पूर्ण कामहरू गर्ने ।

(२) मतदान अधिकृतले निर्वाचन आचार संहिता, २०७८ को अनुसूची–२ बमोजिमको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरी नियुक्ति पत्र बुझदा मुख्य निर्वाचन अधिकृतलाई बुझाउनु पर्नेछ ।

सहायक मतदान अधिकृत तथा अन्य कर्मचारीको नियुक्ति:(१) मुख्य निर्वाचन अधिकृतले आयोगले बनाएको जनशक्ति व्यवस्थापन निर्देशिका बमाजिम सहायक मतदान अधिकृत एवं अन्य कर्मचारीको नियुक्ति गर्नु पर्नेछ ।   

(२) गाउँपालिकाको मतदान केन्द्रमा सामान्यतयाः अधिकृत छैठौं वा सहायक पाँचौं तह वा राजपत्र अनङ्कित प्रथम श्रेणी वा सो सरहको कर्मचारी र नगरपालिकाको मतदान केन्द्रमा सामान्यतयाः अधिकृत आठौं, सातौं वा छैठौं तह वा राजपत्राङ्कित तृतीय श्रेणी वा सो सरहको कर्मचारीलाई सहायक मतदान अधिकृत नियुक्ति गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम नियुक्ति गर्दा जिल्ला स्थित कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको सङ्ख्या नपुग भएमा र दफा ८ को उपदफा (३) बमोजिम मतदान अधिकृत नियुक्ति भएको अवस्थामा सोभन्दा एक श्रेणी वा तह मुनिको कर्मचारीलाई सहायक मतदान अधिकृत नियुक्ति गर्न सकिनेछ ।

सहायक मतदान अधिकृत तथा अन्य कर्मचारीको काम, कर्तव्य र अधिकार: (१) सहायक मतदान अधिकृतको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क)  आफू खटिएको मतदान केन्द्रमा मतदान सम्पन्न गर्न मतदान अधिकृतलाई सहयोग गर्ने,

(ख) मतदानलाई मर्यादित र व्यवस्थित बनाउन मतदान केन्द्रमा खटिएका मतदान प्रतिनिधिबीच समन्वय गर्ने,

(ग) मतदान अधिकृतले खटाएको अन्य जिम्मेवारी पूरा गर्ने,

(घ) मतदान केन्द्रमा मतदान अधिकृतले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको अवस्थामा मतदान अधिकृतको रुपमा कार्य गरी मतदान सम्पन्न गर्ने वा गराउने ।  

 

(२) आफू खटिएको मतदान केन्द्रमा मतदान सम्पन्न गर्न मतदान अधिकृतलाई सहयोग गर्नु र मतदान अधिकृतले खटाएको जिम्मेवारी पूरा गर्नु मतदान केन्द्रमा खटिएका अन्य कर्मचारीको कर्तव्य हुनेछ ।

(३) सहायक मतदान अधिकृत र अन्य सहायक कर्मचारीले मतदान अधिकृतको प्रत्यक्ष नियन्त्रण एवं निर्देशनमा रही मतदान सम्बन्धी सम्पूर्ण कार्य स्वतन्त्र र निष्पक्ष भई सञ्चालन गर्नु पर्नेछ । 

(४) सहायक मतदान अधिकृतले उपदफा (१) को खण्ड (घ) बमोजिम मतदान अधिकृतको रुपमा कार्य गर्नु पर्ने अवस्थामा त्यसको जानकारी यथाशीघ्र निर्वाचन अधिकृतलाई दिनु पर्नेछ ।

(५) सहायक मतदान अधिकृत र अन्य सहायक कर्मचारीले निर्वाचन आचार संहिता, २०७८ को अनुसूची–२ बमोजिमको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरी नियुक्ति पत्र बुझ्दा निर्वाचन अधिकृतलाई बुझाउनु पर्नेछ ।

Post a Comment

0 Comments