Advertisement

नेपालको निजामती सेवाका मूलभूत मान्यता र कमजोर पक्ष

प्रश्न. नेपालको निजामती सेवाका मूलभूत मान्यताहरु बारे चर्चा गर्दै नेपालको निजामती सेवाका कमजोर पक्षहरू उल्लेख गर्नुहोस्। (५+५ =१०)

निजामती सेवाको परिचय

सरकारले निर्माण गरेका नीति, नियम तथा कानुनहरुको सफलतापूर्वक कार्यान्वयन गर्ने गराउने, सरकारी कोषबाट तलब भत्ता पाउने, विशिष्ट ज्ञान सीप भएका र राजनीतिक रुपमा तटस्थ, नागरिक सेवामा समर्पित स्थाई प्रकृतिका गैरसैनिक चरित्र भएको प्राविधिक र गैरप्रावधिक कर्मचारीको पेशागत तथा व्यवसायिक समूह नै निजामती सेवा हो।

नेपालको निजामती सेवाका मुलभूत मान्यताहरू

नेपालको निजामती सेवाका मुलभूत मान्यताहरू देहाय अनुसार रहेका छन्ः

  • नेपालको संविधान बमोजिमको लोकतान्त्रिक मूल्य एवं सिद्धान्तको पालना र प्रवर्द्धन,
  • उच्चतहको पेशागत नैतिकताको अवलम्बन र प्रवर्द्धन,
  • साधन र स्रोतको दक्ष, मितव्ययी र प्रभावकारी परिचालन,
  • अग्रगामी, सकारात्मक र विकासमूलक सोच तथा दृष्टिकोण,
  • नागरिकका आवश्यकता र चाहनाको यथोचित सम्मान, सम्बोधन,
  • निष्पक्ष, भेदभावरहित, समान र समतामूलक ढंगले सेवा सुविधाको वितरण गर्ने,
  • नीति निर्माण प्रक्रियामा व्यापक जनसहभागिताको लागि प्रोत्साहन,
  • आफ्नो कर्तव्य र दायित्वप्रति जागरुक र उत्तरदायी,
  • सार्वजनिक सूचनामा नागरिकको पहुँच एवं समयमै सही सूचनाको प्रवाहमार्फत पारदर्शीतालाई प्रवद्र्धन,
  • मुलुकको सांस्कृतिक एवं भौगोलिक विविधतालाई प्रतिनिधित्व गर्ने समावेशी र प्रतिनिधिमूलक निजामती सेवा,
  • वृत्ति विकासमा असल अभ्यासको पालना र मानव स्रोतको उचित व्यवस्थापनमार्फत मानव प्रतिभाको अधिकतम प्रस्फुटनको वातावरण।

नेपालको निजामती सेवाका कमजोर पक्षहरू

नेपालको निजामती सेवामा विविध सबल पक्षहरु रहँदा रहँदै पनि केही कमजोर पक्षहरु समेत विद्यमान छन्, जसलाई देहाय अनुसार प्रस्तुत गरिएको छ:

  • भर्ना, छनौट र पदपूर्ति प्रकृया छिटो छरितो र प्रभावकारी हुन सकेको छैन।
  • विद्यमान बढुवा प्रणाली योग्यतामूलक, वस्तुपरक र अनुमानयोग्य हुन सकेको छैन।
  • सेवामा व्यावसायिकता अभिवृद्धि र केन्द्रीय कर्मचारी निकायको रुपमा अपेक्षित भूमिका निर्वाह गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रभावकारी हुन सकेको छैन।
  • निजामती सेवाको भर्ना, छनौट, सेवा शर्त, वृत्ति विकास र समसामयिक अनुसन्धान कार्यमा लोक सेवा आयोगको भूमिका सबल बन्न सकेको छैन।
  • पदस्थापन, सरुवा र तालिमजस्ता कर्मचारी प्रशासनसम्बन्धी आधारभूत पक्षहरूलाई पद्धतिमूलक र अनुमानयोग्य बनाउन सकिएको छैन।
  • संस्थागत स्मरण र सूचना व्यवस्थापन पद्धति प्रभावकारी हुन नसक्दा समान प्रकृतिको विषयमा हुने एकरुपता कायम नहुँदा सेवाको विश्वसनियता कम हुने गरेको छ।
  • निजामती प्रशासन मूल्यनिष्ठ सेवाको रुपमा संस्थागत हुन सकिरहेको छैन।
  • कतिपय सेवा प्रवाह गर्दा अपनाउनु पर्ने कार्यविधि स्पष्ट हुन नसक्दा त्यस्ता कतिपय कार्यहरू व्यक्तिगत सम्पर्क, चिनजान र भनसुनको आधारमा मात्र हुने गरेको छ।
  • सेवा प्रवाहमा प्रत्यक्षतः संलग्न कर्मचारीहरूले सीप विकास र व्यवहार परिवर्तनसम्बन्धी तालिमको अवसर पाएका छैनन्।
  • प्रशासनिक अधिकारको अत्यधिक केन्द्रीकरण गरिएको छ।
  • ऐन कानून बमोजिम काम गर्ने गराउने र सो को पालना भए नभएको विषयमा नियमित अनुगमन गर्ने परिपाटीको अभाव रहेको छ।
  • सङ्गठनले आफ्नो उद्देश्य अनुरुप के कति उपलब्धि हासिल गर्‍यो, के कस्ता कठिनाइहरू आइपरे, समस्या हल गर्न के कस्ता प्रयास भए भन्ने विषयमा नियमित समीक्षा एवं मूल्याङ्कनको परिपाटी संस्थागत हुन सकेको छैन।
  • राजनैतिक र प्रशासनिक सक्रियताको कमीले सेवामा दण्डहीनता र अनुशासनहीनताले प्रश्रय पाउने गरेको छ।

निष्कर्ष:

सरकारका नीति, कार्यक्रमको पूर्ण कार्यान्वयन गरी सरकार र जनताबीच सम्बन्ध सेतुका रूपमा रहेको नेपालको निजामती सेवाले लोकतान्त्रिक मूल्य मान्यतालाई अबलम्बन गर्दै जनमुखी, परिणामुखी, व्यवसायिक तथा राजनीतिप्रति तटस्थ र संविधान, कानुन र जनताप्रति प्रतिवद्ध रही कार्य गरिरहेको छ। तथापि यसमा पनि धेरै कमजोरीहरू विद्यमान छन्। त्यसको गम्भीरतापूर्वक मनन् गरी समाधानको उपायहरू खोज्नु आजको आवश्यकता हो।

Post a Comment

0 Comments