Advertisement

लोकतान्त्रिक मूल्यका दृष्टिले वर्तमान संविधान

प्रश्न. वर्तमान संविधानका विशेषताबारे चर्चा गर्दै लोकतान्त्रिक मूल्य मान्यताका दृष्टिले यस संविधानको संक्षिप्त टिप्पणी गर्नुहोस। (५+५ =१०)

विषय प्रवेश

राज्य व्यवस्था सञ्चालन गर्न राज्यको मुल कानुनको रुपमा रहने दस्तावेजलाई संविधान भनिन्छ। यो राज्य सञ्चालनको मार्ग निर्देशक दस्तावेज माग नभएर तत्कालीन सामाजिक सांस्कृतिक, आर्थिक राजनैतिक कानुनी प्रणालीको दस्तावेज पनि हो। जनआन्दोलन र शसस्त्र विद्रोहको परिणामस्वरुप संविधान सभाबाट निर्माण गरिएको यो संविधान संविधानवाद र लोकतान्त्रिक मूल्य मान्यतामा आधारित भएर निर्माण गरिएको संविधानका रुपमा रहेको छ।

वर्तमान संविधानका विशेषताहरु

  • नेपालको वर्तमान संविधानका विशेषताहरुलाई देहाय अनुसार प्रस्तुत गर्न सकिन्छः
  • संविधान सभाबाट निर्माण भएको संविधान
  • सशस्त्र द्वन्द्व र जनआन्दोलनको परिणामस्वरुप केन्द्रीकृत एकात्मक शोषणमूलक राज्य व्यवस्थाको अन्त्य गर्ने उद्घोषसहित निर्माण भएको संविधान
  • लोकतान्त्रिक मूल्यमान्यता र संविधानवादका आधारभूत मान्यतामा रहेर निर्माण भएको संविधान
  • समाजवाद उन्मुख राज्य व्यवस्था निर्माण गर्ने उद्देश्य राखेको संविधान
  • संघीयता, गणतन्त्र, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षतालाई संस्थागत गरेको संविधान
  • नागरिक तथा राजनीतिक अधिकार, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार तथा सामुहिक अधिकारलाई मौलिकहकका रुपमा राखेको संविधान
  • तीन तहको संघीयतालाई अबलम्बन गर्ने कुरा उल्लेख गरेको संविधान
  • तीनै तहको सरकारहरुको एकल अधिकार सुची र साझा अधिकार सुचीलाई संविधानमा नै स्पष्ट गरिएको
  • सुधारिएको संसदीय प्रणालीलाई शासकीय प्रणालीका रुपमा अबलम्बन गरिएको

वर्तमान संविधानको लोकतान्त्रिक मूल्य मान्यताका दृष्टिले संक्षिप्त टिप्पणी

लोकतान्त्रिक संविधान हुनका लागि संविधानवादको आधारभूत मान्यतामा संविधान निर्माण भएको हुनुपर्छ। जसमा मौलिक हक, शक्ति पृथकीकरण र सन्तुलन, आवधिक निर्वाचन, पूर्ण प्रेश स्वतन्त्रता, बहुदलीय व्यवस्था, बहुमतको शासन, जिम्मेवार प्रतिपक्षको व्यवस्था लगायतका विषय पूर्वशर्तका रुपमा रहेको हुनुपर्छ। संविधानलाई लोकतान्त्रिक मूल्यका दृष्टिले हेर्दा यसका अन्तरनिहित विषय जति लोकतान्त्रिक हुन्छ, यो निर्माण गर्ने पद्धति पनि त्यति नै लोकतान्त्रिक हुनुपर्छ भन्ने मान्यता राखिन्छ। यी विविध सन्दर्भमा नेपालको वर्तमान संविधानलाई लोकतान्त्रिक मूल्य मान्यताका दृष्टिले हेर्दा देहाय बमोजिम टिप्पणी गर्न सकिन्छ:

  • संविधानको प्रस्तावनामा नै जनतालाई सार्वभौमसत्ता सम्पन्न भएको कुरा उल्लेख गरिएको र देशको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको,
  • जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, बालिक मताधिकार, आवधिक निर्वाचन, पुर्ण प्रेश स्वतन्त्रता, स्वतन्त्र निष्पक्ष न्याय प्रणाली, कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतालाई संविधानको प्रस्तावनामा नै उल्लेख गरिएको,
  • लोकतान्त्रिक गणतन्त्रको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षाको परिपूर्ति गर्ने विषयलाई पनि प्रस्तावनामा नै उल्लेख गरिएको,
  • जननिर्वाचित संविधान सभाको माध्यमबाट लोकतान्त्रिक विधि र पद्धतिको प्रयोग गरी संविधान जारी गरिएको,
  • राज्यको सबै क्षेत्रमा समावेशी, समानुपातिक प्रणालीलाई अबलम्बन गरी सबै वर्ग, जाति, क्षेत्र र समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउने कुरा उल्लेख भएको,
  • स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको माध्यमबाट न्याय सुनिश्चित गरिएको,
  • कार्यपालिकाको स्वेच्छाचारितामाथि अंकुश लगाउन स्वतन्त्र संवैधानिक निकायहरुको व्यवस्था गरिएको,
  • जनताका अधिकारलाई थप प्रदान गर्न एकात्मक राज्य व्यवस्थालाई अन्त्य गरी संघीय व्यवस्थाको निर्माण गरिएको,
  • शक्ति पृथकीकरण र सन्तुलनको व्यवहारिक प्रयोगलाई कार्यान्वयनमा ल्याउन संविधानमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको शक्ति र सीमालाई उल्लेख गरिएको।

निष्कर्ष

नेपालको वर्तमान संविधान लोकतान्त्रिक मूल्य मान्यतामा आधारित विशेषतायुक्त छ। सार्वभौम जनताले संविधान सभाबाट निर्माण गरेको यस संविधानले परम्परागत केन्द्रीकृत एकात्मक राज्य व्यवस्थालाई अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेको छ।

Post a Comment

0 Comments