Advertisement

सुरक्षा परिषद्को परिचय र बहुस्तरीय शासनको रूपमा संयुक्त राष्ट्रसंघ

प्रश्न. संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद्को संरचना र प्रमुख कार्यहरु उल्लेख गर्दै बहुराष्ट्रिय शासनको नमूनाको रुपमा संयुक्त राष्ट्र संघको समीक्षा गर्नुहोस। (५+५=१०)

विषय प्रवेश

विश्व शान्तिको आकांक्षालाई परिपूर्ति गर्न सन् १९४५ मा तत्कालीन समयमा विश्वका ५१ वटा मुलुक र हाल विश्वका लगभग सबै मुलुकहरु सदस्य रहेको संयुक्त राष्ट संघ परराष्ट्रिय स्तरको शासकीय गतिबिधि सञ्चालन गर्ने निकाय हो। यसका विभिन्न अंग मध्ये सुरक्षा परिषद् एउटा शक्तिशाली अंगको रुपमा रहेको छ। विश्वका सबैजसो राष्ट्रहरु यसका सदस्य रहने र यसले गरेका निर्णयहरुको मान्नु पर्ने नैतिक दायित्व भएकाले यो बहुस्तरीय शासन सञ्चालनको नमूनाका रुपमा रहेको पाइन्छ।

संयुक्त राष्ट संघ, सुरक्षा परिषद्को संरचना र प्रमुख कार्यहरु :

संयुक्त राष्ट संघ, सुरक्षा परिषद्को संरचना देहाय बमोजिम रहेका छन् :

  • संयुक्त राष्ट संघ, सुरक्षा परिषद्मा ५ स्थायी र १० अस्थायी गरी जम्मा १५ राष्ट सदस्य रहेका हुन्छन्। यस मध्ये चीन, फ्रान्स, रुस, बेलायत र संयुक्त राज्य अमेरिका स्थायी सदस्य राष्ट्र हुन भने अन्य १० वटा अस्थायी सदस्यको निर्वाचन २ वर्षका लागि महासभाले गर्छ।
  • निर्णयका लागि प्रक्रियागत विषयमा १५ मध्ये जो कोही ९ सदस्यको सकारात्मक मत र सारवान विषयमा सबै स्थायी सदस्यसहित ९ मत आवश्यक पर्दछ। स्थायी सदस्यहरुमा निषेधाधिकार (Veto Power) को अधिकार रहन्छ, अर्थात् भिटो पावर भएको मुलुकले कुनै पनि विषयमा आफ्नो फरक मत राखेमा त्यो विषय निर्णय हुन सक्दैन्।

प्रमुख कार्यहरु

  • अन्तर्राष्टिय शान्ति सुरक्षा कायम गर्नु,
  • शस्त्रास्त्र नियन्त्रण र विवाद समाधान,
  • शान्तिका लागि जोखिम पहिचान र कारवाही,
  • परिषद्का निर्णयहरुको कार्यान्वयन,
  • महासचिव र अन्तराष्ट्रिय न्यायलयका न्यायधीश सिफारिस गर्नु,
  • नयाँ सदस्य राष्ट्रको सिफारिस गर्नु यसका प्रमुख कार्य हुन्।

बहुराष्ट्रिय शासनको नमूनाको रुपमा संयुक्त राष्ट्र संघ

बहुराष्ट्रिय शासनको नमूनाको रुपमा संयुक्त राष्ट्र संघलाई देहाय बमोजिम समीक्षा गर्न सकिन्छ :
  • संयुक्त राष्ट्र संघ शासनको पराराज्यीय तहको सबैभन्दा माथिल्लो तह हो । यसमा विश्वका सबै मुलुक सदस्य रहेका छन्।
  • यसले प्रयोग गर्ने अधिकार सदस्य राष्ट्रहरुले यसको बडापत्रलाई स्वीकार गरी त्यसमार्फत् प्रदान गरेका हुन्छन्।
  • संयुक्त राष्ट्र संघको खर्च प्रत्येक सदस्य राष्ट्रहरुले गर्ने योगदानबाट जुटाउने गरिन्छ।
  • यसको कर्यक्षेत्र समग्र विश्व (विश्वका सबै मुलुकहरु) भएको हुँदा संयुक्त राष्ट्र संघको शासनलाई विश्व शासन (Global Governance) पनि भनिन्छ।
  • यो विश्वव्यापी स्तरका साझा समस्याहरुको छलफल, अन्तरक्रिया तथा वार्ता एवं सम्झौता मार्फत् समाधान खोजी गर्ने अन्तराष्ट्रिय फोरम हो।
  • संयुक्त राष्ट्र संघको निर्णयहरु सदस्य राष्ट्रहरुले पालना गर्नु उनीहरुको नैतिक दायित्व हुन्छ तर त्यस्ता निर्णयहरु बलपूर्वक (वाध्यकारी तवरले) कार्यान्वयन गराउन सकिन्न।
  • यसका निर्णयहरु कार्यान्वयन गराउने आफ्नै कुनै प्रशासन, प्रहरी, बन्दीगृह वा अन्य संयन्त्रहरु हुँदैनन्।

त्यसैले संयुक्त राष्ट्र संघको शासन प्रणाली अनौपचारिक शासनको मान्यतामा आधारित हुन्छ भन्न सकिन्छ।

निष्कर्ष

विश्वमा शान्ति कायम गर्ने उद्देश्यले स्थापना भएको संयुक्त राष्ट संघको महत्वपूर्ण अंगको रुपमा सुरक्षा परिषद् रहेको छ। विश्वका शक्ति सम्पन्न मुलुकहरु बीच आपसी समन्वय र समझदारीमा कार्य गर्ने गरी संरचित यस परिषद्ले विश्व शान्ति कायम गराउने सन्दर्भमा ठूलो भूमिका खेल्छ। विश्वका सम्पूर्ण राष्टहरु सदस्य भएका र यसले बनाएका कानुनहरुलाई मान्नु पर्ने नैतिक दायित्व बोकेकाले नै यसलाई बहुस्तरीय शासनको नमूनाका रुपमा लिन सकिन्छ।

Post a Comment

0 Comments