Advertisement

वित्तीय क्षेत्रमा देखिएका समस्याहरु र सुधारका उपाय

प्रश्न. नेपालको वित्तीय क्षेत्रमा देखिएका समस्याहरु उल्लेख गर्दै वित्तीय क्षेत्र सुधारका लागि सुझाब प्रस्तुत गर्नुहोस्। ५+५ =१०

विषय प्रवेशः

वित्तीय साधनको प्रबन्ध मिलाइ अर्थव्यवस्थाको आधारस्तम्भका रुपमा रहेको नेपालको वित्तीय क्षेत्रमा विविध समस्याहरु विद्यमान छन्। नेपालको विकास तथा समृद्धिमा यिनको परिचालन जुन रुपमा हुनसक्नु पर्थ्यो, त्यो रुपमा हुन सकेन भन्ने विभिन्न अध्ययनहरुले देखाएका छन्। त्यसैले यसको समस्याको गम्भीरतापूर्वक विश्लेषण गरी सुधारका उपायहरु खोजिनु पर्छ।

नेपालको वित्तीय क्षेत्रमा देखिएका समस्याहरुः 

नेपालको वित्तीय क्षेत्रमा देखिएका समस्याहरुलाई देहाय अनुसार प्रस्तुत गर्न सकिन्छः

  • अनुत्पादक क्षेत्रमा पुँजी लगानी बढनु
  • बैंकहरुले कर्जा ब्याजदर जथाभाबी, सिद्धान्तहीन तरिकाले तय गर्नु,
  • बैंक तथा वित्तीय संस्थामा निष्कृय कर्जाको हिस्सा धेरै रहेको,
  • नियमन, निरीक्षण, सुपरिवेक्षण कार्य अपेक्षित प्रभावकारी बन्न सकेको देखिंदैन,
  • सहकारी संस्थाहरुको नियमन हुन नसक्नु, ठगी गर्ने प्रवृत्ति व्याप्त देखिएको,
  • बैंकहरुले कमजोर तथा खराब कर्जा अपेक्षित रुपमा घटाउन नसक्नु,
  • वित्तीय समावेशीकरण, वित्तीय साक्षरताका कार्यक्रम अपेक्षित रुपमा विपन्न र दुर्गम क्षेत्रमा लैजान नसकिनु,
  • कर्जा, बचत र ब्याजदर बीच उचित संयोजन हुन नसकेको कारण तरलताको अवस्था विद्यमान देखिनु,
  • वित्तीय संस्थाहरु परम्परागत लगानीका क्षेत्रहरुमा केन्द्रित हुँदा नवीन क्षेत्रको पहिचान पक्ष कमजोर भएको,
  • बैंक तथा वित्तीय संस्था मापन गर्ने सूचकांक पनि यथार्थपरक नरहेको,
  • देशको आवश्यकता भन्दा बढी वित्तीय संस्थाहरुको निर्माण,
  • देशको अर्थतन्त्र तथा बजार व्यवस्था कमजोर भइरहँदा पनि बैंकहरु आफू चाहिं नाफामा गइरहनुले समग्र वित्तीय क्षेत्रमा कहिं न कहिं समस्या छ भन्ने देखाउँछ ।

वित्तीय क्षेत्र सुधारका लागि सुझाबहरु

वित्तीय संस्थामा देखिएका समस्यालाई समाधान गरी दिगो, स्थिर र सक्षम वित्तीय क्षेत्रको निर्माणका लागि देहाय बमोजिमका सुधार गर्न आवश्यक देखिन्छः

  • मौद्रिक नीति र वित्तीय नीतिबीच पूर्ण रुपमा समन्वय हुने गरी नीति तर्जुमा र कार्यान्वयन गर्नुपर्ने,
  • बैंक, वित्तीय संस्था र बिमा कम्पनीहरुलाई मर्ज हुन प्रोत्साहन हुने कार्यक्रम ल्याउने,
  • वित्तीय क्षेत्रमा कर्पाेरेट कल्चरको कार्यान्वनय गर्ने र कर्पाेरेट गर्भनेन्सको अभ्यासको प्रभावकारी प्रयोग गर्ने,
  • वित्तीय क्षेत्र सुधारका लागि बस्तुगत, यथार्थपरक र सहभागितामूलक कार्ययोजना बनाइ तत्काल कार्य सुरु गर्ने,विशिष्ट क्षेत्रको ग्रामीणमुखी मार्गचित्र तयार गरी लागू गर्ने,
  • प्रविधिको उच्च प्रयोग गर्ने र जनतामा प्रविधिको प्रयोग गर्र्ने संस्कृतिको सुरुवात गराउने गरी कार्यक्रम सञ्चालन गर्ने,
  • ब्याज दर व्यवस्थापन प्रभावकारी बनाउन आधार दर प्रभावकारी रुपमा लागु गर्ने,
  • वित्तीय क्षेत्र सुधारका संरचना र कानुनी आधार अन्तरराष्ट्रिय मापदण्ड अनुरुप बनाउने,
  • तरलताको व्यवस्थापन, खराब कर्जा घटाउने, उत्पादनशील क्षेत्रमा लगानी बढाउने, अनुत्पादक तथा निष्कृय लगानीलाई निरुत्साहित गर्ने लगायतका कार्यहरु अपरिहार्य देखिन्छन।

निष्कर्षः

अनुत्पादक क्षेत्रमा लगानी हुनु, बचतको सही परिचालन हुन नसक्नु, वित्तीय संस्थाहरुको नियमन अपेक्षित हुन नसक्नु, वित्तीय अपराधीकरणलाई अपेक्षित रुपमा नियन्त्रण गर्न नसकिनु लगायतका समस्याहरु नै प्रमुख समस्याका रुपमा रहेका छन् भने यी समस्याको गम्भीर बोध गरी त्यसलाई निराकरण गर्नका लागि माथि उल्लेख गरिएका विषयका साथै बस्तुपरक नीति, योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन जरुरी देखिन्छ।

Post a Comment

0 Comments