Advertisement

व्यवस्थापन परीक्षण र यसका उद्देश्य

प्रश्न. व्यवस्थापन परीक्षणका क्षेत्रहरु प्रस्तुत गर्दै यसका उद्देश्यमाथि प्रकाश पार्नुहोस। ५+५ =१०

व्यवस्थापन परीक्षणको परिचय
व्यवस्थापकीय निर्णय र कार्यप्रणालीको कार्यदक्षता, नियमितता, प्रभावकारीता, मितव्ययिता र औचित्यताको परिक्षण गरी सोको नतिजा व्यवस्थापन समक्ष प्रस्तुत गर्ने कार्यलाई नै व्यवस्थापन परिक्षण भनिन्छ, अर्थात् प्रशासकिय व्यवस्थापनलाई नतिजामूलक र उपलव्धीमूलक तुल्याउन संगठनको संरचना, कार्य पद्धती, कानूनको पालना तथा साधन स्रोतको उपयोग लगायतका विषयको विश्लेषणात्मक ढंगबाट परिक्षण गर्ने प्रशासनिक पद्धती नै व्यवस्थापन परिक्षण हो।

व्यवस्थापन परीक्षणका क्षेत्रहरु
प्रशासन सुधारको महत्वपूर्ण अबयवका रुपमा रहेको व्यवस्थापन परीक्षणका क्षेत्रहरु देहाय अनुसार रहेका छन्ः
१. संगठनात्मक नीति र व्यवहार
२. संगठन संरचना
३. कार्य प्रक्रिया र कार्यालय विन्यास (Office Layout)
४. कर्मचारी व्यवस्थापन र अभिलेख
५. आर्थिक प्रशासन र जिन्सी व्यवस्थापन
६. सेवा प्रवाह र पारदर्शिता
७. सूचना प्रविधिको प्रयोग
८. गुनासो व्यवस्थापन

व्यवस्थापन परीक्षणका उद्देश्यहरु
व्यवस्थापन परीक्षणका उद्देश्यहरु देहाय बमोजिम रहेका छन्ः
  • विभिन्न निकायहरूको प्रशासकीय व्यवस्थापन सम्बन्धी कार्यमा एकरुपता कायम गर्न सहयोग पुर्‍याउने।
  • प्रचलित कानून तथा अन्य प्रशासकीय नियम र कार्यविधिहरू पालन गरे नगरेको सम्बन्धमा परीक्षण गरी देखिएका कमी कमजोरी, त्रुटि र अनियमितताहरूलाई उजागर गर्ने र सुधारका लागि सुझावहरू प्रस्तुत गर्ने।
  • संगठनका सवल र दुर्वल पक्षहरूको पहिचान गर्ने एवं सबल पक्षहरूको प्रवर्द्धन र दुर्बल पक्षहरू हटाउन आवश्यक उपायहरू समेत सिफारिस गर्ने।
  • उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरी संगठनमा गतिशीलता र प्रभावकारिता वृद्वि गर्न सहयोग गर्ने।
  • व्यवस्थापकीय कार्य क्षमताको जाँच गर्ने।
  • व्यवस्थापनमा जवाफदेहिता अभिवृद्धि गर्न सहयोग गर्ने।
  • व्यवस्थापकीय जवाफदेहिता कायम गरी जनतालाई सुशासनको पूर्ण र यथार्थ अनुभूति दिलाउने।
निष्कर्ष
प्रशासन संयन्त्रलाई सबल, कुशल, प्रभावकारी, जनउत्तरदायी र व्यवस्थित बनाउनका लागि यसको व्यवस्थापन पक्षको परिक्षण गर्दा संगठनात्मक संरचनादेखि जिम्मेवारी, जवाफदेहिता, कार्यविभाजन तथा सम्भावित परिणामसहितको परीक्षण गरिनुपर्छ । यसले व्यवस्थापनका क्षेत्रमा देखिएका दुर्बल पक्षलाई सुधार गर्ने र सबल पक्षलाई प्रोत्साहन गर्नुका साथै सरकारप्रति जनविश्वास बढाउन भूमिका खेल्छ।

Post a Comment

0 Comments