Advertisement

नेपालको शासन प्रणाली: विशेषता र विकृतिहरू

प्रश्न. नेपालका शासन प्रणालीका विशेषताहरु उल्लेख गर्दै नेपालको शासन प्रणालीमा देखिएका विकृतिहरु बारे लेख्नुहोस। (५+५ =१०)

शासन प्रणालीको परिचय

शासन भनेको राज्य सञ्चालनमा आवद्ध विधि, पद्धति, संस्था र संयन्त्रबीचको अन्तरसम्बन्धात्मक प्रणाली हो, अर्थात् राज्य संरचना, शासकीय स्वरुप तथा राज्य सञ्चालन प्रक्रियामा संलग्न विभिन्न संस्था, तिनको संरचना, शक्तिको बाँडफाँड, तिनीहरुबीचको अन्तरसम्बन्धको बिधि, पद्दति तथा प्रक्रियाको समष्टि नै शासन प्रणाली हो।

नेपालको शासन प्रणालीको विशेषताहरू

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय प्रणालीलाई अबलम्बन गरेको मुलुक हो। यस सन्दर्भमा नेपालका शासन प्रणालीका विशेषतालाई देहाय बमोजिम प्रस्तुत गर्न सकिन्छ:

  • लोकतन्त्रका आधारभूत मूल्य मान्यतामा आधारित शासन प्रणाली।
  • संविधानसभाद्धारा नयाँ संविधानको निर्माण गरी राज्यको एकात्मक ढाँचाबाट संघात्मक ढाँचामा रुपान्तरण भएको।
  • शासकीय स्वरुपमा सुधारिएको संसदीय सरकारको व्यवस्था।
  • राज्यशक्तिको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका बीचमा विभाजन गरी परस्परमा सन्तुलन र नियन्त्रण कायम गर्ने गरी अभ्यास गरिएको।
  • राजनैतिक बहुलवादको मान्यता स्वीकार्दै बहुदलीय प्रणालीको अवलम्बन गरिएको।
  • प्रत्यक्ष र समानुपातिक दुवै विधि समेटी मिश्रित निर्वाचन प्रणालीको प्रयोग गरिएको।
  • सार्वजनिक, निजी, गैरसरकारी र सहकारी क्षेत्रहरुसँगको सहकार्य र साझेदारीमा मुलुकको आर्थिक सामाजिक विकास गर्ने राज्यको नीति रहेको। अर्थात् शासनमा सार्वजनिक, निजी र गैरसरकारी तीनवटै क्षेत्रलाई संलग्न गरिएको।
  • असंलग्नता, पञ्चशील, अन्तर्राष्ट्रिय कानुनको सम्मान र विश्वशान्तिको प्रवद्र्धन जस्ता सिद्दान्तमा आधारित परराष्ट्र नीतिको अवलम्बन।
  • कार्यकारी अधिकारको स्वेच्छाचारी प्रयोगमा अंकुश लगाउन विभिन्न संवैधानिक निकायहरुको व्यवस्था।
  • एकल न्यायप्रणाली अन्तर्गत तीन तहका अदालतहरुको व्यवस्था।
  • प्रतिरक्षा र आन्तरिक सुरक्षा व्यवस्थापनका लागि सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग जस्ता सुरक्षा निकाय व्यवस्था।

नेपालको शासन प्रणालीमा देखिएका विकृतिहरू

नेपालका विद्यमान शासन प्रणालीमा देखिएका विकृतिलाई देहाय अनुसार प्रस्तुत गर्न सकिन्छ:

  • हालको शासन प्रणालीमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बीचमा शक्ति र अधिकारको स्पष्ट विभाजन र ती अंगहरुबीचमा प्रभावकारी सन्तुलन र नियन्त्रणको अभावले तिनीहरुका बीचको अन्तरसम्बन्धमा द्वन्द्व सिर्जना हुनु।
  • समानुपातिक निर्वाचन प्रणालीको अभ्यासलाई वैज्ञानिक र व्यवस्थित गर्न नसक्दा राजनैतिक शक्ति र पैसाको भरमा सांसद बन्ने तथा बनाउने अवस्था विद्यमान हुनु।
  • अदालतले राजनीतिक विषयहरुमा प्रवेश गरी राजनीतिक फैसलाहरु गर्नु अथवा राजनैतिक सक्रियता देखाउनु।
  • पार्टीभित्र विद्यमान गुटबन्दी, गुट परिवर्तन, फ्लोस क्रस, सांसद किनबेच जस्ता विकृत स्वरुप देखिएको।
  • सरकारमा जान तथा मन्त्री हुनका लागि चरम व्यक्तिवादी तथा निकृष्ट हर्कत सांसद तथा पार्टी नेतृत्वमा देखिनु।
  • तीनै तहका सरकारहरु अधिकारका लागि मात्रै लडने तर जिम्मेवारीपूर्वक कर्तव्य पुरा नगरेको अवस्था विद्यमान देखिन्छ।
  • प्रदेश सरकारले आफ्नो औचित्य पुष्टि गर्न नसक्नु, चरम आर्थिक दुरुपयोगका घटनाहरु सतहमा आउनु तथा स्थानीय तहका पदाधिकारीहरु सुविधाभोगी बन्नु र चरम भ्रष्टचारका विषयहरु मिडियामा सुनिनु।
  • दुई तिहाइ नजिकको सरकारले पार्टीका आन्तरिक विवादलाई देखाएर प्रतिनिधि सभा बिघटन गर्नु, अस्थिर प्रकृतिका सरकार निर्माण हुने प्रक्रिया फेरि सुरु हुनु, पार्टीबीच चरम अविश्वास निर्माण हुनु।
  • पार्टीहरुको आन्तरिक लोकतन्त्र कमजोर रहेको, प्रमुख राजनीतिक दलहरुले ५ वर्षमा पनि महाधिवेशन गर्न गराउन नसकेको अवस्था विद्यमान रहेको।

निष्कर्ष

सार्वजनिक उद्देश्य हासिल गर्न नियमहरुको विकास गर्ने, लागू गर्ने र परिपालना गराउने कार्य नै शासन हो। नेपालको शासन प्रणाली लोकतान्त्रिक मूल्यमा आधारित, समावेशी, संघीय, गणतन्त्रात्मक संसदीय शासन प्रणालीको विशेषतायुक्त छ। लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्न नसक्दा र सामन्ती चिन्तन र मनोवृत्तिका कारण नेपालको शासन प्रणालीमा माथि उल्लेखित विभिन्न विकृतिहरु विद्यमान रहेको पाइन्छ।

Post a Comment

0 Comments