Advertisement

वार्ता तथा सम्झौता क्षमता अभिवृद्धि गर्ने उपाय

प्रश्न. छिमेकी मुलुकसँग हुने वार्ता तथा सम्झौता प्रभावकारी तुल्याउन नसक्नुका कारण र  वार्ता तथा सम्झौता क्षमता अभिवृद्धि गर्ने उपाय लेख्नुहोस्। (५+५=१०)

दुईभन्दा बढी व्यक्ति, समूह, संगठन वा राज्यबीच आपसी हित प्रवद्र्धन एवं सम्बन्ध सुधार र विवाद निरुपणका लागि गरिने छलफल, अर्न्तक्रियालाई वार्ता भनिन्छ। वार्ता एक व्यवस्थित, चरणबद्ध, एजेन्डामा आधारित, औपचारिक द्विपक्षीय वा बहुपक्षीय सौदाबाजी हो। किसिम, प्रकृति, स्वभाव र तरिकाअनुसार वार्ता विभिन्न किसिमका हुन्छन् । वार्ताको परिणामलाई लिपिबद्ध गर्ने कार्य सम्झौता हो। 

छिमेकी मुलुकसँग हुने विभिन्न आर्थिक सामाजिक सम्बन्धलाई समयसापेक्ष रूपमा द्विपक्षीय हितमा प्रवर्द्धन गर्ने हेतुले नै विभिन्न सम्झौता गर्ने गरिन्छ। यस्ता सम्झौताबाट आफूले फाइदा प्राप्त गर्नु दुवै मुलुकको उद्देश्य हुने भए पनि वार्ताका क्रममा अपनाइने विभिन्न रणनीति, तत्कालीन परिस्थिति र परिवेश तथा राष्ट्रहरूको आफ्नो सबल र दुर्बल पक्षमा सम्झौताको नतिजा भर पर्छ। 

प्रभावकारी वार्ता व्यवस्थापन हुन नसक्नुका कारण

  • मुलुकको राजनीतिक वातावरण सुमधुर नहुनु,
  • राजनीतिक शक्तिबीच राष्ट्रिय हित र चासोको विषयमा पनि साझा अवधारणा बन्न नसक्नु,
  • राजनीतिक दाउपेच र संकीर्णता हाबी हुनु,
  • आर्थिक, सामाजिक, भौगोलिक तथा सामरिक रूपले नेपालभन्दा ठूला र शक्तिशाली मुलुकसँग पारस्परिकता कायम राख्न नसक्नु,
  • गरिबी र पछौटेपनका कारण वार्ताकार र नेतृत्वमा हीनभावना रहनु, 
  • प्रशासनिक विज्ञता र व्यावसायिकताको कमी हुनु,
  • वार्ता गर्ने स्पष्ट अख्तियार वा अधिकार लिएर प्रस्तुत हुन नसक्नु,
  • सम्बद्ध सम्पूर्ण सूचनाका साथ यथेष्ट गृहकार्य नगरिनु,
  • समयको उपयोग सही ढंगले नहुनु,
  • कुन रणनीति अपनाउने हो, सो प्रस्ट नहुनु,
  • पूर्वतयारीको क्रममा वार्ता गरिने मुलुकको चासो सबलता र कमजोरी विश्लेषण नगरिनु,
  • पदेन वार्ताकारमा सीप सूचना भाषिक विज्ञताको अभाव रहनु,
  • Best Alternative to a Negotiated Agreement (BATNA) / Worse Alternative to Negotiated Agreement  (WATNA) को तयारी नगरिनु,
  • नागरिक समाज राष्ट्रिय हित र चासोप्रति सजग नरहनु।

नेपालको सन्दर्भमा वाणिज्य क्षेत्रमा होस् वा उद्योग वा पूर्वाधार विकास,  जलशक्तिको बाँडफाँड होस् वा द्विपक्षीय सीमा वा सुरक्षा मामिला होस् हरेक सम्झौता कुनै न कुनै रूपमा आलोचित हुने गरेको पाइन्छ। नेपालको तर्फबाट हुने द्विपक्षीय वार्ताबाट नेपाल र नेपालीले अपेक्षा गरेबमोजिमको नतिजा प्राप्त गर्ने गरी प्रभावकारी वार्ता व्यवस्थापन गर्नुपर्छ। 

सफल वार्ता व्यवस्थापनका उपाय

राष्ट्रिय हित र चासोको सम्बोधन हुने गरी वार्तालाई सफल बनाउन देहायका उपाय अवलम्बन गर्नु जरुरी हुन्छ: 

  • वार्ता गरी सम्झौतामा पुग्नुपर्ने विषयमा मुलुकभित्र राजनीतिक शक्तिबीच साझा अवधारणा र सहमति निर्माण गर्ने, 
  • प्रशासनिक विज्ञता र विशेषज्ञताको विकास गर्ने, 
  • वार्ता सीप तथा क्षमता विकासको मानक तयार गरी लागू गर्ने, 
  • वार्ताकारको विशेषज्ञतामा जोड दिने,
  • पर्याप्त गृहकार्य र अभ्यास गर्ने,
  • विज्ञहरूसँगको परामर्श बढाउने, 
  • वार्ताकारलाई अख्तियारी, सूचना, तालिम र रणनीतिले युक्त बनाउने, 
  • जनधारणा र चासो संकलन गरी विश्लेषण गर्ने एवं पृष्ठपोषण लिने,
  • सर्वोत्तम र खराब विकल्पको पूर्वआँकलन गर्ने, 
  • वार्ता गरिने पक्षको सबल र दुर्बल पक्षमा ध्यान दिने, 
  • समयको व्यवस्थापन एवं सही क्रममा उपयोग  गर्ने।

राजनीतिक नेतृत्व र उच्च प्रशासकमा राष्ट्रप्रतिको जिम्मेवारी, जनताप्रतिको उत्तरदायित्व र पेसागत विशिष्टीकरणलाई आत्मसात् गर्नु सफल वार्ताको पूर्वसर्त हो। राष्ट्रिय हित र चासो प्रतिकूलको अवस्थाको प्रतिरोध गर्न सक्ने गरी राज्यको शक्ति सुदृढ गर्नु पनि उत्तिकै जरुरी हुन्छ। साथै प्रशासनिक विज्ञता र विशिष्टीकरणको माध्यमबाट उपयुक्त सीप र कौशलका साथ रणनीतिको अख्तियार गर्न सकेमा द्विपक्षीय वार्ता र सम्झौतालाई आलोचनामुक्त तुल्याई राष्ट्रहितमा उपयोग गर्न सकिन्छ।

Post a Comment

0 Comments