Advertisement

स्थानीय तहका अवसर तथा चुनौती, अभिलेख व्यवस्थापन

प्रश्नः नेपालमा स्थानीय तहका अवसर तथा चुनौती उल्लेख गर्नुहोस्। (५)
"नागरिकको नजिकको सरकार : स्थानीय सरकार"

स्थानीय जनताद्वारा निर्वाचित भई स्थानीयस्तरमा नै शासन व्यवस्था सञ्चालन गर्ने जनप्रतिनिधिमूलक शासकीय संरचनालाई स्थानीय तह भनिन्छ । नेपालको वर्तमान संविधानको भाग ३४ को धारा ३०६ मा स्थानीय तह भन्नाले यस संंविधानबमोजिम स्थापना हुने गाउँपालिका, नगरपालिका र जिल्ला सभालाई सम्झनुपर्छ भनी स्पष्ट परिभाषित गरेको छ । स्थानीय तह निश्चित विधि, प्रक्रिया र जनअपेक्षाअनुरूप सञ्चालन हुने भएकाले स्थानीय तहमा विभिन्न अवसरका साथै चुनौती पनि रहेका हुन्छन्।
अवसर
  • स्थानीय तहलाई प्राप्त अवसर आफ्नो अधिकार क्षेत्रको विषयमा आवश्यक कानुन बनाई लागू गर्ने
  • कानुनबमोजिम तोकिएका विवादको न्यायिक निरुपण गर्ने
  • स्थानीय नीति, योजना तथा कार्यक्रम तय गरी सञ्चालन गर्ने
  • स्थानीय आवश्यकताअनुरूप बजेटको तर्जुमा गरी परिचालन गर्न सक्ने
  • संविधान र कानुनबमोजिम आफ्नो अधिकार क्षेत्रको विषयमा कर लगाउन र उठाउन सक्ने
  • तोकिएको क्षेत्रबाट राजस्वको संकलन एवं संघ र प्रदेश सरकारबाट अनुदान प्राप्त गर्ने
  • स्थानीय तहप्रति उत्तरदायी स्थानीय सेवाको गठन गरी प्रशासन सञ्चालन गर्न सक्ने
  • आफ्नो कार्यविभाजन र कार्यसम्पादनका लागि आवश्यक नियम बनाई लागू गर्न सक्नेलगायत थुप्रै अवसर रहेका छन् ।
स्थानीय तहका चुनौती 

  • संविधान तथा कानुनद्वारा प्राप्त अधिकारको सही प्रयोग गरी स्थानीय सरकारद्वारा जनतासमक्ष गरिएका प्रतिबद्धता पूरा गर्नु
  • स्थानीय नागरिकको विकास र सेवाको आकांक्षाको सम्बोधन गर्नु
  • स्थानीय निकाय परिवर्तन भई स्थानीय तहमा रूपान्तरण भएको सन्दर्भमा सोहीअनुरूपको संस्थागत क्षमताको विकास गर्नु
  • स्थानीय तहमा रहेका विभिन्न सेवा समूहका कर्मचारीबीच समन्वय कायम गर्दै उनीहरूको सीप, क्षमता र दक्षताको अधिकतम सदुपयोग गर्नु
  • देशको भौगोलिक परिवेशअनुरूप पूर्वाधारको विकास गर्नु
  • स्थानीय स्रोत–साधनको अति उत्तम परिचालन गरी अधिकतम उपलब्धि हासिल गर्नु
  • संघीय र स्थानीय शासन सञ्चालन ऐनले व्यवस्था गरेबमोजिम स्थानीय प्रशासन सञ्चालन गर्नु।
निष्कर्ष
स्थानीय तह स्थानीय शासन सञ्चालनको आधार भएकाले यस क्षेत्रमा देखिएका चुनौती सामना गर्दै यसका अवसरको सही प्रयोग गर्न सकेमा शान्त, समृद्ध र न्यायपूर्ण नेपाल निर्माण हुने देखिन्छ।

प्रश्नः अभिलेख व्यवस्थापनबारे चर्चा गर्दै कार्यालयमा यसको महत्वबारे उल्लेख गर्नुहोस्। (५)
"व्यवस्थापनको महत्वपूर्ण पाटो अभिलेख व्यवस्थापन"
कार्यालयमा दैनिक प्राप्त हुने चिठी, पत्र, लिखत, टिपोट र अन्य कार्यालयीय कागजातलाई अभिलेख भनिन्छ। यसरी प्राप्त हुने कागजातलाई तिनको प्राथमिकताका आधारमा वर्गीकरण गरी उचित व्यवस्थापन गर्ने कार्य नैे अभिलेख व्यवस्थापन हो । यसअन्तर्गत कागजातको प्राप्ति, उपयोग, भण्डारण र नष्टलगायत क्रियाकालप समावेश हुन्छन् । फाइलिङ, कम्पुटराइज्ड, माइक्रो फिल्म आदि अभिलेख व्यवस्थापनका विधि हुन्।

  • कार्यालयमा अभिलेख व्यवस्थापनको महत्व कार्यालयका महत्वपूर्ण सामग्रीलाई भविष्यका लागि सुरक्षित राख्न समयको बचत गरी छिटो र छरितो सेवा प्रवाह गर्न
  • नीति, योजना र कार्यक्रम तर्जुमाका लागि आवश्यक तथ्यांक उपलब्ध गराउन
  • संस्थागत स्मरणका लागि अभिलेख व्यवस्थापनको उपयोग गर्न
  • खोजेका बखत तुरुन्त आवश्यक सामग्री प्राप्त गरी समयको बचत गर्न
  • भविष्यमा प्रमाणको रूपमा पेस गर्न
  • आगामी कार्यका लागि मार्गदर्शन गर्न
  • निर्णयमा एकरूपता कायम गर्न
  • विवादको शान्तिपूर्ण समाधान गर्न
  • व्यवस्थापनका कार्यमा मितव्ययिता र जवाफदेहिता कायम गर्न
  • पारदर्शी कार्यप्रणालीको विकास गर्न
  • समग्रमा कार्यालयप्रतिको जनविश्वास बढाउन।
अन्त्यमा
कार्यालयको हरेक क्रियाकलापलाई सहजीकरण गरी कार्यालयको ख्याति वृद्धि गर्न अभिलेख व्यवस्थापनको अत्यन्त महत्वपूर्ण भूमिका रहने हुँदा कार्यालयमा अभिलेख व्यवस्थापनलाई एउटा महत्वपूर्ण पाटोको रूपमा विकास गर्नु आजको आवश्यकता हो ।

Post a Comment

0 Comments