Advertisement

आयोजना तथा उपभोक्ता समिति व्यवस्थापन

१. कानूनी आधार र परिभाषा

कानूनी आधार: उपभोक्ता समिति मार्फत आयोजना सञ्चालन गर्न सार्वजनिक खरिद ऐन, २०६३ (दफा ४४), सार्वजनिक खरिद नियमावली, २०६४ (नियम ९७), स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (दफा १२ र २४), स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन कार्यविधि, २०७४ र स्थानीय तहमा उपभोक्ता समिति मार्फत योजना तथा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यसञ्चालन विधि, २०८२ (SOP) ले वैधानिकता प्रदान गरेका छन्।

उपभोक्ता समितिको परिभाषा: निर्माण कार्यबाट प्रत्यक्ष लाभ पाउने उपभोक्ताहरूले आयोजनाको निर्माण, सञ्चालन र मर्मत सम्भारका लागि आफूहरू मध्येबाट गठन गरेको समिति "उपभोक्ता समिति" हो (सार्वजनिक खरिद नियमावली २०६४, नियम २(ट) र स्थानीय तहको कार्यविधि २०७४, दफा २(घ))।

आयोजनाको सीमा: लागत सहभागिता समेत गरी १ करोड रुपैयाँ सम्मको लागत अनुमान भएका आयोजनाहरू मात्र उपभोक्ता समिति मार्फत सञ्चालन गर्न सकिन्छ (सार्वजनिक खरिद नियमावली २०६४, नियम ९७(१) र स्थानीय तहको कार्यविधि २०७४, दफा ३(२))। यस १ करोडको सीमाभित्र मूल्य अभिवृद्धि कर (VAT), ओभरहेड, कन्टिन्जेन्सी र जनसहभागिताको अंश समेत समावेश हुनुपर्छ (सार्वजनिक खरिद नियमावली २०६४, नियम ९७(१)(क))।

२. उपभोक्ता समिति गठन र योग्यतागठन प्रक्रिया: 

आयोजना स्थलमै लाभग्राही उपभोक्ताहरूको आम भेला गरी ७ देखि ११ सदस्यीय समिति गठन गर्नुपर्छ (स्थानीय तहको कार्यविधि २०७४, दफा ४(१)(क))। भेलाको सूचना कम्तीमा ७ दिन अगावै सार्वजनिक गर्नुपर्छ (SOP २०८२, बुँदा ५(ख))।

समावेशीता: समितिमा कम्तीमा ३३ प्रतिशत महिला हुनुपर्ने र पदाधिकारी (अध्यक्ष, सचिव, कोषाध्यक्ष) मध्ये कम्तीमा एक जना महिला अनिवार्य हुनुपर्छ (स्थानीय तहको कार्यविधि २०७४, दफा ४(१)(च))।

बन्देज र अयोग्यता: जनप्रतिनिधि, बहालवाला सरकारी कर्मचारी, राजनीतिक दलका पदाधिकारी र शिक्षक उपभोक्ता समितिको सदस्य हुन पाउने छैनन् (स्थानीय तहको कार्यविधि २०७४, दफा ५(२) र SOP २०८२, बुँदा ६(२))। 

एक व्यक्ति एक पटकमा एउटा मात्र समितिमा बस्न पाउने र सगोलको परिवारबाट एक जना भन्दा बढी सदस्य हुन नपाउने (स्थानीय तहको कार्यविधि २०७४, दफा ४(१)(छ))।

अनुगमन समिति: उपभोक्ता भेलाबाटै कम्तीमा एक महिलासहित ३ सदस्यीय अनुगमन समिति छुट्टै गठन गरिनु पर्छ (स्थानीय तहको कार्यविधि २०७४, दफा १३(१))।

३. योजना सम्झौता र पूर्व तयारी 

प्राविधिक तयारी: कार्यालयले आयोजनाको स्वीकृत ड्रइङ, डिजाइन र लागत अनुमान उपभोक्ता समितिलाई उपलब्ध गराउनु पर्छ (स्थानीय तहको कार्यविधि २०७४, दफा ७(१))।

लागत सहभागिता: आयोजनाको प्रकृति अनुसार कम्तीमा १० प्रतिशत वा स्थानीय तहले तोके बमोजिमको जनश्रमदान वा नगद सहभागिता अनिवार्य हुन्छ (स्थानीय तहको कार्यविधि २०७४, दफा ७(३) र SOP २०८२, बुँदा ८(ग))।

आवश्यक कागजात: सम्झौताका लागि आम भेलाको निर्णय, नागरिकताको प्रतिलिपि, वडाको सिफारिस र कार्यान्वयन कार्यतालिका पेश गर्नुपर्छ (SOP २०८२, बुँदा ९ र स्थानीय तहको कार्यविधि २०७४, दफा ८(१))।

४. कार्यान्वयनका कडा शर्तहरू र निषेध

ठेक्का दिन नपाइने: उपभोक्ता समितिले पाएको काम आफैंले गर्नुपर्छ। कुनै पनि निर्माण व्यवसायी वा सब-कन्ट्रयाक्टर मार्फत ठेक्कामा काम गराउन सख्त मनाही छ (सार्वजनिक खरिद नियमावली २०६४, नियम ९७(१०) र SOP २०८२, बुँदा ७(झ))। 

यदि निर्माण व्यवसायी संलग्न गराइएको पाइएमा सम्झौता रद्द गरी सो व्यवसायीलाई कालो सूचीमा राख्न सिफारिस गरिनेछ (सार्वजनिक खरिद नियमावली २०६४, नियम ९७(१३क))।

ठूला मेशिनरी प्रयोग: साधारणतया डोजर, रोलर, एक्साभेटर जस्ता हेभी मेशिनहरू प्रयोग गर्न पाइँदैन। तर लागत अनुमानमै उल्लेख भएको जटिल प्रकृतिको काममा प्राविधिकको सिफारिस र कार्यालयको पूर्व स्वीकृति लिई प्रयोग गर्न सकिनेछ (सार्वजनिक खरिद नियमावली २०६४, नियम ९७(९) र SOP २०८२, बुँदा ३)।

सूचना पाटी: ३ लाख भन्दा बढी लागतका आयोजनामा नाम, लागत र अवधिसहितको आयोजना सूचना पाटी अनिवार्य राख्नुपर्छ (स्थानीय तहको कार्यविधि २०७४, दफा ११(७))।

५. भुक्तानी र आर्थिक व्यवस्थापन

ओभरहेड कट्टी: उपभोक्ता समितिलाई भुक्तानी दिँदा लागत अनुमानमा रहेको १५ प्रतिशत ओभरहेड र कन्टिन्जेन्सी रकम कट्टा गरेर मात्र भुक्तानी दिनुपर्छ (सार्वजनिक खरिद नियमावली २०६४, नियम ९७(४))।

प्राविधिकको पारिश्रमिक: यदि समितिले आफ्नै प्राविधिक नियुक्त गरेमा सोको पारिश्रमिक कट्टा गरिएको कन्टिन्जेन्सीबाट दिइनेछ, तर यो कुल लागतको ३ प्रतिशत भन्दा बढी हुनु हुँदैन (सार्वजनिक खरिद नियमावली २०६४, नियम ९७(८))।

धरौटी: भुक्तानी गर्दा ५ प्रतिशत धरौटी (Retention Money) कट्टा गरिनेछ। यसको ५०% त्रुटि सच्याउने अवधि पछि र बाँकी ५०% कर चुक्ताको प्रमाण पेश गरेपछि फिर्ता हुन्छ (सार्वजनिक खरिद नियमावली २०६४, नियम १२४(२))।

६. फरफारक र हस्तान्तरण प्रक्रिया

सार्वजनिक परीक्षण (Public Audit): आयोजना सम्पन्न भएपछि र अन्तिम भुक्तानी लिनु अघि अनिवार्य रूपमा सार्वजनिक परीक्षण गरी सोको प्रतिवेदन बुझाउनु पर्छ (SOP २०८२, बुँदा १७(क) र स्थानीय तहको कार्यविधि २०७४, दफा ११(५))।

प्राविधिक जाँचपास: सम्बन्धित प्राविधिकले कार्यस्थलमा गई सम्पन्न कामको नापजाँच (Measurement Book) र कार्य सम्पन्न प्रतिवेदन (Work Completion Report) तयार गर्नुपर्छ (सार्वजनिक खरिद नियमावली २०६४, नियम १२५(२) र SOP २०८२, बुँदा १३(ग))।

एज बिल्ट नक्सा: काम सम्पन्न भएको ३० दिनभित्र As-built नक्सा कार्यालयमा पेश गर्नुपर्छ (सार्वजनिक खरिद नियमावली २०६४, नियम १२५(१))।

स्वामित्व हस्तान्तरण: फरफारक भएपछि आयोजनाको स्वामित्व र भविष्यमा गरिने मर्मत सम्भारको जिम्मेवारी उपभोक्ता समितिलाई हस्तान्तरण गरिन्छ (सार्वजनिक खरिद नियमावली २०६४, नियम ९७(१२) र स्थानीय तहको कार्यविधि २०७४, दफा १२)।

७. मर्मत सम्भार र दिगोपनामर्मत कोष: 

आयोजनाको दिगो व्यवस्थापनका लागि उपभोक्ता समितिले मर्मत सम्भार कोष खडा गरी उपभोक्ताहरूबाट सेवा शुल्क समेत तोक्न सक्नेछ (सार्वजनिक खरिद नियमावली २०६४, नियम ९७(१५) र स्थानीय तहको कार्यविधि २०७४, दफा १५)।

८. कारबाही र उत्तरदायित्वरकम दुरुपयोग: 

समितिले रकम दुरुपयोग गरेमा सो रकम पदाधिकारीहरूबाट सरकारी बाँकी सरह असुल उपर गरिनेछ (सार्वजनिक खरिद नियमावली २०६४, नियम ९७(१३) र स्थानीय तहको कार्यविधि २०७४, दफा १३)।

सरकारी कर्मचारीको जिम्मेवारी: गुणस्तर कायम गराउने र नियमित सुपरीवेक्षण गर्ने मुख्य जिम्मेवारी सम्बन्धित प्राविधिक कर्मचारीको हुनेछ (SOP २०८२, बुँदा १२(ख) र स्थानीय तहको कार्यविधि २०७४, दफा ११(९))।

Post a Comment

0 Comments