महिला हिंसाको सबैभन्दा डरलाग्दो रुप घरेलु हिंसा

आज नोभेम्बर २४ अर्थात "अन्तर्राष्ट्रिय महिलाहिंसा अन्त्य दिवस" !
महिला विरुद्ध हुने जुनसुकै शारीरिक, मानसिक, लैङ्गिक वा यौनजन्य हिंसालाई महिला हिंसा भनिन्छ ।
The UN Declaration on the Elimination of Violence Against Women, का अनुसार "महिला विरुद्धको हिंसा, इतिहासमा महिला र पुरुषलाई प्राप्त असमान शक्ति/अधिकारको गतिलो प्रमाण हो ।"

बलात्कार, घरेलु हिंसा, यौन उत्पीडन, बाध्यकारी गर्भाधान, लिङ्ग पहिचान र भ्रुण हत्या, गर्भवतीमाथीको हिंसा; त्यस्तै परम्परा र संस्कृतिको रुपमा रहेका बालविवाह, अनमेल विवाह, बलजफ्ती विवाह, दाइजोप्रथा आदि; त्यस्तै राज्यद्वारा गरिएका महिला हिंसा, द्वन्दरत ठाउँमा हुने महिला हिंसा, बलात्कार, अनुचित/अनिश्चित गर्भधारण, असुरक्षित/बलजफ्ती गर्भपतन, अपहरण, हत्या आदि; महिला बेचबिखन तथा ओसारपसार र अनुचित कार्यमा प्रयोग लगायतलाई महिला हिंसाका विभिन्न प्रकारका रूपमा देख्न सकिन्छ ।

यी विभिन्न रुपका महिला हिंसालाई, व्यक्तिद्वारा वा राज्यद्वारा गरिएको हिंसा; तत्कालीन वा दीर्घकालीन हिंसा; शारीरिक, यौनजन्य वा मानसिक हिंसा; त्यस्तै कार्यक्षेत्रमा हुने हिंसा, सार्वजनिक ठाउँमा हुने हिंसा वा घरेलु हिंसा गरि विभिन्न तरिकाले विभाजन गर्न सकिन्छ ।

हाम्रो जस्तो पितृसत्तात्मक र रुढीबादी समाजमा महिलाको अवस्था अझैपनि संतोषजनक देखिदैन । व्यवस्था परिवर्तन भए तर पनि अवस्था परिवर्तन हुन अझै धेरै समय कुर्नुपर्ने देखिन्छ ।

विभिन्न रुपका महिला हिंसा मध्ये हाम्रो देशमा अन्य हिंसाको तुलनामा घरभित्र हुने महिलाहिंसा (घरेलु हिंसा)को हिस्सा निकै ठूलो भएको विभिन्न अध्ययनले देखाएका छन् । यो अन्य भन्दा गम्भीर प्रकृतिको त छ नै यसको अनेक रुप पनि हामी देख्दै आएका छौं ।

घरेलु हिंसा यस कारण पनि खतरापूर्ण हुन्छ, भोलि फेरि त्यहीँ परिवार मै फर्किनुपर्ने/उनीहरुसंगै बस्नु पर्ने भएकोले यसको वास्तविक अवस्था सजिलै बाहिर आउन सक्दैन । भित्रभित्रै दबिएका/दबाइएका र अझै दुखको कुरा धेरै पढेका भनिएका (त्यस्तालाई शिक्षित भन्न मिल्दैन) व्यक्तिले नै विवाहलाई सामान किनबेच भन्दा माथी नसोच्ने गरेको, श्रीमतीलाई दासीको व्यवहार गर्ने गरेको हामी देख्छौं/भोग्छौं । यसको खतरनाक रुप आर्थिक रुपमा सम्पन्न भनिएको परिवारमा नै बढी देखिएको छ । दाइजोका नाममा हुने कुटपिट र जिउँदै जलाइएका घटना दैनिक समाचार बन्छन् । बाहिर आउने यस्ता घटना वास्तविक घटनाको धेरै सानो हिस्सा मात्र हो । ठूलो हिस्सा त लुकाइन्छन्/दबाइन्छन् ।

विवाह, आपसी हित (mutualism) प्रवर्द्धन गर्न गरिएको सामाजिक तथा कानुनी सम्झौता हो । सम्झौतामा दुवै पक्षको उत्तिकै भूमिका र हैसियत हुन्छ । नेपालको संविधानले पनि परिवारमा महिलापुरुष दुवैको समान हैसियत, पहुँच र अधिकार कै कुरा गर्छ । तर समाजमा श्रीमतीलाई "तपाईं/हजुर/ज्यु" भनाइन्छ तर पुरुषले "तँ" बढीमा "तिमी" भनिन्छ । सधै भोगेको/देखेको यो कुरा हामीलाई सामान्य लाग्ला तर घरेलु महिलाहिंसाको सुरुवात यहीँबाट भएको छ । हाम्रो समाज र संस्कारले छोरी जब बोल्ने हुन्छे उसलाई सिकाइन्छ, "छोरी मान्छे नम्र हुनुपर्छ, सहनशील हुनुपर्छ, सानो स्वरमा बोल्ने हुनुपर्छ..." यहीँ नै घरेलु हिंसाको जग हो । छोरीलाई मुकाविला गर्न, अन्यायका विरुद्धमा बोल्न, चर्को स्वरको चर्कै स्वरमा जवाफ फर्काउन, एक चोटको बदलामा दुई चोट हान्न किन सिकाइएन? हो, यसैबाट हामीले महिला भनेको दासी हो र छोरीले सानैदेखि त्यहीँ रुपमा अभ्यस्त हुनुपर्छ भन्ने संस्कार सिकाइयो ।

हामी पौराणिक कथामा सुन्छौं/पढ्छौं, जबजब शिवले संहार गर्नुपर्ने हुन्छ उनले शक्तिको प्रयोग गर्थे । ती शक्ति भनेको विभिन्न रुपका देवी (महिला) हुन् । त्यसैले महिला शक्ति हुन्, संहारमात्र होईन महिला बिना सृष्टि पनि असम्भव छ । महिला मायाकी खानी हुन्, जति दिएपनि उनमा भएको मायाको मूल सुक्दैन । जबजब अप्ठ्यारो स्थितिको सामना गर्नुपर्ने समय आउँछ, म सबैभन्दा पहिले "आमा" लाई नै सम्झिन्छु । किनकी सहनशीलताको शक्ती म आमा मै बढी पाउछु । यस्तो गुणयुक्त महिलालाई समाजले कहिलेदेखि दोश्रो दर्जाको व्यवहार गर्न थाल्यो, कहिलेदेखि कमजोर देख्न थाल्यो, त्यो इतिहासकारले नै जानुन् । तर महिला सशक्तीकरण, महिला सहभागिता/प्रतिनिधित्वको अवस्था राम्रो भएका देशहरूमा पुरुषभन्दा महिला धेरै गुणा अघि रहेको देख्न सकिन्छ । युरोपेली देशहरु, त्यस्तै अष्ट्रेलिया, जापान जस्ता देश मात्र होइन छिमेकी देश चीनमा समेत पुरुषभन्दा महिला नै अघि देखिन्छन् । नेपाल कै परिप्रेक्ष्यमा हेर्दा पनि महिलाले नेतृत्व गरेका संस्थाहरु तुलनात्मक रुपमा सफल देखिएका छन् । विभिन्न सहकारीहरु, सामुदायिक वन लगायतलाई केही उदाहरणका रुपमा विश्वले विभिन्न जर्नलहरुमा प्रस्तुत गरेको हामी पढ्छौं/देख्छौं ।
 । त्यतिमात्र होईन पछिल्ला अध्ययनले महिलाले चलाएका सवारी साधन तुलनात्मक रुपमा कम दुर्घटना भएका र नियम पनि धेरै पालना भएका देखिएका छन् । अवसर पाएमा पुरुषलाई पछि पार्ने सामर्थ्य उनीहरू राख्छन् । किनकि त्यति सहनशीलता, धैर्यता, सौम्यता महिलामा जति पुरुषमा नहुने अध्ययनले देखाएका छन् । विभिन्न समस्याका बाबजुद पनि नेपालमा पछिल्लो समय हरेक क्षेत्रमा महिलाको पहुँच र प्रतिनिधित्व बढेको, सशक्तीकरण/सबलीकरणमा सकारात्मक परिवर्तन हामी देख्न पाउँछौं ।

संविधानमा मौलिक हकका रुपमा प्राप्त अधिकार, छुट्टै संबैधानिक आयोगको व्यवस्था, समावेशी समानुपातिक प्रतिनिधित्वका साथै नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा विभिन्न समयमा गरेका प्रतिबद्धता लगायतलाई उपलब्धि कै रुपमा लिन सकिन्छ । यद्यपि परिवारबाटै विभिन्न अवसरहरुमा महिलालाई प्रोत्साहन गरिनुपर्ने, समस्यामा परेका महिलाहरु खुलेर बाहिर आउन सक्ने वातावरण बनाइनुपर्ने, हिंसामा परेका महिलाको न्याय, क्षतिपूर्ति र पुनस्थापनको व्यवस्था गराइनुपर्ने, महिला स्वयं पनि आफू "दयाको पात्र" नभई समान हैसियत र क्षमता भएको, मागेर नभई लडेर अधिकार प्राप्त गर्ने राज्यको नागरिक प्रमाणित गर्नुपर्ने लगायत काम गर्न सकेमा महिला हिंसा विरुद्ध र महिला अधिकारका विषयमा विद्यमान कानूनी र संस्थागत विकास र प्रवर्द्धनमा सामाजिक पक्षबाट सकारात्मक दवाव पुग्नेछ । र फलस्वरूप हामीले र हाम्रो संविधानले कल्पना गरेको महिलाको स्टाटस स्थापित हुनेछ ।
(समय अभावले महिला हिंसाको विरुद्ध र महिला अधिकारका विषयमा विश्वमा भएका विभिन्न प्रयासहरु, समाधानका उपायको विश्लेषण, देशमा भएका सुधारलाई मैले यहाँ तथ्यपरक ढंगले प्रस्तुत गर्न सकिन, शिर्षक मै केन्द्रित हुन पनि नसकेको देखियो । यो विषयमा लेख्ने उत्कट चाहनाले केही आफ्ना बिचार मात्र यहाँ प्रस्तुत गरेको छु । अपूरो लेखका निम्ति माफी चाहन्छु । र फुर्सदमा यसलाई पूरा गर्ने बाचा गर्दछु । यहाँ सम्म पढिदिनुभएकोमा धेरै धेरै धन्यवाद !)

Latest
Next Post

Post Author:

Hi, I’m Chakra, from Lumbini (Born place of Lord Buddha) Nepal. I am informal student of Social Science and formal student of Life Science. Feel free to say hello via my these social networks.

0 comments: