Advertisement

नेपालको नागरिकता ऐन र नियमावली: मुख्य व्यवस्थाहरूको सरल र विस्तृत व्याख्या

नागरिकता सम्बन्धी कानुनी प्रावधानहरू बुझ्न कठिन भइरहेको छ? 
वंशज, अंगीकृतदेखि गैर-आवासीय नेपाली नागरिकतासम्मका नेपाल नागरिकता ऐन, २०६३ र नेपाल नागरिकता नियमावली, २०६३ का मुख्य दफा र नियमहरूलाई मैले सरल र सिलसिलेवार रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छु।

वंशजको नाताले नेपाली नागरिकता प्राप्ति (दफा ३)

  • जन्म हुँदा बाबु वा आमा नेपालको नागरिक रहेको,
  • नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको,
  • संवत् २०७२ साल असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेको,
  • नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको सन्तान (आमाले स्वघोषणा गरेर)
  • विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत आमा र बाबु दुवै नेपाली नागरिक रहेको,

वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने कार्यविधि (नियम ३)

१६ वर्ष उमेर पूरा भएको नेपाली नागरिकले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष देहायका कागजात संलग्न राखी अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेः-
(क) जन्म हुँदा बाबु वा आमा नेपालको नागरिक रहेको

  • बाबु वा आमा वा आफ्ना वंशतर्फका तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र र नाता प्रमाणित पत्र
  • जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस वा जन्मदर्ता प्रमाणपत्र।
उल्लेखित प्रमाण कागजात पेश गर्न नसक्ने अवस्थामाः

  • अनुसूची-३ बमोजिमको स्थलगत सर्जमिन,
  • अनुसूची-४ बमोजिमको ढाँचामा सर्जमिनस्थलमै गरिदिएको सनाखत

(ख) नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको व्यक्ति

नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको व्यक्तिले देहायका कागजात संलग्न राख्ने।
  • बालमन्दिर, अनाथालय जस्ता नेपाल सरकारद्वारा मान्यताप्राप्त संस्थामा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सोको आधारमा सम्बन्धित स्थानीय तहले गरेको सिफारिस
  • कानूनी संरक्षकद्वारा हुर्काइएको भए त्यस्तो संरक्षकले गरेको सनाखत सहित नागरिकताको प्रमाणपत्र र सम्बन्धित स्थानीय तहको सिफारिस; 
  • अन्य तरिकाले हुर्केको भए सम्बन्धित स्थानीय तहको सिफारिस;

(ग) जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकको सन्तान

संवत् २०७२ साल असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेकोमा देहायका कागजात सहित निवेदन दिने-
  • जन्मदर्ता प्रमाणपत्र,
  • बाबु र आमा दुवैको नेपाली नागरिकताको प्रमाणपत्र,
  • जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस

(घ) नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको वा बाबु सम्पर्क विहिन भएको व्यक्तिको सन्तान 

  • जन्मदर्ता प्रमाणपत्र,
  • आमाको नेपाली नागरिकताको प्रमाणपत्र,
  • जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस,
  • निजको जन्म नेपालमा भई नेपालमा नै बसोबास गर्दै आएको र निजको बाबुको पहिचान हुन नसकेको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस,
  • बाबुको पहिचान हुन नसकेको व्यक्तिले र निजको आमाले अनुसूची-४क. बमोजिमको ढाँचामा गरेको स्वघोषणा,
  • तर आमाको मृत्यु भईसकेकोमा मृत्यु दर्ताको प्रमाणपत्र र होस ठेगानमा नरहेकोमा स्वीकृत चिकित्सकले गरेको सिफारिस।

(ङ) विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मेको र  नागरिकता लिँदाको बखत आमा र बाबु दुबै नेपाली नागरिक भएमा

विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने देहायका कागजात संलग्न राखी निवेदन दिनेः
  • जन्मदर्ता प्रमाणपत्र, 
  • आमाको नेपाली नागरिकताको प्रमाणपत्र वा आमा नेपाली नागरिक रहेको प्रमाण,
  • बाबुको नेपाली नागरिकताको प्रमाणपत्र,
  • जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस।
थप विषय
  • प्राप्त निवेदनको सम्बन्धमा थप कुरा बुझ्नु पर्ने भएमा आवश्यकता अनुसार प्रहरी प्रतिवेदन माग गर्न सकिने।
  • पितृत्व र मातृत्वको ठेगान नभएको व्यक्तिको नागरिकताको प्रमाणपत्र जारी गर्दा कार्यालयको अभिलेखमा पितृत्व र मातृत्वको ठेगान नभएको व्यहोरा जनाई नागरिकताको प्रमाणपत्रमा बाबु र आमाको नाम खाली राख्ने। तर संरक्षक भएमा नागरिकता प्रमाणपत्रमा संरक्षकको नाम, थर र ठेगाना खुलाउने।
  • बाबुको पहिचान नभएको व्यक्तिको कार्यालयको अभिलेखमा बाबुको पहिचान नभएको व्यहोरा उल्लेख गरी नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर र ठेगाना खाली राख्ने।
  • समयसमयमा खटिएका नागरिकता टोलीले तयार गरेको दर्ता अभिलेख र वितरण गरेको अस्थायी निस्सालाई समेत आधार लिई नागरिकताको प्रमाणपत्र जारी गर्न सकिने।
  • अन्य प्रमाण जुटाउन नसकेर स्थलगत सर्जमिन/सनाखत/प्रहरी प्रतिवेदनजस्ता कागजात पेश गरी निवेदन दिने व्यक्तिहरूको सूची सोही दिन सार्वजनिक गर्ने।
  • प्रमुख जिल्ला अधिकारीले निवेदकको परिवारको सदस्यलाई कार्यालयमा झिकाई सनाखत गर्न लगाउने। (दफा ८ (३क) को लागि)
  • प्राप्त निवेदनउपर छानबिन गर्दा कुनै निवेदक नेपाली नागरिकताको प्रमाणपत्र पाउन योग्य नदेखिएमा सात दिनभित्र निर्णय गरी निजलाई सोको जानकारी दिने।

अङ्गीकृत नेपाली नागरिकता प्राप्ति (दफा ५) :

  • वैवाहिक अङ्गिकृत नागरिकताः नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिला
  • विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका छोराछोरीः नेपालमा स्थायी बसोबास गरेको र बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता नलिएको
  • बाबु/आमा मध्ये एकको जन्मको आधारमा नेपाली नागरिकता भएकोः बाबु वा आमा मध्ये कुनै एकले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेको र अर्कोको नेपाली नागरिकता प्राप्त गर्नु अगावै मृत्यु वा सम्पर्कविहीन रहेको
  • नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको र बाबुको पहिचान नभएकोः नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको स्वघोषणा (निज र आमाले) गरेमा अङ्गीकृत नेपाली नागरिकता प्राप्त गर्न सक्ने।
  • नेपाली आमाबाट जम्मेको सन्तान बाबुको पहिचान हुँदा विदेशी ठहर भएकोः नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको बाबु विदेशी रहेको ठहरेमा बाबुको नागरिकताको आधारमा विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको भनी स्वघोषणा गरी पहिले पाएको वंशजको नागरिकता बुझाएमा अङ्गिकृत नागरिकता प्राप्त गर्ने।
  • पितृत्व र मातृत्व पत्ता लाग्दा अङ्गिकृत नागरिकता प्राप्त हुने भएकोः पितृत्व र मातृत्वको ठेगान नभइ पछि पत्ता लाग्दा नेपालको अङ्गिकृत नागरिकता प्राप्त हुने भएमा वंशजको आधारमा प्राप्त गरेको नागरिकता खिची अङ्गिकृत नागरिकता प्रदान गर्ने।
  • विदेशीलाई प्रदान गर्न सक्ने अङ्गीकृत नेपाली नागरिकताः विज्ञान, दर्शनशास्त्र, कला, साहित्य, विश्वशान्ति, मानव कल्याण वा नेपालको औद्योगिक, आर्थिक वा सामाजिक उन्नतिमा विशेष योगदान पुऱ्याएको वा पुर्‍याउन सक्ने भनी मनासिव आधारमा  नेपाल सरकारले ठहर्‍याएका देहायका शर्त र अवस्था पूरा गरिसकेका विदेशी नागरिकलाई अङ्गीकृत नेपाली नागरिकता प्रदान गर्न सकिने:-
    • नेपाली वा नेपालमा प्रचलित अन्य कुनै भाषा बोल्न र लेख्न जानेको,
    • नेपालमा कुनै व्यवसाय गरी बसेको,
    • अन्य मुलुकको नागरिकता त्यागेको वा त्याग्ने घोषणा गरेको,
    • कम्तीमा पन्ध्र वर्षसम्म नेपालमा बसोबास गरेको,
    • नेपाली नागरिकलाई अङ्गीकृत नागरिकता दिने कानूनी व्यवस्था वा प्रचलन भएको मुलुकको नागरिक भएको,
    • असल चालचलन भएको,
    • मानसिक रुपले स्वस्थ भएको।
  • अङ्गीकृत नेपाली नागरिकता प्राप्त गर्नुभन्दा पहिले जन्मेको सन्तानः अङ्गीकृत नेपाली नागरिकता प्राप्त गर्नुभन्दा पहिले जन्मेको सन्तानले अङ्गीकृत नेपाली नागरिकता प्राप्त गर्न सक्ने।

अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने कार्यविधि (नियम ५ र ७)

अनुसूची-७ बमोजिमको ढाँचामा सम्बन्धित प्रमुख जिल्ला अधिकरीसमक्ष निवेदन दिनु पर्नेः-

(क) वैवाहिक अङ्गीकृत नेपाली नागरिकता (नियम ५)

नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले देहायका कागजात संलग्न गरी निवेदन दिनेः-

  • नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्ध खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस,
  • नेपालको भिसा आवश्यक पर्ने विदेशी मुलुकको नागरिक भए त्यस्तो भिसाको म्याद कायम रहेको निस्सा, 
  • निजले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा।

(ख) विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका सन्तानः 
देहायका कागजात सहित निवेदन दिनेः-
  • आमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  • नेपालमा स्थायी बसोबास गरेको व्यहोरा खुल्ने सम्बन्धित स्थानीय तहको सिफारिस,
  • बाबुको नागरिकताको आधारमा कुनै विदेशी मुलुकको नागरिकता नलिएको भनी निजले र निजको आमाले अनुसूची-७क. बमोजिम गरेको स्वघोषणा। तर निवेदन दिँदाका बखत आमाको मृत्यु भइसकेकोमा मृत्यु दर्ता प्रमाणपत्र वा होस ठेगानमा नरहेकोमा सोही व्यहोरा खुलाई स्वीकृत चिकित्सकले गरेको सिफारिस।

(ग) बाबु वा आमामध्ये एकको जन्मको आधारमा नेपाली नागरिकता र अर्काको नागरिकता प्राप्त गर्नु अगावै मृत्यु वा सम्पर्कविहीन भएकोः

बाबु वा आमामध्ये कुनै एकले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेको र अर्काको नेपाली नागरिकता प्राप्त गर्नु अगावै मृत्यु भएको वा सम्पर्कविहीन भएका व्यक्तिको सन्तानले देहायका कागजात संलग्न राखी निवेदन दिनेः- (ऐनको दफा ३(४क) र दफा ५(५क) बमोजिम)

  • जन्म दर्ता प्रमाणपत्र,
  • बाबु वा आमामध्ये कुनै एकले जन्मको आधारमा प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्र,
  • बाबु वा आमाको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र,
  • जन्मस्थान, नाता र नेपालमा स्थायी बसोबास गरेको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस,
  • बाबु वा आमा सम्पर्कविहीन भएको भए सोको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस र अनुसूची-७ख. बमोजिमको ढाँचामा स्वघोषणा।

(घ) नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको र बाबुको पहिचान नभएको

नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले देहायका कागजात सहित निवेदन दिनेः- (दफा ५ को उपदफा (५ख))

  • जन्म दर्ता प्रमाणपत्र,
  • आमाको नेपाली नागरिकताको प्रमाणपत्र,
  • निजको जन्म भएको मुलुक, स्थान र जन्म सम्बन्धी विवरण खुल्ने कागजात,
  • नेपालमा स्थायी बसोबास गरेको र निजको बाबुको पहिचान नभएको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस,
  • विदेशी मुलुकको नागरिकता वा राहदानी नलिएको भनी अनुसूची-७क, बमोजिमको ढाँचामा निज र आमाले गरेको स्वघोषणा।

(ङ) विदेशीलाई प्रदान गर्न सकिने अङ्गीकृत नेपाली नागरिकताः

कुनै विदेशी नागरिकले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा आफू बसोबास गरी आएको वासस्थानसँग सम्बन्धित स्थानीय तहको सिफारिससाथ निवेदन दिने। (दफा ५ को उपदफा (४) मा उल्लिखित शर्त र अवस्था पूरा गरेकोमा)

  • निवेदन प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारीले आवश्यक देखेमा सम्बन्धित नगरपालिकाको प्रमुख वा गाउँपालिकाको अध्यक्षसँग आवश्यक कुराहरू बुझी निवेदकले उल्लिखित शर्त तथा अवस्था पूरा गरेको देखिएमा आफ्नो रायसहित निवेदन मन्त्रालयसमक्ष पठाउने।
  • प्राप्त निवेदनउपर छानविन गरी मन्त्रालयले अनुसूची-८ बमोजिमको ढाँचामा अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्न सक्ने।
(च) अङ्गीकृत नेपाली नागरिकता प्राप्त गर्नुभन्दा पहिले जन्मेको सन्तानः

अङ्गीकृत नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिको सन्तानमध्ये निजले सो नागरिकता प्राप्त गर्नुभन्दा पहिले जन्मेका सन्तानले अङ्गीकृत नेपाली नागरिकता प्राप्त गर्न चाहेमा अनुसूची-७ बमोजिम देहायका कागजात संलग्न राखी निवेदन दिन सक्ने। (ऐनको दफा ५(५) बमोजिम)

  • नाता प्रमाणित पत्र
  • बाबु वा आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  • निज नेपालमा बसोबास गरिरहेको व्यहोराको स्थानीय तहले गरिदिएको सिफारिस।

(छ) नेपाली आमाबाट जम्मेको सन्तान बाबुको पहिचान हुँदा विदेशी ठहर भएकोः 

वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेको कुनै व्यक्तिको बाबु विदेशी रहेको ठहरेमा र निजले बाबुको नामबाट विदेशको नागरिकता नलिएको भएमा वंशजको आधारमा प्राप्त गरेको नागरिकतालाई अङ्गीकृत नेपाली नागरिकतामा परिणत गर्न बाबु विदेशी ठहरेको पैंतीस दिनभित्र देहायका कागजात संलग्न गरी अनुसूची-८क. बमोजिमको ढाँचामा निवेदन दिनु पर्ने- (दफा ३ को उपदफा (५) र (५क) बमोजिम)

  • आमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  • वंशजको नाताले प्राप्त गरेको नागरिकताको प्रमाणपत्रको सक्कल,
  • निज नेपालमा बसोबास गर्दै आएको व्यहोरा खुल्ने गरी स्थानीय तहले गरिदिएको सिफारिस,
  • बाबु विदेशी रहेको व्यहोरा खुल्ने कागजात,
  • बाबुको नामबाट विदेशको नागरिकता नलिएको भनी अनुसूची-८ख. बमोजिमको ढाँचामा गरेको स्वघोषणा।

यसरी अङ्गीकृत नेपाली नागरिकता प्रदान गर्दा नागरिकताको प्रमाणपत्र तथा सोको अभिलेखमा पहिले वंशजको आधारमा नेपाली नागरिकता पाएको मिति तथा नागरिकता नम्बर र अङ्गीकृत नेपाली नागरिकतामा परिणत भएको व्यहोरा समेत खुलाउने।

सम्मानार्थ नेपालको नागरिकता प्रदान गर्न सकिने (दफा ६)

  • नेपाल सरकारले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिलाई सम्मानार्थ नेपालको नागरिकता प्रदान गर्न सक्ने।

क्षेत्र गाभिँदाको नागरिकता (दफा ७)

  • नेपालभित्र गाभिने गरी कुनै क्षेत्र प्राप्त भएमा त्यस क्षेत्रभित्रको व्यक्ति नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिम सोही सूचनामा तोकेको मितिदेखि नेपालको नागरिक मानिने।

गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने (दफा ७क)

  • विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने।
  • साविकमा नेपालको नागरिकता लिई नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएको व्यक्तिले गैर आवासीय नेपाली नागरिकताको लागि निवेदन दिँदा निजले पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्र समेत पेश गर्नुपर्ने।
  • गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिलाई शपथ गराउनु पर्ने।
  • गैर आवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले झुट्ठो विवरण दिई त्यस्तो नागरिकता प्राप्त गरेमा वा निजले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्र हित विपरीत कार्य गरेको ठहरेमा नेपाल सरकारले नागरिकता रद्द गर्ने।

गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने कार्यविधि (नियम ८क र दफा ७क. (१))

  • गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने व्यक्तिले देहायका कागजात संलग्न राखी अनुसूची-८ग. बमोजिमको ढाँचामा आफू वा आफ्नो बाबु, आमा, बाजे वा बज्यैमध्ये जसको नेपाली नागरिकताको प्रमाणपत्रको आधारमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिने हो सो नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष वा आफू नागरिक रहेको मुलुकस्थित वा त्यस्तो मुलुक समेत हेर्ने कार्यक्षेत्र तोकिएको नेपाली राजदूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिन सक्नेः-
    • निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेको प्रमाण,
    • सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण,
    • विदेशी मुलुकको नागरिकता भएको प्रमाण,
    • दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य राष्ट्रबाहेकको देशमा बसोबास गरेको प्रमाण,
    • नेपालको संविधान र कानूनको परिपालना गर्ने प्रतिबद्धतापत्र।
    • हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि,
    • प्रतिबद्धतापत्र (अनुसूची-८घ.)
  • निवेदन प्राप्त भएमा सम्बन्धित दूतावासमा कार्यरत कम्तीमा अधिकृतस्तरको कर्मचारीले आवश्यक कुरा बुझी निवेदन प्राप्त भएको पन्ध्र दिनभित्र अनिवार्य रुपमा राय सहित परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने।
  • प्राप्त निवेदनमा निवेदकको नाताभित्रको नेपाली नागरिकले र त्यस्तो नाताको व्यक्ति नभएमा सम्बन्धित व्यक्तिलाई चिन्ने नेपाली नागरिकले सम्बन्धित प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको अधिकृत कर्मचारीसमक्ष उपस्थित भई सनाखत गरिदिनु पर्ने।
  • प्राप्त निवेदनका सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले छानबिन गरी त्यस्तो व्यक्ति गैरआवासीय नेपाली नागरिकता पाउन योग्य देखिएमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्ने।
  • गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुअघि प्रमुख जिल्ला अधिकारीले उक्त व्यक्तिलाई अनुसूची-८च. बमोजिम शपथ गराउनुपर्ने।

पहिचान सहितको नागरिकता दिने (दफा ८क)

  • वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिलाई आमा वा बाबुको थर र ठेगानामध्ये निजले रोजेको थर र ठेगाना उल्लेख गरी नागरिकता दिन सकिने।
  • कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा आमा वा बाबुमध्ये कुनै एकको नाम, थर र ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा त्यस्तो व्यक्तिलाई दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा निजले उल्लेख गर्न नचाहेको आमा वा बाबुको नाम, थर र ठेगाना उल्लेख नगरी दिने।
  • नागरिकताको अभिलेखमा आमा, बाबु दुवैको नाम र विवरण राख्ने।
  • नेपाली नागरिकताको प्रमाणपत्रमा लैङ्गिक पहिचान (महिला, पुरुष र अन्य) समेत खुलाउने।

नेपाली नागरिकता कायम नरहने (दफा १०)

  • नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन।
  • नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न सूचना गरेपछि तोकिएको अधिकारीले त्यस्तो सूचना दर्ता गर्नेछ र त्यसरी दर्ता गरिएको मितिदेखि निजको नेपाली नागरिकता कायम रहने छैन।
  • कुनै व्यक्तिलाई नेपाली नागरिकताबाट हटाइएकोमा हटाइएको मितिदेखि त्यस्तो व्यक्तिको नेपाली नागरिकता कायम रहने छैन।
  • कुनै व्यक्तिलाई एकैसाथ नेपालको र विदेशी मुलुकको नागरिकता प्राप्त हुने अवस्था भएमा त्यस्तो व्यक्तिले सोह्र वर्ष उमेर पुगेको दुई वर्षभित्र कुनै एक मुलुकको नागरिकता रोज्नु पर्नेछ। त्यसरी नागरिकता नरोजेको अवस्थामा सो म्याद नाघेपछि निजको नेपाली नागरिकता कायम रहने छैन।
  • नेपालको नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको छ वा छैन भन्ने प्रश्न उठेमा मन्त्रालयले निर्णय गर्नेछ।

पुनः नेपाली नागरिकता कायम हुने (दफा ११)

  • कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा सम्बन्धित अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ।

पुनः नेपाली नागरिकता कायम गर्ने कार्यविधि (नियम ११)

  • नेपालको नागरिकता त्यागी विदेश गएको कुनै व्यक्तिले पुनः नेपाली नागरिकता प्राप्त गर्न चाहेमा विदेशको नागरिकता त्यागेको निस्सासहित निजलाई पहिले नागरिकताको प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसमक्ष अनुसूची-११ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने।
  • निवेदन प्राप्त भएपछि अनुसूची-१२ बमोजिमको ढाँचामा सूचना दर्ताको जानकारी दिई सम्बन्धित अधिकारीले पुनः नेपाली नागरिकता कायम गरेको व्यहोरा उल्लेख गरी नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्ने।

नागरिकताको प्रमाणपत्र रद्द गर्ने (दफा १२)

कुनै नेपाली नागरिकले झुठो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आएमा तोकिएको अधिकारीले त्यस्तो नागरिकताको प्रमाणपत्र रद्द गर्नेछ।

नागरिकता प्रमाणपत्र रद्द गर्ने कार्यविधिः (नियम १२)

कसैले झुट्टो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आएमा देहायबमोजिमका निकायले त्यस्तो नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्नु पर्नेछः-

  • मन्त्रालयबाट जारी भएको भए सो मन्त्रालयले,
  • जिल्ला प्रशासन कार्यालय वा अन्य निकायबाट जारी भएको भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीले,
  • प्रमुख जिल्ला अधिकारीले रद्द गरेको नेपाली नागरिकता प्रमाणपत्रको विवरण सहितको जानकारी मन्त्रालयमा पठाउने।

दोहोरो नागरिकताको प्रमाणपत्र लिन नहुने (दफा १३)

  • कसैले पनि एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिन हुँदैन।
  • तर बसाइँ सरेको आधारमा कुनै व्यक्तिले चाहेमा सम्बन्धित कार्यालयबाट निजले पहिले लिएको नागरिकता खिची अर्को नागरिकताको प्रमाणपत्र जारी गर्न बाधा पर्ने छैन।

नेपाली नागरिकताबाट हटाउने (दफा १४)

  • कुनै विदेशी व्यक्तिले झुठो विवरण वा बयान दिई नेपाली नागरिक हो भनी झुक्याई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको कुरा प्रमाणित हुन आएमा नेपाल सरकारले त्यस्तो प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने आदेश दिनेछ।
  • नेपाल सरकारले कुनै व्यक्तिलाई नेपालको नागरिकताबाट हटाउने गरी दिएको आदेश उपर पैंतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन लाग्न सक्नेछ।

नेपाली नागरिकता त्याग गर्ने कार्यविधि (नियम ९)

  • कुनै नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न चाहेमा निज नेपालभित्र बसेको भए निजको स्थायी बसोबास भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष र विदेशमा बसेको भए सम्बन्धित नेपाली राजदूत वा नेपाली नियोग प्रमुख वा महावाणिज्यदूत वा वाणिज्यदूतसमक्ष आफूले प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कलप्रति संलग्न गरी अनुसूची-९ बमोजिमको ढाँचामा सूचना दिने।
  • नेपालको नागरिकता त्याग्न विदेशमा सूचना दिएको भए सात दिनभित्र पूरा विवरण खोली नेपाली राजदूत वा नेपाली नियोग प्रमुख वा महावाणिज्यदूत वा वाणिज्यदूतले परराष्ट्र मन्त्रालयमार्फत मन्त्रालयमा लेखी पठाउने।
  • प्राप्त भएको सूचना मन्त्रालयले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष पठाउने।
  • सूचना प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारीले त्यस्तो सूचना अनुसूची-१० बमोजिमको ढाँचाको दर्ता किताबमा दर्ता गर्ने र त्यसरी दर्ता भएको मितिदेखि त्यस्तो व्यक्तिको नेपाली नागरिकता समाप्त हुनेछ।

विवरण सच्याउने (दफा १७)

  • कुनै व्यक्तिले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लिखित थर वा उमेर शैक्षिक योग्यताको प्रमाणपत्रमा फरक पर्न गई वा नागरिकताको प्रमाणपत्रमा सानातिना त्रुटी भई सो विवरण सच्याउन चाहेमा आवश्यक प्रमाण सहित तोकिएको अधिकारी समक्ष निवेदन दिने।
  • सानातिना त्रुटी भन्नाले नागरिकताको प्रमाणपत्रमा उल्लिखित विवरणमा तात्विक अन्तर नपर्ने जस्तैः "कुमारी", "देवी", "बहादुर", "प्रसाद" जस्ता शब्द बढी राखिएको वा छुटेको वा आकार, इकारमा फरक परेको वा यस्तै अन्य सानातिना त्रुटी।
  • निवेदन परेपछि सम्बन्धित अधिकारीले निजसँग भएको सबुत प्रमाण र आवश्यकता अनुसार साक्षी सरजमिन समेत बुझी त्यस्तो विवरण सच्याई पहिले लिएको नागरिकताको प्रमाणपत्र खिची अर्को नागरिकताको प्रमाणपत्र दिन सक्ने।
  • विवाह वा सम्बन्ध विच्छेद भएकी महिलाले थर, वतन वा अन्य विवरण संशोधन गर्न निवेदन दिएमा तोकिएको अधिकारीले आवश्यक कुरा बुझी पहिले लिएको नागरिकताको प्रमाणपत्र खिची थर, वतन वा विवरण संशोधन गरी अर्को नागरिकताको प्रमाणपत्र दिन सक्नेछ।

विवरण सच्याउने कार्यविधि (नियम १४)

  • नेपाली नागरिकताको प्रमाणपत्रको विवरणमा उल्लिखित कुनै कुरा सच्याउन चाहने व्यक्तिले मन्त्रालयबाट जारी भएको नागरिकता भए मन्त्रालयसमक्ष र जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नागरिकता भए सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिने।
  • विवरण सच्याउन वा संशोधन गर्न निवेदन दिएमा मन्त्रालय वा प्रमुख जिल्ला अधिकारीले आवश्यक कुरा बुझी पहिले लिएको नागरिकताको प्रमाणपत्र खिची संशोधनसहित अर्को नागरिकताको प्रमाणपत्र दिन सक्नेछ।

दण्ड सजाय (दफा २१)

  • विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुठो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमाः एक वर्ष देखि पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय
  • विदेशीलाई नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गरेमाः छ महिना देखि तीन वर्षसम्म कैद वा पच्चीस हजार देखि पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय
  • नेपाली नागरिकताको झुठो वा किर्ते प्रमाणपत्र खडा गरेमाः एक वर्ष देखि पाँच वर्षसम्म कैद वा बीस हजार देखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय
  • स्वघोषणा झुट्टो ठहरेमाः छ महिनादेखि एक वर्षसम्म कैद वा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय
  • झुट्टा विवरण दिई गैर आवासीय नेपाली नागरिकता लिएमाः तीन महिनादेखि एक वर्षसम्म कैद वा पच्चीस हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना
  • लगायत अन्य दण्ड सजायहरु।

नागरिकताको प्रमाणपत्र जारी गर्ने अधिकारी

  • प्रमुख जिल्ला अधिकारीले मात्रः दफा ३ को उपदफा (५) र (५क) बमोजिमको नागरिकता (नेपाली आमा र बाबुको पहिचान नभएर वंशजको आधारमा नागरिकता)
  • अन्य प्रकारको अंगिकृत नागरिकताः मन्त्रालय (दफा ५ को उपदफा (१), (२), (५), (५क) र (५ख) बमोजिमको अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र बाहेक)
  • सम्मानार्थ नेपालको नागरिकताः नेपाल सरकार, मन्त्रिपरिषदले निर्णय गरेर मन्त्रालयले जारी गर्ने
  • अन्य सबै प्रकारका नागरिकताः प्रमुख जिल्ला अधिकारीले मातहतका अधिकृत कर्मचारी वा  कार्यालय प्रमुख भई काम गर्ने कम्तीमा राजपत्र अनङ्कित प्रथम श्रेणीको कर्मचारी वा समय समयमा नेपाल सरकारले नागरिकता वितरण गर्न खटाएको टोली प्रमुखलाई प्रत्यायोजन गर्न सक्ने।

कर्मचारीको परिवारले नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने कार्यविधि (नियम १६)

  • कर्मचारी परिवारले कर्मचारी आफू कार्यरत रहेको जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहेमा देहायका कागजात संलग्न गरी प्रमुख जिल्ला अधिकारीसमक्ष अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन दिनेः-
    • बाबु वा आमाको नेपाली नागरिकताको प्रमाणपत्र,
    • कर्मचारी वहाल रहेको कार्यालयको सिफारिस,
    • विवाहित महिलाको हकमा पतिको नागरिकता र विवाह दर्ता प्रमाण,
    • यसरी जारी हुने नागरिकता प्रमाणपत्रको अभिलेख राखी स्थायी ठेगाना भएको जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी दिने।
  • कर्मचारीः नेपाल सरकारको कोषबाट तलब भत्ता खाने कर्मचारी वा संस्थानका कर्मचारी वा शिक्षक वा प्राध्यापक।
  • परिवारः पति, पत्नी, छोरा, अविवाहिता छोरी, धर्मपुत्र, अविवाहिता धर्मपुत्री, बाबु, आमा, वा सौतेनी आमा; पुरुष र अविवाहिता महिला कर्मचारीको बाजे, बज्यै तथा विवाहिता महिला कर्मचारीको सासु, ससुरा।

नाबालक परिचयपत्र (नियम १६क.)

नाबालक परिचयपत्र प्राप्त गर्न देहायका कागजातसहित (१६ वर्ष मुनी) अनुसूची-१३ बमोजिमको ढाँचामा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिने:-

  • नाबालकको जन्म दर्ता प्रमाणपत्र,
  • बाबु वा आमाको नेपाली नागरिकताको प्रमाणपत्र,
  • जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस।

नेपालभित्र फेला परेको र पितृत्व र मातृत्व ठेगान नभएको नाबालकको नाबालक परिचयपत्र प्राप्त गर्न देहायका कागजातसहित अनुसूची-१३ बमोजिमको ढाँचामा सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिने:-

  • नाबालकको जन्म दर्ता प्रमाणपत्र,
  • बालमन्दिर, अनाथालय जस्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त संस्थामा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सोको आधारमा सम्बन्धित स्थानीय तहले गरेको सिफारिस,
  • कानूनी संरक्षकद्वारा हुर्काइएको भए त्यस्तो संरक्षकले गरेको सनाखतसहित निजको नागरिकताको प्रमाणपत्र र सम्बन्धित स्थानीय तहको सिफारिस,
  • अन्य तरिकाले हुर्केको भए सो व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहको सिफारिस।

अनुसूचीहरुः

  • अनुसूची-१: वंशजको नाताले नेपाली नागरिकता पाउन दिने निवेदन
  • अनुसूची-२: वंशजको नाताले नेपाली नागरिकता
  • अनुसूची-३: स्थलगत सर्जमिन मुचुल्का (वंशजको नाताले)
  • अनुसूची-४: सनाखत (वंशजको नाताले)
  • अनुसूची-४क. खण्ड (क): स्वघोषणा (बाबु पहिचान नभएको व्यक्तिले गर्ने)
  • खण्ड (ख): स्वघोषणा (बाबु पहिचान नभएको भनी आमाले गर्ने)
  • खण्ड (ग): स्वघोषणा (आमाको मृत्यु भएको वा आमाको होस ठेगानमा नरहेको व्यक्तिले गर्ने)
  • अनुसूची-७: वैवाहिक अंगिकृत नागरिकता पाउन विदेशी महिलाले दिने निवेदन
  • अनुसूची-७क. खण्ड (क): स्वघोषणा (विदेशी मुलुकको नागरिकता नलिएको व्यक्तिले गर्ने)
  • खण्ड (ख): स्वघोषणा (आमाको मृत्यु भएको वा आमाको होस ठेगानमा नरहेको व्यक्तिले गर्ने)
  • खण्ड (ग): स्वघोषणा (विदेशको नागरिकता वा राहदानी नलिएको र बाबु पहिचान हुन नसकेको व्यक्तिले गर्ने)
  • खण्ड (घ): स्वघोषणा (विदेशको नागरिकता वा राहदानी नलिएको र बाबु पहिचान हुन नसकेको व्यक्तिको आमाले गर्ने)
  • अनुसूची-७ख.: स्वघोषणा (बाबु वा आमाको मृत्यु भएको वा बाबु वा आमा सम्पर्कविहीन भएको व्यक्तिले गर्ने)
  • अनुसूची-८ खण्ड (क): अङ्गिकृत नेपाली नागरिकताको प्रमाणपत्र
  • खण्ड (ख): वैवाहिक अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र
  • अनुसूची-८क.: वंशजको आधारमा लिएको नागरिकतालाई अङ्गीकृत नेपाली नागरिकतामा परिणत गर्न दिइने निवेदन
  • अनुसूची-८ख.: स्वघोषणा (बाबुको नामबाट विदेशको नागरिकता नलिएको भनी सम्बन्धित व्यक्तिले गर्ने)
  • अनुसूची-८ग.: गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र पाउँ भन्ने निवेदन
  • अनुसूची-८घ.: प्रतिबद्धतापत्र (गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र पाउन निवेदन दिनेले गर्ने)
  • अनुसूची-८ङ.: गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र
  • अनुसूची-८च.: शपथ (गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र पाउन निवेदन दिनेले गर्ने)
  • अनुसूची-९: नेपाली नागरिकता त्यागको सूचना
  • अनुसूची-१०: नागरिकता त्याग गर्नेको विवरण
  • अनुसूची-११: नेपाली नागरिकता पुनः कायम हुनको लागि दिने निवेदन
  • अनुसूची-१२: नेपाली नागरिकता पुनः कायम गर्ने सूचनाको दर्ता
  • अनुसूची-१३: नाबालक परिचयपत्रको लागि निवेदन
  • अनुसूची-१४: नाबालक परिचयपत्रको ढाँचा
  • ऐनको अनुसूची: सपथग्रहण (अङ्गीकृत नेपाली नागरिकता पाउन)

Post a Comment

0 Comments