Advertisement

टिप्पणी र आदेश (केहि नमुना मामला)

मामिला १

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखाको शाखा अधिकृतको हैसियतले लोक सेवा आयोगको विज्ञापन नम्बर १०६६९५।०८१-८२ (खुला), १०६६९६/०८१-८२ (महिला), १०६६९७/०८१-८२ (आज), १०६६९८/०८१-८२ (मधेशी), १०६६९९।०८१-८२ (दलित), १०६७००/०८१-८२ (अपाङ्ग) र १०६७०१/०८१-८२ (पि.क्षे.), नेपाल प्रशासन सेवा (सामान्य प्रशासन, लेखा र राजस्व समूह) का रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदमा मिति २०८२।०९।१६ मा नियुक्तिका लागी लोक सेवा आयोगवाट सिफारिश भै आएका हँसराज प्रजापति (काल्पनिक नाम) सहितका १०७ जना अधिकृतहरुलाई निजामती सेवाको सम्वन्धित सेवा समुहको राजपत्राङ्कित तृतीय श्रेणीको पदमा स्थायी नियुक्तिको लागि आवश्यक टिप्पणी पेश गर्नुहोस् । ती १०७जनालाई सेवा प्रवेश तालिमका लागि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा पठाउने विषय समेत सोही टिप्पणीमा समावेश गर्नुहोस् ।

मामिला २

महालेखा नियन्त्रक कार्यालयमा कार्यरत सदा अनुशासित नाम गरेका कर्मचारीले कार्यालय समयमा बराबर मादक पदार्थ सेवन गरी अन्य कर्मचारीलाई समेत अमर्यादित व्यवहार देखाउँदै आएका थिए। निजलाई पटक पटक मौखिक रुपमा सम्झाउने तथा ३ पटक सम्म लिखित रुपमा चेतावनी समेत दिइसकिएको छ। निजलाई अब निजामती सेवा ऐनको दफा ५९ (ख) बमोजिमको सजाय दिनु पर्ने भइ सोही ऐनको दफा ६८ बमोजिम लोक सेवा आयोगको परामर्श माग गर्ने विषयमा निर्णय गर्न टिप्पणी तयार गर्नुहोस ।

मामिला ३

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका प्रशासन सेवा सामान्य प्रशासन समूहका ५७ वर्ष उमेर पुगेका उपसचिव कृपाकर अनुयायी (काल्पनिक नाम) लाई सरुवा भएको २ वर्ष नपुग्दै निजले माग नगरेको अवस्थामा सामान्य प्रशासन मन्त्रालयले हुम्ला जिल्लामा सरुवा गरेको रहेछ। सरुवा सम्बन्धी उक्त निर्णय निजामती सेवा ऐन तथा नियमावली विपरीत भएकोले रद्द गरी पाउँ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिएको निवेदनको निर्णय गर्न टिप्पणी उठाउनुहोस ।

मामिला ४

शहरी विकास मन्त्रालयमा रा.प. तृतीय श्रेणी अधिकृत स्तरको इन्जिनियर पदमा एकै पटक धेरै कर्मचारीको पद रिक्त भएको र लोक सेवा आयोगबाट स्थायी पदपूर्ति गर्न समय लाग्ने भएकोले लोक सेवा आयोगको अस्थायी योग्यताक्रमको सूचीमा रहेका उम्मेदवारहरू मध्येबाट अस्थायी नियुक्ती गर्न उक्त मन्त्रालयको प्रशासन शाखाबाट उठाउनु पर्ने टिप्पणी तयार गर्नुहोस ।

मामिला ५

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत शाखा अधिकृत विश्वक्सेन भुक्तभोगी (काल्पनिक नाम) ले निजी प्रयासमा नेपाल सरकारको पूर्व स्वीकृति लिएर जापान स्थित आरिको नाम गरेको विश्व विद्यालयमा स्नातकोत्तर तहमा अध्ययन गर्न २ वर्ष अवधिको अध्ययन बिदा लिनु भएको थियो। १ वर्ष पछि निजले नेपाल सरकारलाई पूर्व सूचना नदिई अध्ययन छोडेर निजी कम्पनीमा सेवा गर्न थाल्नु भएको रहेछ। निज २ वर्षपछि स्वदेश फर्किनु भयो र मन्त्रालयमा हाजिर हुनु भयो। १ वर्ष पुगेपछि अध्ययन छोडेको जानकारी सम्बन्धित विश्वविद्यालयले नेपाल सरकारलाई गराइसकेको रहेछ । यस्तो अवस्थामा विश्वक्सेनको अध्ययन विदाको सम्बन्धमा निर्णय दिनु पर्ने अवस्था आयो । सो विषयमा निर्णयको लागि उठाइने टिप्पणीको नमुना तयार गर्नुहोस ।

मामिला ६

खानेपानी तथा सरसफाइ विभागमा रहेको बा.१ झ. ५५५ नं को जिप बिग्रेर नचल्ने भई काममा बाधा परेको। सो सवारी साधन मर्मत गर्नको लागि रू १,५०,००० को लागत अनुमान प्राप्त भएको र सम्बन्धित शीर्षकमा रु. ५०,०००।- मात्र बजेट बाँकी रहेकोले नपुग हुने रकम रु १,००,०००। सम्बन्धित शीर्षकमा थप निकासा पाऊँ भनी विभागको पत्र संख्या २०८२।८३ च.नं. १३५ मिति २०८२।९।१५ को पत्र खानेपानी मन्त्रालयमा प्राप्त भएको छ। उक्त पत्र बमोजिम थप रकम निकासाको विषयमा टिप्पणीको मस्यौदा तयार गर्नुहोस ।

मामिला ७

चालु आर्थिक वर्ष २०८२/८३ मा ६ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने लक्ष्य सहित कृषि सामाग्री कम्पनीलाई रु. २८ अर्ब ८२ करोड १४ लाख रुपियाँ अनुदानको रुपमा विनियोजन भएको र सो रकमबाट ४ लाख ७१ हजार मेट्रिक टन मल खरिद गर्ने टेन्डर भइसकेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा लक्ष्य अनुसार मल खरिद गर्न नसकिने अवस्था देखिएकोले थप रु १० अर्ब बजेट व्यवस्थाको लागि कम्पनीबाट अनुरोध भए अनुसार कृषि तथा पशु पंक्षी विकास मन्त्रालयले अर्थ मन्त्रालयमा बजेट निकासाको लागि अनुरोध गरेको थियो। निर्वाचनका बेला थप बजेट उपलब्ध गराउन नसकिने भएकोले आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गर्नु भनी अर्थ मन्त्रालयले भनेपछि यस वर्षको लागि कम्तिमा पनि ५ लाख ५० हजार मेट्रिक टन मल खरिद गर्नु नै पर्ने र सोको लागि थप रु. ५ अर्ब ५० करोड लाग्ने अनुमान गरेर कृषि तथा पशु पंक्षी विकास मन्त्रालयले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने विषयमा गृहकार्य थालेको छ। वैकल्पिक स्रोत व्यवस्थापन गर्ने सम्बन्धमा सो मन्त्रालयको योजना महाशाखाबाट उठाउने टिप्पणीको मस्यौदा तयार गर्नुहोस।

मामिला ८

आ. व. २०८२।८३ को बजेट व्यवस्था अनुसार जनकपुरधाम उप महानगरपलिमा युवा वर्ग लक्षित उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत रु. ३० लाखको वजेट व्यवस्था गरिएको छ। सो कार्यक्रम कार्यान्वयन गर्न उद्यमशिलता विकासको क्षेत्रमा काम गर्ने उद्देश्यले दर्ता भएका संस्थाहरुबाट कार्ययोजना सहित प्रस्ताव आह्वान गर्ने विषयमा निर्णय गर्न प्रशासन शाखाले उठान गर्ने टिप्पणी पेश गर्नु होस् ।

मामिला ९

सूचना तथा प्रसारण विभागको स्वीकृत वार्षिक कार्यक्रम अनुसार ९० थान High Speed Desktop Computer खरिद गर्नुपर्ने भएको छ। सो प्रयोजनको लागि १ करोड बजेट विनियोजन भएको छ। विभागलाई आवश्यक पर्ने उक्त ९० थान High Speed Desktop Computer को Technical Specification (TS) Cost Estimation स्वीकृत गराई बोलपत्र आह्वानको सूचना प्रकाशन गर्ने निर्णय सम्बन्धमा टिप्पणी मस्यौदा तयार गर्नुहोस ।

मामिला १०

नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार स्वास्थषु तथा जनसंख्या मन्त्रालय अन्तर्गत भुगोल र जनसंख्याको आधारमा हरेक स्थानीय तहमा ५ देखि १५ शैय्यासम्मको आधारभूत अस्पताल स्थापना तथा स्तरोन्नती भैरहेको छ । अस्पताल भवन निर्माण एंव स्तरोन्नतीको कार्य सम्बन्धित स्थानीय तहबाट गर्ने गरी मन्त्रालयबाट रु २ करोड अनुदान उपलब्ध भएको थियो। स्थानीय तहबाट निर्माणाधिन आधारभूत अस्पतालहरुको खरिद सम्झौता भन्दा अतिरिक्त दायित्व (भेरिएसन, मूल्य समायोजन, पुरस्कार, लागत भन्दा बढि भएको सम्झौता रकम लगायत) सिर्जना भएमा सम्बन्धित स्थानीय तहलेनै बहन गर्नुपर्ने भनी मन्त्रालयले निर्णय गरेको छ । चरणडाँडा गाउँपालिका (काल्पनिक नाम) मा निर्माणाधिन १५ शैय्याको आधारभूत अस्पताल भवनको अनुमानित लागत मू. अ कर सहित रु. १ करोड ९५ लाख रहेको छ। कार्य सम्पन्न हुनुपर्ने उक्त निर्माण कार्यको सम्झौता गर्दाको समयमा भन्दा डिजाइनमा सामान्य परिवर्तन र केही आइटमहरू थप भएको कारणले निर्माण कार्यको लागत रु १४ लाख बढन गएको छ। उक्त भेरिएसन स्वीकृत सम्बन्धी निर्णय गर्न उक्त गाउँपालिकाको योजना, खरिद तथा अनुगमन शाखाबाट उठान हुने टिप्पणी पेश गर्नु होस् ।

मामिला ११

मुद्रण विभागको वार्षिक कार्यक्रम अनुसार फोटोग्राफी मेशिन तथा त्यसका पार्टसहरू खरिद गर्नुपर्ने भएको छ । सो शिर्षकमा रु. १५ लाखको वजेट विनियोजन भएको छ। प्रचलित खरिद कानून बमोजिम लागत अनुमान तयार गर्दा उक्त सामानको अनुमानित लागत रु. १७ लाख हुने देखिन्छ । सो सम्बन्धमा आवश्यक बजेट व्यवस्थाका लागि खरिद इकाइबाट राय मागेको पत्र प्राप्त भएको छ।विभागको आर्थिक प्रशासनमा कार्यरत लेखा अधिकृतको रुपमा बजेट उपलब्धता सम्बन्धमा आवश्यक राय पेश गर्न टिप्पणीको खाका तयार गर्नुहोस् ।

मामिला १२

श्रम कानुनको पारिपालना, सामाजिक सुरक्षाको सुनिश्चतताको विषयमा श्रम निरिक्षण, श्रम अडिट तथा अनुगमनको क्रममा प्रभावकारीतामा वृद्धि हुन गई श्रम कानुनको परिपालना नहुने अवस्थाको अन्त्य हुने, व्यवसायजन्य सुरक्षा र सामाजिक सुरक्षाको प्रत्याभूति, श्रम क्षेत्रको अनौपचारिकताको अन्त्य हुने, असल श्रम सम्बन्ध कायम भई उत्पादकत्व वृद्धि हुनुका साथै श्रम ऐन २०७४, र योगदानमा अधारित सामाजिक सुरक्षा ऐन, २०७४ को प्रभावकारी कार्यान्वयनबाट सुशासन प्रवर्द्धन एंव समग्रमा श्रम सम्बन्धमा गुणात्मक सुधार भई उद्योग व्यवसायको विकास र विस्तारमा टेवा पु¥याउने उद्देश्यले श्रम तथा व्यावसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोष वीच सम्झौता गर्ने सम्बन्धमा मन्त्रालयको श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखाबाट उठान हुने टिप्पणीको मस्यौदा तयार गर्नुहोस् ।

मामिला १३

स्टार्टअप उद्यमीलाई सीप विकास, व्यवसाय विस्तार, बजारीकरण र मुल्य श्रृङ्खलामा आवद्ध गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन स्टार्टअप उद्यम कार्यक्रमलाई आ.व. २०८२।८३ मा पनि निरन्तरता दिएको छ। यसको लागि रु. ७३ करोड बजेट विनियोजन भएको छ। सो कार्यक्रमबाट ३ प्रतिशत व्याजदरमा स्वीकृत उद्यम वा परियोजना धितो राखी कर्जा प्रवाह गर्ने गरी स्टार्टअप उद्यम कर्जा संचालन कार्यविधि, २०८२ स्वीकृत भएको छ। सो रकम परिचालन गर्न राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता भएको छ भने कर्जा सुरक्षणका लागि निक्षेप तथा कर्जा सूरक्षण कोषसँग सम्झौता भएको छ। स्वीकृत कार्यविधि बमोजिम औद्योगिक व्यवसाय विकास प्रतिष्ठानबाट स्टार्टअप उद्यमहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्न योग्यता तोकि प्रारम्भिक सूची तयार, छनौटको मापदण्ड तयार लगायतका कार्यहरु सम्पन्न भइसकेकोले प्रस्ताव आह्वान गर्नको लागि उठान हुने टिप्पणीको मस्यौदा तयार गर्नुहोस् ।

मामिला १४

लोक सेवा आयोगको बढुवा सूचना नं. १३२-२०८१।८२, नेपाल आर्थिक योजना तथा तत्थ्याङ्क सेवा, तत्थ्याङ्क समुह, शाखा अधिकृत वा सो सरह रा.प. तृतीय श्रेणी पद माग पद संख्या ३ (तीन) मा जेष्ठता र कार्यसम्पादन मूल्याङ्कन द्वारा हुने बढुवाको लागि बढुवा सिफारिस गर्ने बढुवा समितिको मिति २०८२।१०।१ गते निर्णय भएकोले बढुवा समितिको निर्णयानुसार देहायका उम्मेदवारलाई नियमानुसार बढुवा नियुक्ति दिने सम्बन्धी टिप्पणीको मस्यौदा तयार गर्नुहोस ।

योग्यता क्र नंकर्मचारी संकेत नंनाम
१०७५४६हर्कत हवी
१०२३४५अवसर शर्मा
१००१४१धनवत पुष्कर
मामिला १५

सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत निर्देशक हरि भुषण दास (काल्पनिक नाम) ले घरायसी कारण देखाई २०८२ साल फागुण १५ गतेदेखि लागू हुने गरी राजीनामा स्वीकृत गरी पाऊँ भनी २०८२ साल फागुण १ गते राजीनामा दिनु भएको छ।२०५२ साल असार १५ गते देखि निजामती सेवामा प्रवेश गरी हाल अवकाश लिन लाग्नु भएका निर्देशक हरि भुषणको राजीनामा स्वीकृतिका सम्बन्धमा टिप्पणीको मस्यौदा तयार गर्नुहोस ।

मामिला १६

उद्योग विभागका शाखा अधिकृत श्री गणेशायनमः गणेश (काल्पनिक नाम) लाई भष्टाचारको कसूरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुसन्धान भै विशेष अदालतमा मुद्दा दायर भएकोमा उक्त अदालतवाट कसूरदार ठहऱ्याइ फैसला भएको थियो। निज शाखा अधिकृत श्री सर्वोच्च अदालतमा पुनरावेदन दिएकोमा सर्वोच्च अदालतबाट विशेष अदालतको फैसला उल्ट्याउने गरी फैसला भई सफाइ पाएको र सोही बमोजिम हाजिर गराई काम काज लगाउन उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको पत्रबाट लेखि आएकोमा निजले हाजिर भै २०८२।११।१ देखि कामकाज गरेका छन्।न्निज निलम्बनमा परेको मिति २०७०।०८।१५ र विशेष अदालतको फैसला भएको मिति २०७४।१२।१५ देखि कै तलब भत्ता लगायत सम्पूर्ण सुविधा पाँउ भनी विभागको महानिर्देशकलाई सम्बोधन गरी निजले दिएको निवेदन लेखा शाखामा आएको छ। उक्त विभागको लेखा अधिकृतको रुपमा तपाईले उठाउने टिप्पणी तयार गर्नुहोस् ।

मामिला १७

लोक सेवा आयोग केन्द्रीय कार्यालयबाट विज्ञापन नम्बर ००१२०००।०८१-८२ (खुला), नेपाल विविध सेवा, रा.प. तृतीय श्रेणी, (प्राविधिक) कम्प्युटर अधिकृत पदमा आयोगको सूचना नं. १००००/०८१।८२, मिति २०८२।२।१० अनुसार नियुक्तिका लागी सिफारिस भएका योग्यताक्रम नं. २ रोल नं. ७७००६९ का रामकृपालु शर्मा (काल्पनिक नाम) ले २०८२।२।१५ मा नियुक्ति लिएकोमा मिति २०८२।१०।२८ गते घरायसी कारण जनाएर राजिनामा दिएकोले निजको नाम योग्यताक्रमको सूचीबाट हटाई वैकल्पिक उम्मेदवार आशिर्वचन वर्मा (काल्पनिक नाम) लाई स्थायी नियुक्तीको सिफारिस गरिदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले लोक सेवा आयोग केन्द्रीय कार्यालयमा पत्राचार गरेको छ । सो सम्बन्धमा वैकल्पिक उम्मेदवारलाई सिफारिस गर्न लोक सेवा आयोग केन्द्रीय कार्यालय, अन्तर्वार्ता तथा सिफारिस शाखाबाट उठान गर्ने टिप्पणीको मस्यौदा तयार गर्नु होस् ।

मामिला १८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको कसूरमा हर्शना गाँउपालिका (काल्पनिक नाम) मा कामकाज गर्न खटिनु भएका शाखा अधिकृत श्री हरिओम भजमन नारायण (काल्पनिक नाम) लाई पक्राउ गरी अनुसन्धानका लागि आयोगको हिरासतमा राखेको जानकारी सहित निजलाई निलम्बन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेको छ। सो पत्र कार्यान्वयनका लागि उठाउने टिप्पणीको मस्यौदा तयार गर्नुहोस् ।

मामिला १९

महिला परोपकार संस्था ललितपुरले अफ्ट्यारोमा परेका महिलाको क्षेत्रमा काम गर्दछ। उक्त संस्थाले संस्थाको कामको लागि एक थान एम्बुलेन्स, १५ थान ल्यापटप कम्प्युटर, करिब ५ लाख मूल्य पर्ने भान्साका सामाग्रीहरु जापानको एक परोपकारी संस्थावाट प्राप्त गरेको र उक्त सामान भन्सार कार्यालयमा रोकिएको व्यहोरा उल्लेख गरी उक्त सामानहरुमा भन्सार महसुल छुट गरि दिन अनुरोध सहित निवेदन दिएकोले भन्सार तथा मूल्य अभिबृद्धि कर छुट गरिदिन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट अर्थ मन्त्रालयमा सिफारिस सहित लेखी आएको छ। सो सम्बन्धमा राजस्व महाशाखाको शाखा अधिकृतले पेश गर्ने टिप्पणीको मस्यौदा तयार गर्नुहोस् ।

मामिला २०

सिन्धुपाल्चोक स्थित फेदी खोलामा निर्माणाधिन जलविद्युत आयोजनाको लागि आवश्यक पर्ने विस्फोटक पदार्थ कमी भएको र तत्काल पैठारी वा खरिद गर्न र नेपाली सेनाबाट उपलब्ध हुने अवस्था नरहेकोले काम अवरूद्ध हुन गएकोले दोलखा जिल्लाको सिस्नेरी सडक आयोजनाको लागि ल्याइएको विस्फोटक पदार्थ प्रयोग नभइ मौज्दातमा रहेको हुँदा त्यसरी मौज्दातमा रहेको विस्फोटक पदार्थ मध्ये ५ मेट्रिक टन विस्फोटक पदार्थ सापटी पाउन सडक आयोजनाको पत्र सहित सिन्धुपाल्चोकको विद्युत आयोजनाका प्रमुखले आवश्यक कागजात संलग्न गरी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा अनुरोध गरेको छ। माग भए अनुसारको विस्फोटक पदार्थ सापटीको रुपमा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको शाखा अधिकृतको तहबाट उठाउनु पर्ने टिप्पणीको नमुना तयार गर्नुहोस ।

मामिला २१

अन्नपूर्ण ट्रेड कन्सर्न काठमाडौंले विस्फोटक पदार्थ विदेशबाट आयात गर्ने इजाजतपत्र पाउँ भनी व्यवसाय दर्ता सम्बन्धी कागजात लगायत अन्य आवश्यक कागजात सहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन पेश गरेको छ। उक्त फर्मलाई विदेशबाट विस्फोटक पदार्थ आयत गर्ने इजाजतपत्र उपलब्ध गराउने सम्बन्धमा निर्णय गर्न टिप्पणीको नमुना तयार गर्नुहोस ।

मामिला २२

गृह मन्त्रालयमा कार्यरत शाखा अधिकृत दण्डवत शर्मा (काल्पनिक नाम) ले २०८० सालको बढुवा सम्बन्धी विज्ञापनमा बढुवाको लागि दरखास्त पेश गरेका थिए।निजले क वर्गको भौगोलिक क्षेत्रमा पटक पटक सेवा गरेको अवधिलाई भौगोलिक अङ्क गणना गर्ने विषयमा बढुवा समितिमा छलफल हुँदा भौगोलिक क्षेत्रको पुरा नम्बर नपाउने भन्ने भइ मिति २०८०।१०।१४ मा बसेको बढुवा समितिको निर्णयमा निजको नाम बढुवा सिफारिस हुँदा समावेश भएको थिएन। सो उपर निज र्माले लोक सेवा आयोगमा उजुरी दिएका र लोक सेवा आयोगले बढुवा समितिको निर्णयलाई नै मान्य २०८२ १०।५ गते गरेको हुँदा सो विषयमा चित्त नबुझेर उच्च अदालत पाटनमा रिट गएका थिए। यसै बीचमा निजको मुद्धामा फैसला हुँदा निजले भौगोलिक क्षेत्रको पुरै अङ्क पाउने देखिएकोले मिति २०८०।१०।१४ को बढुवा समितिले बढुवा सिफारिस गरेका मध्ये अन्तिम सूचीमा रहेका शाखा अधिकृत कान्त किशोर बढुवाल (काल्पनिक नाम) को सट्टा निज दण्डवत शर्माको नाम समावेश गरी बढुवा गरिदिनु भन्ने अदालतबाट फैसला भएको छ । सो फैसला संलग्न गरी दण्डवत शर्माले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिएका छन। यस बीचमा २०८१ सालमा एक पटक विज्ञापन भइ बढुवा सम्बन्धी निर्णय हुँदा शाखा अधिकृत कान्त किशोर बढुवाल (काल्पनिक नाम) त्यस अघिनै बढुवा भइसकेकोले उनको नाम समावेश भएन र दण्डवत शर्माको अघिल्लो वर्षको सवाल यथावत रहेकोले उनको नाम बढुवा सिफारिसमा परेको थिएन। सो विषयमा सो मन्त्रालयको बढुवा शाखामा कार्यरत शाखा अधिकृतको रुपमा उठाउनु पर्ने टिप्पणीको मस्यौदा तयार गर्नुहोस ।

मामिला २३

स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले सो मन्त्रालयको सुरक्षा प्रबन्धको लागि सुरक्षा प्रदायक संस्था/फर्मबाट सेवा लिने गरेको छ।मन्त्रालयको सुरक्षाको लागि विगत देखि नै ६ जना सुरक्षाजनशक्तिबाट सेवा लिइदै आएको र यस वर्ष पनि सो प्रयोजनको लागि रु २१ लाख बजेट विनियोजन भएको छ। २०८२ फागुण मसान्तबाट अघिल्लो वर्ष लिएको सुरक्षा सेवाको कार्यावधि समाप्त हुन गइरहेकोले पूनः सुरक्षा सेवा लिनु पर्ने भएकोले यस सम्बन्धमा प्रशासन तथा योजना महाशाखाबाट सेवा खरिद गर्ने सम्बन्धी विषयमा निर्णय गर्न टिप्पणी तयार गर्नुहोस।

मामिला २४

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दोस्रो रणनीतिक योजना (२०८३।८४- २०८८।८९) तयार गर्न परामर्श कम्पनी/फर्मसँग सेवा लिने भएको छ। सो मन्त्रालयको प्रथम रणनीतिक योजना नेपाली भाषामा मात्र तयार गर्दा ५० लाख रुपयाँ खर्च भएको रहेछ। यो वर्ष प्रथम रणनीतिक योजनाको कार्यान्वयनको बाह्य पक्षबाट मुल्याङ्कन समेत गराउने र दोस्रो रणनीतिक योजना नेपाली र अंग्रेजी दुबै भाषामा तयार गर्ने गरी आर्थिक वर्ष २०८२।८३ को नेपाल सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट तथा कार्यक्रममा समेत समावेश भएको र सोही अनुसार रु ८० लाख बजेट समेत व्यवस्था भएको छ। कामको प्रकृति हेर्दा यस सम्बन्धी अनुभव भएको परामर्श कम्पनीसँग सेवा लिन उपयुक्त हुने देखिन्छ । सेवा लिने सम्बन्धी टिप्पणीको मस्यौदा तयार गर्नुहोस ।

मामिला २५

युवा तथा खेलकुद मन्त्रालयमा रहेका जिन्सी सामानको निरीक्षण गरी प्रतिवेदन पेश गर्न गठित समितिले दिएको प्रतिवेदनमा ७ वर्ष अगाडि खरिद गरिएको रु १५ लाख लागत मूल्य रहेको जेनेरेटर पुरानो भई सञ्चालनमा बढी खर्च लाग्ने गरेको व्यहोरा उल्लेख भएकोले सोलाई लिलाम गर्ने निर्णय गर्न टिप्पणीको मस्यौदा तयार गर्नुहोस ।

Post a Comment

0 Comments