नमस्ते, मेरो व्यक्तिगत ब्लगमा हार्दिक स्वागत छ । तपाईं यो ब्लगमा मेरा विभिन्न लेखका साथै लोकसेवा सामाग्रीहरु पनि पढ्न सक्नुहुनेछ । कृपया Menu मा गएर आफूले पढ्न खोजेको Category छान्नुहोस् वा Search box मा आफूले चाहेको विषयबस्तुको कुनै Keyword खोज्नुहोस् । मेरो ब्लग सम्म आइदिएर यहाँ भ‍एका सामग्री पढ्नुभएकोमा धन्यवाद ।


यो सामाग्री पढिसकेपछि आफ्नो मनमा लागेको कुरा तल कमेन्ट गर्न सक्नुहुनेछ । साथै मन परेमा साथीभाइ माझ शेयर गर्न पनि सक्नुहुनेछ । -धन्यवाद

निजामती सेवा प्रवेशः (संस्मरण)

मानवस्रोत व्यवस्थापन अहिले विश्वमा एउटा आम चासोको गम्भीर विषय बनेको छ भने हाम्रो जस्तो विकासको लय समात्न नसकिसकेको देशमा बेरोजगारी एउटा बिकराल समस्याको रुपमा रहेको छ । लगानीमैत्री वातावरण, लगानीको पूर्ण सुरक्षा, व्यवसायिक अनुभव र पर्याप्त पूँजीबिना व्यवसायिक जोखिम वहन गर्ने क्षमता आउदैन । त्यसैले निम्न-मध्यम वर्गीय नेपालीको पहिलो रोजाइमा रोजगारी पर्ने गरेको छ । 

देशमा पर्याप्त रोजगारीको अभाव एवम् आफ्नो पढाइ र योग्यता अनुरुपको काम नपाउदा देशका ठूलै बौध्दिक जमात बिदेश पलायन हुन बाध्य भएको तितो यथार्थ हामीसँग छ । त्यसैले सुरक्षा, सुविधा र प्रतिष्ठा सहितको सरकारी सेवा अहिले मुख्य आकर्षणको रुपमा रहेको छ । सानो संख्याको निजामती सेवाको विज्ञापनमा हजारौं आवेदन पर्ने गरेको तथ्यले यस कुरालाई पुष्टि गर्छ । मैले यस आलेखमा कसैका निम्ति प्रेरणा र मेरो निम्ति भविष्यको सम्झनाको लागि आफ्ना अनुभव उल्लेख गरेको छु ।

निजामती सेवाको सामाजिक प्रतिष्ठा

२०७६ असोज ९ गते राति करिव ८.३० बजे, लोकसेवा काठमाडौं कार्यालयले नतिजा निकाल्ने बित्तिकै मेरा आदरणीय गुरु रुक्मागत अर्याललाई जानकारी गराएँ । सरले नै मेरो घरमा जानकारी गराउनुभएछ । त्यसको केहि मिनेटमै दिदीले फेसबुकको दुनियामा पोष्ट गर्नुभयो । त्यसपछि शुभकामनाको वर्षा सुरु भयो । रिप्लाइ गर्न पनि नसक्ने गरि करिब १२ बजेसम्म लगातार मेरो फोन बजिरह्यो । सामाजिक सञ्जाल त धेरै दिन सम्म कमेन्टले भरिए, प्रत्येकका कमेन्ट पढेर प्रतिक्रिया दिनसक्ने अवस्था रहेन, संयुक्त रुपमा आभार प्रकट गरें । भेटमा अझैपनि बधाइ र शुभकामना आइरहन्छ । यसबाट आम मान्छेको निजामती सेवा प्रतिको धारणा र यसको सामाजिक प्रतिष्ठा केहि हदसम्म झल्किन्छ ।

निजामती सेवामा मेरो जिल्ला (गुल्मी) नाम कहलिएको भएतापनि मेरो क्षेत्रको ट्रेन्ड बैदेशिक रोजगारी नै हो । म पनि त्यहिँ ट्रेन्डलाई पछ्याउदै पढाई र रोजगारीको लागी बाहिर जाने सोच मै थिएँ । मैले निजामती सेवाको बारेमा बुझ्ने अवसर स्नातक तह सकिने बेला रुक्मागत सरबाट नै पहिलोपटक पाएको हुँ । र निजामती सेवामा प्रवेश पाउने म नै मेरो गाऊँको पहिलो व्यक्ति भएको छु । मेरा मातापिता र गुरुले देखाएको पथमा हिड्न सकेकोमा म आफूलाई भाग्यमानी ठानेको छु ।
बुवा सधै हामी छोराछोरीलाई यहिँ देश मै योगदान दिएर प्रतिष्ठा कमाएको हेर्ने चाहना प्रकट गरिरहनुहुन्छ, हामीलाई त्यस कै निम्ति उत्प्रेरित गरिरहनुहुन्छ । समय र परिस्थितिले बिदेशी भूमीमा पुर्याएपनि मेरा आदरणीय दाजुको पनि सदैव सोहि चाहना रहिरह्यो, प्रेरणा दिइरहनुभयो । शिक्षित परिवार र शिक्षक कै छोरा भएकोले मलाई पढाईको वातावरण सधै नै बनिरह्यो । विद्यालय तहको शिक्षामा सर्वोत्कृष्ट रहदै विज्ञान विषयमा उच्च शिक्षा लिनसक्ने हैसियतको जग बसालिदिने मेरा गुरु रुक्मागत सर र प्रेरणा दिईरहने मेरो समग्र परिवारप्रति म सधै ऋणी छु । सँगै रहेर हरेक उतारचढावमा साथ दिने मेरी दिदीप्रति आभारका शब्दहरु पर्याप्त छैनन् ।

त्यो ‌यू टर्न

बुवाले रुक्मागत सरसँग फोन सम्पर्कमा रहिरहन र भेट्न सम्झाइरहनुहुन्थ्यो, निजामती सेवातर्फ आकर्षित होस् र यतै गरोस् भन्ने उहाँको चाहना थियो । तर मेरो त्यसबेलाको चाहना र योजना भने बिदेशमा पढ्न जाने थियो, त्यसैले मैले अनेक बाहना बनाइरहेँ । 

बुवा आफ्नो कामको शिलशीलामा काठमाडौं आएको बखत जबरजस्त रुक्मागत सरको अफिस सिँहदरबारस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पुर्याउनुभयो । सरले “बिदेशमा राम्रो कमाई छ, सुविधा छ, उतै राम्रो छ ........ देखि सुरु गरेर बिस्तारै घुमाउरो पारामा निजामती सेवा, यसका सुरक्षा, सुबिधा र प्रतिष्ठा, बिदेशमा पढ्न पाउने सुविधा, यसप्रति आम नेपाली विद्यार्थीको आकर्षण लगायत कुरा बेलीबिस्तार लगाउदै परीक्षा प्रणाली, पढ्ने केहि टिप्स र पुस्तकको सूची टिपेर दिनुभयो । यो बुवा र सरको गोप्य योजना रहेछ, जुन म पास भएपछिमात्र मैले थाहा पाएँ । 

यतिसम्म हुँदापनि मलाई यसले भित्रैदेखि आकर्षण गरेन । सरले परीक्षाको विज्ञापन खोल्दा फोन गरेर फारम भर्न सम्झाउनुहुन्थ्यो । १-२ परीक्षा दिएपछी बिस्तारै यसप्रति लगाव र आकर्षण बढ्न थाल्यो । त्यसपछि त मेरो गन्तव्य नै यहिँ बन्यो, त्यस दिनले मेरो जिन्दगीको यात्रामा “U-turn” ल्याइदियो । आफ्नो लगानी रहेकोले होला नतिजा मेरो पक्षमा आएपछि सबैभन्दा खुसी पनि सर नै हुनुभयो । म र मेरो अनन्य मित्र भूवन लिम्बु सँगै तयारी सुरु गरेर सँगै सेवामा प्रवेश पाएकोमा हामीलाई खुसी लाग्यो ।

निजामती सेवा मेरा लागि उपयुक्त

मेरो आइडल डा. भगवान कोइरालाबाट प्रभावित भएर कक्षा ९ देखि सेवा भाव मात्र राख्ने डाक्टर बनेर ग्रामिण भेगमा सेवा पुर्याउने प्रवल चाहना मेरो मनको भित्री कन्दरामा पलायो । प्लस टु पछि लक्ष्य पछ्याउदै निरन्तर कडा मिहिनेत गरेपनि भाग्य भनौं अथवा ढंग वा धैर्यता नपुगेको, मेरो नाम पूर्ण छात्रवृत्तिको सूचीमा परेन । पैसा तिरेर पढ्न सक्ने अवस्था थिएन । बिएस्सी सुरु गरेपछि पनि मेरो मनले मेरो लक्ष्य मार्न पटक्कै सकेन । मन बिक्षिप्त भयो । अहिले पनि टिचिङ हस्पिटल जाँदा म भावुक हुन्छु, जीवनको लक्ष्य सम्झना हुन्छ, अनि मनमा ‍एक प्रकारको उर्जा सञ्चार हुन्छ । त्यसैले यी दिनमा पनि उर्जा भर्न बेलाबेलामा म टिचिङ हस्पिटल पुग्ने गर्छु ।

अर्को उपाय मसँग नरहेपछि मैले जुनसुकै पेशामा रहेपनि “सेवा” लाई मेरो लक्ष्य बनाउनुपर्छ भन्ने धारणाका साथ मन बुझाउने प्रयास गरेँ । आफ्ना कुरा सुन्ने बनाउन आफू त्यहिँ तहमा पुग्नुपर्ने कुराको बोध पनि सँगसँगै भयो । अन्तर्राष्ट्रिय पढाइ र अनुभवबाट देशमा केहि योगदान गर्न सकिन्छ कि भन्ने सोच पलाउन थाल्यो । तर निजामती सेवाले पढाइ, अनुभव, सेवा र देश कै लागि योगदान गर्ने उपयुक्त अवसर दिने देखेपछि बिस्तारै यस तर्फ विशेष आकर्षित भए । यसले मेरो खास लक्ष्यमा पुर्याउने र सन्तुष्टि दिलाउने कुरामा म अहिले ढुक्क छु । त्यसैले निजामती सेवा मेरा लागि उपयुक्त छ ।

म सफलताको लागि कछुवाको गतिमा छु थाहा छ, तर निरन्तर आत्मविश्वासका साथ हिड्न सके कछुवाले पनि खरायोसँगको दौड जितेको कथा सुनेको छु । पुग्नुछ धेरै टाढा, तपाईँहरुको सदैवको आशिर्बाद र प्रेरणाका निम्ति सधै आभारी रहनेछु ।

अन्त्यमा,

घनश्याम भण्डारी दाइले सम्झाएजस्तै “शिखर चढ्न बरु सजिलो छ, त्यहाँ टिकिरहन गाह्रो छ” भन्ने भनाइ प्रति सधै सचेत रहनेछु । -धन्यबाद


Post a Comment

0 Comments