Advertisement

व्यवस्थापन कार्यविधिका लागि कानूनी व्यवस्थाहरु

नेपालको संविधान, प्रतिनिधि सभा नियमावली २०७५ र राष्ट्रिय सभा नियमावली २०७५ बमोजिम व्यवस्थापन कार्यविधि

विधेयक प्रस्तुत गर्ने अनुमतिको लागि सूचना :- कुनै पनि सदस्यले विधेयक प्रस्तुत गर्न सक्नेछ । विधेयक प्रस्तुत गर्ने अनुमतिको लागि महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई सूचना दिने । विधेयकको साथमा उद्देश्य र कारण तथा व्याख्यात्मक टिप्पणी सहितको विवरण संलग्न गर्नुपर्ने ।

आश्रित विधेयक प्रस्तुत गर्न सकिने :- बैठकसमक्ष विचाराधीन रहेको कुनै विधेयकमाथि पूर्णतः वा आंशिक रूपमा आश्रित विधेयक मूल विधेयक पारित नहुँदै पनि प्रस्तुत गर्न सकिनेछ ।

विधेयकको वितरण :- सचिवालयमा विधेयक दर्ता भएपछि सरकारी विधेयकको हकमा दुई दिन र गैर सरकारी विधेयकको हकमा चार दिनभित्र प्रत्येक सदस्यलाई विधेयकको प्रति उपलब्ध गराइनेछ ।

विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव :-  विधेयक प्रस्तुत गर्ने अनुमतिको सूचना दिएको सात दिन पछि र सरकारी विधेयकको हकमा पाँच दिन पछिको कुनै बैठकमा विधेयक प्रस्तुत गर्ने अनुमतिको प्रस्ताव सभामा पेश गर्न सकिनेछ ।

विधेयकमाथिको सामान्य छलफल (विधेयकको सैद्धान्तिक पक्षमा मात्र छलफल, दफामाथि छलफल होइन) :- विधेयक प्रस्तुत भइसकेपछिको अर्को बैठकमा प्रस्तावक सदस्यले विधेयकमाथि विचार गरियोस्  वा विधेयकलाई जनताको प्रतिक्रिया प्राप्त गर्नको निमित्त प्रचार गरियोस् भन्ने मध्ये कुनै एउटा प्रस्ताव प्रस्तुत गर्न सक्नेछ ।

जनताको प्रतिक्रिया प्राप्त गर्ने कार्यविधि : अवधि निर्धारित गरी नेपाल राजपत्रमा प्रकाशित गर्नुका साथै अन्य उपयुक्त माध्यमद्वारा पनि प्रचार गर्न सक्नेछ ।

जनताको प्रतिक्रिया प्राप्त भएपछिको कार्यविधि :- जनताको प्रतिक्रिया सहितको सो विधेयकमाथि सदनमा विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न सक्नेछ  

सामान्य छलफल समाप्त भएपछिको कार्यविधि :- विधेयकमाथिको दफावार छलफल सदनमा गरियोस्, वा दफावार छलफलको लागि विधेयकलाई सम्बन्धित समितिमा पठाइयोस्

विधेयकमा संशोधनको सूचना :- विधेयकमा संशोधन पेश गर्न चाहने कुनै पनि सदस्यले विधेयकमाथिको सामान्य छलफल समाप्त भएको बहत्तर घण्टाभित्र आफूले पेश गर्न चाहेको संशोधन सहितको सूचना सचिवलाई दिनु पर्नेछ ।

संशोधन सहित दफावार छलफलः छलफलबाट यथावत रहेको वा संशोधन स्वीकार गरिएको प्रत्येक दफाका सम्बन्धमा क्रमानुसार सभामुखले यो दफा विधेयकको अङ्ग बनोस्भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्नेछ ।

संशोधन फिर्ता लिन सकिने :- संशोधन प्रस्तुतकर्ता सदस्यले बैठकको स्वीकृति लिई संशोधन फिर्ता लिन सक्नेछ ।

अनुसूचीमाथि छलफल :- सभामुखले अन्यथा निर्णय गरेमा बाहेक विधेयकमा रहेका अनुसूची र त्यसमा प्राप्त संशोधनमाथिको छलफल सम्बन्धित दफामाथिको छलफलको लगत्तै पछि गरिनेछ ।

प्रस्तावना र नामको प्रस्तुति :- विधेयकका अन्य सबै दफा र अनुसूची उपर निर्णय भएपछि मात्र सभामुखले विधेयकको प्रस्तावना र नाम सम्बन्धी दफालाई मूल रूपमा वा संशोधित रूपमा विधेयकको अङ्ग बनाइयोस् भनी अन्त्यमा प्रस्ताव गर्नेछ ।

समितिको प्रतिवेदन :- समितिमा विधेयकमाथि दफावार छलफल समाप्त भई सम्बन्धित समितिले गरेको निर्णयको प्रतिवेदन तयार गरी सभापतिले वा तोकिएको अन्य कुनै सदस्यले प्रतिवेदन सहितको विधेयक बैठकमा पेश गर्नेछ ।

 विधेयक फिर्ता लिन सकिने :- विधेयक प्रस्तुतकर्ता सदस्यले विधेयक फिर्ता लिन अनुमति माग्ने प्रस्ताव पेश गर्न चाहेमा एक दिन अगावै सूचना दिनु पर्नेछ ।

सम्बन्धित समितिमा विधेयक विचाराधीन रहेको अवस्थामा विधेयक फिर्ता लिने अनुमतिको लागि प्रस्ताव प्रस्तुत भएमा सम्बन्धित समितिले सोही व्यहोराको प्रतिवेदन बैठकमा पेश गर्नेछ ।

राष्ट्रिय सभामा उत्पति भई प्रतिनिधि सभामा विचाराधीन अवस्थाको विधेयक फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको निमित्त सदनको सिफारिश प्राप्त गर्नको लागि प्रस्तुतकर्ता सदस्यलाई प्रस्ताव पेश गर्न अनुमति दिइनेछ र त्यस्तो प्रस्ताव स्वीकृत भई राष्ट्रिय सभा पनि सहमत भएमा प्रस्तुतकर्ता सदस्यले विधेयक फिर्ता लिन प्रस्ताव प्रस्तुत गर्न सक्नेछ ।

 

समितिको प्रतिवेदन प्रस्तुत भएपछिको कार्यविधि :- समितिको प्रतिवेदन प्रस्तुत भएपछि सो प्रतिवेदन सदस्यलाई वितरण गरिनेछ । समितिको प्रतिवेदन वितरण भएको चौबीस घण्टापछिको कुनै बैठकमा विधेयक प्रस्तुतकर्ता सदस्यले प्रतिवेदन सहितको विधेयकमाथि छलफल गरियोस्,
वा कुनै खास दफा वा दफाका सम्बन्धमा पुनः विचारार्थ निर्देशन सहित सम्बन्धित समितिमा विधेयक फिर्ता पठाइयोस् भन्ने प्रस्ताव पेश गर्न सक्नेछ ।

विधेयकलाई समितिमा फिर्ता पठाउने निर्णय भएमा सो विधेयकमाथि पुनः विचार गरी प्रतिवेदन पेश गर्न सम्बन्धित समितिमा फिर्ता पठाइनेछ ।

यसरी पुनः विचारार्थ फिर्ता आएको विधेयकमाथि समितिले यथाशीघ्र विचार गरी सोही बमोजिमको प्रतिवेदन सहितको विधेयक बैठकमा प्रस्तुत गर्नेछ । समितिको प्रतिवेदन र सो सम्बन्धी विधेयकका दफा तथा आनुषङ्गिक अन्य दफामा मात्र छलफल गर्न सकिनेछ ।

विधेयक पारित गर्ने प्रस्ताव :- बैठकमा दफावार छलफल भएकोमा सो समाप्त भएपछि र समितिमा दफावार छलफल भएकोमा समितिको प्रतिवेदनमाथिको छलफल समाप्त भई संशोधनलाई सभाको निर्णयार्थ क्रमशः पेश गरिसकेपछि विधेयक प्रस्तुतकर्ता सदस्यले विधेयक
पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछ ।

राष्ट्रिय सभामा विधेयक पठाइने :- प्रतिनिधि सभाद्वारा पारित विधेयकलाई राष्ट्रिय सभामा सन्देश सहित पठाइनेछ । पारित गरिएको मिति खुलाई सचिवद्वारा प्रमाणित गरिनेछ । अर्थ विधेयकको हकमा सभामुखले अर्थ विधेयक हो भनी प्रमाणित गर्नु पर्नेछ ।

राष्ट्रिय सभाद्वारा विधेयक प्रस्तुत रुपमा पारित वा संशोधनसहित फिर्ता पठाउन सक्नेछ ।प्रतिनिधि सभाको निर्णयबाट समावेश गर्न उचित ठहराइएको सुझाव अर्थ विधेयकमा समावेश गरी सभामुखले प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पेश गर्नेछ।

राष्ट्रिय सभाले विना सुझाव पठाएको वा अवधिभित्र फिर्ता नपठाएको अर्थ विधेयक ;- राष्ट्रिय सभाले कुनै सुझाव विना अर्थ विधेयक फिर्ता पठाएमा वा प्राप्त गरेको पन्ध्र दिनसम्ममा फिर्ता नगरेमा सभामुखले संविधान बमोजिम प्रमाणित गरी प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पेश गर्नेछ ।

राष्ट्रिय सभाले संशोधन सहित फिर्ता गरेको अन्य विधेयक :- प्रतिनिधि सभाद्वारा पारित भई राष्ट्रिय सभामा पठाइएको विधेयक संशोधन सहित फिर्ता आएमा सो संशोधनमा प्रतिनिधि सभाको सहमति भए सभामुखले विधेयकलाई प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पेश गर्नेछ ।

राष्ट्रिय सभाले अस्वीकृत गरेको वा अवधिभित्र फिर्ता नगरेको वा सो सभाको संशोधन स्वीकार्य नभएको विधेयक :- प्रतिनिधि सभाको तत्काल कायम रहेको सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्यले पारित गर्ने निर्णय गरेमा देहायका विधेयकलाई सभामुखले प्रमाणित गरी प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पेश गर्नेछ :

·         प्रतिनिधि सभाले पारित गरी राष्ट्रिय सभामा पठाएको दुई महिनाभित्र सो सभाले पारित  नगरेको वा संशोधन सहित फिर्ता नपठाएको,

·         राष्ट्रिय सभाबाट अस्वीकृत भई फिर्ता आएको, वा

·         राष्ट्रिय सभाबाट संशोधन सहित फिर्ता आएकोमा संशोधन स्वीकार्य नभएको ।

 

राष्ट्रिय सभामा उत्पत्ति भई पारित भई आएका विधेयक :-राष्ट्रिय सभामा उत्पत्ति भई सो सभाबाट पारित भएको विधेयक सन्देश सहित प्राप्त भएपछि विधेयकमाथि विचार गरियोस् वा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अस्वीकार भएमा वा विधेयक पारित भएमा वा संशोधन सहित पारित भएमा सो बमोजिमको विवरण स्पष्ट गरी सन्देश सहित राष्ट्रिय सभालाई जानकारी पठाउनेछ ।

सामान्य त्रुटि सुधार्ने सभामुखको अधिकारः सभामुखले बैठकबाट पारित भइसकेको विधेयकमा आवश्यक देखेमा विधेयकका दफाको सङ्ख्याको क्रम मिलाउन आवश्यक आनुषङ्गिक सुधार गर्न र अनायास हुन गएका त्रुटि सच्याउन सक्नेछ ।

 

विधेयक प्रमाणीत :- प्रतिनिधि सभाबाट पारित विधेयक सभामुखले संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणित गर्नेछ । अर्थ विधेयकको हकमा अर्थ विधेयक हो भन्ने व्यहोरा समेत प्रमाणित गर्नु पर्नेछ ।

विधेयकको प्रमाणीकरण :- प्रमाणित विधेयक सभामुखले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पेश गर्नु पर्नेछ ।

राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको विधेयक :- संविधानको धारा ११३ को उपधारा (३) बमोजिम राष्ट्रपतिबाट पुनर्विचारको लागि सन्देश सहित विधेयक फिर्ता भएमा प्राप्त हुन आएको विधेयक सम्बन्धी जानकारी सभालाई दिएपछि बसेको कुनै बैठकमा त्यस्तो विधेयक प्रस्तुतकर्ता सदस्यले विधेयकमाथि सदनमा पुनर्विचार गरियोस्, वा पुनर्विचारको लागि विधेयकलाई सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न सक्नेछ ।


Post a Comment

0 Comments