Advertisement

बजेटका उद्देश्य र प्राथमिकता

राज्य सञ्चालन र जनतालाई सुरक्षाको साथै सुखसुविधा उपलब्ध गराउनु सरकारको दायित्व हो । यी सबै जिम्मेवारी निभाउन सरकारलाई वित्तीय साधन आवश्यक पर्छ । वित्तीय साधन चाहिए जति पाइने कुरा होइन, यो सीमित हुन्छ । साधन परिचालनका पनि आफ्नै सीमा हुन्छन् । तर सरकारले निभाउनुपर्ने दायित्वको सीमा हुँदैन । अर्थात तिनीहरू अनगिन्ति हुन्छन् । त्यसैले सीमित वित्तीय साधन र असीमित दायित्वबीच सन्तुलन मिलाई अगाडि बढ्न योजना र बजेट आवश्यक पर्छ । योजना र बजेटको अभावमा साधन विनियोजन अव्यवस्थित, अदक्ष र न्यून उपलब्धिमूलक हुन्छ।

किनभने योजना र बजेटले देशमा सर्वाधिक जल्दोबल्दो समस्या पहिचान गर्छ (प्राथमिकता) र त्यसलाई हल गर्न आवश्यक साधन विनियोजन गर्छ, जसबाट राज्यलाई सर्वाधिक प्रतिफल प्राप्त हुन्छ । यसरी थोरै साधन व्यवस्थित र दक्षतापूर्वक खर्च गरी अधिकतम प्रतिफल हासिल गर्नु योजना र बजेटको प्रमुख उद्देश्य हो । बजेटको अर्को उद्देश्य दुर्लभ साधनको सर्वोत्तम सदुपयोग गर्नु हो, साधनको दक्षतापूर्वक खर्च गर्नु हो । बजेट थोरै साधनबाट सबैभन्दा छिटो विकास र समृद्धि हासिल गर्ने माध्यम पनि हो।

खानको लागि खाद्य वस्तु, पिउनका लागि पानी, शरीर ढाक्न कपडा, बस्नको लागि आवास र बिरामी पर्दा औषधोपचार आदि मानिसका आधारभूत आवश्यकताका वस्तु हुन् । त्यसपछि विद्यालय, सडक, बिजुली, दूरसञ्चार, मनोरन्जन, स्वच्छ वातावरण आदि आवश्यक पर्छ । त्यसैले देशमा यी मध्ये कुनैको अभाव छ भने त्यो पूर्ति गर्ने सरकारको पहिलो प्राथमिकता हुन्छ । समान साधनबाट सर्वाधिक प्रतिफल आउने कार्य नै उच्च प्राथमिकतामा पर्दछन् । त्यसैले योजना र बजेटमा प्राथमिकता निर्धारण गर्दा लागत र लाभको हिसाब गर्ने गरिन्छ।

Post a Comment

0 Comments