स्थानीय
तह
संघीय
संरचना अनुरुप नेपाललाई संघ, प्रदेश र स्थानीय तह गरी तीन तहमा विभाजन गरिएको छ
। सोहि अनुसार नेपालमा अहिले ७६१ वटा सरकार क्रियाशील छन् । नेपालको संविधानको
धारा ५६ ले स्थानीय तह अन्तर्गत गाउँपालिका, नगरपालिका र जिल्लासभा
रहनेछन् भनि उल्लेख गरेको छ । अहिले नेपालमा ४६० गाउँपालिका, २७६
नगरपालिका, ११ उपमहानगरपालिका र ६ महानगरपालिका गरि ७५३ वटा स्थानीय तह रहेका
छन् । नेपालको संविधानको अनुसूची ८ मा स्थानीय तहका एकल अधिकार सूची र अनुसूची ९
मा संघ, प्रदेश र
स्थानीय तहका साझा अधिकार सूचीको व्यवस्था गरिएको छ । तीनै तहबीचको सम्बन्ध
सहकारिता, सहअस्तित्व
र समन्वयमा आधारित हुने हुँदा राज्यका यी तीनै संघीय इकाइहरु समान रुपमा अधिकार
सम्पन्न हुन पुगेका छन् । सरकारका अंगहरु कार्यपालिका, व्यवस्थापिका
र न्यायपालिकाको रुपमा गाउँ/नगर कार्यपालिका, गाउँ/नगरसभा र
न्यायीक समितिको व्यवस्था संविधानको धाराहरु क्रमशः २१४, २२१ र
२१७ मा गरी पूर्ण सरकारको स्वरुप दिइएको छ । संविधानले दिएको अधिकारको प्रयोग
गर्दै जनताको सबैभन्दा नजिकको सरकार र सुख दुःखको साथीको रुपमा स्थानीय सरकारले
आफ्नो भूमिका निभाइरहेको छ ।
अवसर
अहिलेको
विश्वव्यापी कोभिड-१९ संकटको बेलामा क्वारेन्टाइन व्यवस्थापन होस् वा तथ्यांक
संकलन, कन्ट्याक्ट
ट्रेसिङ् होस् वा राहत वितरण, समग्र महामारीको व्यवस्थापनमा स्थानीय सरकारले
फ्रन्टलाईनमा रहेर सबैभन्दा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । संघीय
सरकारले सुझबुझपूर्ण नेतृत्व लिदै तीनै तहका सरकारलाई विश्वासमा लिएर समन्वयात्मक
ढङ्गले काम गर्न सकेको भए समुदायस्तरमा कोरोना फैलिरहेको अहिलेको अवस्थामा
पुग्नुपर्ने हुदैनथ्यो की । यी सबै विषयको हिसाबकिताब गर्ने बेला त भैसकेको हैन, तर संघीय
सरकारको भूमिका नियामक, समन्वयात्मक, उत्प्रेरक हुन सकेमा
स्थानीय तहले आफ्नो महत्तम क्षमता देखाउन सक्छन् भन्न चाहीँ सकिन्छ ।
स्थानीय
माग, आवश्यकता
र प्राथमिकताको सहि पहिचान, अर्थात “Bottom up Approach” को वास्तविक अभ्यास स्थानीय तहमा देख्न सकिन्छ । टोलस्तरबाट योजना र
कार्यक्रमको तर्जुमा गरिने तथा कार्यान्वयनमा लाभग्राहीको प्रत्यक्ष र अर्थपूर्ण
सहभागिता सुनिश्चित गराई स्वामित्वबोध गराउन स्थानीय तह प्रतिवद्ध छन् ।
वडा
तहसम्म फैलिएको संरचनाले तथ्यांक संकलन र व्यवस्थापनमा संघीय सरकारले समेत स्थानीय
तहसँग समन्वय गरिरहेको छ । “घरघरमा सिंहदरबार” को
परिकल्पनालाई साकार पार्न र संघीय तथा प्रदेश सरकारका कार्यक्रम वास्तविक
लाभग्राही जनतामाझ पुर्याउन समेत स्थानीय तहले भूमिका निर्वाह गरिरहेका छन् ।
तल्लो
तहका जनताको जीविका र दैनिकीसँग जोडिएका स्थानीय सेवाको व्यवस्थापन, स्थानीय
सडक, ग्रामिण
सडक, कृषि
सडक, सिंचाई
जस्ता पूर्वाधार होस् वा स्थानीय मेलमिलाप र मध्यस्तताका विषयमा स्थानीय तहलाई एकल
अधिकार दिनुलाई जनताको झन् नजिक रहेर काम गर्ने अवसरको रुपमा लिन सकिन्छ ।
शासनमा
सबै तह र तप्काका नागरिकको अर्थपूर्ण सहभागिता, क्षमता विकास, सशक्तिकरण
र मूलप्रवाहीकरण, तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चिता गर्न
स्थानीय शासन धेरै हदसम्म सफल देखिएको छ ।
स्थानीय
सरकारहरुबीच असल अभ्यासहरुको आदानप्रदान र देखासिकीले स्थानीय तहहरुको सवलीकरण र
विकासमा सकारात्मक प्रभाव पारेको छ ।
संघीय
शासन व्यवस्था अनुसार स्थानीय सरकार गठन भएदेखि नै आर्थिक गतिविधीहरुमा गतिशीलता
बढेको, पर्यटकीय
क्षेत्रहरुको पहिचान र प्रचारप्रसार भएको, पूर्वाधार विकासले गति
लिएको जस्ता विषय सकरात्मक संकेतका रुपमा लिन सकिन्छ ।
यी यावत
अवसरहरुका आधारमा स्थानीय सरकारले नेपाली जनतालाई वास्तविक रुपमा सार्वभौमसत्ता र
राजकीयसत्ता सम्पन्न अनुभूत गराएका छन् भन्दा अत्तियुक्ती नहोला ।
चुनौति
स्थानीय
सरकार संचालन ऐन, २०७४ को दफा १०२ अनुसार स्थानीय तहहरुले आफ्नो
अधिकारक्षेत्र भित्रका विषयमा ऐन र सोको अधीनमा रही नियम, निर्देशिका, कार्यविधि
र मापदण्ड बनाई कार्यान्वयनमा ल्याउन सक्ने व्यवस्था छ । स्थानीय तहको
कार्यसम्पादन र सेवाप्रवाहमा प्रभावकारिता ल्याउन आवश्यक ४० भन्दा बढी कानुनहरुको
निर्माणमा स्थानीय तहले थप सक्रियता देखाउनुपर्ने जरुरी छ ।
जनताको
सबैभन्दा नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकारप्रति जनताको ठूलो अपेक्षा हुनु
स्वभाविक हो । अपेक्षा अनुरुप ठूला पूर्वाधार विकासमा स्थानीय तहको स्रोत र
क्षमताले नभ्याउन सक्छ । माग र आपूर्तिबीचमा सन्तुलन कायम गराउनु स्थानीय सरकारको
ठूलो चुनौति हो ।
धेरैजसो
स्थानीय तह संघ र प्रदेशले दिने अनुदान कै भरमा चलेका छन् । आफ्नो आन्तरिक स्रोतले
कर्मचारीको तलब जुटाउन पनि नसकिरहेको अवस्थाबाट विकास निर्माण समेतलाई स्रोत
जुटाउन सक्ने गरी आन्तरिक स्रोत बढाउनु चुनौतिको विषय हो ।
बिना
राजनीतिक हस्तक्षेप, कर्मचारी उत्प्रेरित हुने र काम गर्ने वातावरण
बनाइराख्नु स्थानीय तहको अर्को चुनौति रहेको छ ।
जनप्रतिनिधीमा
रहेको जनताको जनमत र कर्मचारीमा रहेको विज्ञता र अनुभवको संयोजन गरी अनुचित
क्रियाकलापलाई रोक्दै विधिलाई संस्थागत गर्नु पनि चुनौति कै विषय रहेको छ ।
संविधानले
दिएको जिम्मेवारीको भारीलाई सहि रुपमा पुरा गर्दै संघीयताको मर्म अनुरुप स्थानीय
विकासको नेतृत्व लिएर संघ र प्रदेशसँग समन्वय गरी अघि बढ्नु अर्को चुनौति रहेको छ
।
संविधानले
सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासको माध्यमद्वारा
देश विकासको नीति अवलम्वन गरेको सन्दर्भमा शासनका सबै साझेदारहरुलाई स्थानीय
सरकारले विश्वासमा लिनुपर्ने छ ।
संघीय
लोकतान्त्रिक गणतन्त्रको मुल मर्म आर्थिक असमानताको अन्त्य गरी परिवर्तनको
वास्तविक अनुभूति दिलाउनु हो । आर्थिक गतिविधिमा तीब्रता ल्याई सो जिम्मेवारी पूरा
गर्नुपर्ने कार्यभार स्थानीय सरकारको काँधमा रहेको छ ।
विदेशमा गई जोखिमपूर्ण काममा श्रम पसिना बेचिरहेका
युवायुवतीहरुलाई देशको राजनीतिक परिवर्तनले छुन सकेको छैन । हाम्रो माटोले आफ्नै
जनताको पसिनाको महक चाहेको छ । उनीहरुलाई यहीँ ठाउँमा अवसर सृजना गरी व्यवस्थापन
गर्नुपर्ने छ ।
महालेखा
परीक्षकको सन्ताउन्नौं प्रतिवेदन, २०७७ समेतका आधारमा सबै क्रियाकलापमा स्वच्छता, जवाफदेहीको
स्थापना र सर्वत्र आर्थिक अनुशासन कायम गर्न कानुनी एवम् प्रक्रियागत सुधारको
आवश्यकता औल्याइएको छ । विधि संस्थागत भईनसकेको, अनुभवको कमी, कानुनी
अस्पष्टता, अन्योलता लगायत कारणले समेत आर्थिक अनुशासन उलंघन भएको देखिएको छ ।
प्रतिवेदनले लेखापरीक्षण रकमको ठूलो हिस्सा बेरुजु देखाएको छ, (म.न.पा.
७.७९%, उ.म.न.पा.
३.४१%, न.पा.
३.९६%, र गा.पा.
३.९५%) ।
व्यवहारिक
समस्या
राजस्व
संकलन र खर्च व्यवस्थापनलाई व्यवस्थित गर्न आर्थिक कार्यविधि तथा वित्तीय
उत्तरदायित्व सम्बन्धी कानुनको अभाव छ । वित्तीय अनुशासन, जवाफदेहिता
र पारदर्शिता प्रवर्द्धन हुने गरी आर्थिक कारोवार संचालन गर्न तत्सम्बन्धी कानुन
बनाई लागु गर्नुपर्नेछ ।
कामको
प्रकृति अनुसार आन्तरिक नियन्त्रण प्रणाली बन्न नसक्दा अप्राकृतिक नै लाग्ने गरी
स्वार्थ बाझिने अवस्था आउने गरेको छ ।
अति
राजनीतिकरण, संस्थागत क्षमता विकासको अभाव, कामको चाँप अनुसार
कर्मचारीलाई प्रोत्साहित गर्न नसकेको, टुक्रे योजना कार्यक्रमका
कारण स्रोत साधनको सहि सदुपयोग हुन नसकेको जस्ता विषय समस्याको रुपमा छन् ।
विषयगत
कार्यक्रम संचालन गरी सेवाप्रवाह गर्न दरबन्दी बमोजिम जनशक्ति पूर्ति हुन नसक्दा
कार्यसम्पादनमा असर पुगेको छ ।
विषयगत
शाखा तथा संघीय इकाईहरुबीच उचित समन्वयको अभाव खड्किरहेको अवस्था छ ।
आवश्यक
कानुनहरुको अभावमा क्षेत्राधिकारको अस्पष्टता र अन्योलता समेत देखिने गरेको छ ।
योजना
तर्जुमा, कार्यान्वयन, अनुगमन र
लाभको हिस्सेदारीमा स्थानीयको सहभागिता सुनिश्चित हुने गरी योजना तर्जुमा प्रणाली
सुदृढ हुन सकेको छैन ।
राजनीतिक
नेतृत्वमा निर्णय क्षमताको अभाव, योग्य कर्मचारीको कमी र राष्ट्रिय सरकारको अधिकार
कटौती जस्ता नकारात्मक पक्ष पनि स्थानीय तहका छन् ।
सेवा
सुविधा लिने होडबाजी र देखासिकीले बजेटको दुरुपयोग भएको देखिएको छ । आर्थिक
सहायताको नाममा कुनै कानुन र कार्यविधि बिना नै अनुत्पादक तथा वितरणमुखी खर्च
गर्ने प्रवृत्ति बढेको मलेप प्रतिवेदनले समेत औल्याएको विषय हो ।
जनप्रतिनिधिहरु
आफै स्वार्थ बाझिने गरी ठेक्कापट्टामा सहभागी भई “डोजराध्यक्ष” हुने
गरेको देखिएको छ । यस्ता क्रियाकलापले आर्थिक अनुशासन कायम हुन सकेको छैन ।
स्थानीय
तहसम्मै अभूतपूर्व रुपमा सोझै स्रोत प्राप्त हुने, आफै कर लगाउन पाइने, आफैले
बनाएको कानून बमोजिम बजेट निर्माण गर्न पाइने, आर्थिक, सामाजिक, सांस्कृतिक
र व्यापारिक आदि गतिविधि सञ्चालन गर्न पाइने हुँदा प्राप्त स्रोतको दुरुपयोग भई
गाउँ गाउँ र टोल/टोलमा भ्रष्टाचारको संक्रमण फैलिने डर पनि छ ।
निष्कर्ष
स्थानीय
तहहरु आर्थिक रुपमा अत्यन्तै असमान छन् । कमजोर स्थानीय तह प्रतिष्पर्धामा खरो
उत्रनुपर्ने बाध्यता छ । त्यो किसिमको दूरदृष्टि, सोच र व्यवहार राजनीतिक
नेतृत्वमा देखिनु आवश्यक छ । साथै कर्मचारीको क्षमता विकासमा राज्यले विशेष ध्यान
पुर्याउनु जरुरी छ ।
संविधानले स्थानीय तहलाई राज्यशक्तिको प्रयोग
गर्ने अधिकार सुम्पेको छ । आफ्नो शासन आफै गर्ने, आफ्नो अधिकारको स्रोत आफै
हुने र आफ्नो कानुन आफै बनाउने हुँदा अब नेपाली जनता वास्तवमा सार्वभौमसत्ता
सम्पन्न भएका छन् । तर संविधानले त अधिकार सम्पन्न मात्र बनाएको हो । यसरी प्राप्त
अधिकारलाई सदुपयोग गर्दै अनुशासित, जिम्मेवार, निस्वार्थ
र दृढ इच्छाशक्तिको माध्यमद्धारा आफ्नो तहको विकास गर्ने अभिभारा पनि जनताकै
काँधमा आएको छ । केन्द्र तर्फ औला देखाएर पन्छिने छुट अब स्थानीय तहलाई छैन ।
अधिकार सँगै ठूलो जिम्मेवारी थपिएको छ । अब पनि स्थानीय तहका प्रतिनिधि इमान्दार, सक्षम, विकासप्रेमी
र जिम्मेवार हुन सकेनन्, सामुदायिक हितभन्दा दलगत वा व्यक्तिगत हितमा लागे
भने, र यसमा
जनता आफैसमेत सचेत हुन सकेनन् भने अब जोगाउने कोही हुने छैनन् । प्राप्त अवसरहरु
गुम्नेछन, समग्र
व्यवस्था नै असफल हुनेछ ।
तर हामी आशाबादी भने हुनुपर्दछ । आजको नेपाली
समाजले इमान्दार, कर्तव्यनिष्ठ र दूरदृष्टियुक्त नेतृत्व खोजेको छ ।
विश्वब्यापीकरण, सुचना प्रविधिको विकास, चेतनास्तरको परिवर्तनले आज
नेतृत्व भन्दा जनता दुई कदम अगाडी छन् । राजनीतिको नाममा जनता ढाट्ने, छलकपटी
गर्ने, उनीहरुको
गरिवी र अशिक्षासँग खेल्ने, अन्धकारमा राखेर आफ्ना अभिष्ट पूरा गर्ने दिन अब
गइसके । त्यस तर्फ सबै सचेत हुनुपर्दछ, सकरात्मक सोचका साथ अघि
बढ्नुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारी लगायत क्षेत्रमा
सुधार गर्दै समग्र विकासमा इट्टाहरु थप्नुपर्ने जिम्मेवारी हाम्रै काँधमा छ ।
-लेखक प्रतापपुर गाउँपालिका, नवलपरासीका
प्रशासन शाखा प्रमुख हुन् ।
0 Comments
Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.