प्रश्न : कानुनको शासन भन्नाले के बुझिन्छ ? यसका आधारभूत पक्षहरू उल्लेख गर्दै नेपालको वर्तमान संविधानमा कानुनको शासनको प्रत्याभूतिका लागि व्यवस्था गरिएका मुख्य प्रावधानहरूको चर्चा गर्नुहोस् । (अंकभार : ४+२+४=१०)
कानुनको शासन (Rule Of Law):
“Supremacy of Law”
जनप्रतिनिधिद्वारा प्रजातान्त्रिक मूल्य र मान्यताको परिधिभित्र रही तर्जुमा गरिएको कानुनको अधिनमा संचालन हुने शासन नै कानुनको शासन हो । यसले सीमित र जनउत्तरदायी सरकारको मान्यतालाई अंगिकार गरेको हुन्छ । “All are equal before the law and all are under the law” कानुनको शासनको मुल मन्त्र हो । कानुनको शासनको सुरुवात सन् १२१५ को म्याग्नाकार्टाबाट भएको हो । यस अवधारणको व्याख्याताको रूपमा अंग्रेजी कानुनविद् A.V. Dicey लाई लिइन्छ ।
डायसीका अनुसार कानुनको शासन निम्न विशेषताहरूले युक्त हुन्छ :
- स्वेच्छाचारी शक्तिको अभाव,
- कानुनको दृष्टिमा सबै समान (कानुनी समानता र सर्वोच्चता)
- संविधान सामान्य कानुनको उपज,
कानूनको शासनमा,
- कानुन न्यायपूर्ण, पक्षपातरहित तथा तर्कसंगत हुन्छ ।
- कानुनको समान संरक्षण हुन्छ ।
- स्वेच्छाचारी शक्तिको अभाव हुन्छ ।
- कानुनको पालना सबैले गर्नुपर्छ ।
- नागरिक अधिकार तथा मानव अधिकारको प्रत्याभूति हुन्छ ।
- प्रशासकीय अधिकारीहरू कानुनको दायराभित्र रही अधिकारको प्रयोग गर्छन् ।
- कानुन उल्लंघनकर्तालाई कानुनद्वारा नै दण्ड र सजाय दिने व्यवस्था हुन्छ ।
कानुनको शासनका आधारभूत पक्षहरू :
- लोकतान्त्रिक शासन पद्धति,
- वैधानिक सरकार,
- स्वेच्छाचारी शक्तिको अभाव,
- लिखित र स्पष्ट कार्यविधि कानुन,
- शक्ति पृथकीकरण एवम् नियन्त्रण र सन्तुलनको सिद्धान्तको अवलम्बन,
- स्वतन्त्र, सक्षम एवम् पहुँचयोग्य न्यायपालिका,
- न्यायिक पुनरावलोकन,
- स्वीकृत मूल्य मान्यताको अवलम्बन,
- विकेन्द्रित शासन पद्धति,
- अधिकार र कर्तव्यप्रति सचेत जनता,
- तोकिएको प्रक्रियाद्वारा कानुन निर्माण गर्ने पद्धति ।
नेपालको संविधान र कानुनको शासन
नेपालको वर्तमान संविधान जनप्रतिनिधिद्वारा निर्मित लोकतान्त्रिक संविधान हो । प्रस्तावनामै कानुनी राज्यको अवधारणा र लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित राज्य निर्माण गर्ने उल्लेख गरिएको वर्तमान संविधानलाई कानुनी शासनको वेदकै रूपमा लिन सकिन्छ ।
संविधानमा उल्लेखित केही प्रावधानहरू (विशेषगरी मौलिक हक) विषयगत कानुनको अभावमा तुरुन्तै प्रचलनमा आउन नसकेका कारण वर्तमान संविधानले कानुनको शासनलाई पूर्णतः कायम गराउन सक्षम नभएको भन्ने आवाजहरू पनि यदाकदा सुनिन्छन् । यद्यपि संविधान सभाबाट निर्माण भएको नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा कानुनको शासन स्थापना गर्न भएका व्यवस्थाहरू देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
- संविधान मूल कानुन हुने व्यवस्था (धारा १ )
- ३१ वटा मौलिक हकको व्यवस्था,
- कानुनको दृष्टिमा सबै नागरिक समान हुने व्यवस्था,
- संवैधानिक आयोगको रूपमा मानवअधिकार आयोग,
- स्वतन्त्र तथा सक्षम न्यायपालिका,
- शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्तको अवलम्बन,
- मौलिक हक कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरिएको,
- मौलिक हक उल्लंघन भएमा कानुनी उपचारको व्यवस्था गरिएको,
- संवैधानिक इजलासको व्यवस्था,
- आवधिक निर्वाचन र बालिग मताधिकारको व्यवस्था ।
निष्कर्ष
कानुनको शासन, न्यायमा पहुँच तथा पारदर्शी शासन प्रणाली संयोगले होइन, प्रतिवद्धताले सुनिश्चित हुन्छन् । नेपालको संविधानले उल्लेखित सबै पक्षहरूको सुनिश्चितताको निम्ति प्रतिवद्धता व्यक्त गरेको पाइन्छ । सो कुरा प्रस्तावना, राज्यका निर्देशक सिद्धान्त तथा मौलिक हकलगायत अन्य विविध प्रावधानहरूबाट समेत प्रस्ट हुन्छ । अबका दिनमा संविधानको पूर्ण कार्यान्वयनमार्फत कानुनको शासनको व्यावहारिक पालना गर्न सम्बद्ध सबै पक्षको पहल जरुरी छ ।
प्रश्नको हल कसरी गर्ने ?
समय विभाजन
अंकका आधारमा समय विभाजन गर्दा शाखा अधिकृत तहको परीक्षामा १० अंकको एउटा प्रश्नका लागि १८ मिनेटको समय प्रदान गरिएको हुन्छ । यसलाई निम्न ढंगले विभाजन गरी उत्तर लेख्न सकिन्छ ।
- प्रश्न अध्ययन तथा विविध : (२ मिनेट) यसमा प्रश्नले खोजेको तथ्य तथा विषयवस्तुको पहिचान गर्ने ।
- प्रस्तुत प्रश्न मूलत तीन खण्डमा विभाजन गरिएको छ । जुन कुरा प्रश्नमा अन्डरलाइन गरी संकेत गरिएको छ । अब प्रस्तुत प्रश्नमा हरेक खण्डका लागि समयको विभाजन गर्दा, पहिलो खण्डको लागि ६ मिनेट, दोस्रो खण्डको लागि ३ मिनेट र तेस्रो खण्डको लागि ६ मिनेट र निष्कर्षका लागि १ मिनेट गरी समय विभाजन गरी यस प्रश्नको समाधान गरिएको छ ।
समाधानको रणनीति
- समाधान Quote बाट सुरुवात गरिएको छ । यसले लेखनलाई आकर्षक तथा पठनीय बनाउन मद्दत गर्छ ।
- A.V. Dicey को कथन र कानुनको शासनको विशेषताबाट कानुनको शासन भन्नाले के बुझिन्छ भन्ने प्रश्नको समाधान गरिएको छ ।
- प्रश्नको दोस्रो खण्डमा आधारभूत पक्षहरू उल्लेख गर्नुहोस् भनिएको हुँदा र समयलाई समेत ख्याल राख्दै पक्षहरूको थप व्याख्या गरिराख्नु परेन ।
- प्रश्नको तेस्रो खण्डमा सकारात्मक तथा नकारात्मक दुवै पक्षको सम्बोधन गर्दै सकारात्मक पक्षलाई जोड दिइएको छ । यसले प्रश्नको उद्देश्य पूरा गर्छ ।
- निष्कर्षले समाधानलाई उत्कृष्टतापूर्वक टुंग्याउनुपर्छ । साथै यो आशावादी तथा समाधानकेन्द्रित रहनुपर्छ ।
लोकसेवा आयोगको राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृतका सम्पूर्ण नोटको लागि तल क्लिक गर्नुहोस् ।
0 Comments
Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.