Advertisement

कर्मको फल

बालेनले राजधानीमा निर्वाचन जितेको घटनाबाट ठूला दलका एक शिर्ष नेता प्रभावित भएछन्। चुनाव जित्न बालेनको भन्दा चर्को "सिन्टिमेन्ट" ल्याउने रे!! तर मलाई भने कक्षा ५ मा पढेको "कर्मको फल" कथाको याद आइरहेको छ। अरूको देखेर मात्र हुदैन। कर्म जस्तो गरिएको छ फल त्यस्तै पाइने हो।

प्रस्तुत छ कथा "कर्मको फल"

एउटा गाउँमा एउटी वृद्धा बस्थिन्‌। उनी गरिब भए पनि दयालु थिइन्‌। उनी अरूलाई सक्दो सहयोग गर्थिन्‌ । गाउँलेहरू पनि उनलाई राम्रो दृष्टिले हेर्थे । परेका वेलामा गाउँलेहरू उनलाई सहयोग गर्थे। एकदिन वृद्धा मन्दिरबाट घर आउँदै थिइन्‌। उनले बाटामा सुगा देखिन्‌। सुगा छटपटाइरहेको थियो। त्यो कहिले पखेटा फट्फटाउँथ्यो त कहिले खुट्टा तन्काउँथ्यो। 

उनी सुगाछेउ गइन्‌। उनका मनमा सुविचार आयो। उनले सुगालाई हातमा लिइन्‌ । सुगाको खुट्टो भाँचिएको रहेछ । खुट्टाबाट रगत पनि बगिरहेको थियो। उनले भनिन्‌, “कठैबरा, कुन पापीले यसको खुट्टा भाँचिदिएछ। घर लगेर औषधी गरिदिनुपर्‍यो।” 

उनले सुगालाई घर ल्याई औषधी लगाइदिइन्‌। सुगा निको भयो । निको भएको दुईतीन दिनपछि सुगा अन्तै गयो । केही समयपछि अचानक त्यही सुगा चुच्चामा

अनारको दाना च्यापेर उनको आँगनमा आयो। उनले मनमनै भनिन्‌, “मैले उपचार गरेको सुगा यही जस्तो छ। यसले चुच्चामा च्यापेर के ल्यायो ?” 

सुगा अनारको दाना त्यहाँ छोडेर उड्यो ।

वृद्धालाई झन्‌ उत्सुकता भयो। उनले अनारका दाना टिपिन्‌। वृद्धाले ती दानालाई आफनो बारीको एक छेउमा रोपिन्‌। केही समयपछि बारीमा अनारको एउटा बोट देखियो। बोटमा लटरम्म अनार फलेका थिए । उनले एउटा अनार टिपेर फुटाइन्‌। अनार फुटाउँदा त्यसबाट हिरा र मोती भुइँमा खसे। यो देखेर उनलाई अचम्म लाग्यो । उनले आफ्नो दुःखका दिन गए भन्ने सोचिन्‌। उनले हिरा र मोती बजारमा लगेर बेचिन्‌। त्यसपछि उनी सम्पन्न भइन्‌।

त्यही गाउँमा अर्को अधबैँसे मानिस बस्थ्यो। ऊ असल थिएन। उ अरूको प्रगति देखेर रिस गर्थ्यो। गाउँलेहरू उसलाई मन पराउँदैनथे। उसलाई वृद्धा कसरी सम्पन्न भइन्‌ भन्ने जान्ने उत्सुकता बढ्यो। उसमा आफू पनि वृद्धा जस्तै धनी बन्ने इच्छा जाग्यो ।

उसले वृद्वासँग गएर सोध्यो, “आमा, तपाईँ कसरी यति धनी बन्नुभयो? तपाईँले कुनै खेलोफड्को गरे जस्तो पनि लाग्दैन। फेरि तपाईँलाई कसैले दियो भनौँ भने गाउँमा कोही दानी छैनन्‌। कुरा के हो, आमा?”

वृद्धा सोझी थिइन्‌। उनले सबै कुरा बताइन्‌। त्यस अधबैँसे मानिसलाई पनि त्यस्तै एउटा घाइते सुगा भेट्न पाए हुन्थ्यो भन्ने लाग्यो। उसले कतै पनि त्यस्तो सुगा भेटेन। सुगा नभेटिएपछि उसका मनमा एउटा कुविचार आयो। उसले सोच्यो, "घाइते सुगा भेटिएन । म आफैँ एउटा सुगालाई घाइते किन नपारू।”

उसले एउटा सुगा समायो। लट्ठीले त्यस सुगाको एउटा खुट्टा भाँच्यो। अनि उसले त्यस सुगालाई घर लग्यो। त्यसको खुटटामा औषधी लगाइदियो । तीनचार दिनपछि सुगा ठीक भयो। ठीक भएपछि सुगा उड्यो । त्यसले पनि आफ्नो चुच्चामा अनारको दाना ल्यायो ।

अधबैँसे मान्छेले त्यो दाना आफ्नो बारीमा रोप्यो।

अनार लटरम्म फले। उसले अनार टिप्यो र फुटायो। आश्चर्य ! त्यस अनारबाट दुई ओटा बिच्छी निस्किए। उसले अको अनार फुटायो । त्यसबाट त झन्‌ डरलाग्दो सर्प पो निस्क्यो। त्यस मान्छेको डरको सीमा नै रहेन। ऊ आत्तियो तर अनार फुटाउन छाडेन । 

हरेक अनारबाट डरलाग्दा र विषालु जीवहरू मात्र निक्ले । आखिरमा सबै जीवले त्यस अधबैँसे मानिसलाई चारैतिरबाट घेरे । सबैले आफनो आफूनो स्वभावअनुसार उसलाई टोके ।

त्यस मान्छेलाई अचम्म लाग्यो। “ओहो, यो के भयो ! वृद्धाले अनार फुटाउँदा चाहिँ हिरा मोती निस्के। मलाई यस्तो ! पक्कै पनि यो मैले सुगालाई घाइते बनाएको दुष्कर्मको फल हो। दृष्कर्मको फल राम्रो हुँदो रहेनछ।”

उसलाई हुनसम्मको पछुतो लाग्यो।

#NoNotAgain



Post a Comment

0 Comments