मेरो पृष्ठभूमि र यात्रा 

म कुनै extraordinary व्यक्ति होइन, तर मसँग extraordinary निरन्तरता छ।

म गुल्मी जिल्ला, सत्यवती गाउँपालिका–६ ढावमा जन्मिएँ र त्यहीँ हुर्किएँ। मेरो प्रारम्भिक शिक्षा र एसएलसीसम्मको अध्ययन रुद्रावती माध्यमिक विद्यालयबाट पूरा भयो। बाल्यकालदेखि नै केही ठूलो गर्ने सपना थियो।

डाक्टर बन्ने लक्ष्य लिएर म ११ र १२ मा विज्ञान विषय अध्ययन गर्न तानसेनको न्यु होराइजनमा गएँ। कक्षा १२ पछि एमबिबिएस प्रवेश परीक्षाको तयारी पनि गरेँ। तर जीवनले मलाई अर्को बाटो देखायो—पूर्ण छात्रवृत्तिमा डाक्टरमा नाम ननिस्किएपछि म BSc Microbiology पढेँ।

विदेश अध्ययन गर्ने सोच पनि थियो, तर मेरो बुवाको चाहना र मेरा आदरणीय सर, नेपाल सरकारका उपसचिव रुकमाङ्गत अर्यालज्यूको मार्गदर्शनले मलाई लोकसेवा तर्फ मोडिदियो।

२०७५/७६ मा लोकसेवा तयारीको समयमा संघीय संरचनाको परिवर्तन, कर्मचारी समायोजन र अदालतका मुद्दाका कारण शाखा अधिकृत परीक्षा नियमित हुन सकेन। त्यही समयमा मैले खरिदारको परीक्षा पास गरेर जिल्ला अदालत भक्तपुरमा सिफारिस भएँ।

त्यसको २ महिनामै स्थानीय तहको अधिकृत पदमा पनि नाम निकाल्न सफल भएँ र प्रतापपुर गाउँपालिकामा खटिएँ।

त्यो मेरो जीवनको वास्तविक “फिल्ड लर्निङ” थियो।

कुनै तालिम बिना, नयाँ संरचना, सीमित स्रोत र ठूलो जिम्मेवारी बीच हामीले कानुन निर्माण गर्यौं, शाखा संरचना बनायौं र प्रशासनिक प्रणाली स्थापित गर्यौं। नेतृत्व परिवर्तन, अध्यक्षको निधन र प्रशासनिक अस्थिरताबीच पनि मैले दोस्रो प्रमुख व्यक्तिको भूमिकामा काम गर्नुपर्‍यो।

पछि सुनवल नगरपालिकामा राजस्व शाखा प्रमुखको रूपमा काम गर्दा राजस्व वृद्धि, ठेक्का व्यवस्थापन र आर्थिक प्रणाली सुधारमा सक्रिय भूमिकामा रहेँ।

यस बीचमा कामको चाप, परिवारिक जिम्मेवारी र कठिन परिस्थितिका बाबजुद पनि मैले आफ्नो अध्ययनलाई निरन्तरता दिएँ।

अन्ततः २०८२ को संघीय लोकसेवा आयोगको शाखा अधिकृत परीक्षामा सफल भई हाल म BAT-40 अन्तर्गत नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा आधारभूत प्रशासनिक तालिम पूरा गर्दै छु।

मेरो सफलता कुनै एउटा परीक्षाको होइन, धेरै असफलता र पुनः प्रयासको परिणाम हो।

हाल म जिल्ला प्रशासन कार्यालय, भरतपुर महानगरपालिका र मालपोत कार्यालयमा कार्यअनुभव लिई प्रशिक्षणको अन्तिम चरणमा छु।

आज म जहाँ छु, त्यो अन्त्य होइन, अझ ठूलो जिम्मेवारीको सुरुवात हो। तपाईं पनि सक्नुहुन्छ। संघर्ष र निरन्तर प्रयास जारी राख्नुहोस्। 

लोकसेवामा सफल हुन के गर्ने?

लोकसेवामा सफलताका सबैका आफ्नै सूत्र र तरिका हुन्छन्। कोही बिहान सबेरै उठेर पढ्न सक्छन्, कोही राति अबेरसम्म बसेर। तर सफलता दिलाउने मुख्य कुरा एउटै हो—निरन्तरता, समय व्यवस्थापन र सही रणनीति।

आजको सबैभन्दा ठूलो चुनौती “समयको अभाव” होइन, “ध्यानको विचलन” हो। तपाईं मोबाइल चलाइरहनुभएको छ, तर पढाइसँग असम्बन्धित विषयमा समय खर्च भइरहेको छ भने त्यो समयले तपाईंलाई लक्ष्यभन्दा टाढा लैजान्छ। त्यसैले सबैलाई समान रूपमा प्राप्त २४ घण्टामध्ये सकेसम्म धेरै समय आफ्नो लक्ष्यका लागि छुट्याउनुपर्छ।

पढाइको सही रणनीति

  • दैनिक पढ्ने रुटिन बनाउनुहोस्: धेरैले शाखा अधिकृतको प्रथम, दोस्रो, तेस्रो र चतुर्थ पत्र एक–एक गरेर पढ्छन्। तर मेरो अनुभवले के सिकायो भने—विषयलाई relate गरेर सँगसँगै पढ्दा बुझाइ बलियो हुन्छ।
  • उदाहरणका लागि:
    • संविधान, शासन व्यवस्था र समसामयिक विषयलाई जोडेर पढ्ने
    • नीति, योजना र बजेटलाई आपसमा relate गर्ने
    • प्रशासनिक सिद्धान्तलाई व्यवहारिक उदाहरणसँग तुलना गर्ने
  • यसले उत्तर लेख्दा analytical र integrated approach विकास हुन्छ।

पाठ्यक्रम (Syllabus) नै आधार हो

सबैभन्दा पहिले लोकसेवा आयोगले निर्धारण गरेको पाठ्यक्रम (Syllabus) लाई राम्रोसँग बुझ्नुपर्छ।

बजारमा उपलब्ध सामग्री धेरै हुन्छन्, तर सबै पढ्न सम्भव हुँदैन। त्यसैले:

  • के पढ्ने ?
  • कति पढ्ने ?
  • कसरी पढ्ने ?
  • पाठ्यक्रमसँग कसरी जोड्ने ?

यी कुरा बुझेर मात्र अध्ययन अगाडि बढाउनुपर्छ।

पाठ्यक्रमसँग जोडेर तपाईको उत्तर लेखाईलाई सशक्त हुने गरी यी सामाग्रीका तथ्य र तथ्यांकहरुलाई विशेष रिपोर्ट गर्नुहोस्:

  • संविधान
  • सम्बन्धित विषयका नीति र कानून
  • आर्थिक सर्वेक्षण
  • आवधिक योजना 
  • वार्षिक नीति तथा कार्यक्रम र बजेट
  • संवैधानिक निकायका प्रतिवेदन
  • सरकारले नियमित वा विशेष रुपमा प्रकाशित प्रतिवेदनहरु
  • राष्ट्रिय/अन्तर्राष्ट्रिय चर्चामा रहेका समसामयिक विषयवस्तुहरु

समसामयिक विषयमा अद्यावधिक रहने

लोकसेवाको तयारी भनेको केवल किताब पढ्नु मात्र होइन, देश र विश्व बुझ्नु पनि हो।

त्यसैले:

  • दैनिक समाचार पढ्ने
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रम बुझ्ने
  • सरकारका नीति, कार्यक्रम र बजेट अध्ययन गर्ने
  • आर्थिक सर्वेक्षण र आवधिक योजनाका तथ्यांक पढ्ने

यी विषयहरूले उत्तरलाई तथ्यपरक, विश्लेषणात्मक र प्रभावकारी बनाउँछन्।

कानून र संविधानको बुझाइ

संविधानको बुझाइ प्रथम पत्रदेखि अन्तिम पत्रसम्म मात्र होइन, भविष्यको कार्यस्थलका लागि पनि अत्यन्त आवश्यक छ।

कानून पढ्दा:

  • घोकेर होइन, बुझेर पढ्ने
  • आफ्नो मौलिक भाषामा टिपोट बनाउने
  • कार्यविधि, सिद्धान्त र उद्देश्य बुझ्ने
किनभने लोकसेवाले शब्दभन्दा बढी “बुझाइ” खोज्छ।

उत्तर लेखनको कला

प्रश्नले खोजेको वा मागेको विषयवस्तुमा आवश्यकताअनुसार

  • बुँदागत प्रस्तुति
  • तार्किक flow
  • नीति, सिद्धान्त र व्यवहारिक अभ्यासबीचको तुलना
  • SWOT Analysis
  • सुधारका सुझाव (Way forward)
  • उदाहरण र तथ्यांक

सहित समयको सहि व्यवस्थापन हुने गरी परीक्षामा प्रस्तुत गर्नुपर्दछ।

उत्तर यस्तो हुनुपर्छ कि परीक्षकले तपाईंको सोच, विश्लेषण र प्रशासनिक दृष्टिकोण देख्न सकोस्।

सारमा बुझ्नुहोस्: 

आजभोलि पढ्ने सामग्री जताततै अनलाइनमा उपलब्ध छन्।

तर सफल हुने कुरा सामग्री धेरै हुनुमा होइन, सही सामग्रीलाई सही तरिकाले पढ्न सक्नुमा निर्भर गर्छ।

त्यसैले अनुभवी मार्गदर्शक, गुरु वा सफल व्यक्तिहरूको सुझाव लिनुहोस्।

लोकसेवा केवल ज्ञानको परीक्षा होइन, धैर्य, अनुशासन र निरन्तरताको पनि परीक्षा हो।

लोकसेवामा सफल हुनेहरू असाधारण प्रतिभाशाली भएर होइन, साधारण दिनहरूमा पनि असाधारण निरन्तरता राखेर सफल भएका हुन्छन्।