वि.सं. २०८२ असोज ३१ गते शुक्रबार, हामी २.३० बजे घरबाट निस्कियौं – सुस्मिता र म चक्र । बाइकमा यात्रा गर्ने भएकोले हामीले २ वटा हेलमेट, चेस्टगार्ड, माक्स, ग्लोभ्स जस्ता सुरक्षाका साधनहरु लगाएर यात्रामा निस्कियौं । बाइकमा पेट्रोलको लागि रिपुमर्दिनी पेट्रोल पम्पमा रु. ५०० को पेट्रोल हालेर अघि बढ्यौं । शिद्धबाबा मन्दिरमा पुगेपछि हामी बाइक पार्किङ्गमा राखेर मन्दिरको दर्शनको लागि गयौं । मन्दिरको दर्शन गरी टिका लगाइएर हामीले केहि फोटोहरु लियौं । मोटाघाटा बादरहरुले हामीलाई डराउन दिएपनि हामी हाम्रो फोटो लिने काम गरिरह्यौं । केहि थान तस्बिर लिएपछि हामी त्यहाँबाट अघि बढ्यौं ।
बिस्तारै गफ गर्दै गर्दै हामी अघि बढ्दै थियौं र जोरधारा आएपछि हामी नास्ताका लागि रोकियौं । पकौडा, आलु चप र बटुकको कम्बो प्याक सहित चिया लिएपछि हामी फेरी हाम्रो यात्रालाई निरन्तरता दियौं । हामी पाल्पा प्रवासमा बस्ने कि भैरव मन्दिर आसपास बस्ने भन्ने दोधार लिएर अघि बढ्यौं । पाल्पा प्रवासमा बस्नु भन्दा अझै अघि बढ्दा ठिक होला भनेर हामी अघि बढ्यौं ।
तानसेन पुगेपछि अब कता बस्ने भनेर यताउता डुल्यो । बसपार्क आसपास बस्नुभन्दा कुनै अन्य शान्त ठाउँमा बस्ने कि भनेर होटलको खोजीमा हिड्यौं । तानसेन टुडिखेल हुँदै हामी अघि बढ्दै मिसन हस्पिटलसम्म पुग्यौं तर पनि उपयुक्त ठाउँ भेटेनौं । हस्पिटलको सेरोफेरोमा बस्न मन लागेन अनि फेरी फर्कियौं।
बसपार्क देखि टुडिखेल जाने बाटोमा इन्द्रेणी होटलमा रुम हेरेर त्यसैलाई फिक्स गर्यौं । झोला बिसाएर, बाइक पार्किङ गरी हामी बजार घुम्न निस्कियौं । शुरुमा टुलिखेल पुगेर त्यहाँबाट देखिने रात्रीकालीन दृश्यको मज्जा लियौं । टुलिखेल वरीपरी घुमेर तानसेन नगरपालिकाको भवन अघि राखिएको पाल्पाको चिनारी करुवाको अघि बसेर केहि थान फोटो लियौं । त्यसपछि नारायणस्थान, शित्तलपाटी, पाल्पादरबार पुग्यौं । दरबारभित्र हामी पहिले पनि घुमिसकेका थियौं । हामी दरबार बाहिर केहि फोटो र भिडियो लियौं । हामी अघि बढ्दै घुमेर त्रिभूवन बहुमुखी क्याम्पसमा पुग्यौं । होटलमा खानाको लागि ७.३० बजेको समय दिएकोले केहि समय घुमेर हामी पुनः होटलमा फर्कियौं । खाना खाएपछि हातमुख धोएर हामी सुत्यौं ।
अर्को दिन अर्थात २०८२ असोज १ गते शनीबार बिहानै नुवाएर चोखो लुगा लगाएर हामी होटलबाट भैरवनाथ मन्दिरतर्फ निस्कियौं । भैरवनाथ मन्दिर नजिक पुगेपछि हामीले बाइक पार्किङ गरी झोला बिसाएर २ सेट रोट र पुजा सामाग्री लिएर मन्दिरमा पुग्यौं । मन्दिरमा केहि बेर लाइनमा बसेपछि हामी भैरव र माइको पुजा गर्यौं । मन्दिरको अगाडी र माथी कौशीमा केहि तस्बिरहरु लियौं ।
जिपफ्लाएरमा चड्ने कि भनेर हामी त्यतातिर गयौं तर हेरेर मात्र फर्कियौं । अब हामी तल बाइक र झोला राखेको होटल तर्फ फर्कियौं । केहि सामान्य नास्ता गरेर हामी त्यहाँबाट अघि बढ्यौं । अब हामी सुपादेउराली तर्फ जानु थियो । बाटोको बारेमा हामीलाई पूर्व जानकारी थिएन । हामी हार्थोक पुगेपछि दुर्गाफाँट जाने बाटो सोधेर अघि बढ्यौं । छहरा सम्म पिच बाटो भत्किएको छ भन्ने सुनेका थियौं त्यसैले छहरा कति टाढा छ भनेर हामी बाटोमा सोध्दै सोध्दै अघि बढ्यौं ।
बाटोका दृश्यहरु अवलोकन गर्दै हामी छहरा तर्फ अघि बढिरह्यौं । छहरा पुगेपछि भने केहि अघिसम्म कालोपत्रे बाटो आयो । हामी दुर्गाफाँट जाने बाटो सोध्दै अघि बढ्यौं । जबजब दोबाटो आउथ्यो हामीलाई बाटोको बारेमा निश्वित हुन कसैलाई सोध्नै पर्थ्यो । हामी अघि बढ्दै जाँदा दुर्गाफाँट देखियो । केहि समयपछि हामी दुर्गाफाँट पुग्यौं । दुर्गाफाँटभित्र भने सडकको अवस्था राम्रो थियो । अब हामीले सुपा देउराली जाने बाटो सोध्नु पर्ने भयो । बाटोमा सोध्दै सोध्दै हामी सुपादेउराली पुग्यौं । मन्दिरमा दर्शन गरी केहि फोटाहरु लिएर हामी खाना खायौं । हामी सुपा देउरालीबाट ठाडा हुँदै अघि बढ्यौं । गोरुसिङ्गे निस्कने त्यो सडकखण्डमा पिरापानी भन्ने ठाउँ छ । यो “पिरापानी” शब्द अलि अनौठो लाग्यो मलाई । त्यसैले पिरापानीको नाम लिदालिदै हामी गोरुसिङ्गे निस्कियौं । गोरुसिङ्गे त्यो ठाउँ हो, जहाँ अर्घाखाँचीबाट आएको बाटो महेन्द्र राजमार्गमा जोडिन्छ ।
महेन्द्र राजमार्ग अन्तर्गत गोरुसिङ्गे – बुटवल खण्डमा बिस्तारको काम भइरहेको छ भन्ने थाहा त थियो तर यो अवस्थामा छ होला भन्ने पत्तै भएन । सञ्चारमाध्यममा बिचको बाटोमा शुरुमा क्षति नपुर्याई दायाँबायाँको काम सकेर मात्र गर्ने भन्ने सुनिएको थियो । बुटवल – नारायणगढ खण्डको जस्तै हविगत यहाँ पनि शुरु भएको रहेछ । त्यो सडकमा रातिमा बाइक चलाएको अनुभव त थिएन त्यसैले डाइभर्सन, खाल्डाखुल्डी, फ्लासलाइट, बाटोक्रस गर्ने पैदलयात्रीलाई छिचोल्दै हामी बुटवल आइपग्यौं । बुटवलबाट भने बाटो राम्रो भएकोले हामीलाई घर आइपुग्न समय लागेन । यसरी हामीले घरबाट यात्रा शुरु गरी पाल्पा, अर्घाखाँची, कपिलवस्तु हुँदै पूरै सेलरोटी जस्तै गोलो लगाएर घर आइपुग्यौं ।
0 Comments
Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.