Advertisement

नेपालको सन्दर्भमा राजनीतिक तटस्थता र प्रतिवद्धता

विषय प्रवेश

  • राजनीतीज्ञ एवम् प्रशासनविद् Woodrow Wilson ले प्रशासन भनेको नीति कार्यान्वयन गर्ने संयन्त्र हो भनि राजनीतिबाट प्रशासनलाई अलग एवं बिशिष्टरुपमा परिचय गराएका थिए।
  • समाजशास्त्री एवम् आधुनिक कर्मचारीतन्त्रका जन्मदाता मानिने Max Weber ले प्रशासनिक तटस्थताको वकालत गरेका थिए।
  • वैज्ञानिक व्यवस्थापनका पिता F.W. Tayler को वैज्ञानिक व्यवस्थापनको सिद्धान्तमा पनि प्रशासनिक तटस्थतामा जोड दिएका थिए।
  • सरकारको कार्यसंचालनमा आएको नवीन परिवर्तित परिस्थितिले सरकारका संगठनहरू चुस्त, दुरुस्त, गतिशील, सक्षम, पारदर्शी, मितव्ययी र उत्तरदायी हुनुपर्नेमा कुरामा जोड दिंदै आएको छ।
  • विश्वव्यापीकरण, प्रजातान्त्रिकरण, उदारीकरण, निजीकरण एवं विकेन्द्रीकरणका कारण सरकारको स्वविवेकीय अधिकारमा अंकुश लाग्न गएको अवस्था यथार्थ रूपमा सर्वविदित रहेको छ।
  • सरकारबाट उपलब्ध गराईने सेवा तथा सुबिधाहरु निश्चित मापदण्ड अनुरुप सरल, सहज रुपमा लक्षित वर्ग तथा समुहसम्म उपलब्ध गराउनु पर्ने मान्यता रहेको छ।
  • यसका लागि चुस्त दुरुस्त छिटो छरितो, गुणस्तरीय, मितव्ययी, सक्षम र प्रभावकारी प्रशासन तथा नतिजामुखि व्यवस्थापन गर्नका लागि आवश्यकता अनुरुप विद्यमान प्रशासनको पुनर्संरचना आवश्यक रहेको छ।
  • निजी तथा गैरसरकारी क्षेत्रमा देखिएको नविनतम्  व्यवस्थापकीय अवधारणाको सफलतम्  प्रयोग तथा असल अभ्यास एवम् क्षमताले प्रशासनको पुनर्संरचनाको धारणा उत्पन्न भएको हो।
  • ऐतिहासिक संविधानसभाबाट नेपालको संविधान घोषणा अर्थात यहि २०७२ पश्चात् संघीयताको प्रभावकारी कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तह सरकारको भुमिका अर्थात् काम, कर्तव्य, अधिकार, उत्तरदायित्व तथा सीमा समेतको विचार गरि सोही अनुरुप स्थायी, सबल, सक्षम, कुशल, मितव्ययी, जनमैत्री सरकारको नीतिगत, योजनावद्ध र व्यवस्थित गर्नुपर्ने अपरिहार्यता रहेको छ।

तटस्थता (Neutrality) को परिचय:

  • संवैधानिक तथा कानुनी प्रक्रिया अपनाई गरिएको निर्णयलाई शिरोधार्य गरि त्यसको अक्षरश: प्रशासकीय कार्यान्वयन गर्ने शैली नै तटस्थता (Neutrality) हो।
  • तटस्थता प्रशासनयन्त्रको सैद्धान्तिक, आधारभूत, विशेष अपरिहार्य विशेषतायुक्त ठोस मौलिक स्वरुप हो।
  • राजनीति र प्रशासन एउटा सिक्काको दुईवटा पाटा हुन सिद्धान्तत: जस्लाई एक अर्काबाट अलग गरेर हेर्न सकिन्न अद्यपी यी दुई बीच स्पष्ट निश्चित सिमारेखाहरु विद्यमान छन् परन्तु, अभिन्न, अन्तरसम्बन्धित र अन्योन्याश्रीत रहेको छन्।
  • प्रशासन प्रणालीबद्ध र चक्रीय ढाँचामा चल्नु पर्छ। यो  अनुमानयोग्य, तथ्य तथ्यांक सूचनामा आधारित प्रयोगसिद्ध हुनुपर्दछ।
  • प्रशासनको व्यावसायिकता विकास तथा विशिष्टिकरणका लागि तटस्थता नितान्त आवश्यक हुन्छ।
  • प्रशासनको सक्षमता र सबलता यसको तटस्थता, निष्पक्षता र कार्यव्यवहारले निर्धारण गर्दछ।
  • अवैयक्तिकता (Impersonality) भित्र निष्पक्षता, प्रशासनको सक्रियता तथा कृयाशिलता अपेक्षा गरिन्छ।
  • तटस्थताले विधिशास्त्र, पद्धति र कानुनको शासनको सम्मान गर्नुपर्दछ भन्ने मान्यतामा जोड दिन्छ।
  • तटस्थताले प्रशासनलाई अग्रगामी, दिगो, स्थिर, जवाफदेहीपुर्ण, विश्वसनीय र औचित्यपूर्ण बनाउँछ।
  • यसले प्रशासनलाई नियमितता प्रदान, समानताको पक्षपोषण, राजनीतिक हस्तक्षेपलाई अस्वीकार, कार्यशैलीमा एकरुपता कायम र जवाफदेहीताको विकास गरी उत्तरदायित्व अभिवृद्धि गर्दछ।
  • तटस्थता (Neutrality) र निष्पक्षता (Impartiality) का साथै सक्षमताका आधारमा दण्ड र पुरस्कारको निर्धारण गर्ने प्रशासनिक संस्कृतिको अवलम्बन गरिनुपर्छ।

प्रशासनमा तटस्थताको आवश्यकता किन?

  • व्यवसायिक दक्षता अभिवृद्धिका लागि।
  • देशमा स्थिरता र दिगो शान्ति कायम राख्न।
  • सरकारको नीति तथा कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न।
  • मानवस्रोत तथा दक्ष जनशक्ति विकासमा विशेषज्ञताको विकास गर्न।
  • योग्य व्यक्तिलाई उपयुक्त स्थान, उपयुक्त तरिकाले, सहि समयमा, उपयुक्त निर्णयानुसार पदस्थापन गर्न। (Right man in right place in right time, in right way in right decision)

तटस्थ प्रशासन स्थापनाका आधारहरू:

  • योग्यता, क्षमता र प्रतिस्पर्धा वा सक्षमतामा आधारित भर्ना प्रणाली।
  • प्रशासनमा पारदर्शिताको सुनिश्चितता।
  • कर्मचारीको विशेषज्ञता र व्यावसायिकता निर्वाधरुपमा उपयोग गर्ने वातावरणको निर्माण।
  • राजनीति र प्रशासनको स्पष्ट सिमारेखा निर्धारण।
  • वृत्ति विकास वैज्ञानिक व्यवस्थापनको सुनिश्चितता।
  • स्पष्ट कार्यविवरण र जिम्मेवारी निर्धारण।
  • कामको आधारमा उचित दण्ड र पुरस्कार प्रणाली अवलम्बन आदि।

के तटस्थता सम्भव छ?

  • प्रशासकहरु राजनीतिबाट पुर्णरुपमा निरपेक्ष ढंगले अलग हुनुहुँदैन। वर्तमान सन्दर्भमा राजनीति र प्रशासनको भूमिका तथा काम, कर्तव्य, उत्तरदायित्व, अधिकार तथा  सीमा पेन्सिल रेखाले कोरेको जस्तैः  सुक्ष्मरुपले पहिचान गर्न सकिन्छ।
  • नीतिगत निर्णयको चरणमा प्रशासनयन्त्रका प्राविधिक, दक्ष तथा विज्ञ जनशक्तिहरु सक्रियरूपमा कृयाशिल रहन्छन्।
  • उच्चतहका प्रशासकहरुको राजनीतिक तहमा हुने निर्णयमा पनि विज्ञ सहयोगीको भूमिकामा सक्रिय सहभागिता हुन्छ।
  • उच्च तहका प्रशासकहरुको बढुवा पदस्थापन तथा सरुवामा राजनीतिक नेतृत्वको प्रत्यक्ष भुमिका हुन्छ। तापनि उनीहरू राजनीतिबाट तटस्थ रहन्छन्, रहनुपर्दछ भन्ने विश्वव्यापी सैद्धान्तिक मूल्य मान्यता एवं प्रयोग रहेको छ।
  • प्रशासन राजनीतिसँग अभिन्न सहकार्य एवम् कार्यगत ऐक्यवद्धता रही तटस्थ भूमिकामा नभएमा समग्र देश धराशायी हुन पुग्दछ।
  • राजनीतिक नेतृत्वको विवेकयुक्त निर्णय निस्पादन र प्रशासनको न्यायीक सक्रियताको अभावमा सिङ्गो शासकीय व्यवस्थामा दण्डहीनताको बोलवाला भै विकास प्रगति ठप्प हुन पुग्दछ।

नेपालको प्रशासनमा तटस्थताको प्रयोग:

नेपालको संविधानमा संवैधानिक प्रत्याभूती रहेको र निजामती सेवा ऐनले कर्मचारीका लागि आचरणको व्यवस्था गरेको अवस्था र त्यसैगरी न्यायाधीश, चिकित्सक जस्ता राष्ट्रसेवकका लागि पनि आचारसंहिताको निर्माण गरि लागू गरिएको पाईन्छ। यस्ता आचार संहिताहरुले प्रायः देहायका विषयहरुलाई सम्बोधन गर्ने गरेको पाईन्छ:

  • राजनीतिक वा अवाञ्छनिय प्रभावबाट मुक्त हुनु पर्ने।
  • दलीय राजनीतिमा भाग लिन नहुने।
  • सरकारको आलोचना गर्न नहुने।
  • राजनीतिक प्रकृतिको निर्वाचनमा भाग लिन नहुने।
  • सूचनाको हक, पारदर्शिता, उत्तरदायित्व, विधि तथा कानुनको पालना गर्नुपर्ने आदि।

प्रतिवद्धता (Committed) को परिचय:

  • कुनै कुरा विषय प्रतिको गहन समर्पण भाव।
  • प्रशासनले आफूमा रहेको योग्यता, क्षमता र दक्षता मार्फत गर्ने जनसेवा नै प्रशासनिक प्रतिवद्धता हो।
  • यसले जिम्मेवारी, उत्तरदायित्व र जवाफदेहितामा वृद्धि गर्दछ।
  • प्रशासन र राजनीति एक अर्कोमा आश्रित र परिपुरक सम्बन्धमा रहेका छन्। यसै अर्थले प्रशासन मात्र राजनीतिबाट तटस्थ रहन सक्दैन र प्रतिवद्ध हुनुपर्छ भन्ने मान्यताको विकास भयो।
  • सामाजिक परिवर्तन र विकासको कार्यमा प्रशासन यन्त्र राजनीतिप्रति प्रतिवद्ध हुनुपर्छ।

राजनीतिप्रतिको निष्ठा र प्रतिवद्धताबाट नै सार्वजनिक प्रशासनले आफूलाई राजनीतिकरूपमा गौण र प्रमुख रुपमा बहुआयामिक आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको संवाहकको रुपमा प्रस्तुत गर्न सक्नुपर्छ।

प्रशासनिक प्रतिवद्धता आवश्यकता

  • सामाजिक न्याय तथा सद्भाव कायम राख्न।
  • न्यायपुर्ण समतामूलक समाजको निर्माणका लागि।
  • पिछडिएको तथा बञ्चितिकरणमा परेको वर्गको उत्थान र समानुपातिक पहुँचको अवसर अभिवृद्धि गर्न।
  • विपद रोकथाम, नियन्त्रण तथा अनुकुलन वातावरण संरक्षण गर्न।
  • बहुआयामिक विकासका एकीकृत कार्यक्रम एवम् क्रियाकलापहरुको संचालन गर्न।
  • शिक्षा, स्वास्थ्य र सुरक्षा जस्ता सामाजिक तथा लोककल्याणकारी कार्य संचालन गर्न।

एक दलिय र साम्यवादी व्यवस्थामा प्रशासन स्वत: राजनीति प्रति प्रतिवद्ध हुन्छ। यहाँ तटस्थताको प्रश्न नै उठदैन। तथापि यस व्यवस्थामा जनअभिमत वा जनताको सरोकार गौण र शासकीय दलको निर्णय चाहे गलत होस्, प्रधान हुन्छ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको अभ्युत्थान भइरहेको वर्तमान परिप्रेक्ष्यमा नेपाली प्रशासन विगतको तुलनामा सेवाग्राही जनताप्रतिको प्रतिवद्धता दिनानुदिन विकास हुँदै गरेको पाईन्छ।

प्रशासनिक प्रतिवद्धताका विषयहरु:

  • सरकार
  • सेवाग्राही (जनता)
  • नागरिक समाज
  • काम कर्तव्य र अधिकार
  • स्वप्रतिवद्धता।

प्रशासनमा प्रतिवद्धताको आवश्यकता:

  • राज्यको नीति (संविधान, कानुन) कार्यान्वयन गर्न।
  • राष्ट्रिय हित संरक्षण, सम्बर्द्धन, अवलम्बन तथा प्रयोग गर्न।
  • नीति निर्माण सम्बन्धी कार्यमा राजनितीज्ञलाई उचित सुझाव तथा सल्लाह र तथ्य तथ्यांक तथा सूचना उपलब्ध गराउन।
  • प्रशासनिक संवेदनशीलता अर्थात् बहुसांस्कृतिक विविधीकरण र मुल्य मान्यता, प्रथा, प्रचलन, परम्परा र आदर्श सामाजिक सहिष्णुतालाई सुरक्षित राख्न।
  • प्रशासनिक काम कार्वाहीलाई विवेकशील, न्यायपुर्ण तथा औचित्यको बैधता प्रदान गर्न।
  • सकारात्मक परिवर्तन विकासको अधिकारलाई स्थापित र आत्मसात गर्न।
  • राज्यका योजना, नीति तथा कार्यक्रमको परिमार्जन, सुधार गर्दै प्रभावकारी कार्यान्वयन गर्न।
  • प्रशासन संयन्त्र वा शासकीय व्यवस्थाप्रति जनआस्था, विश्वासयुक्त प्रगतिशील समाजको अभिवृद्धि गर्न।
  • महिला, दलित, आदिवासी जनजाति, अपाङ्ग, मधेसी, विपन्न, राज्यको मूलधारबाट पछाडि परेका/पारिएका खस आर्य, पिछडिएको क्षेत्र र जेष्ठ नागरिक समेतलाई समावेशिकरणको मर्म प्रयोगसिद्ध तथा  सारभुत रुपमा आत्मसात गर्न।
  • संविधान तथा कानुनत: अधिकार निक्षेपणको माध्यमबाट कानुनको प्रयोग सुशासन र स्वशासन प्रत्याभूत गर्न।

निष्कर्ष:

नेपालको सन्दर्भमा प्रतिवद्ध, तटस्थ एवं जनमुखी निजामती सेवा केवल सैद्धान्तिक विषयको रूपमा मात्र सीमित रहेको देखिन्छ। वर्तमान समयमा यसको ज्वलन्त उदाहरण कर्मचारीतन्त्रलाई हेर्न सकिन्छ जुन कानुन विहिनता, तदर्थवादमा संचालन गरी लामो समयसम्म अनिर्णयको बन्दी बनाई प्रतिगमन तर्फ घचेटनु जस्ता कार्य एवम् क्रियाकलापबाट छर्लङ्ग हुन्छ। राजनीति सक्षम एवम् सशक्त मस्तिष्क र सार्वजनिक प्रशासन सबल तथा कर्मठ बाहु हुनुपर्छ। क्षणिक, आफ्ना आसेपासेको पृष्ठपोषक होईन इमानदार, सक्षम, कर्तव्यबोध भएका विशेषज्ञ कर्मचारीतन्त्रबाट मुलुकको शासकीय व्यवस्था एवम् सिङ्गो प्रशासनयन्त्र सञ्चालन गरिनुपर्छ।

*बसन्तराज अधिकारीको इकर्मचारीमा प्रकाशित लेखको सम्पादित अंश

Post a Comment

0 Comments