शाखा अधिकृतमा भर्खरै उत्तिर्ण भएसँगै धेरैले मलाई लोकसेवामा सफल हुने सुत्र के हो भनेर सोधिरहनु हुन्छ। मेरो उत्तर सधैं एउटै रहन्छ—आत्मविश्वास, धैर्यता, निरन्तरता र सकारात्मक सोच। यिनै चार आधारस्तम्भमा उभिएको तयारीले मात्र लोकसेवाको कठिन यात्रालाई सम्भव बनाउँछ। लोकसेवाको पाठ्यक्रम अत्यन्तै वृहत र बहुआयामिक भएकोले यसको तयारी गर्दा केही महत्वपूर्ण पक्षमा विशेष ध्यान पुर्याउनैपर्छ।
शाखा अधिकृतको तयारीमा हुनुहुन्छ भने सबैभन्दा पहिले लोकसेवा आयोगको पाठ्यक्रमलाई राम्ररी बुझ्न आवश्यक छ। कुन पत्रमा के पढ्ने भन्ने मात्र होइन, कुन–कुन विषय आपसमा ओभरल्याप हुन्छन् भन्ने बुझाइ झन् महत्वपूर्ण हुन्छ। उदाहरणका लागि, दोस्रो पत्रको सार्वजनिक व्यवस्थापनका धेरै विषय चौथो पत्रमा पनि दोहोरिन्छन्। त्यस्तै वित्तीय व्यवस्थापन चौथो पत्रमा मात्र सीमित छैन, तेस्रो पत्रका आर्थिक मामिलासँग पनि यसको गहिरो सम्बन्ध देखिन्छ। विद्युतीय शासन, सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग जस्ता विषयहरू त तीनवटै पत्रमा समेटिएका छन्। तेस्रो पत्रलाई समसामयिक मामिला भनिए पनि वास्तवमा समसामयिक विषय सबै पत्रका लागि उत्तिकै महत्वपूर्ण छन्। लोकसेवा आयोगका विगतका प्रश्नहरू अध्ययन गर्दा पनि जुनसुकै पत्रमा वर्तमान अवस्था, तथ्य, तथ्यांक र नवीन अभ्यासहरूसँग जोडिएका प्रश्नहरू सोधिएको स्पष्ट देखिन्छ। त्यसैले नेपालमा के भइरहेको छ, विश्वमा के कस्ता परिवर्तन आइरहेका छन्, कुन नयाँ सिद्धान्त र अभ्यासले चर्चा पाइरहेका छन्—यी विषयहरूलाई सधैं नोटिसमा राख्नुपर्छ। प्रश्नहरू प्रायः यिनै वरिपरि घुमेका हुन्छन्।
अर्को अत्यन्त महत्वपूर्ण पक्ष हो—समय व्यवस्थापन। लोकसेवा आयोगका परीक्षाले तपाईंको ज्ञान मात्र होइन, समग्र व्यवस्थापन क्षमताको पनि परीक्षण गर्छ। पढाइको समयमा होस् वा परीक्षा हलभित्र, समय व्यवस्थापनले निर्णायक भूमिका खेल्छ। तपाईंले दिनमा कति घण्टा पढ्नुभयो वा परीक्षा हलमा कति समय कलम चलाउनुभयो भन्ने मात्रले नतिजा निर्धारण हुँदैन। पढ्ने बेला सबै सम्भावित विषयहरूलाई मौलिक बुझाइका साथ तयारी गर्नुभएको छ कि छैन, र परीक्षामा प्रश्नले मागेको दिशामा नबकिइकन, सरल, स्पष्ट र तथ्य–तथ्यांकसहित निर्धारित समयभित्र सबै प्रश्न समाधान गर्न सक्नुभएको छ कि छैन—यिनै कुराले तपाईंलाई सफलताको बलियो दाबेदार बनाउँछ।
आज लोकसेवामा प्रतिस्पर्धा निकै तीव्र छ। अब्बल र सक्षम व्यक्तिहरू यो प्रतिस्पर्धामा उत्रिरहेका छन्। तपाईं पनि कुनै न कुनै पेशामा आवद्ध हुनुहुन्छ, पारिवारिक जिम्मेवारी तपाईंको काँधमा छ। अफिसको काम, घरायसी समस्या, आर्थिक चाप—यी सबै बीचमा तयारी गर्नुपर्ने अवस्था धेरैको साझा यथार्थ हो। समस्या र चुनौती सबैका आफ्नै हुन्छन्, र सबैलाई आफ्नै समस्या ठूलो नै लाग्छ। तर यिनै चुनौतीहरूका बीच पनि सम्भावनालाई देख्न छोड्नु हुँदैन। कालो बादलभित्र लुकेको उज्यालो घेरालाई चिन्न सक्नुपर्छ। निरन्तर आत्मविश्वासका साथ अघि बढ्न सके सफलता एकदिन अवश्य हाम्रै हातमा आउँछ।
तर यहाँ एउटा गम्भीर आत्मप्रश्न गर्न जरुरी छ—तपाईंको प्राथमिकता र रुचि के हो? तपाईं आफ्नै इच्छाले निजामती सेवामा आउन चाहनु भएको हो, कि साथीभाइको लहैलहैमा वा पारिवारिक दबाबका कारण? मानिसलाई सफलता त्यही क्षेत्रमा सजिलै मिल्छ जहाँ उसको रुचि, क्षमता र मन–मस्तिष्क एकै ठाउँमा केन्द्रित हुन्छ। यदि तपाईंको क्षमता, अनुभव र रुचि कुनै अर्को क्षेत्रमा छ भने, त्यसै क्षेत्रमा उत्कृष्टता हासिल गर्न सकिन्छ। सम्भावना हरेक क्षेत्रका आफ्नै हुन्छन्। निजामती सेवा तपाईंको विशिष्ट क्षमताको उचित प्रयोग गर्ने ठाउँ हो भन्ने ठोस विश्वास छ र लामो समयसम्म धैर्य गर्न सक्ने आत्मबल छ भने मात्र यो यात्रामा आउनु उपयुक्त हुन्छ।
निजामती सेवा राष्ट्रसेवाको सर्वोच्च माध्यम हो। अनुचित लाभको अपेक्षा राखेर यस क्षेत्रमा प्रवेश गर्ने सोच छ भने, यो बाटो तपाईंका लागि होइन। हामीले निजामती सेवालाई स्वच्छ, निष्पक्ष, पारदर्शी र नागरिक–केन्द्रित बनाउँदै जनविश्वासको निष्ठा कायम गर्नुपर्ने जिम्मेवारी बोकेका छौं। बदलिँदो समय र परिस्थितिअनुसार राज्य संयन्त्र पर्याप्त रूपमा रूपान्तरण हुन नसक्दा जनआक्रोश बढेको यथार्थ हाम्रो सामु छ। हामी सक्छौं, हामीले सक्नैपर्छ—यो साझा संकल्प आजको आवश्यकता हो।
अन्त्यमा फेरि दोहोर्याउन चाहन्छु—लोकसेवा आयोगका परीक्षामा सफल हुने एउटै सुत्र छ : आत्मविश्वास, धैर्यता, निरन्तरता र सकारात्मक सोच। यही सुत्रलाई जीवनशैली बनाउँदै अघि बढ्दा सफलता स्वाभाविक रूपमा पछ्याउँदै आउँछ।
0 Comments
Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.